शनिबार, वैशाख ८, २०८१

छ जना यात्रु ‘बिना पिसिआर रिपोर्ट’ काठमाडौं उत्रिए, ‘दिल्लीका स्टेशन म्यानेजर मन्त्रीका भान्जा भएकैले कारवाही भएन’

नेपालप्लस विशेष संवाददाता / काठमाडौं२०७७ माघ १ गते १८:३६

परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली

गत पुस १५ को एउटै दिनमा दुइवटा घटना भए— नेपाल वायुसेवा निगममा । सोही दिन मलेशियाको क्वालालाम्पुरबाट उडेर आएको नेपाल बायुसेवाको उडान (आरए ४१६) मा एकजना यात्रु कोरोना पोजेटिभ भेटिए र, सोही कारण क्वालालाम्पुरमा रहेका बायुसेवाका कन्ट्री म्यानेजर र एयरपोर्ट प्रमुख कारवाहीस्वरुप काठमाडौं फिर्ता बोलाइए ।

तर, सोही दिन अपरान्ह दिल्लीबाट काठमाडौं आएको नेपाल बायुसेवाकै उडान(आरए २०५) मा ६ जना यात्रु बिना पिसिआर रिपोर्ट यात्रामा निस्किएपनि यो घटना सामसुम पार्ने प्रयत्न भएको छ । नियमानुसार, काठमाडौंबाट दिल्ली उड्नेले काठमाडौंमैं ७२ घण्टाभित्र गराइएको पीसीआर नेगेटिभ रिपोर्ट लिएर उडानमा जानुपर्ने हुन्छ भने दिल्लीबाट फर्कदा दिल्लीमैं ७२ घण्टाभित्र गरिएको पिसिआरको रिपोर्ट चाहिन्छ । तर, पुस १५ अपरान्हको दिल्ली–काठमाडौं उडानमा यात्रुहरु लक्ष्मी महर्जन, राजन महर्जन, कुश महर्जन, कृष्णसागर, पुष्पराज पाँडे र शुशिल पौडेल बिना रिपोर्ट काठमाडौं एयरपोर्टमा पक्राउ परे ।

यसरी दिल्लीबाट उड्नलाई आधिकारिक पीसीआर रिपोर्ट नभइकन उडाउनलाई दिल्ली एयरपोर्टमा रहेका नेपाल बायुसेवाका स्टेशन म्यानेजर र अरु स्थानीय कर्मचारीको अनुमती तथा मिलेमतो नभइ यो सम्भव हुने कुरै होइन । यस्तै घटनामा मलेशियाका स्टेशन म्यानेजरसहितका कर्मचारी फिर्ता बोलाइएपनि दिल्लीमा देखिएको लापरवाहीमा स्टेशन म्यानेजर नारायण पौडेल र अरु कर्मचारीलाई सामान्य सोधपुछसम्म पनि भएन । यसअघि पनि भारतीय राजदूत बिनयमोहन क्वात्रा, पूर्व प्रधानमन्त्री प्रचण्डकी पुत्री गंगा दाहाललगायतलाई ‘बिना पीसीआर रिपोर्ट काठमाडौं उडान सफल रहेका’ स्टेशन म्यानेजर बारम्बार यस्तै लापरवाहीका घटनामा मुछिएपनि उनी पानीमाथिको ओभानो रहँदै आएका छन् ।

परराष्ट्र मन्त्री ज्ञवालीका भान्जा स्टेशन मेनेजर नारायण पौडेल

मलेशियाबाट आएको उडानमा रहेकामध्ये संक्रमित छेउछाउ रहेका ५४ जना यात्रुलाई सरकारी खर्चमा क्वारेन्टाइनमा राखिएझैं दिल्लीबाट आएका ६ जना शंकास्पद यात्रुलाई पनि क्वारेन्टाइनमा त राखियो । तर, एउटै कारण र अवस्थामा रहेका मलेशियाका वायुसेवा कर्मचारीलाई फिर्ता गराउँदा दिल्लीमा भने किन कुनै कारवाही भएन ? किन यो घटना सामसुम पारियो ?

‘कारण एउटै छ, दिल्लीमा रहेका स्टेसन म्यानेजर नारायण पौडेल परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीका साख्खे भान्जा हुन् । र, यही नाताबादको कृपाका कारण पौडेलले फिर्ता आउनुपरेन,’उड्यन प्राधिकरणका एक अधिकृतले भने । यसरी दिल्लीबाट ६ जना यात्रुलाई बिना पिसिआर रिपोर्ट उडाउनुमा स्टेशन म्यानेवर पौडेलसहितले आर्थिक चलखेल तथा लाभको कामसमेत गरेको आशंका कायमैं रहेकोमा यसमाथि पनि छानविन हुन सकेको छैन ।

यसमा पनि मलेशियाबाट आएको उडान र कोरोना पोजेटिभ यात्रुबारे समाचार बाहिर आएपछि आफूलाई हक्की देखाउन नेपाल बायुसेवाका महाप्रबन्धक डीमप्रसाद पौडेल र पर्यटन सचिव यादव कोइरालाले कर्मचारी फिर्ता बोलाउने निर्णय त गरे । तर, दिल्लीका हकमा यी दुबै मौन रहे । किनभने परराष्ट्र मन्त्रीको प्रभाव र पहुँचका कारण दुबैले यत्रो गम्भीर त्रुटीमा पनि केही भन्न चाहेनन्, वा सकेनन् ।

फेरि करार नियुक्ती सुरु

नेपाल कम्युनिष्ट पार्टीमा माधव नेपाल खेमाका तत्कालिन् पर्यटन मन्त्री योगेश भट्टराईले मन्त्री होइन्जेलमा गरेको एउटै सह्राहनीय काम थियो— अनावश्यक आर्थिक व्यहभार बेहोर्नुपर्ने १४५ करार कमचारीको नवीकरण सम्झौता रद्ध गरिनु ।

बढीजसो राजनीतिक आसेपासे र अझ शहीद, एकल महिला, सिमान्तकृत समुदायका भनेरै नियुक्ती पाउनेहरुलाई मन्त्री भट्टराईले गत आर्थिक वर्षदेखि निष्कासन गरेर निगममा केहि आर्थिक चुस्तता भित्र्याएका थिए । तर, अहिले प्रधानमन्त्री ओली कोटामा पर्यटन मन्त्री भएर आएका भानुभक्त ढकाल, पर्यटन सचिव यादव कोइराला र नेपाल वायुसेवा महाप्रबन्धक डीमप्रसाद पौडेलसमेतको मिलेमतोमा फेरि करार सेवामा आफन्त कर्मचारी भर्ति गर्न थालिएको छ । निगम स्रोतका अनुसार, राधा गिरी, बिमला दंगाललगायतका झण्डै १ दर्जन कर्मचारी करार सेवामा नियुक्त भैसकेका छन् भने अरु पनि नियुक्त हुने क्रममा छन् ।

श्रम ऐन–७४ ले दिएको सेवा–सुविधा, अधिकारको बिरुद्धमा गएर मासिक २२ हजार रुपैंया तलब खाने गरी नियुक्त भएका यी कर्मचारीमा पूर्व एमाले कार्याकर्ताको पंक्ति समूह बढी छ । ‘यसरी सामाजिक सुरक्षा कोष, संचयकोष र अन्य सुविधाको कुरा नगरी मासिक तलब–भत्ता दिने शर्तमा कर्मचारी राख्नै पाइदैन,’प्राधिकरणका एक कर्मचारीले भने—‘बरु यस्ता कर्मचारीको हकमा दैनिक ज्यालादारी मान्य हुन सक्थ्यो ।’ यी करारमा राखिएका कर्मचारीको करार अवधी ६ महिनाको राखिएको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक