शुक्रबार, वैशाख १४, २०८१

वीर सावरकर र हिन्दू राष्ट्रवाद

लक्ष्मण देवकोटा२०७७ माघ ३ गते १२:३८

महात्मा गान्धी त्यो बेला अफ्रिकामा बस्थे । उनी महात्मा भैसकेका थिएनन् । मोहनदास करमचन्द मात्रै थिए । भारतमा अंग्रेजको शासन थियो । भारतबाट अंग्रेजहरुलाई लखेट्ने अभियानको निम्ति उनी लण्डन पुगेका थिए ।

दक्षिण अफ्रिकामा वकालती पेशा गरेर बसेका गान्धी लण्डनको इण्डिया हाउसमा बसेर कानून पढिरहेका सावरकरलाई भेट्न गए । सावरकरले ताबामा समुद्री झिंगे माछा तार्दै थिए । खानपिन हुने बेला भयो । सावरकरले समुद्री झिंगेमाछो खान गरेको आग्रहलाई गान्धीले अस्वीकार्दै भने, “म शाकाहारी हुँ । माछा मासु खान्न ।”

गुजराती वैश्य गान्धी र महाराष्ट्रका ब्राम्हण सावरकरबीच कुरा हुँदै थियो । सावरकरले भने, “माछा मासु नै नखाइकन कसरी अंग्रेजसँग लड्न सक्छौ ?”

भारतीय स्वतन्त्रता संग्रामका नायकहरु शहीद भगत सिं, चन्द्रशेखर, सुभाषचन्द्र बोसहरुको चर्चा नहुँदै सावरकरले अंग्रेज विरोधी जेहाद शुरु गरिसकेकाथिए । जीवनभर विवादमा रहेका सावरकरलाई भारतमा हिन्दू राष्ट्रवादको शुरुवात गर्ने नायकको रुपमा भारतीय जनता पार्टीले मान्दै आएको छ । मोदीको सत्तारोहणपछि उनलाई राष्ट्रिय नायकको रुपमा स्थापित गर्ने अभियान नै चलाइएको छ ।

भारतको महाराष्ट्रको नासिकमा जन्मिएका सावरकरको नाम विनायक दामोदर सावरकर हो । २८ मे १८८३ मा जन्मिएका सावरकर सानैदेखि हक्की स्वाभावका थिए । उनका दाजु गणेश सावरकर पनि क्रान्तिकारी चेत भएका मानिस थिए । सानैमा आमा राधाबाई मरिन् । त्यसको केही वर्षपछि बा मरे । जेठा गणेश सावरकरको रेखदेखमा हुर्किएका दामोदर कलेज जीवनमा राष्ट्रिय कांग्रेसको राजनीतिमा लागेर अंग्रेज विरोधी अभियानमा सामेल भए ।

भारतमा कांग्रेस पार्टीको स्थापना अंग्रेज शासकहरुले नै गरेका थिए । आओ ह्युम नाम गरेका अंग्रेज शासकको अगुवाइमा खान्दानी सामन्त र राजा रजौटाहरुको सहभागिता हुने गरी प्रजातन्त्रका नाममा यो पार्टीको स्थापना भएको थियो । जमीनका दुःखी गरिब भारतीयहरुको यसमा कुनै भूमिका थिएन । सावरकरले कलेज जीवनमै अंग्रेजी उत्पादन बहिष्कार गर्ने अभियान चलाए । अंग्रेजहरुले बनाएका कपडा लगायत वस्तुहरु जलाउने अभियान चलाए । जनता जागृत अभियान चलाइरहेका सावरकरलाई कलेजले उद्दण्ड काममा लागेको भन्दै कलेजबाटै निकालिदियो ।

जसोतसो स्नातक गरेपछि उनी कानून पढ्न लण्डन गए ।

सावकर ठान्थे, बल प्रयोग नगरिकन अंग्रेजहरुलाई हटाउन सकिन्न । सन् १९१० मा नासिकमा एकजना ज्याक्सन नाम गरेका अंग्रेज कलेक्टरको गोली हानी हत्या गरियो । त्यसमा प्रयोग भएको पेस्तोल लण्डनबाट सावरकरले पठाएको रहस्य खुलेपछि लण्डनबाट उनी पक्राउ परे । जहाजबाट उनलाई भारत ल्याइँदै थियो । पौडी खेल्न सिपालु सावरकर महाराष्ट्रको किनार आइपुग्न लाग्दा पानीजहाजबाट समुद्रमा हाम्फाले । पानीजहाजबाट सुरक्षाकर्मीले उनलाई गोली हानिरहे । तर उनलाई लागेन । छिटो छिटो तैरिएर बाहिर निस्कन लाग्दा उनी ढुंगामा चिप्लिए । तर दोश्रो प्रयासमा निस्किए । कट्टु मात्रै लगाएर बाटोमा दौडिरहेका सावरकरलाई सुरक्षाकर्मीले लखेट्दै समाते । गोली भने हानेनन् ।

पक्राउपछि उनलाई निर्जन अण्डमान कालापानीको टापुमा रहेको कारागारमा पठाइयो । अण्डमान टापुको यो कारागारलाई सबैभन्दा डरलाग्दो जेल मानिन्थ्यो । सानो कोठा । धेरैजसो कोठामै दिशा पिसाब गर्नुपर्ने वाध्यता ।

कैदीहरुले अंग्रेजहरुको ताम्दान तान्नुपर्ने व्यवस्था थियो । कैदीहरुले नरिवल र सर्स्यूँको तेल निकाल्नुपर्थ्यो । पेटभरी खान पनि दिइँदैनथ्यो । बिरामीहरुको उपचार हुँदैनथ्यो । सावरकरको कोठातल फाँसी दिने कोठा थियो ।

कोठरी नम्बर ५२ मा १० वर्ष ९ महिना जेल बस्दा उनी निकै बिरामी परेका थिए । भित्ताभरी ढुंगाले ६ हजार कविता लेखेका थिए र ती सबै उनलाई कण्ठै थियो ।

सावरकरले अंग्रेजसँग सम्झौता गरेर जेलबाट बाहिर निस्किए । बाहिर निस्किएर बाँचे पो बाँकी काम गरिएला भनेर उनले यो विवादास्पद निर्णय लिए । जेलबाट निस्किएपछि उनको पुस्तक हिन्दूत्व निकै चर्चामा आयो ।

भारत हिन्दूहरुको हो । पितृभूमी, मातृभूमी र पुण्यभूमी बाहेक अरुले हिन्दू धर्म स्वीकार नगरेमा भारतमा बस्ने अधिकार छैन भन्ने उनको विचारको सार थियो । यही विचारबाटै भारतीय राजनीतिमा धर्मको प्रवेश भएको मान्दछन् इतिहासकारहरु ।

भारतीय स्वतन्त्रता संग्रामका नायकको रुपमा मानिने महात्मा गान्धीको हत्या प्रयासमा उनलाई प्रहरीले पक्राउ गरेपनि प्रमाणको अभावमा अदालतले छोडिदियो । नाथुराम गोडसे, नारायण आप्टे र दिगम्बर बाग्डेलाई गान्धीको हत्या गर्ने योजना, हतियारको व्यवस्थापन लगायत सबै काम उनै सावरकरले गरेका थिए भन्ने आरोप लागेको थियो । भारतमा गान्धी बाँचिरहे भने हिन्दूत्व नास हुन्छ, पाकिस्तान जस्तै टुक्रा टुक्रा हुन्छ र इसाई, मुस्लिमहरुको हातमा देश जान्छ भन्ने चिन्तन थियो सावरकरको । उनलाई अदालतले सफाइ दिएको दिन अदालत भित्रै सावरकर लगायत आरोपीहरुले नारा लगाएका थिए,
हिन्दू
हिन्दी
हिन्दूस्तान
कभी ना होगा पाकिस्तान ।

ब्राम्हण परिवारमा हुर्किएका नाथुराम गोड्सेले आफ्नो आत्मकथामा गान्धीको हत्या हिन्दू धर्मको रक्षाको निम्ति महत्वपूर्ण काम थियो र त्यो काम गर्न पाएकोमा आफू धन्य भएको पनि लेखेका छन् । गान्धीको हत्यामा सामेल भएको अभियोग लागेपछि उनको आलोचना भयो र उनी गुमनाम जस्तै भए केही वर्ष । नेताजी सुभाषचन्द्र बोसलाई छुट्टै सैन्य निर्माण नगरी अंग्रेजलाई जित्न सकिन्न भन्ने कुरामा सहमत गराएर यिनै सावकरले हिटलरसँग मिली जर्मनीमा सैन्य प्रशिक्षण लिएर आजाद सेना बनाउन लगाएका थिए । सन् १८५७ मा अंग्रेज विरोधी भारतीय सैन्य विद्रोहलाई पहिलो स्वतन्त्रता संग्राम हो भनी समाजमा स्थापित गराउने पनि यिनै सावरकर
हुन् । सैन्य विद्रोहको विषयमा उनले लेखेको पुस्तक भारतमा अंग्रेजहरुले प्रतिबन्धित गरिदिएका थिए ।

भारत स्वतन्त्र भइसकेपछि गान्धी हत्याको अभियोग लागेका सावरकरको बारेमा खासै चर्चा भएन । जति चर्चा भयो, नकारात्मक रुपमै भयो । यसैबीच फरबरी २६ सन् १९६६ मा उनको निधन भयो ।

सावरकरलाई आदर्श मान्ने भारतीय जनता पार्टीको सरकार बनेपछि प्रधानमन्त्री बनेका अटलविहारी वाजपेयीले वीर सावरकरको बारेमा चर्चा गर्न थाले । नरेन्द्र मोदी प्रधानमन्त्री हुने बित्तिकै यिनै सावरकरको तस्वीरमा माल्यार्पण गर्न गए । संयोग कस्तो रह्यो भने सावरकरलाई माल्यार्पण गर्दा उनको पिठ्युँ गान्धीजीको तस्वीरतिर पर्यो । यी दुई विपरीत ध्रुवका व्यक्तित्वको सांकेतिक अर्थको रुपमा संचारमाध्यमहरुमा आएको थियो ।

भारतीय जनता पार्टीलाई यहाँसम्म ल्याइपुर्याउने हिन्दूवादी सँस्थाहरु राष्ट्रिय जनसंघ, राष्ट्रिय स्वयंसेवक संघले सावरकरको हिन्दूत्वलाई आफ्नो मूल ग्रन्थ मान्ने गरेका छन् । अचम्म त के छ भने, सावरकरलाई उच्च कोटीको ह्विस्की, चकलेट निकै मन पर्थ्यो । उनी आफ्नो जीवनमा कट्टर हिन्दू धार्मिक व्यक्तिको रुपमा कहिल्यै देखिएनन् । नत उनले हिन्दूवादी संस्थाको गठन नै गरे । तर, लाखौं सदस्य रहेको र भारत सरकार नै चलाइरहेको सत्ताधारी समूहले उनलाई आदर्श व्यक्ति मान्दछ । कांग्रेसकालमा उनलाई पाठ्यपुस्तक र सामाजिक चर्चाबाट हटाइएपनि मोदीले उनलाई आदर्श व्यक्तिको रुपमा स्थापित योजनावद्ध तरीकाले काम गरिरहेका छन् ।

हुनत, इन्दिरा गान्धीले सावरकरको निधनमा शोक व्यक्त गरेकी थिइन् र उनको तस्वीर राखेर हुलाक टिकट प्रकाशित गरेकी थिइन् ।

भारतमा हिन्दू राष्टवादको विचारको विजारोपण गर्ने सावरकरको सम्मानमा पूर्व प्रधानमन्त्री अटलविहारी वाजपेयीले वाचन गरेको लामो कविताको एक अँश :

सावरकर माने तेज
सावरकर माने त्याग
सावरकर माने तप
सावरकर माने तत्व
सावरकर माने तर्क
सावरकर माने तारुण्य
सावरकर माने तीर
सावरकर माने तलवार
सावरकर माने तलमलाहट
सागरा प्राण तडमडला

श्रोत
१-सावरकर : इकोज फ्रम फर्गटन पास्ट, लेखक विक्रम सम्पथ
२-हिन्दूत्व कालापानी : विनायक दामोदरदास
३-वीर सावरकर : फादर अफ हिन्दू नेशनालिज्म, जयवंत जोगलेकर
४-बिबिसी र अन्य भारतीय संचारमाध्यमहरु

तपाइँको प्रतिक्रिया