बिहीबार, वैशाख १३, २०८१

आत्महत्याकालागि सहयोगि पेशा कति कठिन ?

नेपालप्लस समाचारदाता २०७७ माघ ७ गते ६:२५

स्विजरल्याण्डमा मानिसहरूलाई आत्महत्या गर्न सहयोग गर्नु एउटा पेशा हो । सबैभन्दा ठूलो सहायता प्राप्त आत्महत्या गर्ने संगठन, एक्जिटका कर्मचारीहरू प्रायः निवृत्तिभरण (पेन्सन लिएका) गरिसकेका हुन्छन् । तिनीहरू मर्न चाहने बिरामीहरूलाई घातक औषधि दिन्छन् । तर तिनीहरूको भूमिका त्यो भन्दा धेरै जटिल छ ।

जुर्ग बिलविलर जुरिच मुख्य स्टेशनमा बर्न जानकालागि रेल पर्खिरहेका छन् । उनी एक्जिट संस्थाका तर्फबाट आत्महत्या सहायकको लागि प्रशिक्षण कार्यक्रममा भाग लिइरहेका छन् । आफ्नो सल्लाहकार डोरिस वार्टेन वेलरसँगै उनले आज बिरामीलाई आत्महत्या गर्न मद्दत गर्नु छ । यो उनको दोस्रो पटक हो । “म नर्भस भएको छु” स्पष्ट स्विकार्छन् ।

आत्महत्या सहायकको रूपमा ४० भन्दा बढी व्यक्तिहरू एक्जिटमा दर्ता छन् । एक्जिटका उपाध्यक्ष जर्ज विलरका अनुसार उनीहरूमध्ये धेरै ६५ भन्दा बढी उमेरका पेन्सन पकाइसकेका हुन् । बिलविलरले पनि अहिले आफ्नो प्रशिक्षण पूरा गरिसकेका छन् । र आत्महत्या सहायकको रूपमा काम गरिरहेका छन् ।

एक्जिटका तर्फबाट लगभग एक हजार व्यक्तिले प्रत्येक वर्ष आत्महत्या गर्ने सहायता प्राप्त गर्दछन् । सन् २०१९ को तथ्यांक अनुसार लगभग सबै ९८ प्रतिशत विरामी या त उनीहरूको आफ्नै घर वा उनीहरू बस्ने केयर होममा मर्ने छनौट गर्दछन् । एक जना ब्यक्तीले आत्महत्याका लागि बिभिन्न प्रकृया पुरा गरेर मर्ने दिन सम्मको कुल खर्छ ८ हजार देखी १८ हजार सम्म स्विस फ्र्यांक तिर्नु पर्ने हुन्छ ।

बिलविलर जस्ता सहयोगीहरूले पेन्टोबार्बिटलको घातक खुराक ल्याउँछन् । यो जहिलेपनि डाक्टरले सिफारिस गर्दछ बिरामीको घरमा । बिरामीले डोज स्वतरिकाले प्रयोग गरेपछि जब ब्यक्तिको म्रित्यु हुन्छ सहायक ब्यक्ति प्रहरीको निरीक्षणमा रहन्छ ।

तर त्यसभन्दा अघि उनीहरू बिरामीहरूको अन्तिम यात्रामा हेरचाह गरिरहेका हुन्छन् । अन्तिम दिनको लागि तयारी गर्न उनीहरूलाई सहयोग पुर्‍याउँछन् । सहायकहरुले शोकमा परेका आफन्त र म्रितकका नजिकका साथीहरूको पनि ख्याल राख्छन् जो अन्तिममा त्यहाँ उपस्थित हुन्छन् ।

आत्महत्या सहायकहरूले असंख्य सर्तहरू पूरा गर्नुपर्दछ । उम्मेदवारले ति आवश्यकताहरू पूरा गरेपछि उ एक वर्षको प्रशिक्षण कार्यक्रममा सहभागि हुन्छ । उसले आत्महत्याको कानूनी र मनोवैज्ञानिक पक्षहरू, बिरामीहरूको हेरचाह गर्ने तरिका, चिकित्शकिय अनेक पक्षबारे तालिम लिन्छ ।

एक्जिट संस्थाका आत्महत्या सहायकहरूले करारमा काम गर्छन् । प्रत्येक ब्यक्तिलेशुरुदेखि अन्त्यसम्म काम फत्ते गरेबापत छ सय ६० स्विस फ्र्यांक पाउँछन् । त्यसबाहेक उनीहरूले टेलिफोन र मृत्यु गराउने ठाउँमा पुग्ने यात्रा खर्चहरूको लागि आधारभूत भत्ता प्राप्त गर्छन् ।

नियमको रूपमा एक आत्मघाती सहायक प्रत्येक घटना (ब्यक्ति) मा करिब २० घण्टा खटिन्छ । प्रति घण्टा ३५ देखि ४० स्विस फ्र्यांकको दरले पाउँछ जुन लगभग नर्सिङ पेशामा रहनेले पाउने बराबर हो । आत्महत्या गराउन सहयोग गर्ने अर्को संस्था एसडब्ल्यूआईका अनुसार आत्महत्या गर्नेहरूले वर्षौंसम्म बिरामीको सम्पर्कमा रहनु कुनै अनौठो कुरा होइन । जसको मतलब दर्जनौं घण्टा काम हुनसक्छ ।

जुर्ग बिलविलर धेरै वर्षदेखि जुरिच प्रहरी जेलका प्रमुख थिए । आफ्नो सेवानिवृत्ति पछि उनले एक्जिटको विज्ञापन देखेपछि आवेदन दिए ।

जेलको प्रमुखको रूपमा उनको भूमिका कैदीहरूलाई आत्महत्या गर्नबाट रोक्नु थियो । उनी किन अब चाहिँ अपरिचितहरूलाई मर्न मद्दत गर्न इच्छुक छन् त ? बिलविलर भन्छन “यी दुई अवस्थाको तुलना गर्न सकिँदैन । जेलमा आत्महत्या कुनै मनोबल, नकारात्मक भएपनि प्रेरणामा आधारित रहेर हुन्छ । किनभने त्यस्तो ब्यक्तिमाथि दवाव हुन्छ । तर जो मानिस एक्जिटको सहयोगमा मर्ने निर्णय गर्छन् तिनीहरू यस दबाबबाट स्वतन्त्र हुन्छन् ।”

मार्टिन क्राहेन्बुहल एक अनुभवी आत्महत्या सहायक हुन् । उनकी श्रीमती एएलएस (आम्योट्रोफिक ल्याटेरलक्लेरोसिस) बाट मृत्यु पछि खेतमा काम गर्न थाले । उनकी श्रीमतीले उनको डाक्टरलाई मोर्फिन र अक्सिजनको मिश्रण लेख्न आग्रह गरिन् । यो घातक संयोजन हो जसले उनलाई शान्तिसित मर्न दियो ।

६४ वर्षीय उनलाई कसरी पचाउन संभव भयो ? आफ्नी पत्नीको म्रित्युपछि उनलाई यो पेशा अपनाउन दुईदेखि तीन वर्ष लागेको थियो । आफ्नी पत्नी जस्ता स्वास्थका हिसाबले अत्यन्त कठिन अवस्थामा पुगेकालाई मद्दत गर्न उनको इच्छा बढ्न थालेको उनले बताएका छन् ।

एक्जिटबाट आत्महत्या गर्न सहयोग लिने व्यक्तिको संख्या बढ्दो छ । क्राहेन्बुहलले यो पेशा शुरु गर्दा आत्महत्या गर्न चाहने करिव १५ देखि २० ब्यक्तिको हेरचाह गर्थे प्रत्येक वर्ष । पाँच वर्षपछि अहिले ३० पुगेको छ । बढ्दो मागको परिणाम स्वरूप एक्जिटले आत्महत्या सहायकहरूको खोजी गरिरहेको छ ।

जुर्ग विलेरका अनुसार यसको एक कारण सहायकहरुको उमेर हो । “आत्महत्या सहायकले कहिलेकाँही उमेरको कारण पेशा छोड्नुपर्छ” उनी भन्छन् “यसबाहेक हामी स्विजरल्याण्डको निजि क्षेत्रहरूमा सम्भाब्य सहयोगीहरूको सबभन्दा राम्रो संजालपनि कायम राख्न चाहन्छौं ताकि तिनीहरू यस क्षेत्रमा टिकिरहुन्, उनीहरूले टाढासम्म यात्रा गर्नुनपरोस् ।”

