शुक्रबार, वैशाख ७, २०८१

लेखक भारतीको ‘विगत र बाडुली’ बेलायतबाट

नेपालप्लस समाचार २०७७ पुष २९ गते १७:३०

न्यूयोर्क– अमेरिकाबासी नेपाली लेखक भारती गौतमको संस्मरणात्मक कृति ‘विगत र बाडुली’ बेलायतको समकालिन साहित्य प्रतिष्ठानबाट प्रकाशित भएको छ ।

यसअघि कविता र संस्मरण लेखनमैं नाम बनाइसकेकी गौतमको ‘विगत र बाडुली’मा २६ वटा संस्मरणात्मक निबन्ध समेटिएका छन् । पारिवारिक र आफ्नो परिवेशको दैनिकीका वरपर रहेर लेखिएका संस्मरणमा बाहिर प्रवासमा बसेर आफ्नो जन्मभूमी, समाज र आफन्तको सम्झनाले मात्रै पनि जीवनैभर बाडुली लगाइरहने भावमा गौतमले आफ्नो सृजन क्षमता यो संग्रहमा देखाएकी छिन् ।

धनकुटामा जन्मेहुर्केर पछिल्ला २ दशकयता अमेरिकाको फ्लोरिडा बस्दै आएकी गौतमका यसअघि ‘आकाशमाथिको सहर’ (कवितासंग्रह), ‘स्मृतिमा भिमू’ (संस्मरण) र ‘अमेरिकामा आमा’ (संस्मरणात्मक उपन्यास) प्रकाशित भैसकेका छन् । बनिता काब्य पुरस्कार, अनेसास उत्कृष्ट नारी हस्ताक्षर पुरस्कार, राजमित्रा प्रज्ञा पुरस्कार र अनेसास उत्कृष्ट नारी साहित्य पुरस्कारबाट भारती पुरस्कृत भैसकेकी छिन् ।

यो संस्मरण कृतिमा ‘छिमेकी बहिनी झमक’, ‘पल्लाघरका ठूलामामा’, ‘सम्झनामा साहिला काका’, ‘बा मेरो सर्वस्व’, ‘त्यो दर खाने दिन’ जस्ता आफ्नो माइतीथलोको सम्झनामा उनिएका ‘नोस्टाल्जिया’ लाई सजिलो र पठनीय भाषामा जोडिएको छ ।

वास्तवमा यो संस्करणको टिप्प्णीमा समीक्षक लीला लुईटेलले भनेजस्तै ‘प्रवासमा बस्ने व्यक्तिहरुका लागि मनको बह पोख्ने सबभन्दा निकटको मित्र भनेकै अतीत एवं स्वदेशमा रहेका स्वजनको स्मरण हो ।’ स्वदेश र प्रवासका अलग–अलग निजात्मक कुराहरुको यो सँगालो ‘विगत र बाडुली’ डायस्पोरिक चेतनाले भरिएको कृतिको रुपमा आएको समीक्षकले मूल्यांकन गरेका छन् ।

तपाइँको प्रतिक्रिया