बिहीबार, वैशाख ६, २०८१

बाइडेनले शपथ लिने दिन कस्तो होला अमेरिकामा आउने बुधवार ?

सन्जय घिमिरे / अमेरिका२०७७ माघ ४ गते २१:२८

बुधवार सधैंको उस्तै हो, जो घुमिफिरी सात दिनमा एक दिन आएरै छोडछ । मात्र बारमा, के नै पो छ र ? छ त, त्यसदिन हुने घटना र त्यस दिन लेखिने इतिहासमा पो छ त । अक्सर तपाइ–हामी, यो वा त्यो बार कस्तो होला भनेर खासै चर्चा गर्दैनौं । गर्नु आवश्यक पनि पर्दैन । केही दिनयतादेखि अमेरिकामा भने अब आउने बुधबारको ठूलो चर्चा भैरहेको छ ।

जनवरी २०, २०२१ बुधवार, जुन दिन विश्वकै शक्तिशाली राष्ट्र अमेरिकामा, नवनिर्वाचीत राष्ट्रपती जो बाइडेनले शपथ लिँदैछन् । विश्वको राजनैतीक इतिहासका एउटा अनौठा र डरमर्दा राष्ट्रपती डोनाल्ड ट्रम्प ह्वाइट हाउसबाट बाहिरीँदै छन् । हुनत, प्रजातान्त्रिक अभ्यास भएका जुनसुकै देशहरुकालागि यो सामान्य प्रक्रिया हो । अमेरिका जस्तो प्रजातन्त्रको पहेरदार मानीने देशका हकमा त झन यो सामान्य हुनुपर्ने हो । तर अमेरिकी प्रजातन्त्रको दुर्भाग्य, यो अभ्यासलाइ ट्रम्पले यसपटक सामान्य रहन दिएनन् ।

यसैले चार वर्ष पछिको अमेरिकाको जनवरी २०, बुधवार असामान्य जस्तो हुन गैरहेको छ । असामान्य मात्र होइन डरलाग्दो पनि । कतिसम्म डरलाग्दो भने जुन जो बाइडेनले राष्ट्रपतीको शपथ लिँदैछन् । त्यस दिन वाशिंगटन डिसीमा मात्र २० हजार भन्दा बढी नेशनल गार्डहरु परिचालीत हुनेछन् । अर्थात इराक, अफगानीस्तान, सिरीया र सोमालीयामा परिचालीत अमेरिकी सेनाको संख्या भन्दा बढी ! वाशिगंटन बाहेक बिभिन्न राज्यका राजधानीहरुमा पनि ठूलो संख्यामा नेशनल गार्डहरु परिचालन गरिदैंछ । कारण ?

डोनाल्ड ट्रम्पका उग्र दक्षिणपन्थी समर्थकहरु जसले जनवरी ६ मा डिसीको क्यापिटल हिलमा ताण्डव मच्चाएर ‘ट्रेलर’ देखाइसकेका छन् । शपथ ग्रहणको दिनपनि ट्रम्पका उग्र समर्थकरुले हात हतियार सहितको प्रदर्शन गर्ने तयारी गरेको सूचना संघीय जाँच ब्युरो (एफबिआइ) ले पाएको छ । यसैले डिसी लगायत बिभिन्न राज्यका संसद भवनहरु वरीपरी हदैसम्मका विशेष सुरक्षा व्यवस्थाहरु मिलाइएको छ ।

अमेरिका भित्र आन्तरिक रुपमा खडा भएको यो हदसम्मको सुरक्षा चुनौती देखेर बाँकी बिश्वकोपनि कान ठाडा भएका छन् । यतिबेला सारा विश्व र संचार माध्यमहरुको आँखा अबको बुधवार अमेरिका कस्तो देखिन्छ भन्नेमा केन्द्रित छ । अमेरिकी सत्ता हस्तान्तरणको इतिहासमा एउटा विरलै देखिने दृश्य देखिँदैछ यसपटक । बडो असहज परिस्थीतमा जो बाइडेनले अमेरिकाको नेतृत्व सम्हाल्दैछन् । एकातीर कोरोना बिरुद्धको लडाइ, अर्कोतीर प्रजातान्त्रीक मुल्य–मान्यता जोगाउने र बिभाजीत अमेरिकी मतलाइ एक बनाउने चुनौती ।

जनवरी ६ मा अमेरिेकी संसद भवनमा भएको घटनाका कारण महाअभियोग खेपीरहेका ट्रम्प बुधबार बिहानै चुपचाप ह्वाइट हाउसबाट बाहिरीने तरखरमा छन् । ह्वाइट हाउसबाट मरीन–वान हेलीकप्टरबाट उनी मेरिल्याण्डको ज्वाइन्ट वेश एन्ड्रयुजमा जाने छन् । त्यहाँ आफना सहयोगीहरुलाइ धन्यवाद भन्ने छन् । सैनीक सलामी लिने छन् । र त्यहाँबाट अन्तिम पटक एयर फोर्स वान चढेर फ्लोरिडाको पाम विच स्थित आफ्नो आलीशन वासस्थान मार– ए – लागोमा जाने छन् ।

उनले नचाहाँदा –नचाहँदै पनि यो सब हुन गैरहेको छ । उनले गर्न सक्ने एउटै कुरा थियो – बाइडेनको सपथ ग्रहण समारोहमा अनुपस्थित । हो, यो चाहीँ उनले पुरा गर्दैछनन् । मान्छे आफ्नो मर्जीको मालीक हो । ट्रम्प पनि उनको मर्जीको मालीक । तर उनी प्रजातन्त्र र प्रणालीको मालीक चाहीँ होइनन् । दुनीयामा कोही एक व्यक्ति प्रजातन्त्र र प्रणालीको सिंगो मालीक हुनै सक्दैन । व्यक्तिले गर्न सक्ने भनेको घुर्कि देखाउने र फन्किने हो । फन्किएरै बाहीरीँदै छन ह्वाइट हाउसबाट ट्रम्प ।

गर्न त उनले अनेक कोशीस गरे । सकेनन । निर्वाचनमा आफू पराजीत भएको स्विकार गर्न नसकेका ट्रम्प, डिसीमा हुने बाइडेनको सपथ ग्रहण समारोहमा उपस्थित हुने छैनन् । होऊन पनि कसरी र ? बाइडेनको अगाडी मुख देखाउनपनि लाज हुने घरातलमा ट्रम्पले आज आफूलाइ उभ्याएका छन् ।

हुनत, अमेरिकी सत्ता हस्तान्तरणको इतिहासमा यसअघि पनि तिनजना राष्ट्रपतीहरु नवनिर्वाचीत राष्ट्रपतीको शपथ ग्रहण समारोहमा अनुपस्थित भएको घटना छ । ट्रम्प चौथा हुन् । तर अघि अघिका अनुपस्थतीका कारणहरु बिल्कुल स्वभाविक र साधारण थिए । ट्रम्पको अनुपस्थिती भने बिल्कुल फरक, अस्वभाविक र असाधारण छ । प्रजातान्त्रीक मुल्य, मान्यता र अभ्यासमा नसुहाउने खालको ।

तर के गर्नु ? कहिलेकाहीँ मान्छेको अहं, बिवेक र लहडका सामुन्ने प्रजातान्त्रीक मूल्य, मान्यता र अभ्यासहरुले पनि दुख पाउँदा रहेछन् । सिष्टम, न लहडी हुन्छ न घमण्डी । सिष्टमले लहडी र घमण्डी हुन जान्दैन । सक्दैन पनि । लहडी र घमण्डी हुने मान्छेको चरित्र हो । यस्तै चरित्र लिएर आएका एकजना राष्ट्रपतीलाइ अमेरिकाले चार वर्ष बेहोर्यो । अब बुधवारसम्म बहोर्नु पर्नेछ । विश्वको ध्यान त्यो बुधबारमा छ । सुखद र दुखद जे भएपनि त्यो बुधवार पनि बितेर जानेछ ।
बुधवारपछि शायद अमेरिकाले एकछिन लामो स्वास फेर्नेछ । शायद बाँकी विश्वले पनि ।

तपाइँको प्रतिक्रिया

फेसबुक