शनिबार, वैशाख ८, २०८१

कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न नसकेको स्वीकार्दै इटालीका प्रधानमन्त्रीद्वारा राजिनामा

नेपालप्लस न्युज डेस्क२०७७ माघ १३ गते ०:०७

गएको हप्तादेखि निरन्तर आलोचना खेपिरहेका इटालीका प्रधानमन्त्री गियुसेप्पे कोन्तेले प्रधानमन्त्री पदबाट आजै सोमवार राजिनामा दिएका छन् । कोरोना संक्रमणबाट असाध्यै प्रभावित इटालीको सरकारलाई महामारी विरुद्ध पर्याप्त काम गर्न नसकेको र युरोपेली संघले सहयोग स्वरुप दिएको रकमको संस्थागत रुपमै दुरुपयोग गरेको आरोप लागिरहेको थियो ।

प्रेस र संसदमा प्रतिपक्षीहरुले सरकारको नीतिगत भ्रष्टाचारको विरोध गरिरहेपछि उनको मन्त्रीमण्डलबाट दुईजना मन्त्रीले राजिनामा दिएका थिए । त्यसपछि प्रधानमन्त्री झस्किएका हुन् । आफ्नै दलभित्र पनि फूट आएको र सत्तामा सामेल अर्को दलले पनि समर्थन नगर्ने बताइसकेपछि उनको कुनै उपाय लागेको थिएन ।

युरोपेली संघले सहयोग स्वरुप खर्ब डलरको घोषणा गरेपछि प्रधानमन्त्री, मन्त्री, सांसद निकटका मानिसहरुका ठूला ठूला कलकारखाना, ठूला होटलहरु घाटामा गएको देखाएर धेरै धनराशी हातपार्ने षडयन्त्र भएको पत्रपत्रिकाले नियमित रुपमा लेखिरहेका थिए ।

यतिसम्म कि, सत्तारुढ दलका सांसदकै मिलिमतोमा कोरोना शुरु भएपछि ठूला होटल किन्ने र घाटामा गएको कागज सरकारलाई पेश गरेर रकम भुक्तानी समेत गरिएको भेटिएको थियो ।

उपचार नपाएर मानिसहरु घरभित्रै मर्नुपरिरहेका इटालीका जनताबिच अलोकप्रिय भएको सरकार हटेपछि संसदले नयाँ सरकार चुन्ने छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक