बुधबार, फागुन १९, २०७७

विदेशी नेताको तस्बिरमा माल्यार्पण गर्दा गर्व, पृथ्वीनारायण शाहलाई अपमान गर्दा शिर ठाडो ?

निल विक्रम थापा / कोपेनहेगन, डेनमार्क२०७७ माघ ९ गते २०:१९

देश जीवन- मरणको दोसाँधमा उभिएको छ । सत्तारूढ दल- नेपाल कम्युनिस्ट पार्टी दुई खेमामा उभिएर असली र नक्कली छुट्याउन सडक लगायत विभिन्न स्थानमा जात्रा देखाईरहेका छन् । देशकै पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेस आफ्नो फाईदा कसरी हुन्छ भन्ने हेतुले रक्षात्मक तरिकाले कुटनितिक चाल चल्दै पर्ख र हेरको अवस्थामा छ । राप्रपा लगायत साना राजावादी दल तथा केही नागरिकहरु “राजा आऊ देश बचाऊ” भन्दै सडकमै रोईलो गरिरहेका छन् ।

शाहवंशिय अन्तिम तथा पूर्व राजा ज्ञानेन्द्र भने सर्वसाधारण झै पश्चताप, विषाद, पिर,व्यथा र कुपुत्र असन्तुष्टिहरुलाई पचाउँदै श्रीपेच र गद्दिविनाको दरबारमा माथिका सबै दृष्यहरु नियालीरहेका छन् ।

पृथ्वीनारायण शाहलाई नेपाल एकिकरणका प्रमुख तथा राष्ट्रपिताका रुपमा स्विकार्दै आएका नागरिकहरुले गएको पुस २७ गते २९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईरहेका बेला टाउकोमा लठ्ठी बजार्न समेत नेपाल सरकार पछि परेन ।

गान्धी, माओ, मार्क्स, लेनिन, स्टालिन, चेग्वेभारा आदिका तस्बिरमा माल्यार्पण गर्दा गर्वोन्मत हुने नेपाली शासक तथा नेताहरुले पृथ्वीनारायण शाहलाई अपमान गर्दा चाहिँ आफ्नो शिर उठेको कसरी देख्छन् ? आश्चर्यको विषय बनेको छ ।

हुनत नेपालको राजनीतिमा उच्च तहमा बस्ने नेता तथा शासकलाई लाई योग्य,ज्ञानी, विवेकी, स्पष्ट वक्ता र दुरदर्षि सल्लाहकार चाहिँदैन । केवल नेता तथा शासकहरुलाई सर्वैसर्वा मालिकझैं ठानेर जय जयकार गरिदिए पुग्छ ।

लमजुङे राजा यशोव्रम्हका छोरा द्रव्यशाह वि.स. १६१६ मा गोरखाको राजगद्दीमा बसेपछि गोरखामा शाहवंशय राज्य विकास भयो । गोरखाका राजा नर भुपाल शाहको मृत्यु पश्चात् उनका जेठा छोरा पृथ्वीनारायण शाह २० वर्षको उमेरमा गोरखाको राजगद्दी सम्हाल्न पुगे ।

वि.स.१७९९ पुस २७ गतेका दिन जन्मिएका पृथ्वीनारायण शाह बाल्यकालदेखि शुरवीर, तेजवीर तथा वुद्दिमानी थिए । उमेरको वृदि सँगै उनले रामायण, भहाभारत, शुक्रनीतिको पनि राम्रो ज्ञान हाँसिल गरेका थिए ।

बाईसी, चौबीसी, पूर्वका सेन र काठमाडौंमा मल्लहरुगरि करीब ५० भन्दा बढि राज्यहरु छरिएर रहेका बेलामा वि। स १८०१ मा गोरखाली फौजले काठमाडौं अन्तर्गतको नुवाकोट जितेसँगै आधुनिक नेपाल निर्माण प्रकृयाको औपचारिक आरम्भ भयो ।

वि. स. १८०१ देखि १८२५ सम्म नेपाल एकिकरण अभियानमा लागेका पृथ्वीनारायण शाहले आफू शासनमा रहँदा आफ्ना छोरा, भाईभतिजाहरुमा कहिल्यै राज्य वाँडफाँड गराएनन् ।

महाभारतमा धृतराष्ट्रले आफ्ना छोराहरुको गलत नीतिलाई प्रोत्साहन गरेका कारण देशले भोगेको सम्पूर्ण दुर्घटना नजिकबाट बुझेका पृथ्वीनारायण शाहले आफ्ना छोराहरु र भाईहरुमा पनि राज्य प्रति आँखा लाउन दिएनन् ।

पृथ्वीनारायण शाहका भाई महोद्धामकीर्ति शाह मकवानपुर र अर्का भाइ सुरप्रताप शाह भक्तपुर विजय पश्चात् शासन गर्न चाहन्थे । तर सार्वभौम सत्ता जोगाउन राज्यलाई अखन्ड राख्नुपर्छ भन्ने मान्यता राखेका पृथ्वीनारायण शाहले त्यसो हुन दिएनन् । पृथ्वीनारायण शाह राज्य भागवन्डाको घोर विरोधी थिए । राज्य भागबन्डा गर्न नमानेको भन्दै दुवै भाई दाजुसँग रिसाएर गोरखाको शत्रु राज्य कास्कीका राजा सिद्धिनारायण शाहको आश्रममा गए ।

पृथ्वीनारायण शाहले जेठो छोरा प्रतापसिंहलाई पनि भर गरेनन् । प्रतापसिंह धर्मकर्म, तन्त्रमन्त्र, भोगविलासमा बढि अभिरुचि राख्थे । त्यसैले उनले राम्रोसँग राज्य चलाउन सक्दैन भन्ने थियो । कान्छा छोरा बहादुर शाह योग्य रहे पनि उनले राज्य टुक्राएर दिएनन् ।

पृथ्वीनारायण शाहले राज्यविस्तारका क्रममा आफ्नो गोत्रसमेत परिवर्तन गरे । हिन्दू धर्मविधानमा सगोत्री हत्यालाई ठूलै पाप मानिन्छ । राज्यविस्तार क्रममा गन्डकी राज्यमा पृथ्वीनारायण शाहकै सगोत्री थिए । त्यसैले उनले ती राज्यमा युद्द गर्नु पहिले काशी गएर भारद्वाज गोत्र त्यागी काश्यप गोत्र ग्रहण गरेका थिए ।

पृथ्वीनारायण शाहले काठमाडौंमा ईन्द्रजात्राको रात आक्रमण गरेका थिए । विजय पछि पनि ईन्द्रजात्रा पूर्ववत चलिरह्यो । उनलेले आफै कुमारीको आवासभित्र गएर उनलाई ढोगी टीका- प्रसाद र आशीवार्द ग्रहण गरे। कुमारीलाई नेवार समुदायको जीवित “देवी” मानिन्छ । विजेता भएपनि पृथ्वीनारायण शाहले पराजित राज्यको संस्कृति प्रति सम्मान दर्शाई असल शासकको परिपक्वता प्रदर्शन गरेका थिए ।

किर्तिपुरसंग दुई पटक पराजित हुँदा गोरखा राज्यले ठूलो क्षति बेहोरेको थियो । पृथ्वीनारायण शाहका भाइ शुरप्रतापको आँखामा बाण लागेर एउटा आँखाा फुटेको थियो । अर्को घााउ भएको आँखा काठमाडौंमा रहेका पादरी माईकल एन्जेलोले उपचार गरिदिएपछि आँखा बिग्रनबाट बच्यो ।

तेस्रोपटक चारैतिरबाट नाकाबन्दी लगाईदिए पछि अन्त्यमा किर्तिपुरबासीले हतियार बिसाएर गोरखाको अधिनमा रहन स्विकारे । किर्तिपुर कब्जा गरेको दुईदिनपछि पृथ्वीनारायण शाहका भाइ शुरप्रताप शाहले स्थानिय माथि बर्बर हिंसा गरे । केही कितिपुरबासीको नाक समेत काटे । तर नाक काटिएको कुरालाई ईसाई पादरीहरुले ४२ धार्नी नाक काटियो भनी नकारात्मक तरिकाले प्रचार गरे । आजसम्म पनि केही नेपालीहरु खासमा कितिपुरेबासीहरुमा त्यो भ्रम जिवित नै छ । तर त्यतिखेर सबै कितिपुरबासीहरुको नाक काटिँदापनि ४२ धार्नी पुग्न नसक्ने कुरा ईतिहासविदहरु बताउँछन् ।

मल्ल राजाहरुले धर्मान्तरण गराउन छाडिदिएका ईसाईहरुलाई पाटनसँग गोरखाको युद्द चर्किँदै गएपछि पृथ्वीनारायण शाह र ईसाई मिसिनरीबिचको सम्बन्ध बिग्रँदै गयो । काठमाडौं उपत्यका विजय पश्चात् पृथ्वीनारायण शाहले पादरीका नेपाली चेलाचपेटाहरु सहित देश निकालाको आदेश दिए । त्यतिखेर ८२ जना ईसाई बनाउन सफल भएपनि २४ जनाको मृत्यु भईसकेको र बाँकि ५८ जनालाई पादरी समेत देश निकाला गरियो । देश निकाला हुने मध्येकै एक पादरी थिए जिसेप्पी । तिनै जिसेप्पीले देशनिकालाको बदलामा विभिन्न पुस्तक, लेखरचना मार्फत पृथ्वीनारायण शाहको दुषप्रचार गरिरहे ।

वि.स. १८३१ माघ १ गते पृथ्वीनारायण शाहको निधन भयो । उनका जेठा छोरा प्रतापसिंह राजा बने । राजा बनेका तीन वर्षमा रगतमासीका कारण प्रतापसिंहको पनि मृत्यु भयो । बालक रणबहादुर शाह राजा बनाईए । उनकी आमा राजेन्द्रलक्ष्मीले नायबी बसेर शासनको बागडोर सम्हालिन् ।

(विभिन्न पुस्तक,लेखरचनामा आधारित रहेर)

तपाइँको प्रतिक्रिया