सहयोगी आत्महत्याका लागि दोस्रो ठूलो संगठन डिग्नितासले स्विजरल्याण्ड बाहिरका बासिन्दाहरुलाई पनि आत्महत्या गराउन स्वीकार गर्छन् । यसको प्रशिक्षण र सहयोगी आत्महत्या प्रक्रिया लगभग एक्जिटको जस्तै छ । फरक के छ भने डिग्नितास कर्मचारीहरूले घातक औषधि दिन्छन् करारमा काम गर्नेले नभएर । संस्थाका सदस्य सिल्वान लुले भन्छन्, “हाम्रा ३१ कामदारमध्ये ११ जनाको काम सामान्य कार्यालयको कामभन्दा माथि छ । उनीहरुले औषधी दिनुपर्छ ।” विदेशबाट मर्न आउने व्यक्ति स्विट्जरल्याण्डमा मृत्युको लागि अक्सर डिग्नितास संस्था अन्तर्गत सुविधामा मर्ने गर्छन् ।

नेदरल्याण्डमा सहयोग गरेर आत्म हत्या गरिने काम डाक्टर र विरामी बिचको संवन्धले निर्यौल गर्छ । स्विजरल्याण्डमा भने त्रिकोणिय प्रणाली छ । एक्जिट वा डिग्नितास जस्तो आत्महत्या गराउन सहयोगिको ब्यवस्थापन गर्ने संस्थापनि संलग्न हुन्छ ।

डिग्नितासका प्रवक्ता लुले भन्छन् “यसको एउटा कारण स्विजरल्याण्डमा सहयोगमा गराइने आत्महत्याको इतिहास हो । ३५ वर्षमा पहिलो सहायता प्राप्त आत्महत्याकालगि संगठन स्थापना भएदेखि यता सहयोगी आत्महत्या त्रिकोणीय संरचनामा गरिएको छ । डाक्टरहरूले आत्महत्यालाई सिधा समर्थन गर्न सक्दछन्, तर प्राय जसो डाक्टरहरूसँग समय वा आवश्यक विशेषज्ञता हुँदैन । त्यसैले हामी यो भागलाई समेट्छौं । ”

किशोरकिशोरीका मामिलामा विशेषज्ञ रहेका पूर्व वकिल सुजन्ना स्मिड ६० वर्षमा अवकाश लिइसकेपछि आत्महत्या सहायक भईन् । उनलाई प्रायः सोधिने एउटा प्रश्न हो ‘तिम्रो काम उदास लाग्दो, मानसिक तनाव लाग्ने छैन ?’ उनको जवाफ हुन्छ ” म निराश हुनुभन्दा बढि आवस्यक छु भनेर सोच्छु । उपस्थित सबैप्रति एकदमै सतर्क हुनुपर्दछ । म धेरै जवान व्यक्तिहरूमा बढी समय बिताउँछु जो गम्भीर बिरामीको कारण आफ्नो समय भन्दा अघि तिनले यो धरती छोड्नुपर्छ कहिलेकाहिँ किशोर वा साना बच्चाहरूलाईपनि पछाडि छोडेर ति बिदा हुन्छन् ।”

एक्जिट र डिग्नितास सँग आन्तरिक समर्थन प्रणाली छ । लुलेका अनुसार डिग्नितासका आत्महत्या सहायकहरूले निर्णय गर्न सक्दछन् कि तिनीहरू विशेष मुद्दा (विशेष ब्यक्ति) लिन चाहन्छन् वा चाहन्नन् । कसैलाई कुनै ब्यक्तिको सहायक बन्न मन नलागे त्यो अन्य कर्मचारीलाई सिफारिस गर्न सकिन्छ ।

सुसान्ना स्मिड आफ्ना नजिकका मानिसहरुसँग अप्ठेरा कुरामा सल्लाह गर्न सक्छिन् । वा आवश्यक परेमा एक्जिटमा आत्महत्या सहायताको प्रमुखसँग गाह्रो अनुभवहरुका बारेमा छलफल गर्न सक्छिन् । त्यसो गर्दा अप्ठेरो अवस्थामा सहज भैदिन्छ भन्ने उनको अनुभव छ ।

(स्विस इन्फो डट सिएचमा प्रकाशित यो फिचर नेपालप्लसकालागि नेपालीमा भावानुवाद गरिएको हो- सम्पादक)

तपाइँको प्रतिक्रिया