बिहीबार, कार्तिक ११, २०७८

उनलाई बिदा गर्ने बेलामा आइपुग्न सकिनँ

डा. गोविन्दराज भट्टराई२०७७ माघ ३ गते ६:०१

आकाश त्यस्तै अँध्यारो थियो । घाम डुब्ने बेला ता भएको थिएन । तर डुबेको जस्तो अवस्था थियो । सुकर्मटोल लेखिएको साइनबोर्ड पढ्दै मूलबाटो छोडेर घरतिर झरेँ । भर्खरै कत्रो बाढी चलेछ । कहाँ कहाँका झारपात, खोष्टा, फोहर यो बाटोभरि छरेर हेरिनसक्नु नै भएको रहेछ । घर छेउका मकै पनि पाकेर भाँचेछन् । उमेर सकिएका शरीर जस्ता । तैपनि रित्ता बोटहरू बतासमा हल्लिरहेका छन् । अलिकति होस् उड्न खोज्छ । कसैले अड्याइदिनु पर्‍यो । हटाइदिनु पर्‍यो । नत्र ती सुष्क बोटले पनि धर्ती छोड्न सक्तैनन् ।

त्यस्तै छन् मानिस पशुप्राणी पनि । अन्तिम भएर अति अन्तिम छन् । निष्क्रिय, अचल । तापनि जगतको मोह छ । विस्कुन उठाउने नआइपुगिन्जेल ओछ्यानमा सुतेर चम्चीले माड पिउँदै पनि झ्यालबाहिरको उज्यालोतिर हेर्दै त्यहाँ लडिरहेका हुन्छन् । अस्पताल जानु परेको छ । जिजीविषाको रोगले गर्दा धर्खराउँदै लर्खराउँदै बेहोसिँदै उठ्तै फेरि पनि सद्दे भएको कल्पना गर्दछन् । एकदिन मेरो पनि पालो आउला । धेरै पछि आइदिए त्यस दिनसम्ममा मैले धेरै काम गरिसकेको हुने थिएँ । यी सुकेका ढोडले मलाई त्यति सम्झाए ।

सुटकेश घिसार्दै झरेँ । तर यो घरर सुनेर पनि थाहा पाउने कोही देखिएन । गेटमा पुगेर रोकिएँ । आफैँ साँचो मिलाएँ । गेट खोलेँ । भित्रको सानो आँगन सुनसान छ । मास्तिर बगैँचामा उम्लेर आएको लालपाती र पारिजातका बोटले साउती मारेजस्तो देख्छु । दारिमको एक रातो थुँगा मुस्कुराउँछ । यद्यपि आज त्यसरी मुस्कुराउने समय होइन, किनभने यो मन सुनसान छ । अन्य सारा परिवेश सुनसान छ । आफैँ ढोका खोलेँ । भित्र सँघार पनि सुनसान छ । यसो झोला समाइदिने कोही छैन । उज्यालो बदनसित ढोका खोल्दै सुटकेस भित्र्याउन सघाइदिने पनि कोही छैन । तर मन बोल्छ— एक उज्यालो अनुहार ढोकाको आवाज सुनेर बाहिर निस्कनुपर्ने । तर किन आज कोही छैन ।

ऋचाले बिहानै फोन गरेकी थिइन्— बुबा, हामी दिल्लीको जंगपुराको क्वाटरमा छौँ । काकाले हस्पिटलतिर सम्पर्क गरेर घुम्दै हुनुहुन्छ । अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेजमा, यहाँ एम्स भन्दो रहेछ । काकाको साथमा । त्यो कुरा मैले भूलेँछु र मन एक्लै बोल्छ—किन आज कोही बाहिर निस्केन ।

घरमा बस्नेहरू सबैसबै यात्री नै रहेछौँ । यायावर झैँ चलायमान । छोरीहरू, भाइ, म, अञ्जना, पाँचैजना कसको कहाँ पुग्ने पालो परिरहन्छ । टाढादेखि बारम्बार कुन दिन कसलाई कहाँदेखि कुनै डोरीले तानेजस्तो गर्छ । फर्केर आउँछौँ— फेरि पनि तानेजस्तो गर्छ; सबै पराधिन भएजस्तो । नत्र अञ्जनालाई बिदा गर्नुपूर्वै म किन पूर्व लाग्थेँ ? सके म पनि सँगै दिल्ली जान्थेँ हुँला, नसके पनि हवाइअड्डा पुर्‍याएर भाइ र छोरीको साथमा बिदा गर्थें हुँला । बिरामी मान्छे । उपचारमा जाने । त्यसबेला मेरो उपस्थितिको मूल्य कत्रो हुन्छ ? तर अज्ञात डोरीले तानिएको म टाढा पूर्व कतै पुगेको थिएँ । धुलाबारीको त्रिफला पुस्तकालयले तानेर म त्यहाँ पुगेको थिएँ ।

यस्तो कल्पिँदै ढोका खोलेर बैठकमा पसेँ र बिसाएँ । चिया पिउने कि तातो पानी ? सुनेजस्तो गर्छु । तर कोही छैन । आज प्लेन ढिलो भयो कि टिकटै अबेलाको थियो ? सुनेजस्तो गर्छु तर, कोही छैन । यस्ता सम्वादमा सहभागी भएजस्तो भएँ र माथि चढेँ । तर यत्रो घरमा कोही छैन । आफ्ना पदचाप बजेर आफ्नै कानमा ठोकिएजस्तो गर्छ तर कोही छैन । नानीहरू, सेवा–ऋचा— आज घरमा को छ हँ भनेजस्तो गर्छु तर आज घरमा कोही छैन ।

आज सबै रित्तो छ । अन्तिम रित्तो ता होइन । भरे भाइ खगेन्द्र आउलान् । तर मुटुको अपरेशन गराउने भनी अञ्जना दिल्ली पुगेकी छन् । म पूर्व गएको बेला हिँडेकी थिइन् । मैले यस्तो यात्राको क्षणमा एकपल्ट उनलाई बिदा गर्नु थियो । तिनै पातला हल्का नीला र पहेँला परेका बस्त्र लगाइन् होला । अर्का बैजनी रङका उज्याला पो लगाइन् कि ? हिँड्ने बेलामा तिमीहरूकी आमाले के–कस्ता वस्त्र लगाइन् भनेर सोधुँ पनि कति अप्ठ्यारो । तर, यो मनले मलाई नै किन सोधिरहन्छ ? दिल्ली जानु छ गर्मीमा । ती सूतीका कुर्ता र सुरुवाल, सेतो केश बाँधेर पातला चप्पल टेक्तै माथि बाटामा पुग्न पनि नसकेर एकपल्ट बीचमा एकछिन् उभिइन् होला । अरुले देख्लान्—साह्रै असमर्थ बिरामी जस्तो पनि हुनु भएन । तर शरीरले यो सानो उकालामा पनि ती पाइला सरासर त्यसरी नचाल भनिरहेको थियो होला ।

बिदा गर्ने बेलामा म भएको भए पनि भन्थिन् होला— यहाँ ओट छ चारचम्चा हाल्नु । यहाँ चामल छन् उसिना, त्यो बट्टामा ब्राउन राइस छ । यस बट्टामा दाल छ, यता नून मसला, यो नयाँ कुकर चलाउनु । पुरानो अस्ति सिटी उफ्रियो भनेको होइन ? त्यो चाहिँ नचलाउनु, उपद्रो हुनसक्छ । म भन्ने थिएँ— मेरो चिन्ता नगर तिमी शान्त चित्तले जाऊ र, निको भएर आऊ । म पनि त एकपल्ट आउनेछु । यहाँ त म गरिहाल्छु, मेरो चिन्ता नलेऊ ।

नानीहरूले पनि आमा ट्याक्सीमा चढेको मोबाइलमा खिचे कि ? त्यो तस्वीर मेरो फेसबुकमा पनि फर्वाड गरिदिए हुने । नखिचेका हुन् कि सम्झिरहेँ । दिल्ली पुगेको खबर पनि भाइले पठाएका थिए । उनीहरु पुरानो डेरामा बसेको खबर गरेका थिए । भोलिपल्ट एम्स अस्पताल पुगेर जाँचको लागि दर्ता गराएको कुरा गरेका थिए । अर्काे दिन गरेँ—त्यहाँको वार्डमै सरेको बताए । त्यो साँझ फोन गरेँ । आज उनीहरू पुगेको चार दिन बितेको छ । भाइले सबै व्यवस्था गरेको छ— एम्समा भर्ना गराइसकेको छ । एउटा होइन दाजु, दुईटै भल्व फेर्नुपर्छ ।

म झसङ्ग भएँ— यो जीवन कसरी चल्छ ? विज्ञानले केसम्म गर्दैछ ? तर सम्झिन्छु—फेरि यसमा कति जोखिम होला । हाम्रो हातमा के नै छ र ? फेरि अन्धकार मात्र बाँकी रहने हो कि । अन्जना उता भर्ना भैसकेकी छन्— अब ता बाँकी कुरा गर्न कहाँ मिल्छ र ? भोलि नै दिल्ली उडौँ जस्तो भयो । यो रात कतिबेला सकिन्छ जस्तो भयो । तर हजारौँ–लाखौँ बिरामी यसरी अस्पतालमैं छन् । हजारौँ–लाखौ तिनको दीर्घजीवनको प्रार्थनामैं छन् । म पनि तीमध्ये एक पात्र हुँ । बिदा हुने बेलामा हेर्न नपाएकी अञ्जनाको दुब्लो शरीर विस्तारै माथि पुगेर ट्याक्सीभित्र पसेको हेर्न नपाई मनले उनैलाई सम्झिरहेको थियो । एक विश्वविद्यालयकी प्राध्यापक अंग्रेजीकी, कत्रो आँट र मनोवलसित कर्म गरिरहेकी । जीवनको उज्यालोसित सम्वाद गर्दै, अझै उज्यालोको प्रतीक्षामा बीचैमा बिसाएर त्यति टाढाको अस्पताल जाने बेला भएको छ र ? एक्लो मलाई काम छुट्यो । अनेक दुष्कल्पनाले घेरिएजस्तो भएँ । अनि आफ्नो स्टडी रुममा पुगेँ ।

फेरि भेट हुनेछ भन्ने भावमा अलिकति सन्देह समेत पस्न नदिई मनलाई दर्‍याउँछु । तर कस्ता कस्ता दिन पनि आएका छन् । मानिसले भोगिरहेका छन् । बेहुली अन्माएको बेलापनि छोरीसँग फेरि भेट होला भन्ने हुन्छ, तर कतिको हुँदैन । परदेश लाग्ने बेलामा पनि पितामाता वा पुत्रसँग फेरि भेट होला भन्ने हुन्छ तर फेरि हुँदैन । अहिले ता पत्नी वा पुत्रीहरू पनि त्यसरी घर छोड्ने, परदेश लाग्ने फर्किने भएका छन् । तर कहिले फेरि भेट हुँदैन । बेथाले सारो पार्दै ल्याएपछि आफन्तलाई शहर पुर्‍याउँछन् । हाम्रोमा धेरैले गाउँदेखि काठमाडौँ पुर्‍याउँछन् । तर कति ता फेरि फर्किंदैनन् । तीसँग फेरि भेट हुँदैन । किनभने गाउँघरमा माया मारेपछि बिरामीलाई काठमाडौँ वा कुनै ठूलो शहर पुर्‍याउँछन् । त्यस्तो होइन, अञ्जना त हिँड्ने दिन बिहान पनि क्याम्पस पुगिन्, सही गरिन् । आजदेखि केही दिन पढाउन असमर्थ छु भनेर बिदा मागेकी थिइन् अरे । मनलाई त्यसरी ढुक्क पार्छु ।

(बाँकि अर्को अंकमा)

तपाइँको प्रतिक्रिया

फेसबुक