बिहीबार, कार्तिक ११, २०७८

उनलाई बिदा गर्ने बेलामा आइपुग्न सकिनँ (दोस्रो भाग)

डा गोबिन्द राज भट्टराई२०७७ माघ १० गते ९:०३

(अघिल्लो भागको अन्तिम अंश – बेथाले सारो पार्दै ल्याएपछि आफन्तलाई शहर पुर्‍याउँछन् । हाम्रोमा धेरैले गाउँदेखि काठमाडौँ पुर्‍याउँछन् । तर कति ता फेरि फर्किंदैनन् । तीसँग फेरि भेट हुँदैन । किनभने गाउँघरमा माया मारेपछि बिरामीलाई काठमाडौँ वा कुनै ठूलो शहर पुर्‍याउँछन् । त्यस्तो होइन, अञ्जना त हिँड्ने दिन बिहान पनि क्याम्पस पुगिन्, सही गरिन् । आजदेखि केही दिन पढाउन असमर्थ छु भनेर बिदा मागेकी थिइन् अरे । मनलाई त्यसरी ढुक्क पार्छु ।)

विरामी अञ्जना दिल्ली उडेपछिको घरमा म एक्लै निख्रेको जस्तो छु । बेलुका ऋचा आउँछिन् । सेवा दक्षिणी भारतको कन्याकुमारी कतै पुगेकी छन् । यतिबेला परिवार बिलाउँदै गएको छ । मान्छेलाई विरामी हुने, सारो हुने, मर्ने फुर्सद छैन । कामले त्यसरी ऊ बाँधिएको छ । प्रत्येक सदस्य उडेको छ ।

अञ्जना दिल्ली उडेको थाहा पाउने साथीहरू मलाई फोन गर्दै आआफ्नो ज्ञान र अनुभवबोल्न थाल्छन्— त्यस्तो केहि पीर गर्नु पर्दैन सर । हिजोआज मुटु फेर्नु भनेको टाउकोदुखेको दबाइ गरेझैँ मात्र हो ।

यो सजिलै हुन्छ । त्यति समय लाग्दैन । खर्च पनि धेरै नलाग्ला, त्यसो त नेपालमा पनि हुन्छ । तर नेपालमा त्यति ग्यारेन्टि हुँदैन । फेरि सबैजना आफैँले भोगेजसरी बयान गर्न थाल्छन् । अनि “सरलाई जान मिलेन ? मेडम कुन अस्पतालमा हुनुहुन्छ ?” मलाई भारी अप्ठ्यारो हुन थाल्छ ।

जीवन जहाँ छ मृत्युु पनि त्यहीँ छ । हामीले गर्ने ता केही छैन । न केही टार्ने छ । सबै गरिहेर्ने मात्रै ।

मनमा आज पनि अनेक दुष्कल्पना मडारिन्छन् । तर प्रकट गर्न सक्तिनँ । अब कसलाई व्यक्त गर्न सक्छु र ? छोरीसित प्रकट गरेर आफैँ कमजोर देखिन चाहन्नँ । तर फेरि सम्झिन्छु, उनलाई बिदा गर्ने क्षणमा पनि म यहाँ हुन सकिनँ ।

भोलिपल्टदेखि मन अधीर हुँदै गयो । सधैँ सँगै रहनू भन्ने आशीर्वाद दिने सासू–ससुरा सँगसँगै जस्तो बिदा भइसक्नुभयो । सदा आयुस्मान भव भन्ने पिताजी पनि । हाम्रो चाहना त सधैँ सँगै रहने हो । तर सञ्चालकले केको तारतम्य मिलाएको छ, कसैले सुइँको नपाउँदो रहेछ ।

तीन दिन पछि भाइ देवेन्द्रले खबर गरे— दाजु अपरेशन छिटै निस्कने भो । आउने मंगलबार ।

त्यसपछि म अधीर भएँ । मैले किन यसरी साथ दिन पाइनँ । त्यो बेडमा पुर्‍याउँदा अपरेशन तयारी गर्दापनि म उनको छेउमा हुनुपर्ने होइन ? ‘कुनै पीर नगर्नू । सबै ठीक हुन्छ, म यहीँ हुनेछु’ भन्नुपर्ने होइन ? एकपल्ट यता मलाई हेरेर भरोसा को आँखासित ढोकाभित्र पस्ने थिइन होला ।

तर अब उनको अपरेशन हुने दिन आयो मंगलबार । मैले जाने प्रयत्न गरेँ । अन्त्यमा टिकट मिल्यो । त्यो मंगलबारकै मिल्यो नेपाल वायुसेवाको । यता ठूलो भाइ खगेन्द्रलाई अह्राएँ— तिमी आएर सुत्ने गर्नु । रातमा यो ढोका यसरी लगाउनु । यो बत्ती यहाँबाट बाल्नु। पानी यसरी चढाउनु । ग्याँस कुकर अथवा इण्डक्शन यहाँनेरि बाल्नु । वाइफाइ सदा अन छ । त्यो चलाउनु । बिहानै उठ्नु । योयो पत्रिका आउँछन् । सफाइकर्मी नानीहरू आउँछन् । साँढे पाँचतिर दूध आइपुग्छ भत्केपाटीबाट । ती विधवा माता दुईपाथे ट्यामी बोकेर कैले ता उज्यालो नभै आइपुग्छिन् । फोहर संकलक आउँछन् । सिटि बजाउँछन् । त्यो ढोका खोलिदिनु । यो गेट सधैँ बन्द गनु । गार्डेनमा लप्सी पाक्न थालेका छन्, बोटमा लोभी आँखाहरू त्यता छिर्लान् । यतापट्टि ठूला अम्बा पाक्न थालेका छन् रुखैमा चढेर सिध्याउलान् । अघिल्तिर बगैँचामा रुखभेँडाको बोटै नुहेको छ, त्यसमा आँखा लाउलान् । हातै लाउलान् । गोजी भर्लान् । तर आजसम्म त त्यस्तो त भएको छैन । तर यहाँ कोही नदेख्ता मान्छेका मन लोभिएलान् । म घरमा एक्लै छु भनेर फेसबुकमा नचढाउनु । दशैँको मुखमा फेसबुके चोरहरुले त्यो सूत्र थाहा पाएर घर ढाक्ने छन् ।

यस्ता धेरै कुरा भाइलाई अह्राएर म दिल्ली उडेँ । यता त्यतिकै पर्खाउँछन्, बाटामा त्यतिकै लगाउँछन् । तर यी सारा प्रतीक्षामा मन भुलाउने एक गम्भीर आकर्षण साथमा थियो— जीवलाल सापकोटोको पीएचडी थेसिस । यही पल्टाएर पढ्न थालेँ । टिप्पणी लेख्न थालेँ । तर शेक्सपियरले भनेझैँ ओठबाट शब्द निस्किएता पनि हृदयमा नपुगी बतासमा उडेर गए । अपरेशन गरिसके होलान्— उनी कस्ती भइन् होलिन् ।

दिल्लीको हवाइ अड्डामा भाइ आएका थिए । उनको हँसिलो कारवाला प्रमोद साथमा थियो । हामी सरासर अस्पताल पुग्यौँ । एम्स निकै टाढा थियो । त्यहाँ पनि रित्तो बेडमा छोरीहरू पर्खिरहेका थिए । उनीहरूकी आमा आइसीयूमा । यो ता सामान्य प्रक्रिया नै थियो— आफ्नो मनको चिन्ता मात्रै भित्रभित्रै डढेलोजस्तो फैलिँदै थियो ।

रात परेपछि एकजना आफन्तले आइसीयुमा प्रवेश पाइने भयो । जुत्ता कपडा फेरेर अघि बढेँ । एक सुनसान व्याप्त हलमा लहरै थिए— सबै विचेत पारेर सुताइएका । अनेक प्रकारका तारजालि झुन्डिएका । मिशिन, मधुर आवाज गरिरहेका । संकेतक बत्ती पिलपिल गरिरहेका । सबै जीवित छन् भन्ने प्रमाणमा अर्कै वस्त्रमा, रुपमा, नचिनिने, चिन्न नसक्नेहरू, हेर्न–बोल्न वा आँखा खोल्न नसक्नेहरू । टाढैबाट बेड नं २० मात्र चिनेँ । मुटु थरर्र काम्यो र मनमनै भनेँ— उनी फिरेर एकपल्ट आइदिए पुग्छ । हे ईश्वर, विज्ञानले कसरी हामीलाई बेहोस पारेको ? यस्तरी विचेत पारी लडाइएकाहरू कसरी फिर्न सक्छन् ?

बिदा हुने बेलामा म भएको भए भन्ने थिइन् होला— समयमा खाजा बनाएर खानु । त्यहाँ ओट छ, दूध ल्याउँछन् । खानाको सबै सामान देखाएकी छु । त्यो पुरानो अचार नखानु। बरु मेथीको नयाँ पाइन्छ । भोको नबस्नु । लुगाधुने सफाइ गर्ने नानीहरू दिनदिनै आउँछन् भनेकी छु । दबाइ औषधी छुट्ला । कहिले खानै बिर्सिएला । मुख्य त आफ्नो टाइममा दबाइ खान । त्यसो त उताबाट पनि फोन गर्दै गरौँला।

हुन्छ हुन्छ । म त्यसै गर्छु । सबै थोक गर्छु । बुझेर–सम्झेर गर्छु भनेर उनलाई आस्वस्त पारेर ट्याक्सीमा चढेको हेर्ने थिएँ होला । आमालाई अघिल्तिरको सीटमा बसाउनु गुरुजी भन्ने थिएँ होला । मुस्कुराएझैँ गरी हात हल्लाउने थिएँ होला । तर बिदा गर्ने दिन म उताबाट आइपुग्न सकिनँ ।

उनको अपरेशनको त्यो रात ऋचा, सेवा र म जंगपुरा गएर क्वाटरमा बस्यौँ । भाइ एक्लै वार्डमा सतर्क भै पर्खिरहे । कतिबेला बिरामीलाई के हुन्छ, कुन औषधी लिन कता कुध्नुपर्छ । मलाई पनि यो रात कहिल्यै नसकिने रहेछजस्तो भयो । नौलो ठाउँ छ । दिल्लीको गर्मी । फ्यान खोलेर सुत्न सक्तिनँ । नखोली सुत्न सक्तिनँ । एसी खप्न सक्तिनँ । अझ बिरामीलाई के भयो होला । उनीहरूको निरन्तर ध्यान नपुग्ने हो कि ? कुनै त्रुटी हुने हो कि ?

बल्ल उज्यालो भयो । अनि सुकर्म टोलमा खगेन्द्रलाई फोन गरेँ—यता भाउजूको हिजो अपरेशन भइसकेछ । अहिले आइसीयूमा छिन् । होस फिरेको छैन । अरु राम्रो छ । त्यता बरु के कस्तो खबर छ भाइ आज ?

राम्रै छ दाजु । तर आज राति अलिक अनिष्टजस्तो भयो यहाँ । म त्यति सुत्न सकिनँ ।

के कस्तो अनिष्ट भाइ ?

रातभरि डरलाग्दो चट्याङ, बिजुली र हाम्रै छानामा बज्र हानेजस्तो गर्‍यो । यत्रो पानी कहिल्यै परेको थिएन । दुई घण्टा जति तर्छेर बसिरहेँ अनि, त्यसपछि सुत्न मात्रै लागेको थिएँ—घण्टी बजायो ।
कसले कस्तो घण्टी ?

हाम्रो घरको बाहिरको, कलबेल । दुई तीन पल्ट बजायो । मध्यरात ढल्केको छ । निकै डर लाग्यो । त्यसपछि चाल मारेर किचनमा गएँ र खुकुरी लिएर आएँ । अनि यसो पर्दाबाट चियाएर हेरेँ । तर वरिपरि कोही देखिएन । अनि बल्ल सुतेँ ।

मलाई पनि डर लाग्यो । दिल्लीमै डराएँ । आजसम्म नभएको घटना । त्यस्तो पानी र बिजुलीमा कुनै चोर बदमास होला भन्न सकिँदैन । तर यो घर रित्तो छ भन्ने सुइँको बुझेर कुनै दुराशयवाला आएन होला भन्न पनि सकिँदैन । कुनै अपराधीको कुचाल हो कि वा केही दैवी छल पो हो कि अथवा विद्युत् प्रवाहमा आएको कुनै त्रुटीले हो कि ? यो घरमा बसेको १९ वर्ष बितेछन् । भूतप्रेतले कुनै चेष्टा नदिएको सुकर्मटोलमा के भयो होला । भरेदेखि खगेन्द्र एक्लै सुत्न नसक्ने हो कि ?

पहिलो भाग पढ्न तलको लिंकमा क्लिक गर्नुहोस

तपाइँको प्रतिक्रिया

फेसबुक