मंगलबार, माघ ६, २०७७

कथा : सत्यरामको सत्तरी वर्ष

स्नेह सायमी२०७७ पुष २५ गते ७:०९

विहानको घाम झ्यालबाट पसेर दराज पछाडीको कुनासम्म उज्यालो भइरहेको थियो । त्यो कुनासम्म घाम लागेको सत्यरामले कहिल्यै याद गरेको रहेनछ । ओछ्यानमा सुतेरै त्यो उज्यालो हेरिरह्यो एकतमास ।

तीन दिनदेखि बिरामी भएको सत्यराम आफ्नो कोठाको उज्यालो अँध्यारोसँग कहिल्यै परिचित भएको रहेनछ । उज्यालो नहुँदै ओछ्यान छोड्नु र काममा हिँड्नु उसको दिनचर्या थियो । सत्यराम डकर्मी नाइकेको काम गर्छ । अरुको घर बनाउँछ । कुन कोठामा घाम लाग्नुपर्ने कुन कोठामा नलागेपनि हुने । बाहिरको उज्यालो कसरी घरभित्र पार्ने यी सबैकुरा अनुभवकै आधारमा इन्जिनियरलाई सिककाउन सक्छ ।

तर सत्यरामले सत्तरी वर्षको भइसक्दा पनि आफ्नो कोठामा पस्ने उज्यालोको अनुभव बिरामी भएर बस्दा मात्रै गर्यो । समय के हो यो समय ? के म सत्तरी पुगेकै हो र ? के यो कोठा जस्तै मेरो बिगत अस्तब्यस्ततामैं बितेको हो र ? अरुको घर राम्रो बनाउने धूनमा आफ्नो घरमा ध्यान नपुगेकै हो र ? ओ हो मैले त आफ्नो बारेमा सोच्न नै भ्याएनछुं । समय यसरी पनि जान सक्छ र ? गएको पत्तै भएन ।

सत्यराम एक पटक वाल्यकालमा फर्क्यो, के नाम राखिदिएको यो सत्यराम ? एकदिन उसको छोराले भनेको थियो । सत्यराम ? उसले आफ्नो नामको बारेमा पनि सोचेको थिएन । के भो र नाम राखेपछि त राख्यो नि जुनसुकै होस । हो यो नाम उसले चाहेको नाम होइन । जन्मेको बेलामा पण्डितले राखिदिएको नाम पनि होइन रे । यो नाम त उसको आमाको बा अर्थात आमातिरको हजूरबाले राखिदिनु भएको थियो रे । किन यो नाम राखिदिनु भयो कुन्नि । सत्यरामले कहिले पनि असत्यको पक्षधर हुनै सकेन । आफ्ना फाइदाका लागि झुठ बोल्न, हिसाब हिनामिना गर्न , गलत गर्नेहरुसँग पाखुरी ननिमोठ्न सक्दै सकेन ।

उसको सत्यवादिताले उसलाइ एकछाक खान, केटाकेटी पढाउन, जीवनमा एउटा घर बनाउन दियो । तर धेरैलाइ शत्रु बनायो उसले । इन्जिनियरहरु उसँग कामै गर्न चाहँदैनन । निमार्णमा खर्च घटाएर, अलि कम सिमेन्ट हालेर, वा कुनै कमसल काम गरेर दश बिस प्रतिशत थप कमाइ गर्ने प्रस्ताव उसले कहिल्यै स्विकारेन ।

ठेकेदार पनि उसका निश्चित मात्र छन् । तर कामको दुख छैन । कामलाई दुख मान्दै मान्दैन उ । त्यसैले त ओछ्यानबाट जुरुक्क उठेर पुग्छ साइटमा र ढलानमा आफैं पानी दिन थाल्छ । ‘बेलामा पानी दिए पो घर जब्बर हुन्छ साहुजी’ । उ घरधनीलाई सिकाउँछ । तर आफ्नो घर पुरै श्रीमतीको जिम्मामा छोडेर उ काममा जान्छ र घरको एकछाक खाएर सुत्छ । उसले छोराछोरीहरुसँग समय नबिताएको कति कति । श्रीमतीसँग नजिस्केको कतिकति । कतै यस्सो यात्रामा त निस्केकै छैन । काम, काम र काम ।

उसले पटक पटक नसोचेको पनि होइन । यो सत्यका निम्ति प्रयास के मेरो मात्र जिम्मेवारी हो र ? नाम पो हो मेरो सत्यराम । किन मैले मात्र सत्यको पछि लाग्नु पर्ने । मैले सत्यको लागि पछि लागें भनेर सत्य मेरो वा समाजको पछि लागेको छैन क्यारे । समाजमा असतकै बोलवाला छ । मान्छे देशका कुरा गर्छन । पाइला पाइलामैं असतको बहुमत छ । सत्य किन फष्टाउँछ यो समाजमा ? कति जनासँग मात्र लडाइँ गरेन उसले सत्यको लागी । उसको ब्रम्हले भन्छ, सत्यराम, अरुले जेसुके गरुन, तिम्रो नामले तिम्रो कामको प्रमाणीकरण गर्नुपर्छ ।

श्रीमतीले बेसार पानी कोठामैं ल्याइदिइ र भनी आज त सन्चो छ जस्तो छ नि । यस्सो श्रीमतीको अनुहार गहीरोसँग हेर्यो । त्यसरी नहेरेकै वर्षौं भइसकेछ । सारो माया लाग्यो श्रीमतीको । ओहो कति साथ दिएकी छ यसले मलाई । मेरैलागि जन्म लिइछ यसले । मजस्तो अब्यवस्थितको घरको ब्यवस्था गर्नुपर्ने । आदेश मान्नुपर्ने । रिस खप्नुपर्ने । एक पटक श्रीमतीको गाला मुसार्यो । श्रीमतीले लजाउँदै भनी ‘छोरा बुहारीले देख्ला नि बुढा ।’

यो सत्तरी वर्षमा पैंतालिस वर्ष भो बिहे गरेको । तर मैले श्रीमतीलाइ न डुलाउन लगेँ । न एकजोर भनेजस्तो लुगा किनिदिएँ । उसले पनि जहिल्यै केटाकेटीको पढाइ खर्च, खाना कपडा भनेरै जीवन सिध्याइ । दिएको एक एक पैसा जोहो गरी घर बनाउन । छोराछोरीको बिहे गर्न । सबै त उसैले साँची । यस्सो सोच्दा धेरै अन्याय पो गरें की भन्ने लाग्यो सत्यरामलाइ ।

उसका खासै साथी छैनन् । किनभने न उ दिनसक्छ । न लिन सक्छ । दिनलाइ उसँग हुनपर्यो । नाजायज फाइदा लिन उसले जान्नुपर्यो । शायद ती हजुरबाले सत्यरामको भविष्य बुझेर नै नाम राखिदिएका हुन कि ?

सत्यराम अब्यवस्थाको विरुद्द लागिरह्यो । अब्यवस्थाको विरुद्दको लडाइँमा आफ्नो श्रममा खटीरह्यो । आफ्नो जीवन अब्यवस्थित बनाइरह्यो । सत्तरी वर्ष पछि फर्केर हेर्दा उसले महसूस गर्यो । उसको सत्यवादी जीवनको एकल सहयात्री उसको श्रीमती मात्रै रहिछिन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक