आइतबार, जेठ २, २०७८

सेक्सी सर्पका लठ्ठिवाल गोठाला

नेपाल प्लस२०७७ माघ १४ गते १९:३९

नयाँ दिल्लीको सदरचिडियाखाना वरिपरिको पार्क । अचाक्ली गर्मी ! हत्तपत्त पानी नपाइने त्यो उखरमाउलो गर्मीले शरिरका कोषकोषबाट पानी निचोरेर पसिना झारेको छ । यस्तो उखरमाउलो गर्मीमा मानिसहरु सिर्र सिर्र चलेको हावा खान बेन्चीमा बसेका छन् । कसैका आङमा लुगा छैन । हुनेको पैताला नांगा छन् । रुखको सित्तल खान बसेका घुमन्तेपनि यतै छन् । कसैले उसुनेका मकैका भुल्ता खोल्साउँदै छन् । कोहि बदाम पिट्ट पिट्ट फुटाउँदै छन् । कोहि बरफ चुस्नै ब्यस्त । कसैलाइ आइसक्रिमको मोहले तानिरहेको छ । यहाँ सयौं मानिस छन् । तर सँगै कोहि छैन । सबै एक्लो छ । अर्थात् सबै आफ्नै तालमा । निजि सुर र लयमा ।

तर यति धेरै मान्छेका बिच चार जवानलाई यहि पार्कमा भ्याइनभ्याई छ । अर्थात् मस्ती गरिरहेका, सुस्ताईरहेकाको जिउज्यानको रक्षा गर्ने मेलो । गर्मी छल्न सित्तलमा बसेकाको सुरक्षा गर्ने जिम्मा बोकेका लठ्ठिधारीहरु ।

दिनभरि दिल्लीको धुवाँ र धुलोसित लडाई गरेर पार्कमा टुसुक्क बसेको थिएँ म । लगभग पौने घण्टा बित्यो । ति जवान हातमा लठ्ठी बोकेर हिँडिरहेकै छन् । प्रहरीपनि होइनन् । किनकि तिनले न कसैलाइ समाउँछन् । न प्रहरीको जिम्मेवारी बोकेझैं हाट्टहुट्ट नै छ तिनको ।

यस्सो झाडीतिर हेर्छन् । जता मानिसहरु छन् उतातिर यस्सो आँखा फ्याँक्छन् । अलि बाक्लो  झाडीतिर निहुरिन्छन् । यता र उति हिँडेको हिँड्यै छन् । ति को हुन् ? किन यस्तो गरिरहेछन् ? किन यि लठ्ठिवाल जवानप्रति कसैको चासो छैन ?

नयाँ दिल्लीमा सर्पका गोठालासित

‘अरे भाइ साप क्या देख रहे हो ?’ बडेमानका लठ्ठी बोकेका लाठे जवानहरु पान चपाउँदै टक्क अडिए ।

‘मेरोको हिन्दि आच्छासे नहिँ आतेहै भाईसाप । ईङ्लिस आतेहै आपको ?’

हाँ, यू स्पिक, लिटल इङ्ग्लिस ओके ! गज्जबको अंग्रेजीमा बाटुलो मुखको हँसिलो युवक तनक्क तन्कियो ।

‘किन हात हातमा लाठी बोकेर यता र उति हिँडिराखेको ?’

‘सर्प खेद्नलाई ।’

‘सर्प खेद्नलाई ?’ बुझ्न गाह्रो पर्‍यो ।

‘हो, सर्प लखेट्ने ।’

‘हाहाहाहाहा’ म हाँसें ।
‘हो किन हाँस्नुहुन्छ ? सर्प खेद्ने हो हाम्रो काम ।’

‘खेदेर कहाँ लाने सर्प ? घरतिर ?’

‘यहाँ बहुत डेन्जर डेन्जर सर्प आउँछ । यहाँ पार्कमा बसेको मान्छेलाई गोमन सर्पले टोक्छ । मान्छे भएतिर आयो भने खेद्ने काम हाम्रो’ उनले बेलिबिस्तार लगाउन खोजे ।

यिनको कामनै गज्जबको छ । दिनभरि यहि दिल्लीको पार्क वरिपरि घुम्ने । सयौं फन्को मार्ने । झाडिबाट बाहिर सर्प निस्कियो भने तिनलाई खेदेर फेरि झाडीभित्रै हुल्ने । मान्छे भएतिरबाट खेदेर झाडीतिरै पठाउने ।

सर्प भगाउन सजिलो होस । नजिकै गएर हटाउन खोज्दा लठ्ठीले तह लगाउन सकियोस् भनेर यिनले हातहातमा लठ्ठी बोक्दा रहेछन् ।

‘लठ्ठी देखेपछि सर्प भाग्छ र ?’ जिज्ञासु बनायो ।

‘लखेट्दालखेट्दै आइहाल्यो भने त टोक्छ नी । धेरै नजिक आयो भने लठ्ठीले धकलेर पठाउने ।’ उसले टुटेफुटेको अंग्रेजीमै जिज्ञासा मेटिदिन खोज्यो ।

यिनले खेद्नुपर्ने सर्पपनि थरिथरिका हुने रहेछन् । धमिन, गोमन, करेट के के हो के के । तर सबैभन्दा गाह्रो राजगोमन खेद्न हुने रहेछ ।

‘गोमन सर्प खेद्न गाह्रो हुन्छ सर’ अर्को जवान अगाडि सर्‍यो ।

‘किन नी राजगोमन गाह्रो ?’

‘त्यो लभ परेको बेला अन्धा हुन्छ । लब परेपछि कतैपनि नहेरिकन बाहिर बाहिर आउँछ ।’

‘सर्पको लभ परेको थाह हुन्छ तपाईहरुलाई ?’

‘भालेले खुब लखेट्छ । पोथीले फेरि भाउ खोजिहाल्छ हाहाहाहा ! पोथी जता भाग्छ भाले उतै आउँछ । अलिकति टाउकोतिर चढ्छ । फेरि झर्छ । माथि चढ्न खोज्छ । फेरि उत्रिहाल्छ । यस्तो गर्दा उनीहरु झाडीबाट बाहिर निस्कन्छ । फकाउन टाईम त लागिहाल्छ नी ! ‘

हो पोथीको प्रेममा पागल बनेको भालेले आँखा देख्दैन । ऊ यौन त्रिप्तीका लागि पोथी जता जान्छे उतै जिद्दि कसेर पछिलाग्छ । यस्तो बेला झाडीबाट बाहिर निस्किएको गोमन रिसाउँछ पनि । रिसले मुर्मुरिएको, प्रेमको भोकले आत्तिएको बेला बेन्चमा खुट्टा हल्लाएर बसेका, चउरमा खेल्दै गरेका मान्छेलाई टोक्न के बेर ? उनीहरुले सर्पको प्रेमका अनेक किस्सा सुनाइरहे ।

‘ऊ यसको त बिहे पनि भाको छैन । लभपनि परेको छैन । अनि यसलाई थाह हुँदैन प्रेममा पर्दा कति पागल हुन्छ । प्रेम छुटेको बेला कति रिस उठ्छ । प्रेममा फसेको बेला डिस्टर्ब गर्‍यो भने कति रिस उठ्छ उसलाई थाहै छैन’ अर्कोले आफ्नै साथीलाई जिस्कायो ।

‘किन किङ कोब्रा भन्छ । नामनै किङ छ । त्यो सर्प त किङ हो नी । सबैको किङ । किङ भएपछि डेन्जर हुँदैन ?’ जगविरलाई किङ कोब्रा अर्थात् गोमन सर्पको दादागिरी राम्रोसित थाह छ ‘किङ जस्तै हो । चुपचाप बस्यो भने त केहि गर्दैन । उसलाई डिस्टर्ब गर्‍यो भने त किङले जस्तै खत्तम पारिहाल्छ ।’

कति जोखिमपूर्ण काम गरिरहेछन् यि जवान । गोमन सर्प भन्नासाथ मानिसहरु दश कोश परै भाग्छन् । तर यिनको काम भने तिनै गोमन, करेट र अन्य सर्प खोज्दै हिँड्ने हो । यिनको पेशा गोमन सर्पपनि बचाउने र मान्छेपनि जोगाउने । दोहोरो जिम्मेवारी बोकेका लठ्ठीवाल ।

‘कोहि त सर्प देख्यो भने पत्थर, लाठी, ईँट लिएर मार्न गैहाल्छ । हाम्रो काम त्योपनि रोक्ने हो’ जगबिर सुनाउँछन् ।

अर्को दिन म बस चढेर हिँडें दिल्लीबाट भरतपुर चरा आरक्षतिर । विहान भारतीयको शब्दमा एक्स्प्रेस बस चढियो । कहिँ नरोक्ने एक्सप्रेस बसले एक दर्जन बिसौनीमा आराम गर्दै बेलुका चरा आरक्ष पुर्‍यायो ।

होटेलका साहुजीले नेपाली भनेपछि धेरै बेर चरा आरक्षको इतिब्रितान्त सुनाइदिए । विहान चरा आरक्ष गइयो । चरा र जिवजन्तु हेर्न टन्नै मचानहरु रहेछन् । मचानमा चढ्यो । दुरबिनले वरिपरिका जिवजन्तु नियाल्यो । फोटो खिच्यो । दिउँसो २ बजेतिर फर्किँदै गर्दा एउटा झुपडी देखियो । तिर्खा लागेकाले पानी मागें । चिसो पानी पिलाए पालेले ।

एक्कैछिन् बात भयो । ‘तपाई रातभरिपनि यहिँ सुत्नुहुन्छ ? डर लाग्दैन ?’

उनलाई बडेमानका हात्तीको भन्दा गोमन सर्पकै डर लाग्दो रहेछ । सुख्खा याममा जंगलमा सिँचाइ गर्न बोरिङ खनेर ईनार बनाइदिएको । त्यहि ईनारमा पम्पसेट लगाएर पानी तानिने रहेछ आरक्षमा सिँचाई गर्न । जिवजन्तु, चरालाई पानी पुर्‍याउन !

यो ईनारमापनि यस्तै प्रेममा पागल बनेका जोडी गोमन फसेछन् । प्रेममा पागल बनेर खेद्यो भालेले । भालेलाई घुर्क्याउँदै दगुर्ने पोथी । दुई पागलप्रेमीले ईनार देखेनछन् । प्रेमको अन्धोपनमा दगुर्दा दुइटै ईनारमा खसे । वन पालेले ईनारमा खसेका गोमन सर्प देखाए, टर्च बालेर ।

‘यिनीहरु यहिँको जंगल बस्छ । सबै थाह छ । तर यिनीहरु लभमा परेपछि पागल बन्छ । सन्काहा हुन्छ । खुब दगुर्छ । यताउति हेर्दैन । नहेरिकन भागेको बेला ईनारमा खस्यो’ पालेले सुनाए ।

जब पानी हल्का पर्छ अनि जमिन तात्छ । बाफ छुट्छ । यस्तो बेला सर्प बढि निस्किन्छन् । यसरि प्रेममा फसेका अन्धा गोमन सर्पबाट जोगिन उनले अग्लो खाट हालेर सुत्ने गरेको सुनाए ।

सर्प जोगाउने, खेद्ने तालिम

भारतको यहि पार्कमा मात्रै होइन । अन्य पार्क र उद्यानहरुमापनि यसरि सर्पका गोठालाहरु खटिन्छन् । उनीहरुले केहि समयको तालिम लिनुपर्छ । यो तालिममा उनीहरु सर्पको कथा, जिवनी सुन्छन् । सर्पसित कसरि बच्ने र बचाउने भन्नेपनि जान्नुपर्छ ।

जगबिर र उनका साथीको काम लठ्ठी घुमाउने मात्रै होइन । उनलाई गोमन सर्पको बारे धेरै ज्ञानपनि भैसकेको छ ।

प्रिथ्वीका सबैभन्दा विषालु सर्प मध्ये एक राजा गोमन ठिङरिङ्गै खडा हुन सक्छ । टक्क उभिएर उसले हेर्छ । उसले आफ्नो आँखामा मान्छेको सिंगो आक्रिति अटाउन सक्छ । अरु सर्पभन्दा विशेष शक्तिपनि छ गोमनमा । आफ्नो शरिरको एक तिहाइ भाग ठड्याएर आक्रमणका लागि अगाडि बढ्न सक्छ ।

खासमा यि सर्प लज्जालु स्वभावका हुन् । सम्भव भएसम्म मान्छेबाट टाढै बस्छन् । ‘तर मान्छेनै यिनको वासस्थानमा गैदिएपछि के लाग्छ ?’ जगबिर गोमनका बाध्यता सुनाउँछन् ।

आक्रमण गर्नु अघि कोब्राले आफ्नो फन्डा सर्लक्क फुकाएर वा तन्काएर रिसाएको चेतावनी दिन्छ । रिसायो भने हिस्स्स्स्स्स्स आवाज निकाल्छ ।

विषालु सर्पहरूमध्ये एक हो राज गोमन । उसले एक पटक फ्याँकेको विषको मात्राले २० जनालाई मार्न सक्छ । अर्थात् त्यो मात्राले हात्तीलाईपनि मारिदिन सक्छ । विषले मस्तिष्कमा श्वासप्रश्वासको केन्द्रलाईनै अवरुद्द गरिदिन्छ । मुटुलाईपनि विफल पारिदिएपछि मान्छे छिट्टै मर्छ ।

जगविरले यो पेशा अँगालेको धेरै भयो । लगभग एक दशकमा उनले धेरै राजगोमनका पागल प्रेम देखे । अरु सर्पका प्रेमीहरुपनि नियाले । सर्पका अनेक अनेक कहानीपनि सुने । सुनाएपनि । यो एक दशकमा उनले देख्दा देख्दै धेरै सर्पका गोठालापनि थपिए । “मान्छेहरु पार्कमा लभ गर्न आउँछ । हाम्रो काम चाहिँ मान्छेको लभपनि हेर्ने सर्पको लभपनि हेर्ने । हाम्रो जिन्दगी यस्तै छ सर, जिन्दगी लभ हेरेरै जाने भो” जगविर खित्का छोडेर हाँसे ।

तपाइँको प्रतिक्रिया

फेसबुक