शुक्रबार, चैत १६, २०८०

नेपालमा वैंकिङ क्षेत्रको इतिहासको एक साक्षी : चन्द्रकमल एक थुँगा

अनुराधा पौडेल / पेरिस२०७७ माघ १२ गते १९:४६

बिदेशी भूमिमा नेपाली भाषामा लेखिएका पुस्तकहरु घरमै टुप्लुक्क आइपुग्नु एउटा सुखद अनुभव हो । एक दिन हाम्रो टोलकी बृद्दा हुलाकीले ‘चन्द्रकमल एक थुँगा’ नामको पुस्तक हातमा राखेर आइन् । पुस्तक आइपुगेपछि खुलदुली लाग्यो । ८२ बसन्तमा हिडिरहनुभएका नेपालको बैकिंग क्षेत्रका एक धरोहर चन्द्रमान प्रधानको आत्मकथामा आधारित रहेछ ‘चन्द्रकमल एक थुँगा’ । साधारण भाषा शैली र उच्चत प्रस्तुती, जीवन र जगतलाई हेर्ने लेखकको फराकिलो दृष्टिकोण भेटिने यो पुस्तक आत्मकथा नभै नेपालका कर्मचारीहरुले भोगेको झलक हो । पुस्तकमा प्रेरणा, दुख र संघर्षका कुराहरु भेटिन्छन् ।

राणाकालको अन्तिम समय देखि पन्चायत कालको भूमिसुधार कार्यक्रम र गिरीजा प्रसाद कोइरालाकालिन राजनीतिक संक्रमण कालखन्डमा लेखकले आफूलाई पुस्तक मार्फत् दौडाएका छन् ।

किताबमा लेखक ३७ वटा शिर्षकमा बाँडिएका छन् । लेखकको सगोलको परिवार, जागिरे जीवन खासगरी सहकारी बैंकलाई कृषि विकास बैँकमा परिणत गर्न लेखकसहित केहि ब्यक्तिहरुले गरेका काम र अवकाश पछिको बिभिन्न संघ संस्थामा सक्रिय संलग्नता पुस्तकमा समेटिएका छन् ।

पुस्तक भित्र छिर्नु पूर्व बैँकिग क्षेत्रका केहि प्रसंगहरु लिउँ ।

‘नेपालमा भूमिसुधार कार्यक्रम लागू भएपछि झापाका बाठा चार पाँच जना जमिन्दारले चिया खेती गर्न थाले । यो खेतीले शुरुका चार पाँच वर्ष कुनै उत्पादन नदिने भएकोले जमिन्दारहरु आत्तिन थाले । पात टिपेर मात्र भएन यसको प्रसोधन र वितरणका लागि पनि मेशिनहरु हुनुपर्छ । पात टिप्ने कामदारहरुलाई बस्ने बसोबास पनि दिनुपर्छ । चिया बगानका मालिकहरु चिया खेतीलाई बिस्तृत पार्नका लागि सरकारबाट ऋण या अनुदानको अपेक्षा गर्दै बिभिन्न बित्तीय संस्था र सरकारी अड्डाहरुमा धाउन थाले । सरकारी अड्डाबाट उनिहरुले आश्वासन त पाए तर सहयोग पाएनन ।

अन्तमा उनीहरु झिनो आशा बोकेर कृषि विकास बैंकमा आए । हामीहरुले दीर्घकालिन लगानी गर्ने हेतुले ७७ लाख ऋण लगानी गर्ने परियोजना बनायौँ । सरकारबाट पनि स्विकृति लियौँ । पाँच प्रतिशत ब्याजदरमा गरिएको ऋण प्रवाहले चिया खेती मौलाउने अवसर पायो । अहिले नेपालमा उत्पादित चिया दार्जलिङतिर जान्छ र त्यहिंको उत्पादनका नाउँमा बिदेश निर्यात हुन्छ ।’ (पेज १११)

‘बि सं २०२४ सालतिर नेपालको कृषि क्षेत्रले गति लिन थाल्यो । सरकारले पैसा दिएका भरमा सहकारी बैक चल्न सक्दैनथ्यो । हामीले अरुबाट बचत संकलन गर्न र लगानी गर्न पाउँदैनथ्यौँ । त्यसैले सहकारी बैँकलाई नयाँ दिशामा लैजाने योजना बन्यो । र कृषि बिकास बैंकको अवधारणा अगाडि ल्याइयो । बढो कठीनाइपूर्वक चलिरहेका सहकारिको ब्यवस्थापनको जिम्मा पनि हामीले लियौँ । यसरी २०२४ साल माघ ७ गते कृषि बिकास बैकको बिधिवत स्थापना भयो । राजा महेन्द्रले पनि यस बैकमा ५ हजारको खाता खोल्नुभयो र १० हजारको शेयर खरीद गर्नुभयो ।‘ (पेज ९०)

लेखकले जागिरे जीवनमा भोगेका तिता स्मरणहरु मध्येका दुइ स्मरण पनि यहाँ राखैं ।

‘कृषि विकास बैकले गति लिइरहेको बेला दीर्घराज कोइराला महाप्रबन्धक बनेर कृषि विकास बैंकमा आउनुभयो । कांग्रेश भनेर चिनिएकोले सरकारले कहिले यता कहिले उता सरुवा गरेको गर्यै थियो उहाँलाई । पछिल्लो पटक बैंकमा सारिदिएपछि त झन उहाँलाई कामै गर्न मन लागेको थिएन । यस्तैमा मैले उहाँलाई घरमै पुगेर संझाए । उहाँ पद सभाल्न आउनुभयो । तर केहि समयपछि कसले के कुरा लगायो कुन्नि उहाँ र मेरो बिचमा अविस्वास पैदा भयो । झोँका झोँक पनि भयो । मनमा अशान्ति भएपछि म चिना हेराउन मंगलराज जोशीकोमा गएँ । उहाँले मलाइ ‘केहि बिग्रेको छैन, तिम्रो झन् प्रमोशनको बेला आउँदैछ’ भन्नुभयो । चिना देखाएको एकाध दिनपछि कृषि सचिव कर्णध्वज अधिकारीले बोलाउनुभयो र भन्नुभयो ‘धान चामल निर्यात कम्पनी खोल्दैछौँ, त्यसकै महाप्रबन्धक हुनपर्यो अब तपाइँ ।‘ (पेज ८५)

‘धान चामल निर्यात कम्पनीमा काम गर्दा मेरा बिरुद्द कसले के उजुरी गर्यो कुन्नी बोरा बेचेर भ्रष्टाचार गर्यो भन्ने निउँमा भष्टाचार विभागका कर्मचारी सोधपुछकालागि म कहाँ आए । त्यसबेला हामीले विराटनगरबाट वर्षेनि करिव ७ लाख बोरा किन्थ्यौँ । ति बोरालाई ढुवानी गर्दा कम्तीमा ७० हजार खर्च हुन्थ्यो ।

एकदिन डिलरले हामीलाई नेपालगन्जमै कम्पनीको मूल्यमा बोरा पुर्याइदिन्छु भन्यो र हामीले त्यसको स्विकृति दियौँ । मिलवालाई हामीले दुइ रुपैयाको दरले पुराना च्यातिएका बोराहरु किन्न दवाव दियौँ । म भन्दा पहिला नेपालगन्ज शाखाको धान चामल निर्यात कम्पनीमा दुइ जना महाप्रबन्धक फेरिएका थिए । उनिहरुका पालामा प्रयोग भएका पुराना बोराहरुले धान मिलहरुका गोदाम भरिएका थिए । यसै कुरालाई लिएर भ्रष्टाचार बिभागले दिनसम्म दुख दियो । पछि यो मुद्दामा सफाइ दिए । तर मैले चार वर्ष सम्म निकै दुख पाएँ । यसले मेरो करिअरमा नराम्रो असर गर्यो र म अवसरहरुबाट बन्चित हुन पर्यो ।‘ (पेज १३८)

धान चामल कम्पनीमा कार्यरत रहँदा हामीले भारतमा चामल निकाशी गर्थ्यौँ । नेपालगन्जबाट कलकत्ता चामल पुर्याउन ४-५ दिन लाग्थ्यो । पानी पर्यो भने कलकत्ता पुग्दासम्म चामल पानीले भिजेर गुम्सिन्थ्यो । र चामल पुन केलाउनु पर्थ्यो । एकदिन हाम्रा कम्पनीका मानिसले त्यहाँको एक मजदूलाई गाली गरेछन् । त्यसपछि भारतिय मजदूरहरुले कामै ठप्प पारे । हामीले संवाद गर्न खोज्यौँ । तर कसैगरीपनि तिनका मदजुर नेता भेटिएनन् । समस्या समाधान हुने लक्षण देखिएन ।

