बुधबार, फागुन १९, २०७७

‘ओली बा’ का चटके भाषण र उनका साक्षी कामरेडहरु

ददि सापकोटा२०७७ माघ ४ गते १०:५४

“म्याग्दीमा रेल आएपछि कुस्मा बजारमा नआउने भन्ने हुन्छ ?” गत संसदिय निर्वाचनमा नेकपाले बहुमत ल्याएपछि प्रधानमन्त्री बनेका केपी ओली कुस्मा बजार पुगेर हौसिएका थिए । ओलीको वाणी सुन्न उभिएको भिडले तत्कालै गटटटटटटट ताली पिट्यो । त्यो भिडियो म अहिलेपनि हेर्छु । अहिले प्रधानमन्त्रीलाई गाली गर्ने नेतालेपनि गुटुटु ताली पिटेका थिए त्योबेला । त्यो देख्दा लागेको थियो ‘त्यत्रो जमातले पत्याएर ताली पिट्या छ, मैले मात्रै नपत्याउने ? म बुज्रुकक हुँ ? म बौलठ्ठी हुँ ? म कम्युनिस्ट बिरोधी हुँ ? म विकास बिरोधी हुँ ? म आम जनताले पत्याएको नपत्याउने घोर निराशाबादीपनि हुँ ? दुनियाँले ताली पिटिपिटि पत्याएको विकासका कुरा मैले मात्रै किन नपत्याउने ?

‘घरघरमा पाईपबाट सिधा ग्याँस जोडिन्छ’ भन्छन् प्रधानमन्त्री केपी ओली । गटट तालि बज्छ । पानी जहाज चलाउँछु नेपालको राष्ट्रिय झण्डा हल्लाउँदै । त्यो पानी जहाज नेपाली झण्डा फहराउँदै समुद्रसम्म सलल बग्छ भन्छन् । त्योपनि पत्याउँछ त्यो भिडले । अहिले उनलाई सत्तोसराप गर्ने नेता मुसुक्क मुसुक्क गर्दै ताली बजाउँछन् । काठमाडौंदेखि लुम्बिनी र पोखरादेखि बेनी, कुस्मासम्म रेल दौडाउँछौं भन्छन् । त्यो बेलापनि गटट ताली पड्काएकै छन् । नेपाल जस्तो भौगोलिक बनावटले कठिन देश । प्रविधी र विज्ञानको चमत्कारले संभव भएपनि के त्यो सहजै बनिहाल्छ ? आजको भोलीनै हुन्छ ? त्यसकोलागि सानोतिनो बजेट र लगानीले संभव होला ? यत्तिसम्म कुनै नेता, कार्यकर्ताले प्रश्न गरेको देखिन्न । प्रश्न त के शंकासम्म नगरि गुटुटु ताली पिट्छन् ।

नेकपा वा वामपन्थी बिचारका नेता कार्यकर्ता त हुनेनै भए ताली पिट्ने । कांग्रेस र राप्रपा देखि अन्य चिचिलामिचिला पार्टीका कार्यकर्तासमेत मिसिएर ताली ठोके । पत्याए । जति तालीको गडगडाहट पायो ओली उति हौसिए । झन मच्चिमच्चि उति फोस्रा आस्वाशन बाँडिरहे । प्रधानमन्त्रीलाई हावादारी आस्वाशनका अझ धेरै पोका बाँड्न हौस्याए तिनले ।

                                        नेपालबाट तुइन हटाए ओलीले, जुम्लामा बाँकी

त्यति मात्रै हो र ? हुँदाहुँदा घरघरै ग्याँस आयो । पानी जहाज उहिल्यै सलल चलिरहेकै छ । रेल त आएरपनि धेरै पुरानो भएरपनि थन्किसक्यो । तुइन यहि वर्ष हट्छ सप्पै भनिएकै हो । त्योपनि लागू भयो ओलीको भषणमा । तुइन हटेको प्रमाण त यहि फोटो हो, चिल्लोबाटो हुँदै जुम्ला अस्पताल लैजान लागेको एम्बुलेन्स । ओलीले दिएका आस्वासन र खाएका कसम के बाँकि छन् पुरा हुन ?

देश विकासका नाममा बोलेका, जनताका अगाडि कसम खाएका आस्वासन कुनैपनि पुरा भएनन् भन्ने आँट नेकपा फुट्नु अघिसम्म कुनैपनि नेताले गरेका थिएनन् । अर्थात् जनताको तालीको गडगडाहड पाएसम्म नेकपाका सबैलाई सहि लागेको थियो । तर यस्तो अवस्था देख्दा बोल्नेलाई मात्रै होइन ताली पिट्ने र पत्याउनेलाईपनि लाज लाग्नुपर्ने हो । तर लाग्दैन ।

उधारो सपना बाँड्न के मात्रै बाँकि थियो र ? रेल र सुरुङका सपना बाँड्दा केपी ओलीले ‘यो सरकार अब ढुक्कले चल्छ । अब कम्युनिस्टहरुले ५० वर्ष राज्य गर्छन् । देशको अनुहार फेर्छन् । जनताका दुखका दिन सक्किए । ढुक्क हुनुस्’ भन्दै भाषण गरेथे । अहिले केपी ओली गैह्र संवैधानिक कुको पिर्कामा बसेर फेरि जनताका घरघरै उस्तै खाले भाषण ठोक्दै हिँडिरहेका छन् । तर ‘तपाईको रेल कहाँ पुग्यो ? किन हामी ढुक्कले सरकार चलाउँछौं भन्दै ढाँटेर देशलाई अस्थिर बनाउँदै हुनुहुन्छ ?’ कोहिपनि प्रश्न गरिरहेको छैन । रेल सपना सुनाएका बेलामा जस्तै अहिलेपनि ताली पिटिरहेको छ भिडले ।

चुच्चे नक्शा आयो । नेपालले गुमाएको सप्पै जमिन फिर्ता लिन्छौं भन्दापनि गुटुटुटु ताली नठोक्ने कोहि भएन । त्यो बेलापनि हाम्रो मनले भन्यो ‘यत्रैपनि सक्दैनौ, ब्यक्ति हैन यि कसैलेपनि अहिले चाहिँ सक्दैनन् ।’ सप्पैले ताली ठोक्दा यस्तो सोच्ने थोरै थिए । तर जसले त्यो सोचे ति अल्पमतमा परे । जति राम्रो काम गरेपनि सधैं आलोचना गर्ने नकारात्मक द्रिष्टिकोणका मनुवा ठानिए । फेरिपनि चुच्चे नक्शा र राष्ट्रवादका आस्वासन भट्याउनेक्रम रोकिएको छैन । अहिलेपनि त्यस्ता नारा बिकेको बिक्यै छन् । र गुटुटुटु दुबै पक्षमा ताली ठोक्ने क्रम रोकिएको छैन ।

केपी ओली आफैं प्रधानमन्त्रीका रुपमा रहेर सार्वजनिक गरेको चुच्चे नक्शा हठात् फिर्ता भो । पाठ्यक्रममा समावेश भएरपनि हटाईयो । तर ओलीसमक्ष कोहि प्रश्न गर्दैन ‘त्यो चुच्चे नक्शा पाठ्यक्रमबाट किन हटाएको ?’ जाबो सार्वजनिक गरेको नक्शा त हटाउनेले फेरि भनिरहेको छ ‘हामी हाम्रो मिचिएको सबै जमिन फिर्ता ल्याउँछौं ‘। यो झुटमापनि ताली उसैगरि बजिरहेको छ ।

गत विहिवार ओलीको चुच्चे नक्शाका साक्षी, साख्खै विश्वासपात्र पररष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारत भ्रमण गए । उनी भारत जानु अघिल्लो दिनसम्म ओलीको डम्फु एक सुर र एकै तालमा बजिरहेको थियो ‘नेपालले आफ्नो गुमेको जमिन फिर्ता ल्याइछोड्छ, जसरिपनि ल्याउँछ ।’ उनले जमिन फिर्ताको डम्फु बजाएपनि शुक्रवार नयाँ दिल्लीको साप्रु हाउसमा ज्ञवालीको संवोधन थियो, भारतीय प्रतिनिधीका अगाडि । जमिन फिर्ता त के भारतले नेपालको चुच्चे नक्शापनि स्विकार गरेन । पुरानै नक्शा ज्ञवालीको नाकै माथि टाँसिदिएर ज्ञवालीलाई भाषण गर्न लगायो । जमिन फिर्ता लिने गफ हानेका प्रधानान्त्रीलाई ‘नक्शा बारे छलफलनै हुन्न’ भन्दै भारतले लोप्पा चटाइदियो । जमिन फिर्ता ल्याउँछु भनेर वार्ता गर्न भारत पुगेका ज्ञवालीसित जमिन फिर्ताको बहस त के भारतीय प्रधानमन्त्रीले भेट्न समेत चाहेनन् । तैपनि ओलीले जमिन फिर्ताको गफ दिन छोडेका छैनन् । यस्तो अवस्थामापनि गटट ताली पड्काउँदै पत्याउनेको भिड लागिरहेकै छ ।

पस्चिम नेपालको सुनखानी भन्ने ठाउँमा पुगेर ओलीले त्यसैगरि भाषण ठोके ‘यहाँ सुन नै सुखको खानी छ । त्यसैले सुनखानी नाम रहेको हो । अब यो सुनखानीलाई निकालिन्छ र यहाँका जनतालाई सम्बृद्द बनाइन्छ ।’ त्यो बेला सुनखानीका जनताले त पत्याउनेनै भए । नेकपाका नेतापनि ओलीको सुनखानी निकाल्ने भाषणमा मख्ख पर्दै ताली पड्काए ।

आखिर जे बोलेपनि सहने । जस्तो आस्वासनपनि पत्याउने । जनताका बिचमा गएर शतप्रतिशत झुठ बाहेक केहि नबोल्दापनि ओली हौसिनुको कारण के हो ? किनभने यो देशमा बोलेको कुरा प्रमाणित गर्नै पर्दैन । काम नगरि जस पाइन्छ । यो देश, यो देशका जनता, नेता, कार्यकर्तालाई गरेर देखाउनुनै पर्दैन । तिनको मनोकांक्षा बुझेर त्यहि अनुसारको आस्वासन बोलीले फुटाइदिए पुग्छ । नेपालीहरु यति छिट्टै खुशि हुने जिव हुन् तिनलाई वास्तविकताको धरातलमा टेकेर देखाउनै पर्दैन । तिनको दिमाखमा महाभारत, स्वस्थानी कथा, गरुणपुराण र यस्तै काल्पनिक कथाले मोहित पार्न सकिन्छ । अझैपनि नेपालीको नशा नशामा तिनै काल्पनिक शास्त्रिय रचनाले घरजम गरेको छ ।

बहादुर, सबल, द्रिढ इच्क्षाशक्ती, विकासप्रेमी, कर्मठ नेत्रित्व खोजिएकै छैन । खोजेपनि चाहिएकै छैन । गुलिया भाषण र झुठा आस्वासन बिक्छन् । खाली पत्यार लाग्ने शैली, चटकीले बाँदर नचाएजस्तै भाषामा सुनाइदिनुपर्छ । कर्णप्रिय भए पुग्छ ।

आखिर बजार यति सजिलै पत्याइने हावादारी कुराको छ भने कोहि किन चुनौतिपूर्ण काम गर्ने सोचोस ? हावादारी नेता बिक्ने समाजमा किन कर्मठ, प्रतिबद्द नेता चाहियो ? एक छिन डमरु हल्लाएर बाँदरलाई चार फन्को घुमाइदिएकै भरमा मेलो चल्ने समाजमा गम्भिर विषय कसरि बिक्छ ? बजारको माग अनुसार वस्तुको उत्पादन हुने न हो । नेपाली बजारको मागनै हातमा डमरु लिएर बाँदर नचाउने चटकीहरुको छ । तिनै चटकीहरुले ठाउँठाउँमा राजनितिक चटक देखाइरहेका छन् ।

दोष उखानका बादशाह, चुट्ट्का र चुट्किलाका विश्व बिजेता जस्ता लाग्ने केपी ओलीलाई मात्रै दिन मिल्दैन । उनका फोस्रा भाषण र कुनै कली युगको हावादारी वर्णन जस्तो लाग्ने आस्वासन पत्याउने कम्युनिस्ट भनाउँदा नागरिक, कार्यकर्ताको पनि हो । केपी ओलीले त्यस्ता बतासे आस्वासन बाँड्दा उनका पतिंगरे भाषणलाई ल्याप्चे ठोकि ठोकि, ताली बजाइबजाई सदर गर्ने अहिलेका झलनाथ खनाल, माधव नेपाल, प्रचण्ड र नारायणकाजीपनि हुन् । तिनका पछि पछि हो मा हो मिलाउँदै हिँड्ने अन्धभक्त कार्यकर्ता र भुरे नेतापनि हुन् ।

सुनखानी पुग्यो सुन निकाल्छौं । फलामकहनी पुग्यो फलाम । लुम्बिनी पुग्यो, बौद्द धर्म अध्ययन अनुसन्धानको विश्व केन्द्र बनाउँछौं । चितवन पुग्यो, बाघ र गैंडा नहेरि मरे नर्क पुगिन्छ त्यसैले चितवन आउनै पर्ने बनाउँछौं’ भन्यो । यस्ता हावादारी आस्वाशन बाँडेका बेला माधव नेपाल, झलनाथ, प्रचण्ड, नारायणकाजीहरुले सचेत गराउन सक्थेनन् ? गलत आस्वासनले पार्टीलाई घाटा पर्छ भनेर लगाम लगाउन सकिनेथिएन ? तर तिनले त्यसो गरेनन् ? किन ?

तिनमापनि कम्युनिस्ट नाम, वामपन्थि नारा, हैंसिया र हथौडाको झण्डामुनि बसेर गरिबका नाममा जस्तोसुकै आस्वासन दिएपनि बिक्छ भन्ने भ्रम छ । तिनकोपनि ध्येय जसरि हुन्छ आस्वासन बाँड्ने र आस्वासनकै नाममा सोझासाझा जनतालाई हँसिया हथौडाको झण्डामुनि गोलबन्द गर्ने । तिनकोपनि उद्देश्य ईमान्दारितापूर्वक देशको विकास गर्ने, गरिब जनताको सेवा गर्ने होइन । देखिन्न । त्यसैले ओलीले उखानटुक्का हालेर चटकी भाषण ठोक्दा तिनले हौस्याए । ओलीकै काँधमा धाप मारे । त्यसैले ओलीका चटक र उखानको हिस्सा तिनका भागमापनि अंशबण्डा हुनुपर्छ ।

हावादारी रेल, पतिंगर नदीमा खसेझैं आउने ठानिएको पानी जहाज, शरिरको बिकार खसेझैं प्राप्त भैहाल्ने पाइपे ग्याँसका साक्षी अहिलेका माधव नेपाल, झलनाथ खनाल, प्रचण्ड, नारायण काजी र तिनको विकारलाईपनि अमृत ठानेर शिरोपर गर्ने कार्यकर्तासमेत हुन् । निर्वाचन जितेलगत्तै देशका ठाउँ ठाउँमा बतासे भाषण गर्दै हिँड्दा तिपनि ओली मार्काको प्रवर्धक, समर्थक र तालीबाजनै थिए । त्यसैले, ओली ब्राण्डको बतासे गफ, विकासका हावादारी आस्वासन र ओलीले जे गर्दापनि उक्साउने नेकपाका कार्यकर्ता र नेतापनि ओलीबादका उत्पादक, जननी हुन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक