शुक्रबार, वैशाख १४, २०८१

जुन देशबाट यात्रा त्यहिँको पीसीआर अनिवार्य’: नेपाल वायुसेवा, उसोभए वायुसेवाका दिल्ली स्टेशन म्यानेजरलाई कारवाही किन भएन ?

नेपालप्लस समाचारदाता / काठमाडौं२०७७ माघ ३ गते २१:३४

परराष्ट्र मन्त्री ज्ञवालीका भान्जा स्टेशन मेनेजर नारायण पौडेल

छ जना यात्रु ‘बिना पिसिआर रिपोर्ट’ दिल्लीबाट काठमाडौं उत्रिएको सूचना बाहिर आएपछि अत्तालिएको नेपाल वायुसेवा प्रशासनले आफ्नो कमजोरीको बचाउ गर्दै ती यात्रुसँग ७२ घण्टाभित्रैको पसिआर रिपोर्ट भएकाले उडान भर्न दिइएको जिकिर गरेको छ ।

कोरोना महामारीपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालिन तथा बिपद् ब्यवस्थापन इकाइले जारी गरेको सूचनामा नेपाल–भारत हवाइ उडानमा थालिएको ‘एयर बबल एग्रिमेन्ट’ मा एकअर्को देशमा आउँदा–जाँदा दुबै देशबाट ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट चाहिने भनिएको छ । तर, यही नियमका आधारमा भन्दै काठमाडौंबाट दिल्ली पुगेर ७२ घण्टाभित्रै काठमाडौं फिरेका ६ जना यात्रुलाई पुरानै रिपोर्टमा यात्रा गर्ने अनुमती दिइएको थियो ।

गत बिहिवार नेपालप्लसमा- छ जना यात्रु ‘बिना पिसिआर रिपोर्ट’ काठमाडौं उत्रिए, ‘दिल्लीका स्टेशन म्यानेजर मन्त्रीका भान्जा भएकैले कारवाही भएन” शिर्षकमा समाचार प्रकाशित भए पछी त्यसको भोलिपल्ट बिज्ञप्ती जारी गर्दै नेपाल एयरलाइन्सले भनेको छ- जुन देशबाट यात्रा गर्ने हो सोही देशको पीसीआर रिपोर्ट हुनुपर्ने नियमलाई कडाइका साथ लागु गरिएको छ ।

निगमकी प्रवक्ता करिश्मा श्रेष्ठका नाममा माघ २ गते जारी स्पष्टीकरण बिज्ञप्तीमा भनिएको छ- ‘जुन देशको यात्रा गर्ने हो, सोही देशको पीसीआर रिपोर्ट अनिवार्य गरी दुबै देशका वायुसेवा कम्पनीहरुले कडाइका साथ लागु गरिरहेको ब्योहोरा जानकारी गराउँदछौं ।

गत पुस १५ मा दिल्लीबाट काठमाडौं आएको नेपाल वायुसेवाकै उडान ‘आरए २०५०’ मा ६ जना यात्रु बिना पिसिआर रिपोर्ट यात्रामा निस्किएपनि यो घटनालाई माथिको आदेशमा सामसुम पार्ने प्रयत्न भएको छ – निगमका एक जना अधिकारीले बताए । उनी भन्छन- ‘नियमानुसार, काठमाडौंबाट दिल्ली उड्नेले काठमाडौंमैं ७२ घण्टाभित्र गराइएको पीसीआर नेगेटिभ रिपोर्ट लिएर उडानमा जानुपर्ने हुन्छ भने दिल्लीबाट फर्कदा दिल्लीमैं ७२ घण्टाभित्र गरिएको पिसिआरको रिपोर्ट चाहिन्छ । तर, पुस १५ अपरान्हको दिल्ली–काठमाडौं उडानमा यात्रुहरु लक्ष्मी महर्जन, राजन महर्जन, कुश महर्जन, कृष्णसागर, पुष्पराज पाँडे र शुशिल पौडेल बिना रिपोर्ट काठमाडौं एयरपोर्टमा पक्राउ परे । निगमले भने दिल्ली स्थित स्टेशन मेनेजरको बचाउ गर्दै आइन्दा सम्बन्धित देशको पीसीआर रिपोर्ट बिना उडान नगराउने भन्ने सामान्य निर्देशन दिएर पुरै मुद्दालाई तामेलीमा राखिदिएको छ ।’

आधिकारिक पीसीआर रिपोर्ट नभइकन उडाउनलाई दिल्ली एयरपोर्टमा रहेका नेपाल बायुसेवाका स्टेशन म्यानेजर नारायण पौडेल र अरु स्थानीय कर्मचारीको अनुमती तथा मिलेमतो नभइ यो सम्भव हुने कुरै होइन । त्यहाँका स्टेसन म्यानेजर नारायण पौडेल परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीका आफ्नै भान्जा भएको कारण निगमले पौडेलमाथि कारवाही गर्ने सम्भावना न्युन छ । र, नाताबादको कारण कारवाहीमा पर्नुनपरेको विषय अहिले बहसमा छ ।

दिल्लीबाट ६ जना यात्रुलाई बिना पिसिआर रिपोर्ट उडाउनुमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीका भान्जा स्टेशन म्यानेजर नारायण पौडेलसहितले आर्थिक चलखेल तथा लाभको कामसमेत गरेको आशंका कायमैं रहेको बिषयमा पनि छानविन हुन सकेको छैन । आफूलाई हक्की देखाउने नेपाल बायुसेवाका महाप्रबन्धक डिम प्रकाश पौडेल र पर्यटन सचिव यादव कोइरालाले दिल्लीका स्टेशन म्यानेजरका हकमा भने केही कारवाही अघि बढाउन सकेनन् ।

‘पूर्व पर्यटन मन्त्री योगेश भट्टराईका निकट डिम प्रकाश पौडेल ओली खेमाका नयाँ पर्यटन मन्त्री भानुभक्त ढकालसँग सम्बन्ध बिस्तार गर्न र जागिर जोगाउनकै लागि यत्रा गम्भीर त्रुटीमा पनि कारवाहीका लागि हात अघि बढाएका छैनन’ निगमका ति अधिकारीको भनाइ छ ।

यसैसित संवन्धित तलको रिपोर्ट हेर्नुस्

तपाइँको प्रतिक्रिया