यस्तैमा एकदिन एक मजदूरले मलाइ एक दादा भएको ठाउँमा लगे । कलकत्ता नजिक बस्ने खिदिमपुरका दादा भेट्न जाँदा उनी बच्चाहरुसँग लुडोँ खेलेर बसिरहेका थिए । मैले सबै समस्या बताएँ र मलाइ मजदूर नेता को हुन् चिनाइदेउ भनि माग राखेँ । उनले तुरुन्तै स्थानिय दादाहरु बोलाए । अब आइन्दा यिनको काम नरोक भनि उनले निर्देशन दिएपछि काम सुचारु भयो र हामीले मोरिससमा चामल निर्यात गर्यौँ । पछि भारतमा हरित क्रान्ति भयो । भारतमा प्रसस्त खाद्यान उत्पादन हुन थालेपछि हामीले पनि बिस्तारै निर्यात घटाउँदै लग्यौँ । अन्त्यमा धान चामल कम्पनी नै बन्द हुनपुग्यो । (पेज १३३)

लेखकको परिवेश जागिरे थियो भन्ने कुरा पनि पुस्तक पढ्दा थाह हुन्छ । बाल्यकालका केहि कुराहरु यस्ता भेटिन्छन् ।

‘राणाकालमा मेरा हजुरबुबा फर्पिङबाट उत्पादन हुने बिजुली अड्डामा काम गर्नुहुन्थ्यो । त्यसैका कारण हामीले एक लाइन बिजुली पाएका थियौँ र घरमा बिजुली बल्थ्यो । उ बेलाको हाम्रा छरछिमेक र टोल भने अन्धकार थियो ।‘ (पेज ४)

‘बि स २००५ सालमा घरमा पूजा लगाएको भोज खाँदा हैजा लागेर काकाको छोरा, मेरी कान्छी बहिनी र आमा बित्नुभयो । तीन दिनमा तीन लाश घरबाट निस्के । केहि पर वीर अस्पताल थियो । तर कसैले पनि अस्पताल जाने प्रयत्न नै गरेन।‘ (पेज १३)

‘मेरा दाइ मगलमान २०१८ साल सम्ममा १८ पटक पटक जेल परे । २०१७ सालमा पन्चायती व्यवस्था लागू भएपछि कांग्रेशका नेताहरुलाई राम्रै सेवा सुविधा सहित जेलमा राखे । तर दाइले भने यातना पाए । २०१८ मा उनलाई रिहाइ त गरे । तर जेलको यातनाले गलेका कारण उनको केहि दिनमै मृत्यू भयो ।‘ (पेज २४) ।

उहाँका दाजुको मृत्युको कथा लेखकले लेखेभन्दा पनि दर्दनाक थियो भनिन्छ । क्रान्तिकारी स्वाभावका दाजुको उ बेलाको तल्लो जातसँग उठबस भएका कारण मृत्यू पछि लाश उठाउन पनि मानिअसहरु आएनन् ।

‘बालाचतुर्दशीको दिन हाम्रो टोलमा इन्द्रायणी जात्रा हुन्थ्यो । इन्द्रायणी मन्दिर नजिक शोभा भगवती छ । यो साँझ यो मन्दिरमा जग्गे हाल्ने र सीगै राँगाको टाउको राख्ने चलन छ । अनि यो रातमा एक जोडी सर्प भ्यागुता माछा र भँगराको जिउँदै होम गरिन्छ । राती होम हाल्ने जनावार खोज्न हामी बिष्णुमतीको धापमा जान्थ्यौँ ।‘ (पेज ३३)

२०१७ सालमा राजा महेन्द्रले शासन सत्ता आफ्नो हातमा लिएपछि लेखकले एउटा रोचक प्रसँग पनि यहाँ अभिब्यक्त गर्नुभएको छ । जस्तै –

‘बिस २०१७ सालमा राजा महेन्द्रले शासन सत्ता आफ्नो हातमा लिए । नेपाली कांग्रेश र कम्यूनिष्ट सबैको कार्यालय बन्द भए । नेताहरु गिरफ्तारीमा परे । राजाको मन्त्रीपरिषदमा हाम्रा टोलका भूवनलाल प्रधान पनि मन्त्री भए । उ बेला भुवनलाल तलाँछेमा बस्नुहुन्थ्यो । एकदिन घरमै उहाँलाई राजाका सिपाहीहरु लिन आए । आँफू पनि प्रकाउ पर्ने डरले उहाँ माथि बुइँगलमा उक्लेर अरु घरका छत छतै भाग्न थाल्नुभयो । तर सिपाहीले लखेटी लखेटी पक्रेरै लगे । उहाँलाई लानुको कारण त थुन्नलाई नभैकन मन्त्री बनाउन रहेछ ।‘ (पेज ३०)

लेखकको जागिरे जीवनको अबकास पछिको चर्चापनि उत्तिकै रोचक छ । जस्तै –

‘गिरिजाप्रसाद कोइरालाको पालमा नेपालको राजनीति निकै तरङ्गित हुन पुग्यो। त्यो समय म नेपाल होटेल एसोसिएन (हान) मा कार्यरत थिएँ । उनकै पालोमा मध्यावधि निर्वाचन पनि हुनेभयो । निर्वाचनका समयमा हरेक पार्टिहरु चन्दा माग्न होटलहरुमा आउँथे । चन्दालाई संस्थागत गर्ने उदेश्यले हामीले नेपाली कांग्रेसलाई सात लाख, नेकपा एमालेलाई चार लाख, राप्रपालाई दुइ लाख, संयुक्त जनमोर्चा र नेपाल सद्धभावना पार्टीलाई ५०, ५० हजार रुपियाँ चन्दा दियौँ । सबै पार्टीहरु खुसी देखिए । तर गिरिजा प्रसाद कोइराला भने खुसि देखिनुभएन ।‘ (पेज ३९)

पुस्तकमा अनगिन्ति यस्ता प्रसंगहरु छन् । राणाकाल देखिका जागिरे हजुरबुबा त्यसपछि बुबा र अनि आफू पनि जागिरे जीवन विताएका लेखकमा राजनीतिक चेत उच्च कोटीको रहेछ भन्ने प्रष्ट हुन्छ ।

लेखक आफू कुनै पनि राजनितिक पार्टीको या बिचारको समर्थक देखिँदैनन । तर उनी प्रति नेपालको माया ममता प्रष्ट झल्किन्छ । नेपाली समाजको बनावटको रौँ रौँ बुझेका लेखकले कहाँनिर समस्या भन्ने कुरा गहनपूर्वक यो किताबमा लेखेका छन् । यो किताब लेखकको आत्मकथा मात्र नभै इतिहासको एक साक्षी हो ।

एक शय ८० पृष्ठको यो पुस्तकको शुरुका पेजहरुमा वृद्द पत्रकार भैरव रिसाल, सीमा अध्येता बुद्दिनारायण श्रेष्ठ र भक्तपुर नगरपालीकाको पुरानो कार्यकालका सल्लाहाकार इन्दुल केसी, कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायका टिप्पणी र बिश्लेषणहरु छन् । ति निकै फरक फरक दृष्टिकोणबाट आएका छन् ।

बैंकिङ क्षेत्रको बिकास र बिस्तार जान्न रुचाउनेहरुका लागि यो पुस्तक एक श्रोत पुस्तक हुन पुग्छ ।

यो किताबमा एउटा मात्र कमजोरी भनेको लेखकले तिथिमिति अलि राम्रो सँग मिलाउनुभएको छैन । अमेरिकाको यात्रा प्रसँग अलि लामो छ । भित्र जति खँदिला कुराहरु छन् त्यहि अनुरुप पुस्तकको नाम नहुँदा पुस्तकले यथेष्ट चर्चा पाएन कि भन्ने मेरो बिचार छ । किनभने चन्द्रकमल एक थुँगा भन्नासाथ आत्मप्रस्तुती हो कि भन्ने देखिन्छ । तर किताबमा ठीक उल्टो कतैपनि म पाइँत्व छैन । सबै सामुहिक निर्णय र परिचालनको कुरा छ ।

लेखकले पुस्तकको अन्तिममा ‘अशक्त छु । तर अगाडी बढिरहेछु’ भनेर आफ्नो गतिशिल जीवनको एक झल्को दिन भुलेका छैनन् । पुस्तकको अन्त्यमा केहि पारिवारिक तथा व्यवासायिक तस्विरहरु पनि समेटिएका छन् जसले पुस्तकलाई सुनमा सुगन्ध बनाएका छन् ।

पुस्तक परिचय :

पुस्तकको नाम : चन्द्रकमल एक थुँगा

विधा : आत्मकथा

प्रकाशक : लुमिन कुमार श्रेष्ठ

सम्पादक : विवश वस्ती

संस्करण : प्रथम, २०७७

मूल्य : रु ५००

मुद्रक : यू टर्न प्रिन्टर्स कुलेश्वर काठमान्डौ

आवरण सजावट : मिलनप्रसाद कोइराला

आवरण तस्विर : मधुप मंगल श्रेष्ठ

ISBN : ९७८-९९३७-०-७५४१-१

तपाइँको प्रतिक्रिया