बिहीबार, चैत १५, २०८०

बेलायतमा कोरोनाबाट मर्नेको संख्या झन बढ्यो : अस्पताल भरिन लागेपछि ठाउँ ठाउँमै अस्थायी शवगृह

नेपालप्लस समाचारदाता / लण्डन२०७७ पुष २८ गते १७:२४

बेलायतमा निर्माण गरिएको अस्थायी शवगृह । फोटो- ल टेलेग्राम

कोरोना भाईरसबाट मृत्यु हुनेको संख्या ज्यादै बढेपछि अस्पतालहरुको चाप घटाउन बेलायतमा अस्थायी शवगृह बनाउन थालिएको छ । मृतकको संख्या ज्यादा बढेपछि अस्पतालले धान्न नसक्ने अनुमान गर्दै बेलायतमा यस्तो तयारि थालिएको हो । भाइरसको आगमनदेखि आधिकारिक रूपमा हालसम्म त्यहाँ करिब ८२ हजारको मृत्यु भैसकेको छ । बेलायतले हाल महामारीको सबैभन्दा खराब हप्ताहरूको लागि पूर्व तयारी गरिरहेको छ ।

दक्षिणी बेलायतस्थित इप्सा लन अस्पतालमा कोरोना भाइरसबाट मृत्यु हुनेहरुको शव सेतो लुगाले बेरेर बाहिर ल्याइएको थियो । तिनलाई त्यहिँ अस्थायी शवगृहमा राखिएको छ जसले गर्दा अस्पताललाई राहत पुगेको छ ।

बेलायतले हाल बिभिन्न थरी उत्परिवर्तित (म्युटेट) कोरोना भाईरसको सामना गरिरहेको छ । ति भाईरसहरु बढि द्रुत गतिमा फैलिएर संक्रमण गराइरहेका छन् । यस्ता भाईरसहरु माउ भाईरस भन्दा बढि संक्रामक देखापरेका छन् । यस्ता थरीथरीका भाईरस संक्रमण हुन थालेपछि बेलायतमा मृत्यु हुनेको संख्या नाटकियरुपमा बढिरहेको छ । शुक्रवार २४ घण्टामै एक हजार तिन सय २५ जनाको मृत्यु भएको छ । कोरोना भाईरस संक्रमण हुन थालेपछि २४ घण्टामा हालसम्मकै उच्च मृत्यु दर हो ।

अस्थायी शवगृह बनाउन जम्मा पारिएका सामानहरुको भण्डारस्थल । फोटो- भोनजुर

संक्रमित र मृतकहरुको संख्या बढ्दै जाँदा बेलायतका अस्पतालमा ज्यादा भार परिरहेको छ । कतिपय अस्पतालमा ओछ्यान भरिएका छन् । कतै स्वास्थ्यकर्मीको अभाव हुन थालिसकेको छ । सघन उपचार कक्षहरु भरिभराउ भैसकेका छन् । लास थन्काउने घरहरुमा लाम लागेको छ । अन्त्यस्टि गर्ने कर्मचारी र अन्त्यस्टि गृहमा चाप बढेको छ ।

फँस २४ न्युजका अनुसार बेलायतको दक्षिण पस्चिमस्थित एप्सोम अस्पतालमा लास राख्ने स्थानको अभाव भएपछि अस्पताल नजिकै अस्थायी लास घर निर्माण गरिएको छ । त्यहाँ हाल १७० लास राखिएका छन् । ति मध्ये आधा कोरोना भाइरसबाट मृत्यु भएको स्थानिय निकायको भनाइ छ ।

त्यस क्षेत्रमा निर्माण गरिएको अस्थायी शवगृहमा अझै १४० शवको क्षमता छ । तर स्थानिय अधिकारीहरुले आगामी केहि हप्ता त्यस क्षमताले धान्न नसक्ने र लास राख्ने ठाउँको अभाव हुने चेतावनी दिईसकेको छ ।

यस्ता अस्थायी शव गृहहरु पहिलेका पूनर्वास केन्द्र (रिह्याबिलिएसन सेन्टर) हरुलाई बदलेर बनाइएको छ । बेलायतका अधिकारीहरुले पहिले ५० मा एक विरामी कोरोना भाईरस संक्रमित हुने अनुमान गरेका थिए । तर अहिले हरेक २० मा एक जना कोरोनाको बिरामी हुने गरेको उल्लेख छ ।

एक स्थानीय प्राधिकरणका प्रवक्ताले एएफपीलाई बताए अनुसार उत्तर पस्चिम लन्डनस्थित ब्रेकस्पायर अन्त्यस्टि घाटको नजिक नयाँ अस्थायी लास घर बनाउने तयारी सुरु भएको छ ।

नेशनल फ्युनरल डायरेक्टर एसोसिएसनका अन्त्येष्टि निर्देशकहरूको संघका प्रवक्ता डेबोरा स्मिथले बताएअनुसार अस्थायी मुर्दा घर बनाउने बारे बेलयतभरिनै छलफल भइरहेको छ ।

बेलायत युरोपमा हाल कोरोना भाइइरसका कारण सबैभन्दा बढि शोकमा डुबेको देश हो । यहाँ हालसम्म कोरोनाका कारण करिब ८२ हजारको ज्यान गैसकेको छ । “कोरोनाबाट सबैभन्दा खराब, अति कठिनपूर्ण अवस्थाका लागि हाल हामी अन्तिम तयारि गरिरहेका छौं” बेलायतका प्रमुख स्वास्थ्य सेवा अधिकारी क्रिस विटीले ए एफपीसित भने ।

तपाइँको प्रतिक्रिया

फेसबुक