सोमबार, जेठ ३, २०७८

नारान अग्ले : आकाश छुनै लागेको एकलकाँटे विम्व

थानेश्वर सापकोटा२०७७ माघ १४ गते १५:१४

फोटो- नरेन्द्र श्रेष्ठ

जुनबेला मेरो पुस्ता पत्रकारिता र नाट्यजगतको कर्मधर्ममा हिँड्न सुरु गर्दै थियो, त्यो बेला नारायण वाग्लेको नाम भिन्न बनिसकेको थियो । बीरनारायण चौधरीको किस्सा होस् वा कालापानीका रिपोर्टिङहरु, वाग्ले हाम्रा लागि ‘अग्ले’ भैसकेका थिए ।

नेपाली पत्रकारिताको कुरा गर्ने हो भने या लुकेका प्रतिभा छन् यहाँ अथवा टिकेका । भर्खरै बितेर गएका जनार्दन आचार्य हुन् वा धेरैले नामै उच्चारण नगर्ने कुमार सापकोटा— यी पत्रकारिताको अन्तर्यमा लुकेका र लुकेरै टिकेका प्रतिभा हुन् । यो हतप्रद क्षणमा को–को बिके वा बिकेनन्, यतातिर नजाऔं । तर थोरै, दुर्लभ सोच र क्षमता भएका पत्रकारमा मेरो पुस्ताले मान्ने मध्ये एक थिए— नारान अग्ले ।

अचानक तिनको एउटा उपन्यास बजारमा आयो र छायो— पल्पसा क्याफे । सामान्यजनका लागि कौतुहलको नाम बनिरहेको पल्पसा क्याफेकी ‘पल्पसा’ को थिइन् त ? केही समय नारान अग्लेका प्रशंसकहरुले खोज्यौं पनि । तर, काम र दैनिकीमा उडनतस्तरी झैं लाग्ने नारायण वाग्लेलाई भेट्नै मुश्किल हुन्थ्यो, कताबाट भेटिनु पल्पसा ?

सम्वत ५० को दशक । एकदिन एउटा अवसरमा नयाँ बानेश्वरस्थित बेकरी क्याफेको पटांगिनीमा नारायण भेट भएका थिए— हेर्दैमा अग्ला देखिने विम्व । उनले आफ्ना निकटका केही पत्रकार, कविजनका माझ सुनाइरहेका थिए— ‘म माटोको सुवास मन पराउँछु, सुगन्ध भनौं न । मेरो बुबा तनहुँ, दमौलीभित्रको एउटा गाउँमा धान–मचान–दाइँको एउटा बेखतमा नाकमा धानको फुँवार(नस) गढेर बित्नुभएको थियो । म त्यो माटोसँग जोडिएको आफ्नो कुरा कसरी भुलौं’ ?

यो कुरा सुनिरहँदा हामी नजिकै उभिएका ‘स्तब्ध’ मात्रै भयौं । अहिलेको हिसाबमा ‘ग्रासरुट’ मा जोडिएका रहेछन् नारान वाग्ले भन्ने लाग्थ्यो, हामी चुपै रहन्थ्यौं । एक दिन, के खान्छौं- ‘तिनले मलाई सोधे’ । ठमेलको एउटा मध्यम स्तरको रेष्टुरेण्ट हामी दुई जना ग्राहक । नारायण वाग्ले अर्कै ग्रहका जस्ता, जिङ्ग्रिङ्ग परेको कपाल, बडेमानका ट्रेकिङ जुत्ता र लामो सर्को तानेर आकाश छोपिने गरी उडाउने चुरोटको धुवाँ । नारान अग्लेको अलग्गै इमेज छपियो ।

यसरी वर्षौंवर्ष बिते । नारायण वाग्ले ठमेलतिरको एउटा कफीसपमा गैरहेका हुन्थे जहाँ बिरालाहरु खेलिरहेका हुन्थे । ती पैदलयात्री वाग्लेका अघिपछि कहिले पत्रकार कविता शेरचन हुन्थिन् कहिले ज्योति अधिकारी । कहिले कवि युयुत्सु आरडी देखिन्थे कहिले जोगेन्द्रकेशरी । अलिक पछि पत्रकार हरिबहादुर थापा पनि नारान अग्लेका अघिपछि कुदिरहेको देखिन्थे । तर, कस्तो हुन्थ्यो भने पैदल यात्रामा खुबै रुची राख्ने कदका अग्ला ‘नारान’ तीनकुनेको कान्तिपुर अफिस हुँदै ठमेल लम्कँदा नारान बबरमहलतिर पुगिसकेका हुन्थे । हरिबहादुरहरु भने मिनभवनतिर कुदिरहेका हुन्थे— सास न बास ।

एक वा अनेक कारणले नारान चिनिएका थिए । उनको ‘कफीगफ’ होस् वा अरु अनौपचारिक लेखनको शैली । एउटा पत्रकारले आफ्नो सहि चिनारी ‘सधैंभरि रिपोर्टर’ भएर मात्रै दिन सक्छ— सम्पादक वा प्रबन्धक भएर होइन’ भनेर बुझ्ने–बुझाउने उदाहरण कहिँकतै दिनुपर्यो भने म कि किशोर नेपालको नाम लिन्थें, कि नारायण वाग्लेको । जो सधैंसधैं समाचारको उकेरामा कुदिरहेका हुन्थे ।

यो ‘फेम’ बाट हुर्कदैं गर्दा २०६२ सालमा हुनुपर्छ— नारानको ‘पल्पसा क्याफे’ उपन्यास आयो र, त्यही वर्ष मदन पुरस्कार हात पार्यो । अनि नारान अर्कै भए— पत्रकार तथा उपन्यासकार नारान अग्ले । यो उपन्यासमा समयलाई सधैं भन्न र कोट्याउन मिल्ने धेरै ‘कोट’ हरु नारानले दिए । माओवादी द्धन्द्धकालिन मिहिन कथा भएपनि आजलाई र भोलीलाई पनि मिल्ने गरी नारानले भनेका थिए— ‘हामी आफैं त्यस्तो समय भोग्दैछौं जहाँ वास्तविकता र कल्पना अनि भ्रम र सच्चाइबिचको दूरी क्रमशः मेटिंदै गएको छ’ ।

के यो ‘कोट’ आजको समयका लागि मिल्दैन र जहाँ उनै नारान अग्ले लोकतन्त्रको खबरदारीका निम्ति बालुवाटार छेउछाउमा पानीको फोहरा खाइरहेका छन्— निथ्रुक्कै भिज्ने गरी ?

काठमाडौंमैं बाँच्ने र यहि कारण सक्दो भागदौड गर्ने नियती लिएर कहिले यो पत्रिका, कहिले त्यो साप्ताहिक गरिरहेकै बेला नारान अग्लेका अनेक किस्साहरु सुन्न थालेको थिएँ । कहिले नारान निधारभरि खरानी धसिएको हुलिया–हालतमा दोलालघाटतिरको कुनै आश्रममा भेटिए रे भन्ने सुनिन्थ्यो । कहिले नगरकोटको चौतारी होटलमा बसेर केही चिन्तत–मननमा छन् रे भन्ने सुनिन्थ्यो । कहिँकतै साँझमा टेकु वा ठमेलका डान्स रेष्टुरामा पनि भेटिए रे भन्ने पनि सुनिएको हुन्थ्यो । मभन्दा लहड र सनकमा रमाउन चाहने मित्र सन्जय घिमिरेले पनि नारान अग्लेका अनेक किस्सा लिएर आइरहेको हुन्थ्यो । यो सबै भैरहेका बेला पनि नारानको लेखन शैली र बिषयबस्तुको सूक्ष्म सोधखोज सधैंसधैं हामी ठिटा पत्रकारका निम्ति सिकोको विषय रहन्थ्यो । कस्तो भयो भने धेरैका लागि नारान अग्लेको अर्कै छायाँछवि बनिसकेको थियो । उनलाई मन पराउनेहरु धेरै भैसकेका थिए । तर, नारान उनकै शब्दमा ‘एकलकाँटे’ थिए, त्यस्तै लाग्थे धेरैजसो ।

तर होइन रहेछ । कहिलेकाँही आफूले आफैंमाथि गरेको आत्ममूल्यांकन पनि खेर जाने रहेछ । नारान ‘एकलकाँटे’ होइन रहेछन् । यसपटक नेपाली राजनीतिमा केपी ओली नामको एउटा ‘मुर्ख शासक’ को उदय भैरहेका बेला धेरैले धेरै तरिकाले वाद–प्रतिवाद गरिरहेका छन् । कोहि चर्को बिरोधमा छन्, कोही मौन–बिरोधमा छन् । कोरोना संक्रमणले थलिएको बिचलित समाज र भद्रगोल राजनीतिमा कहिले संसद भंगको ताण्डव गराएर, कहिले अदालतमा ‘सेटिङ’ गराएर त कहिले निर्वाचनको घोषणा गराएर ओलीले जेजसरी सर्वसत्ताबादको नौटंगी देखाइरहेका छन्— त्यसमा सचेत र सजग सबैसबैको आवाज आइसकेकै छ, आइरहेकै छ ।

केहि अघिसम्म यहि संविधानको बिरोधमा दशगजा घेर्न जानेहरु अहिले यहि संविधानको बचाउमा बालुवाटार पुगिरहेको दृष्य त्यति ‘अनौठो’ देखिन्न । किनभने नेपाली समाजका केही बुद्धिजीवि तथा नेताहरुको बिरोधाभासी चरित्र अहिलेदेखिको होइन । यो थाहा पाइराख्न कुनै रामायण पढ्नै पर्दैन । यो सनातनी कुरा हो ।

तर, कुरो छ नारान अग्ले वा संजीव उप्रेती अथवा दयाहाङ राईजस्ता पात्रहरुको । कुनैबेला हामीले हिमालय टाइम्सको बिल्डिङ सम्म सुन्थ्यौं पेशागत मर्यादामा रहने कुरामा कहींकतै राजनीतिक वा सामाजिक एजेन्डा बोकेर हिंडेको देखेमा वा पत्रकारको टेबलमा बसेर अभियन्ता बन्न खोजेको छनक देखिएमा मात्रै पनि लामा औंला उज्याउने नारान अग्ले आज आफैं अभियन्ता बनेका छन् । कस्तो गजबको दृष्य छ भने त्यस्ता ‘एकलकाँटे’ नारान अग्ले समाज वा राजनीतिमा भैरहेको बिद्रुप नाटक हेरेर पनि ‘चुपै’ बस्नुपर्ने थियो जस्तो मैंले ठानिरहेको थिएँ । अथवा, यो अश्लिल दृष्यका सामु नारान अग्ले बिद्रोह जनाउँदै कुनै हलखोरिया जंगलमा बसेर अर्को रामबहादुर बमजन बनिदिएको भए पनि मलाई त्यति आश्चर्य लाग्ने थिएन । तर, नारान अग्ले अहिले सडकमा छन्, गजबको कुरा यहीं छ ।

यतिबेर मेरो टाउकोमा घन ठोकिएजस्तो भएको छ–छ्याङ्ग हुनेगरी । यो कस्तो दृष्य हो भने मन–मष्तिस्कको अशान्ती र खल्बलिएको अवस्थाबाट नयाँ दिशा खोज्न सिद्धार्थ गौतम मध्यरातमा घरबाट पाखा निस्किएजस्तै स्थिती हो । ती एकलकाँटे र सन्त स्वभावका नारान अग्ले बालुवाटार र माइतीघर मण्डला आसपासमा पुगेर चर्को स्वरमा आज हुँकार गरिरहेको यो दृष्य त्यति सामान्य हुँदै होइन । एउटा अराजनीतिक र निस्पृह मान्छेको मन–मष्तिष्कमा चर्को ‘शाकाहारी बिद्रोहचेत’ पलायो भने के हुन्छ ? त्यो पक्कै पनि ‘नारान अग्ले’ हुन्छ ।

फेरि ‘पल्पसा क्याफे’ पल्टाएर तिनै नारानको ‘एकलकाँटे विम्व’ हेरिरहे पनि पल्पसाका लागि लेखिएका तिनै शब्दहरु यो दुरोदेशमा, परदेशमा बसेर म नारानका लागि हुबहु सारिररहेको छु, प्रेमपूर्वक । नारानले प्रेमपत्र लेखेका रहेछन्—’म छक्क परिरहेको छु , तपाईलाई (यो रुपमा) भेटेर (देखेर) म आफूलाई धेरै किसिमले प्रकट गर्न सकिरहेको छु । तपाईलाई के ढाँटु ? म प्रेममा परेको छु ……म पूर्वी झ्यालको पर्दा तानेर र्मििर्मरेदेखि तपाईलाई लेख्न थालेको थिएँ । हिमालको काँधबाट सूर्य उदाउँदाको क्षण मेरा आँखा तिरमिराए । घामको सुन्तला रंगले म पनि रंगिए हुँला, त्यतिखेर ठ्याक्क रातो र पहेंलो मिश्रत रंगले छोएका अक्षरमा मैंले लेखेछु— म प्रेममा परेको छु भनेर । म (अहिले) चकित छु— प्रेम भन्ने शब्द लेखिरहेकै बेला सूर्यले झ्यालबाट मलाई चियाएको छ’ …..

लभ यु नारान अग्ले, तिमीहरुलाई हानेको पानीका फोहराको छिटा हामीले पनि महशुस गरेका छौ । अब मेघ गर्जियोस, फेरी आँधी आओस ।

तपाइँको प्रतिक्रिया

फेसबुक