बिहीबार, चैत १५, २०८०

डोनाल्ड यू आर फायर्ड

नेपालप्लस२०७७ पुष २३ गते १२:३८

हजारौं समर्थकहरुलाई संसद भवनमा हमला गर्न पठाएर अन्तिम क्षणसम्म पनि केहि गर्न सकिन्छ कि भन्ने डोनाल्ड ट्रम्पको मनोकांक्षा पूरा भएन । संसदले जो वाइडेनलाई औपचारिक घोषणा गरेपछि ट्रम्पको उपद्रो निरर्थक सावित भएको छ ।

एकजना अश्वेत जर्ज फ्लोएडलाई घाँटी थिचेर मार्ने अमेरिकी प्रजातन्त्रका सिपाहीहरु प्रजातन्त्रकै मुटुमा त्यस्तो संगीन हमला हुँदा चुप्पी साँधेर बसे । शहरका गल्ली गल्ली र चोक चोकमा राखिएका बारहरु भत्काउँदै संसद भवनमा मृत खप्परको कालो झण्डा फहराउन अघि बढिरहेका नश्लीय जमातलाई ट्रम्पले सामाजिक संजाल मार्फत् उचालिरहे । जननिर्वाचित सांसदहरुमाथि हमला गर्न गएका र जो वाइडेनलाई जबरजस्ती पराजित गर्ने ध्येयका साथ भवनभित्र छिरेका उग्र समर्थकहरु मध्ये चार जनाले अनाहकमा टम्पको कारण ज्यान गुमाउनु पर्यो ।

संसद भवन भित्र मान्छे मारिएको खबर पाउँदा पनि टम्पले हार स्विकार गरेनन् । सत्ताको अहंकार र दम्भले विवेक गुमाएका सन्की ट्रम्पले चारैतिरको दबाबपछि मात्र आफ्ना हतियारधारी हुल्लड समर्थहरुलाई घर फर्कन देखावटी आव्हान गरे । तर उत्तेजित बनाउँदै ।

जनताको मतबाटै कसरी तानाशाह सत्तामा पुगेर व्यवस्थाको हुर्मत काढ्दो रहेछ भन्ने उदाहरण बने ट्रम्प । उनको पतनसँगै संसारभरी देखिएको उग्र राष्टवाद र मै हुँ राज्य भन्ने अहंकारी मानसिकताको अन्त्य हुने आशा सबैले गरेका छन् ।

अमेरिकामा जे छ त्यो बाहिर देखिँदैन । नश्लीय चिन्तनले अमेरिकी समाज भित्रभित्रै आक्रान्त छ । प्रजातन्त्रको दुहाई दिनेहरुको देशमै प्रजातन्त्र घाइते छ ।

फेरि एकपटक प्रजातन्त्रको नाममा अमेरिकी नेतृत्वमा चलिरहेको पुँजिवादको नांगो व्यापारको राजनीतिकरण छरपष्ट भएको छ । उनको अहंकारको पराजयसँगै सबैले भनेका छन्, डोनाल्ड यू आर फायर्ड ।

तपाइँको प्रतिक्रिया

फेसबुक