सोमबार, वैशाख ६, २०७८

कथा : शैक्षिक गुणस्तर

मन गहिरे / तानसेन, पाल्पा२०७७ पुष २५ गते ८:०२

माघको चिसो कठ्यांग्रिँदो जाडो मौसममा मधुरा घाममा न्यायो खोज्ने बेला थियो । ‘बुधुनी’ हतार–हतार गर्दै झोला बोकेर दगुरी । विद्यालय पुग्दा प्रार्थना सकिइसकेको थियो । उ ढिला आउने विद्यार्थीको लहरमा उभिई । मानौं उ ठूलै अपराधी झैं शिर निहुराईरही । लाइनमा अरु पनि थिए । दिपा तामाङ, रिता भण्डारी र त्यही लहरमा बधुनी चौधरी थपिई । ढिला आउने विद्यार्थीहरुलाई ढिला आउनुको कारण सोध्ने आज मेरो पालो परेको थियो । कक्षा एकदेखि कक्षा तीनसम्म पढ्ने ति अवोध वालिकाहरुलाई क्रमैसँग बोलाउन थालें ।

दिपा तामाङ कक्षा एक । उ भर्खर आठ वर्षकी थिई । दिपा मेरो अगाडि ठिङ्ग उभिएर आँखा भुईतिर गाडी । उसका हातका औंला सुन्निएर पानी चुहिएका थिए । खुट्टाका औंला पनि पानी खाएर पचत्तै छन् । त्यो माघको झरीमा थरथरी कापेका उसका ओंठ निला भएर कट्कटिएका छन् । तिनै खुट्टामा चप्पल लाएकी विद्यालय पोशाकको कमिज र जामा त थियो । तर शरीरमा न्यानो लुगा थिएन । उसको अनुहारमा पोलिएको जस्तै कालो डामहरु देखें । उसको अनुहार हेरें । उसका बाध्यता र पीडाहरु आँखाबाट छताछुल्ल हुँदै थिए ।

मैले भनें– ‘नानी ! अनुहारमा यो के भयो ?’

उ भयभीत देखिन्थी । बताउन चाहन्नथी । के भयो भन न म उसलाई फेरि सोधें । दिपा डराउँदै भनी– ‘चियाले पोलेको…..’ ‘कसरी….?’ मैले यथार्थ बुझ्ने कोशिस गरें । ‘मैले काम ढिला गरें भनेर तातो चियाले डाम्देको…….’ उ थरथराउँदै भनी ।

कसले नी ?

‘अन्टीले ! अन्टीले कसैलाई नभन्नु भनेको ।’

हो र ? ल–ल म भन्दिन । तिम्रो घरमा को–को हुनुहुन्छ ?

– त्यो घर मेरो होइन, अन्टीको घर हो ।

अनि तिम्रो आमा, बाबा ?

– उ अलि गम्भीर हुँदै भनी ‘बाबा मरेको, आमा पोइला गाको…..’

अनि आज स्कूल आउन किन ढिला भो त ?

– भाँडा माझेर लुगा धुन धेरै थियो । त्यो नसकी स्कूल नजा भनेको अन्टीले अनि ढिला भयो ।

अनि तिमीले लुगा धुन, भाडा माझ्न सक्छौ त ?

– उम् ! सक्छु ।

अनि खाना खायौ ?

– नाई बिहान चिया खाको ……!

उसका आँखाभरि आँशु टल्पलाए । मैले उसलाई तिमी कक्षा कोठामा जाउ भनेर कक्षामा पठाएँ । पालो थियो पुष्पा वि.क. को । मैले नाम बोलाएँ ।

‘पुष्पा वि.क.’

– होइन मिस अहिले त म पुष्पा कार्की भएँ ।

कसरी………?

– मेरो मम्मीले अर्को बिहे गरेको त्यसैले ।

अनि तिमी पनि मम्मीसँगै गयौ ?

– उम ! म पनि मम्मीसँगै छु ।

को–को छौं घरमा ?

– अंकल, मम्मी र म ……. ।

अंकल भनेको को नी ?

– अंकल भनेको नयाँ बाबा के । उसले जोड दिंदै भनी ।

ए ! ए ! अनि तिमीलाई आज किन ढिला भयो त ?

– मम्मी नसक्ने हुनुभएको छ । ‘पाउनी’ के त्यसैले मैले भात पकाएर खुवाएर आउँदा बेर भयो ।

हो अनि सधैं तिमीले नै खाना बनाउँछौं ?

– हो म सधैं साँझ विहान आफैं पकाउँछु ।

अनि नयाँ बाबाले के गर्नुहुन्छ ?

– वहाँ त पसल जानुहुन्छ ।

खाना खायौ त ?

– नाई……. बेर भयो भनेर दगुरेको…..।

ल जाउ कक्षामा । पुष्पालाई पनि कक्षामा पठाएँ । पालो बधुनी चौधरीको । उ नौ वर्षकी भई । उसको अवस्था पनि उस्तै थियो । जिङरिङ्ग परेको कपाल, सायद त्यो कपालले काइयो पाएकै छैन । खुट्टा मयल काती जमेको । पानीका धर्सा जस्तै पिडुँलामा पिशावका धर्सा प्रस्टै देखिन्थे । नाकमा सिँगान कट्कटिएर घाउ पर्न थालेको, मैलो लुगामा उ मेरो अगाडि उभिई ।

बुधुनी ! तिमीहरु को–को छौं घरमा …… ?

– आमा मरेको हामी चार दिदीबहिनी छौं । एउटी काठमाण्डु साहुकाँ, अर्की पोखरा, अर्की भैरहवा म यहाँ । बाले सौता आमा ल्याछन् भन्छन् । हामीलाई बेचेको हो अरे खोइ किन…… हो ?

उ अन्जान थिई । आफ्नो जिन्दगीसँग उ आफै प्रश्न गरी । मैले फेरि ढिला हुनुको कारण सोधेँ ।

– पाहुना आका थिए । उनीहरुले खाका भाँडा माझेर काम सकेर आउँछ ढिला भयो ।

मैले बुधुनीलाई कक्षा कोठामा पठाएँ ।

उफ् ! यी अवोध बालिकाका यि फरक–फरक अनुहारका फरक–फरक पीडाहरु मन अमिलो भयो । हास्ने खेल्ने बाबुआमाका माया पाउने बेलामा अर्काको घरमा काम गर्न बस्नु परेको छ कठै ! ति कलिला हातले कस्तो र कति नै काम गरेका होलान् ।

उनीहरुलाई कज्याउने साहू र साहूनीको मन कस्तो होला ? माया पाउनुको सट्टा दुःख र कष्टका पहाडहरु तेर्सिएका छन् । विद्यालय पठाउनेको नाममा काम गराउनेहरुले सामुदायिक विद्यालयमा लगेर भर्ना गराउँछन् । यि त प्रतिनिधि पात्र मात्रै हुन् । तर अधिकांश विद्यार्थीहरुको स्थिति हृदयविदारक छ । भोक, दुःख कष्ट र डर त्रासको दैनिकीमा गुज्रिरहेका यि अवोध बाल मनस्थितिले कस्तो ज्ञान, सीप, लिएर कस्तो प्राप्त गर्ने हो ?

मलाई यिनै प्रश्नले झटारो हानिरहे । त्यसैबेला टेबुल माथि रहेको खबर पत्रिकामा ठूला–ठूला अक्षरमा लेखिएको थियो  “सामुदायिक विद्यालयहरुको गुणस्तर खस्कँदो ।” होलान् शिक्षाका नीति, शिक्षक, विद्यालय, वातावरण शिक्षा दिने तरिकामा र व्यवस्थापनमा कमि कमजोरी होलान् । तर भोको पेट र सन्त्रासको मनस्थितिले कस्तो ज्ञान र सीपको विकास होला । मनमनै उब्जे हजारौं प्रश्नहरु । पत्रिकामा लेखिएका शैक्षिक गुणस्तर अनि यि अवोध विद्यार्थीका भावमङगीहरुमा देखिएको यो दुर्दशा मेरो आँखा अगाडि घुमिरहे । मनैदेखि प्रार्थना गरें । कसैका पनि सन्तानको यो हविगत नहोस् ।

(गहिरे मोहनकन्या उच्च मावि तानसेनकि अध्यापिका तथा विभिन्न वागङमय सम्बद्ध संस्थामा क्रियाशील साहित्यकार हुन्) !

तपाइँको प्रतिक्रिया

फेसबुक