शुक्रबार, वैशाख १४, २०८१

डोर बहादुर विष्ट, नेपाली समाजले तपाईँलाई सम्झिरहको छ

प्रकाश ढकाल२०७७ माघ ८ गते १६:३२

आज भन्दा २६ वर्ष अगाडि फागुनको अन्तिम साता नेपालका समाजशास्त्री तथा मानवशास्त्री डोर बहादुर विष्ट बेपत्ता भएका थिए । उनी जिउँदो छन् या उनको मृत्यु भैसक्यो आजसम्म कुनै तथ्य छैन । असाधारण क्षमताका उनी प्राध्यापक पनि थिए । भनिन्छ, उनलाई अमेरिका, बेलायत, जापानका विश्वविद्यालयहरूले राम्रो जागिर सहित मागेजति तलब दिएर उनीहरूको विश्वविद्यालयमा पढाउन गरेको आग्रह पनि उनले मानेनन् । उनी देशमै आफ्नो ज्ञान शिप र क्षमताको सदुपयोग गर्ने भनि लागेका थिए ।

नेपालको अध्ययन गर्नै क्रममा उनी देशका हरेक गाउँ ठाउँ पुगेका थिए । यसरी घुमफिर गर्दा उनले नेपालको कर्णाली अञ्चलको हुम्ला र जुम्लाको सामाजिक अवस्था र गरिबी देखेर त्यहीँको समाजलाई माथि उठाउन खोजे । त्यहाँका गरिब जनतालाई शिक्षा दिनको लागि त्यहीँ बस्ने निर्णय गरेका थिए । त्यहाँ उनले कर्णाली इन्स्टिच्युट नामको संस्था खोलेर हाइस्कूल निर्माण गरे । उक्त हाइस्कूल कर्णाली अञ्चलकै नामुद स्कूलमा अहिले पनि गनिन्छ ।

पानीघट्टबाट बिजुली उत्पादन गरि जुम्लामा बिजुली बाल्ने व्यक्ति पनि डोर बहादुर विष्ट थिए । त्यहाँको जमिनमा कस्तो बाली उत्पादन गर्न सकिन्छ भनि जनतालाई जागरूक बनाउन खोजे । आलु, पींडालु लगाउन सिकाए । धान खेतीमा सुधार ल्याई उत्पादन बढाउन पनि सिकाए ।

भनिन्छ, त्यहाँको हावा पानीमा मार्सी धानको आधुनिकिकरण यिनैले गरेका थिए । त्यतीबेला हुम्ला जुम्लाका जनताहरू जिन्दगीभरी आफ्नो अनुहारपनि नदेख्ने अवस्थामा थिए । एकपटक डोर बहादुरले ऐना लगेर सबैलाई देखाउँदा सबै मानिस दङ्ग परेका थिए रे ।

उनको मुख्य जोड : सम्पूर्ण नेपालको भूमि वितरणको अवस्था समान छैन । कहीँ पहाड, कहीँ हिमाल त कहीँ तराई छ । त्यसैले, जहाँ जस्तो वातावरणमा जे उत्पादन गर्न सकिन्छ त्यही कुरा जनता र समाजलाई सिकाउनुपर्छ भन्ने कुरामा थियो । त्यो बेला जुम्लामा स्याउ उत्पादन हुन्छ भनि उनले विरुवा लगेर त्यहाँ जताततै नरोपेको भए आज जुम्लामा स्याउ खेती पनि हुँदैनथ्यो । हुम्ला जुम्ला त्यस्ता ठाउँ हुन् आज पनि काठमाडौंले देख्दैन । चिन्दैन पनि ।

उनले लेखेको किताबहरू ‘पिपुल अफ नेपाल’ र ‘फेटालिज्म एण्ड डिभलोपमेन्ट’ मा उनले नेपालको वास्तविक चित्रण गरेका छन् । नेपालका विभिन्न जात जाति तथा अनेक भूगोलमा रहने मानिसहरूको रहन सहन, संस्कृति तथा विविध पक्षहरूको बारेमा यी किताबमा सत्य र तथ्य कुराहरू पाइन्छ । नेपाल घुमि त्यहाँको समाजमा बसेर अध्ययन र अनुसन्धान गरि लेखिएका सत्य कुराहरू कतिलाई मन पनि परेको थिएन ।

राउटेहरूको बारेमा पहिलो अध्ययन गर्ने डोर बहादुर विष्ट हुन् । नेपालका धेरै गाउँमा अहिले पनि बहुपति (एक श्रीमतीले धेरै लोग्ने आफ्नै घरमा राख्ने) प्रचलन छ । मान्छेको मृत्यु पछि लाससँग मलामी जाँदा सँगै बोका पनि लगेर लास जलाईसकेपछि त्यो बोका काटेर भोज खाने चलन अहिले पनि नेपालका कतिपय गाउँमा छ । नेपालमा यस्तो गाउँ पनि छ जहाँ जो कोही नयाँ पुरुष मान्छे पुग्यो भने त्यहाँको युवतीसँग बिहे  गर्नैपर्छ । नाइँ नास्ति चल्दैन । यो त्यहाँको रीतिरिवाज र परम्परा हो जुन अहिले पनि छ । यही नेपाली संस्कृति र परम्पराहरू उनले अध्ययन पश्चात् किताबमा उल्लेख गरेर बाहिर ल्याइदिए जुन कुरा धेरैलाई मन परेको थिएन होला । नेपालका राजाहरू मगरका सन्तान हुन् भनेर दावी गर्ने डोर बहादुर विष्ट हुन् । उनले यो कुरा अध्ययन गरि भनेका थिए । किनकि पृथ्वी नारायण शाहको मामाघर (मावली)  मगर थिए । त्यो पनि सेन मगर ।

डोर बहादुर विष्ट

उनी जुम्लामा बसेर नेपालको विकासको खाका तयार पारेका थिए । सबै नेपालको विकासको लागि यो यो गर्नुपर्छ भनि उनले एक ‘भिजन’ तयार पारी लेखेको दस्तावेजमा अबको एक सय वर्षमा नेपाल यस्तो हुन्छ भनि उनले कल्पना गरेका छन् । त्यो दस्तावेज अर्थात् विकासको खाका एक बाकसमा राखी त्यहीँ जुम्लाको चौधबिस भन्ने गाउँमा स्कूलको चौरको जमिनमुनि त्यो बाकसलाई गाडीएको छ । त्यो उनी आफैंले गाड्न लगाएका थिए । त्यसलाई एक सय वर्षपछि मात्र खोल्न आग्रह गरेका छन् । त्यो अहिले पनि जमिन मुनि नै छ । उनले त्यो जमिन मुनि किन गाड्न लगाए ? सबैलाई कौतुहल लाग्छ । जहाँसम्म लाग्छ, पछि उनी जब माओवादी, राज्य, केही अतिवादीहरूबाट लेखेटिन थालिए तव विरक्तिएर त्यो दस्तावेजलाई जमिन मुनि गाड्न लगाएका हुन सक्छन् ।

उनले जुम्लाको समाजमा उज्यालो र्छदै थिए । समाजलाई माथि उठाउँदै थिए । कर्णालीको विकासको लागि केही गर्दै थिए । त्यहि बेला देशमा माओवादीको द्वन्द र आतंक सुरु भयो । उनी माओवादीको तारो बने । जुम्लाको उनी बस्ने घर जलाइयो । बिजुलीको तारहरू माओवादीले लगे । उनले त्यहाँ गर्दैरहेका काममा माओवादीले बिथोल्यो । उनी त्यहाँबाट लखेटिए । कतिसम्म भयो भने उनले खाइनखाइ पैसा जम्मा पारी खोलेको जुम्लाको पुस्तकालयमा आगो लगाइयो । त्यो त्यहि पुस्तकालय थियो जहाँबाट उनले समाजलाई शिक्षित पार्ने र धेरै कुराहरू सिकाउने थलो पनि थियो ।

उनी अन्तिम पटक २०५२ साल फागुनको अन्तिम साता कोहलपुरबाट पश्चिम जाने बस चढेर हिंडेका थिए र त्यसै दिन केहीले उनलाई कर्णाली चिसापानीमा देखेका थिए । त्यसपछी उनी देखिएनन, उनको क्यामेरा कर्णाली नदी किनारमा भेटिए पनि आजसम्म उनको अवस्था अज्ञात छ। तर डोर बहादुर विष्ट, तपाईँ जहाँ भए पनि तपाईँले लेखेका किताब हामी सँगै छन् । तपाईँले नेपाली समाजको वास्तविक चित्र र तथ्य बाहिर ल्याइदिनुभयो । राज्य र अतिवादीहरू तपाईँसँग डराए । तपाईँ थोरै कमजोर मात्र हुनुभयो । किनकि तपाईँलाई साथदिन हिम्मत गर्ने कोही निस्किएन । तपाईँले नेपाललाई योगदान दिँदै गर्दा तपाईँको खुट्टा काट्न कोशिस गरियो । सायद त्यहि कारण तपाईँ विरक्तिनु भयो होला । विक्षिप्त पनि बन्नुभएको थियो होला । तपाईँले देखाएको बाटोमा हुम्ला जुम्ला आज हिंडे पनि नहिंडे पनि तपाईँको प्रयास सह्रानीय थियो । र छ । तपाईँलाई जुम्लाको स्याउले पनि सम्झिन्छ । हामीलाई सम्झाइरहन्छ ।

तपाइँको प्रतिक्रिया