बुधबार, फागुन १९, २०७७

हुल अफ ल

नेपाल प्लस२०७७ माघ ४ गते ११:५०

ओली सर्वसत्तावादको विरुद्धमा सडकमा चिच्याइरहेका लेखक नारायण वाग्लेले राज्यसत्ताको तमासा देखेपछि प्रश्न गरे ‘यो रुल अफ ल हो कि हुल अफ ल हो ?’ लेखकहरुसँग हतियार हुँदैनन् । उनीहरुको अस्त्र भनेकै आवाज हो । कलम हो । संविधानले प्रष्टै प्रतिनिधिसभा यो हविगतमा विघटन हुनुहुन्न भनेर किटेको छ । उसबेलाको संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ्ग ओलीभक्त भएकैले नैतिकताको तिलान्जली दिएर अन्टसन्ट बोल्न थालिसके । लामै समय उनी मुख बन्द गरेर बसेका थिए ।

संविधानको अन्तिम व्याख्याता सर्वोच्च अदालतमा जनमतको सम्मानका निम्ति प्रतिनिधिसभा पुनर्स्थापनाको माग लिएर वकिलहरुले रिट दायर गरेका छन् । गर्मागर्मी बहसमा मानिसहरुको आँखा एकोहोरिएको छ । तर खबर आउँछ अदालतबाट सरकारले पठाएको प्रतिनिधिसभा विघटनको सक्कल प्रति नै गायब पारियो । प्रधानन्यायाधीश हतास मुद्रामा त्यसो नहुनुपर्ने भन्ने जवाफ दिन विवश देखिन्छन् ।

राष्ट्रपति नामको संविधानको रक्षक संस्थालाई केपी ओलीले सूर्ति राख्ने कोटको गोजीमा राखेर हिंडेका छन् । त्यसो हुनाले बेलाबखत राष्ट्रपतिको गरिमामा त्यही सूर्तिको गन्ध आउँछ । उनले जगत हँसाउँदै हिँडेका छन् ।

ओलीभक्तहरु अहिले निःशुल्क हाँसिरहेका छन् । तालि पिटीपिटी ओलीलाई राजनीतिक मर्यादा, सीमाको धुलिसात पार्दै दुर्वाच्य बोल्न उक्साइरहेका छन् । आफ्ना समर्थकहरुको हुलमा बजेका तालीका पर्राले उत्साहित हुँदै उनी राजावादी कित्तालाई समेत आफ्नो हुलमा सामेल गरिसकेका छन् । विष्णु भट्टराई, बालकृष्ण न्यौपानेहरु ओलीको कवचको रुपमा अदालतमा छिरिसकेका छन् ।

हाकाहाकी उनी भन्दैछन्, म चुनावसम्मको लागि कामचलाउ प्रधानमन्त्री होइन, मत अझै बहुमतको सरकारको प्रधानमन्त्री हुँ । मैले चाहे जे पनि गर्न सक्दछु । मन्त्रीमण्डल विस्तार । राज्यकोषको मनलाग्दी प्रयोग ।
छिमेकीहरुसँग सम्झौता । आदि । उनी कसैले रोकेर रोकिनेवाला छैनन् । संसद विघटन गरेर आफूसमेत सदस्य नरहेको संसदको बहुमतीय नेतृत्वकर्ता हूँ भनेर दावि गर्ने ओलीलाई अझै उद्दण्ड बनाउन उनकै मण्डलीका मानिसहरु लागिरहेका छन् । बैसठ्ठी त्रिसठ्ठीको आन्दोलनको मर्मलाई बुझेका समाजका अगुवाहरुको बहुमत प्रधानमन्त्रीको कदमको विरुद्धमा छ ।

चुनाव गराउन अरबौं रुपियाँ लाग्दछ । सरकारले कोरोना खोप ल्याउन दानपेटिकाको सूचना जारी गरेको छ । इच्छुक नागरिक, संघसंस्थाहरुले खोप ल्याउन सहयोग गर्न उसले आव्हान गरेको छ । अर्को अर्थमा देश हरिकंगाल भएको प्रमाण पनि हो । विदेशी दातृ निकायसँग ऋण मागेर सरकार चलाउने, ऋण मागेर चुनाव गराउने सरकारले त्यो ऋणको थुप्रो चाहिँ हरेक नेपालीको टाउकोमा पर्न जान्छ भनेर भने भन्दैन ।

यहाँ जनताको कसैलाई माया छैन । उनीहरु मरुन् बाँचुन् मतलब छैन । जनता स्वयम्लाई पनि मतलब छैन । यो वा त्यो हुलको पछि लागेर उ केवल नेताको जयगान गाउन व्यस्त छ । यस्तै रामरमितामा देश चलिरहेको छ ।

ओलीले स्थानीय तहमा आफ्नो पकड भएका क्षेत्रमा आफ्नो पक्षमा जनमत ल्याउन सकेसम्म पैसा खन्याउने योजना बनाएका छन् । डाडू पन्यू जो आफ्नो हातमा छ । सकेसम्म प्रचण्डको नामो निशान मेटाउने उनको ध्येय हो । भारत, अमेरिका सबैतिर जस्तोसुकै मूल्य चुकाएर भएपनि आफ्नो पक्षमा जनमत जुटाएपछि पेलेर जाने योजनामा उनी देखिन्छन् । उनका आक्रामक भाषण र उनको रणनीति हेर्ने सबैले ओली चुप बस्दैनन् भन्ने बुझिरहेका छन् । तर, संविधानको मानमर्दन गरेर सेना, प्रहरी र सत्ताको आडमा गरिने हुंकारको आयू त्यति लामो भएको देखिएको छैन । दलहरुको दिग्दारीले चुपचाप बसेको जनता जब जाग्छ, त्यो भेललाई ओली त के कुनै पनि तागतले रोक्न सक्दैन । नेपाली जनताको ठूलो हिस्सा अहिले मौन बसेको छ ।

मानिसहरुले प्रश्न गर्छन्, ओलीले यस्तो हर्कत गर्दा पनि कतिपय विद्वान भनिएका नेताहरु, लेखकहरु, कविहरु र कार्यकर्ताको उग्रपंक्ति किन बचाउ गर्दै ओलीको जयगानमा निस्किएको होला ? उत्तर सरल छ । ओलीकै भाषामा भन्नुपर्दा सुन्तला खाने हो भने सुन्तला बारीमै जानुपर्छ, सल्लाघारीमा गएर हुँदैन । मार्क्सवाद, लेनिनवाद, ह्यानवाद, त्यानवाद सब वादैवादका जार्गनमा युवावय सिध्याइदिएपछिको युवाको खोक्रो दिमागमा शासन गर्न असाध्यै सजिलो छ । घर व्यवहारले थिचिएर, आयआर्जनको निम्ति कि त उ खाडीतिर पुग्छ, कि त उ गाउँमै कम्युनिष्ट नामको नवसामन्तको छत्रछायाँमा बाँच्न विवश हुन्छ ।

यी कम्युनिष्ट नामका ढाँटका खन्तीहरुले समाजमा अर्को वर्ग जन्माइरहेका छन् । आफू विस्तारै सम्पन्न हुँदै अरु विपन्नमाथि शासन गरिरहेका छन् । जसका डोजर छन् । जसले ठेक्का पाएको छ । जसले पहुँचका आधारमा नातागोतालाई जागिर ख्वाएको छ, उसले केपी ओलीको समर्थनमा सिठ्ठी नफुकेर के फुक्छ ? त्यही सिठ्ठीको आवाज हो कानमा परेको । आफू मातहतमा दास बन्न अस्वीकार गर्ने र बा भन्न नमान्नेहरुलाई उनले भनेकै छन् त ‘लात्ताले हानेर जाने केटो’ भनेर । नत्र योगेश भट्टराईले केपी ओलीलाई पदको मर्यादा राख्दै शिष्ट बोल्नुस् भन्नपर्ने नै थिएन ।

ओलीले राजनीतिको मैदानका सब बार, गोलपोष्ट, रेखा भत्काएर मेटेर अहिले घुइँकी घुइँ एक्लै गोल गरिरहेका छन् । छेउमा दासहरुको जुलुस छ ताली बजाउन । पद र पैसाका लोभीहरु उनका अघि पछि झुम्मिएकै छन् । राजा ज्ञानेन्द्रको अन्तिम समयमा झैं उनका सम्मानमा पुष्प वृष्टिहरु भइरहेका छन् । ठूलो हुल उनको पछि लागेको छ । त्यो हुललाई देशको संविधान, कानून, विधि विधान, व्यवस्था केहीसँग मतलब छैन । हुल केवल ओलीजीको जयजयकारमा व्यस्त छ । अहिले देशमा हुल अफ ल चलिरहेको छ ।

बेइमानहरु इमानको पाठ पढाइरहेको यो दूर्भाग्यपूर्ण समय देश, गरिब जनताहरु कसैको निम्ति पनि शुभ समय होइन । देश भित्र भाँडभैलो मच्चिएको बेला छिमेक गएका परराष्ट्रमन्त्रीलाई समेत मोदीले भेट्न नमानेपछि उनीहरुको दृष्टिकोण बुझ्न सकिन्छ । छिमेकीले हेपेकै थियो, झन् हेप्न थालेको देखियो त । आफ्नो एकताको बलियो संगठन तोडेर प्रधानमन्त्री ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउँछन् भनेर पत्याउनेहरु महामूर्खहरु हुन् । ओली मूर्ख बनाइरहेछन् र अरु मूर्ख बनिरहेछन् ।

जतिसक्दो चाँडो हुल अफ ल का नायक खड्ग प्रसाद ओलीको वहिर्गमन आवश्यक छ । न्याय मरेको छैन भने अदालतले लिक बाहिर गएको संघिय गणतन्त्रको रेललाई फेरि ठीक ठाउँमा ल्याउने छ । नत्र पक्का हो देश अर्को गृहयुद्धको भूमरीमा फँस्ने छ ।

तपाइँको प्रतिक्रिया