बिहीबार, चैत १५, २०८०

‘देख्नका लागि मात्रै’ भारतीय खोप कूटनीति : ‘खुशी भैहाल्ने बेला आएको छैन’

सुरेशचन्द्र कुइकेल / काठमाडौं२०७७ माघ ९ गते १८:४१

भारतीय राजदूत बिनयमोहन क्वात्रा र प्रधानमन्त्री केपी ओली प्रधानमन्त्री निवास, बालुवाटारमा खोप होर्डिङ–बोर्डमा फोटो–सेसन गराउँदै

—भारतबाट बंगालादेशले २० लाख कोरोना खोप डोज उपहारमा पाएको छ
—भारतबाट नेपालले १० लाख कोरोना खोप डोज उपहारमा पाएको छ
—भारतबाट भुटानले डेढ लाख कोरोना खोप डोज उपहारमा पाएको छ
—भारतबाट माल्दिभ्सले २० लाख कोरोना खोप डोज उपहारमा पाएको छ ।

जसले जे जति भनेपनि विश्व स्वास्थ्य संगठनले ‘मान्यता दिइनसकेकै’ अवस्थामा भारतबाट आएको कोरोना खोपका कारण नेपाली समाजको एउटा पंक्तिमा यति खुशी छाएको छ, मानौं यहि नै नेपाली राजनीति, समाज, बिज्ञान र अर्थनीतिको अन्तिम सफलता हो । नेपालको सबैभन्दा ठूलो दैनिक पत्रिका कान्तिपुरले शुक्रबारको अंकमा सम्पादकीय लेख्न भ्याएको छ— ‘खोपको प्रारम्भिक खुशी’ शीर्षकमा ।

यथार्थ के छ भने भारतको सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोरोना बिरुद्धको यो खोप अहिले पनि परीक्षण चरणमैं छ । नेपालकै स्वास्थ्य सेवा बिभागले पनि ‘आपत्कालिन प्रयोगका लागि शर्शत अनुमती दिएको’ अवस्थामा यो खोप काठमाडौंमा अवतरण भैसकेको मात्रै हो । अहिले स्थिती कस्तो भैसकेको छ भने भारतमैं परीक्षणमा रहेको यो खोप लगाएर ५ सयभन्दा बढी जनसाधारण ‘साइड इफेक्ट’का कारण निकै मुश्किलको जीवनमृत्यु घडी बेहोरिरहेका छन् भने नेपालमा आएको यो खोप कसले लगाउने भनेर प्रतिष्पर्धाको होइन, ‘पछि हट्ने’ होड समेत सुरु भएको छ ।

जनस्वास्थ्यका विषयमा बिज्ञ रहेका डा. समिरमणि दीक्षितले एउटा भीडीओ अन्तर्वार्तामा भनेका छन्—‘शीर्ष राजनीतिक नेताहरुले सुरुमा यो खोप लगाउनुपर्छ । नेपालका प्रधानमन्त्री, राष्ट्रपति र अरु प्रमुख नेताहरुले खोप लगाउनुपर्छ । सत्तापक्ष, प्रतिपक्ष र अन्य किनभने उमेरको हदबन्दीका कारण पनि उहाँहरु जोखिम समुहमैं हुनुहुन्छ । अर्थात ६० नाघिसकेको हुनुहुन्छ । उहाँहरु राजनीतिमा लागिरहनैपर्छ । यसकारण खोप लगाएर जोखिममुक्त हुन सक्नुहुनेछ । त्यसपछि नाम चलेका, चर्चित व्यक्तिहरुले पनि लगाइदिनुपर्यो । यो खोपको आम नागरिकमा विश्वास बढउनै पनि यसो गर्नैपर्ने हुन्छ ।’

डा. दीक्षितले यो भनाइ सार्वजनिक गरेपछि सुरु भएको तर्क–बितर्क र भयको माहोल पनि गजबकै देखिन्छ । यथार्थमा भारतले दक्षिण एशियाली मुलुकमाझ कोरोनो खोपको सानो अनुपात उपलब्ध गराएर सुरु गरेको ‘ठूल्दाइ कूटनीति’को अर्थ र प्रभाव त्यति कम रुपमा आँकलन गर्न भने सकिन्न ।

नेपालका परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली माघको पहिलो सातामा दिल्ली उत्रिएर द्धैदेशीय मन्त्रीस्तरीय संयन्त्र बैठकमा बसेर पाएको उपलब्धी भनेकै ‘यही कोरोना खोपको १० लाख डोज हो कि’ झैं गरेर अनाहकको चर्चा व्याप्त गरिएको छ । कतिसम्म भने यहि खोपका बारेमा सुरुमा परराष्ट्र मन्त्री ज्ञवालीले हँसमुख मुद्रामा ‘असल छिमेकीको असल नियत’ भन्दै खुलेर चर्चा गर्न भ्याए भने त्यसपछि स्वास्थ्य मन्त्री ह्रिदयेश त्रिपाठी खोपको प्याकेट लिन बिहिबार त्रिभुवन विमानस्थलमैं हाजिर भए । त्यसलगत्तै शुक्रबार प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित समारोहमा भारतीय राजदूत बिनयमोहन क्वात्राका समकक्षी बनेर प्रधानमन्त्री केपी शर्मा ओलीले पनि खोप होर्डिङ–बोर्डमा फोटो–सेसन गराउन भ्याइसकेका छन् ।

१० लाख डोज खोपका अगाडी हौवा कस्तो छ भने यो खोप मानौं नेपालका सबै जनतालाई पुग्ने खोप हो । यथार्थ के हो भने कोरोनाको एउटा खोप–सर्कल पुरा हुन ४ डोज लगाउनैपर्छ । यस अर्थमा अहिले आएको खोपको मात्रा लगाउन सकिने ४ लाख व्यक्तिलाई मात्रै हो । त्यहि पनि यो प्रयोगशालामा को पहिले प्रवेश गर्ने भन्ने भय र त्रास पनि चिर्न सकिएको अझै छैन ।

कूटनीतिक वृत्तमा नेपाल–भारत द्धैदेशीय संयन्त्र बैठक, भारतीय प्रधानमन्त्रीले नेपालका परराष्ट्र मन्त्रीलाई भेट नदिएको र नेपालका मन्त्रीले इपीजी रिपोर्ट वा चुच्चे नक्सांकनका बारे निर्क्यौलको कुराकानी गर्न नसकेको भन्दै चर्को बहस चलिरहेका बेला १० लाख कोरोना खोप उपहारमा पाएपछि सबै प्रकारका समस्याको समाधान मिलेकोझैं ‘खोप कुटनीति’को हौवा फैलाएर कहीं पुग्न सकिंदैन भन्ने पनि धेरैले ख्याल राखेकै छैनन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक