बिहीबार, चैत १५, २०८०

लाज नभएपछि उपहार लिनै हतार : एकातिर उपहारमा मर्सिडिज, अर्कातिर मानव तस्करी ?

नेपालप्लस कुटनीतिक संवाददता /काठमाडौं२०७७ माघ ११ गते २२:५३

मंसीरको पहिलो साता एउटा समाचारले काठमाडौंका अनलाइन र अरु पत्रपत्रिकामा राम्रै स्थान पायो—‘कतार सरकारले नेपाललाई तीन वटा मर्सिडिज कार उपहार स्वरूप प्रदान गरेको’ समाचार छापेर । एकातिर परराष्ट्र सचिव भरत पौड्याल, सहसचिव हरिश्चन्द्र घिमिरेसहितका परराष्ट्र कर्मचारी र अर्कोतिर नेपालका लागि कतारी राजदूत युसुफ विन मोहम्मद अल हैल जो शिष्टाचार आदानप्रदानको मुडमा देखिन्थे । उनैले कतार सरकारद्वारा नेपाललाई सहयोग स्वरुप प्रदान गरिएका तिनवटा कारको साँचो परराष्ट्र सचिवलाई प्रदान गरे । उपहार ग्रहण गर्दै परराष्ट्र सचिव पौड्यालले ‘कतार सरकारले नेपालप्रति देखाएको सद्भाव र निरन्तर सहयोगको लागि सम्पूर्ण नेपालीको तर्फबाट हार्दिक आभार’ जनाउन पनि पछि परेनन् ।

यो सुखद समाचारको पृष्ठभूमीभन्दा अगाडी अर्को समाचारको पनि स्मरण गरौं जहाँ वैदेशिक रोजगार ऐनविपरीत कतार प्रहरीमा जान इच्छुक नेपालीको अन्तर्वार्ता लिन थालिएपछि वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीहरूमा छापा मारेको थियो । छापा मार्ने क्रममा कूटनीतिक नीलो रंगको गाडी सहित कतार दूतावासका प्रतिनिधि समेत फेला परेका थिए । नेपाल सरकारलाई जानकारी नदिई अन्तर्वार्ताको प्रक्रिया अगाडि बढाएपछि विभागले काठमाडौंका चल्तीका एसओएस, डीडी ह्युमन रिसोर्स र होप इन्टरनेसनलमा छापा मारेको थियो । कतारले एक सय ७९ जना नेपालीलाई प्रहरी सेवामा भर्ती गर्ने समाचार आएपछि प्रकृयामा वा लुकिछपी लाखौं रुपैंया घुस खुवाउँदै कतार प्रहरीमा जाने नेपाली युवाको लर्को लागेपछिको मानव तस्करी दलदलमा ‘कुटनीतिक नीलो रंगको गाडी पनि फेला परेको हो ।

तर, यो संसयको बिषयमा कतार सरकारको हस्तक्षेप रहेपछि न छानविन भयो, न कुनै प्रकारको कारवाही । ‘सेटिङ’ प्रकृयाबाट बिभिन्न १७ वटा म्यानपावर कम्पनीले मात्र कतारी भिसा सेन्टर क्युभीसी मार्फत कामदार पठाउन छनोट गरिएपछि काठमाडौंमा रहेको कतारी दुतावासको मानव तस्करीको संजालमा जानेर वा नजानेरै मिलेमतो बढेको देखिन्थ्यो ।

तर, यो १७ वटा म्यानपावर सेटिङको व्यवस्थापिका संसद्अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति र म्यानपावर व्यवसायीले चर्को विरोध गरेपछि यो म्यानपावर सेटिङ खारेज भएको थियो । कतारले विश्वकपकै लागि ३ हजारभन्दा धेरै सुरक्षा गार्ड र नेपालीलाई कतारी प्रहरीमा लैजानका लागि कोटा छुटाएको थियो । तर, नेपालबाट लैजाने कामदारका लागि समिति म्यानपावरले ‘सिण्डिकेट’ गर्ने भएपछि कतारी प्रहरी र सुरक्षा गार्ड डिमाण्ड अन्योलमा परेको थियो । सीमित म्यानपावरमार्फत कतार प्रहरीमा कामदार लैजान नेपालस्थित कतारी राजदूतवासको पनि संग्लनता रहेको भन्दै म्यानपावर व्यवसायीले चर्को विरोध गरेका थिए ।

यो सबै प्रकारको ‘सेटिङ’को एकपछि अर्को रहस्य खुल्दै गएपछि र जहाँपनि कतारी दुतावासको प्रत्यक्षपरोक्ष संलग्नता देखिदैं गएपछि फेरि अर्को ‘सेटिङ’को पर्दाफास भएको छ । वैदेशिक रोजगारीमा श्रमिक आपूर्ति गर्दै आएका म्यानपावर कम्पनीले कतार प्रहरीमा भिसा प्रमाणीकरण नै नगरी कामदार पुर्याएको तथ्य खुलेपछि र यी कामदारहरु म्यानपावर कम्पनीको सहयोगमा भारत (दिल्ली) हुँदै कतार जाने गरेको पाइएको छ जुन नेपाल सरकारले तोकेको प्रबन्ध बिपरित छ ।

केही म्यानपावर कम्पनीले कतार प्रहरीमा व्यक्तिगत श्रम स्वीकृति कै भरमा र भारतको बाटो हुँदै कतार ल्याइरहेको सूचना आएको दोहास्थित नेपाली दूतावासले जानकारी दिएको छ । म्यानपावर र एजेन्टले भारत हुँदै कतार प्रहरीमा कामदार ल्याइरहेको विषयमा दूतावासले वैदेशिक रोजगारी विभागलाई जानकारी गराएको छ ।

नेपालबाट तत्काल कतार प्रहरीमा रोजगारीका लागि जान श्रम स्वीकृति जारी भएको छैन । अब यो चरणमा पनि काठमाडौंमा रहेको कतारी दुतावासको प्रत्यक्ष–परोक्ष संलग्नता रहेमा यसमा के–कस्तो कारवाही हुन सक्ला ? अथवा परराष्ट्र मन्त्रालयमा उपहारमा दिइएको मसिंडिजमैं सबै गुण, दोष साटफेर हुने हो ? प्रश्न अनुत्तरित बनेको छ ।

त्यसमा पनि आगामी वर्ष कतारमा वर्ल्डकप हुन लागेको सन्दर्भ र कतारमा रंगशालासहितका संरचना बनाउने क्रममा ज्यान गुमाइरहेका नेपाली कामदारको ‘साटफेर बुझाउने अर्थमा’ यो मर्सिडीज उपहार आएको त होइन ? परराष्ट्रका कनिष्ठदेखि बरिष्ठसम्म पदाधिकारी पनि यो जिज्ञासामा तैं चुप मैं चुप देखिन्छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक