बुधबार, फागुन १९, २०७७

जथाभावी नियुक्त गर्नाले हाम्रा राजदूतलाई गम्भिरताकासाथ लिन छोडे -डा मदनकुमार भट्टराई (पूर्व परराष्ट्र सचिव)

नेपालप्लस कूटनितिक संवाददाता २०७७ माघ १५ गते २०:२८

सन् १९७७ को लोकसेवा आयोग परिक्षामा प्रथम स्थान हाँसिल गरी परराष्ट्र सेवामा शाखा अधिकृत तहबाट प्रवेश गरेका मदनकुमार भट्टराई सन् २००९–११ अवधिमा परराष्ट्र सचिव थिए । जर्मनी र जापानमा राजदूतको जिम्मेवारी सम्हालिसकेका भट्टराई कूटनीतिअघि अध्यापन र पत्रकारितामा संलग्न थिए । कोलकातास्थित जादवपुर विश्वविद्यालयबाट नेपाल–भारत सम्बन्धमा विद्यावारिधि गरेका डा. भट्टराइको बिज्ञताका आधारमा राष्ट्रपति बिद्यादेवी भण्डारीको पहिलो कार्यकालमा २ वर्ष (सन् २०१६ पछि) उनी राष्ट्रपतिका परराष्ट्र मामिला एवम् कूटनीतिसम्बन्धी सल्लाहकार पनि रहे । झण्डै चार दशक कूटनीतिक सेवामा बिताएका भट्टराईले ‘परराष्ट्रका पात्र’ तथा ‘परराष्ट्रका प्रशासक’ नाममा दुइ गहकिला कृति लेखेका छन् । यी दुबै कृतिमा नेपालको परराष्ट्र मामिलाको विभिन्न कालखण्ड तथा मन्त्री, सचिव, पदाधिकारीको कार्यशैली र कूटनीतिक दशा–दिशाका बारेमा सूक्ष्म ढंगबाट केलाउने काम गरिएको छ । नेपालप्लस सँगको कुराकानीको एउटा प्रसंगमा भट्टराईले भने- “कहिलेकाहिँ राजदूत नियुक्त हुँदा परराष्ट्र सचिवलाई समेत थाहा हुँदैन । अरु सल्लाहको कुरै छोड्नुस्” ।

तपाइको भर्खरै प्रकाशित पुस्तक प्रराष्ट्रका प्रशासक बजारमा आएको छ ! कस्तो छ प्रतिकृया ?

कितावको बारेमा प्रकाशकले के के गरिरहेका छन मलाई त्यती जानकारी आएको छैन । तर कतिपय साथीहरुले, पाठकहरुले फोन गरेर, सन्देश पठाएर जुन किसिमको प्रतिकृया देखाउनु भएको छ त्यसले मलाई उत्साहित भन्दा पनि बढी प्रेरित गरेको छ ।

नेपाली भाषामा तपाईंका दुइवटा पुस्तक सार्वजनिक भए । अली अघि सार्वजनिक प्रराष्ट्रका पात्र र अहिले प्रकाशित परराष्ट्रका प्रशासक दुबै उस्तै सुनिन्छन् । के फरक छ यि दुबैमा ?

यो कूटनिती भनेको नै यस्तै हो । सुन्दा उस्तै सुनिने तर भित्र फरक हुन्छ । प्रराष्ट्रका पात्रमा के छ भने मन्त्री अथवा सो सरह किनभने राणाकालमा परराष्ट्र मन्त्री हुँदैनथे । पहिलो पुस्तकमा मैले परराष्ट्रमा नेतृत्व दिएका ब्यक्तिहरु र उनिहरुको कार्य कौशलताको बारेमा बढी उल्लेख गरेको छु । अहिलेको पुस्तकमा प्रशासकका आन्तरिक, सामाजिक र धार्मिक कुरासम्मको बयान छ । परराष्ट्र सचिवको कार्यक्षेत्र, प्रतिष्ठा, कमजोरी अनी  कयौं सिनियर मान्छेहरु जो सचिव हुन पाएनन् तिनिहरुका गुनासाहरु पनि छन् । अर्को कुरा नियुक्ती प्रकृयाका कुरा पनि यसमा समेटिएका छन् । परराष्ट्र सचिवको नियुक्ती कसरी हुन्छ भन्नेकुरा समेत यसमा समेटिएका छन् । अझ रोचक कुरा यसमा के छ भने परराष्ट्रमा अहिलेसम्म महिला सचिव भएका छैनन् । मैले सचिव पत्नीहरुको स्थिती के थियो र उनिहरुको बिगत कस्तो थियो भनेर किताबमा लेखेको छु ।

परराष्ट्रका बारेमा खास बहस हुन्न वा भनौं त्यति जानकारी हुँदैन । यसका लागि किताब पूर्ण छ ?

हो परराष्ट्रका बारेमा त्यति सूचना बाहिर थाहा हुँदैन । अझ राणाकालिन परराष्ट्रका बारेमा त झन जानकारी नै छैन । मुन्सिखानाको बारेमा केहि लेखिएकै छैन । नेपालमा कस्तो छ भने प्राय: आफ्नै उपलब्धीका बारेमा लेख्ने चलन छ । म त्यसबाट बच्ने प्रयास गरेको छु । र अरु जानकारी बढी समेट्ने कोशीस गरेको छु । यो किताव पूर्णता नै त नहोला । तर धेरै जानकारी दिन्छ ।

तपाईंले आफ्नो बारेमा भन्नु भएको छैन किताबमा ?

मेरो आफ्नो विषयमा के लेख्नु । तर बाहिरको कुनै प्रसंग आयो भने चाहिँ जोडिन्छ । जस्तो भनौं न, कसरी को को सचिव भए भन्ने सूचीमा त मेरो नाम हुने नै भयो । त्यस्तै, सचिव हुनै नपर्ने मान्छे कसरी सचिव भएँ भन्ने कुरामा पनि मेरो नाम पर्न गएको छ । सचिव हुनुभन्दा पहिला र सचिव भएपछि म दुइचोटी राजदूत भएँ । एक पटक राष्ट्रपतिको कूटनैतीक सल्लाहकार भएँ । त्यो पनि गजब भयो भनेर लेखेको छु । म कसरी अपरम्परागत रुपमा पदमा कसरी आइपुगें भनेर छोटो लेखेको छु । त्यत्ती हो ।

भने पछी किताब पूर्ण रुपमा अरुको सन्तुष्टी र असन्तुष्टिमा केन्द्रित छ ?

हो, सफलता असफलता, अन्तरराष्ट्रिय परिप्रेक्षमा के छ, हामी केमा सफल भयौं, के मा असफल भयौं भन्ने कुरा पनि छ । हाम्रा केहि सबल पक्ष पनि छन् । जस्तो कि भारतमा १९४७ देखि अहिलेसम्म ३३ जना परराष्ट्र सचिव भए भने हामीकहाँ त्यहि समयदेखि अहिलेसम्म जम्मा २४ जना परराष्ट्र सचिव भएका छन् । त्यसमा दुई जना दुई पटक भएका छन् । हाम्रोमा परराष्ट्रका प्रशासकहरुको कार्यअवधी अस्थिर छैन । बरु मन्त्रिहरुको निकै अस्थिर छ । २००७ साल देखि गत सालसम्म ९२ पटक मन्त्रिहरु परिवर्तन भएका रहेछन् । समग्रमा पुस्तकमा हाम्रा धेरै कुरा केलाइेको छ ।

तपाईं लामो समयसम्म परराष्ट्रमा काम गरेको प्रशासकका आधारमा नेपालको कूटनितीक ‘ट्रेण्ड’ कस्तो पाउनु भयो ?

परराष्ट्र मन्त्रालयलाई जती स्वतन्त्र रुपमा चल्न दियौं, स्वचालित रुपमा छोडिदियौं त्यो राष्ट्रिय स्वार्थका लागि, मन्त्रालयका लागि, राष्ट्रिय नेतृत्वका लागि पनि फलदायी हुन्छ । तर यसलाई जती गिजोल्छौं, जती हस्तक्षेप गर्‍यो त्यति सबैलाई बेफाईदा हुन्छ । हाम्रा सरकारी एजेन्सीहरु लाई स्वत: सन्चालन हुन दिने हो भने कहिँ पनि आशंका गर्नै पर्दैन । तर हाम्रो सिभिल सर्भिस राजनीतिक रुपले गिजोलियो । म पनि परराष्ट्रको नेतृत्व गरिसकेको मान्छे । मेरा पनि कमजोरी होलान् । म पनि दुधले नुहाएको हुँँ भन्दिन । तथापी के छ भने अहिलेसम्म पनि नेपालको परराष्ट्र मन्त्रालय स्वचालित हुन सकेको छैन ।

परराष्ट्र मन्त्रालयलाई सहयोग गर्ने संस्था भनेको राजदुतावासहरु हुन् । दुतावासमा राजनीतिक नियुक्ती हुन्छ । सधैं राजनिती हावी हुन्छ । नियुक्त गरिएको मान्छेको योग्यता क्षमता केहि हेर्नुहुन्न । अनी परराष्ट्र मन्त्रालयले काम गर्न सकेन भन्नुहुन्छ । यो दोहोरो चरित्र भयो । संसारमा कहिँ पनि राजनितिक नियुक्ती गर्ने चलन छैन । अमेरिका जस्तो देशमा समेत अती थोरै राजनीति नियुक्ती हुन्छ । अरु देशमा त हुँदै हुँदैन । हामीकहाँ त कस्तो छ भने हामीले कूटनैतीक रुपमा ‘डिल’ गर्नुपर्ने प्राय: सबै राष्ट्रहरुमा राजनैतीक नियुक्ती छ । मैले राजनीतिक रुपमा नियुक्त हुने सबै खराव भन्दिन । कतिपय राम्रा पनि होलान् । तर तपाईंले ‘ट्रेण्ड’ कस्तो बसाल्नु भो भने राम्रो र सक्षम भन्दा आफ्नो मान्छे पठाउनु भो । अनी सबै ट्रेण्ड बिग्रियो भनेर परराष्ट्रलाई दोष लगाइदिनु भयो ।

तपाईं त परराष्ट्र सचिव, राष्ट्रपतिको सल्लाहकार भईसक्नु भएको मान्छे । यस्ता कुराहरु हुनुहुँदैन भनेर बिरोध जनाउने प्रशस्त ठाउँ पाउनु भएको थियो । त्यतिबेला किन नबोलेको त ?

मैले त्यो बेला पनि एक पटक होइन पचास पटक बोलेको छु । मैले सधैं भनिरहेको कुरा के भने कुनै पनि ब्यक्तिलाई नियुक्त गर्दा त्यो ब्यक्तीको उपयोगिता जाँचियोस । राजनीतिक मान्छे हुँदै हुन्न भनेको होइन । होला । आवश्यक पर्ला कुनै बेला । तर नियुक्तिको लागि मात्र नियुक्ती दिनु भएन भनेर पटक पटक भनेको छु । ल हेर्नुस्, राजदुतको नियुक्ती परराष्ट्र मन्त्रालयले नभएर मन्त्रिपरिषदले गर्ने हो र ? त्यस्ता अधिकांश नियुक्तीका बारेमा परराष्ट्र सचिवलाई जानकारी नै हुँदैन । राजदुतको मात्रै कुरा होइन । नयाँँ दुतावास खोल्ने कुरामा सर्भे गर्नुपर्ने हुन्छ । आवश्यकता निर्क्योल गर्नुपनि पर्छ । केहि कुरामा गरिएको होला । तर कस्तोसम्म भएको छ भने राजदुत नियुक्ती गर्ने बेलामा ४ जनालाई नियुक्त गर्न आँटेको पाँच जनालाई नगरि भएन । अब ठाउँ चारवटा मात्रै भयो भनेर थपिएको पनि छ । यो भनेको ठूलो चिन्ताको विषय हो ।

तपाईंले सुझाव दिनु भएको होला । कति मान्यो त सरकारले ?

मैले दिएका कतिपय सल्लाह सरकारले मानेको पनि छ । जस्तो कि म सचिव हुँदा अनमिनको कुरा थियो । मैले अनमिनको उपादेयता सकियो । यसलाई ससम्मान बिदा गर्नुपर्छ भनें । सरकारले मान्यो । राजदूतहरुको कामलाई हेरेर यो चाहिँ ठीक भएन तुरुन्त फिर्ता ल्याउनुपर्‍यो भनें । त्यस्ता कतिपय कुराहरुमा उहाँहरुको सकृयता देखियो । तर कतिपय कुराहरुमा मौनता हुन्छ । उहाँहरुका ‘कण्डिशन्’ हुन्छन् होला ।

कस्तो बुझियो भने राजनीतिक ब्यक्तिलाई भन्दा बढी देशको मायाँ प्रशासकहरु लाई हुँदो रैछ हगी ?

त्यसो नभनौं, माया सबैलाई हुन्छ । राजनीतिज्ञ बाहिर कसरी हुन सक्ला । परराष्ट्र निती अलिकती अनुदार हुन्छ । गृहनिती जस्तो परराष्ट्र निती तुरुन्त फेरबदल हुन सक्दैन । राष्ट्रिय स्वार्थ स्थायी हुन्छ । राष्ट्रिय स्वार्थ फेरिइरहने हुँदैन । त्यसैले राष्ट्रिय स्वार्थका विषयमा सबैलाई नै माया हुन्छ होला । राजनीतिज्ञ कसरी अलग हुन सक्लान् ?

हामीकहाँ तपाईंले भनेजस्तो कुनै परराष्ट्र निती छ र ?

परराष्ट्र निती भनेको निरन्तरता र परिवर्तनको मिश्रण भन्छ । अली अघिसम्म हामीले साइवर क्राइम भन्ने सुनेकै थिएनौं । पचास वर्ष अघि हाइज्याकिङ भन्ने थाहै थिएन । आतंकवाद भन्ने हामीले पहिले सुनेकै थिएनौं । अहिले बिभिन्न कुराहरु नयाँँ आए । यि परिवर्तनलाई परराष्ट्र नितिले अँगाल्नु पर्छ । नेपालमा परराष्ट्र निती नभएको भए यत्रो देश कसरी एकिकरण भयो ? हामी कसरी स्वतन्त्र रहिरहन सक्यौं ? यि यावत कुराहरु छन् । नेपालको परराष्ट्र अड्डा भनेको दक्षिण एशियाकै पुरानो अड्डा हो । बेलायतमै हेर्नुभयो भने झन्डै सय वर्षसम्म उनिहरुको उत्तरी र दक्षिणी विभाग भन्ने थियो । त्यसले गृह परराष्ट्र दुबै हेर्थ्यो । छुट्टै परराष्ट्र थिएन । हाम्रो त धेरै पुरानो हो । साम्राज्यबादको चरम सिमामा पुग्दा पनि हामीले हाम्रो परराष्ट्र नितिलाई सकृय राखेको हो । त्यसैले ‘हाम्रो परराष्ट्र निती पनि छ र ?’ भन्ने हिनताबोध हामीले नगरौं । कतिपय कुराहरु सुधार गर्न सकेनौं होला । संस्थागत गर्न पछी पर्‍यौं होला । त्यत्ती मात्रै हो ।

भर्खरै भएको परराष्ट्र मन्त्रिको भारत भ्रमणमा हाम्रो परराष्ट्रनिती सकृय भए जस्तो देखिएन । यसलाई कसरी हेर्ने त ?

मन्त्रालयले त्यसको कसरी तयारी गर्‍यो मैले भन्न सक्दिन । तर हाम्रो एउटा बानी के छ भने कुनैपनि काम हुनुभन्दा पहिले नै हल्ला गर्छौं । कस्तो देखियो भने परराष्ट्र मन्त्री ज्यूको भ्रमणमा भारतका प्रधानमन्त्रीसँग भेट हुँदै छ भनेर बाहिर ल्याइयो । जब कि कार्यक्रम फिक्स भएकै थिएन । कसरी मिडिया ‘लाइम लाइट’मा आउने भन्ने पुरानो बानिले काम गर्‍यो । अर्को कुरा हाम्रो मन्त्रालय, दिल्ली दुतावास र भारतीय परराष्ट्र मन्त्रालयका बिचमा जुन प्रकारको छलफल हुनुपर्ने थियो त्यो भएन कि जस्तो लाग्छ । यस्तो भ्रमणमा यि दुबै पक्षबाट एकै किसिमको बिज्ञप्ती आउनुपर्ने थियो । त्यो आएन । यसपटक अलिकती फरक भयो । दुबै पक्षको फरक फरक बिज्ञप्ती आयो । साधारणतया यस्तो कमै हुन्छ । तर यसले गर्दा हाम्रो परराष्ट्र नीती असफल भयो भन्नु चाहिँ गलत हो ।

अघिपनि आइसकेको कुरा नि, अहिले भएको राजदूत नियुक्तीलाई कसरी हेर्नु भएको छ ?

मेरो चिन्ताको बिषय हो यो । हामीले जथाभावी मान्छेहरुलाई नियुक्त गर्न थाल्यौं । यसले हामीले पठाएका देशका प्रतिनिधिहरुलाई गम्भिरताकासाथ लिन छोडे मान्छेहरुले । तपाईंले राजदूत फ्याट्ट नियुक्ती गरिदिनुहुन्छ । त्यसको ब्याकग्राउण्ड केहि पनि हुँदैन । अनी अरुले पनि गम्भिर रुपमा लिँदैनन् । समग्रमा यसले हाम्रै छवि गिराउँछ । यसले हाम्रो उपस्थिती सेरेमोनियल जस्तो हुन्छ ।

रिटायर्ड लाइफ बिताउनुस् भनेर पठाएको हो कि नेपाल सरकारले ?

यो मलाई थाहा भएन । त्यो नेपाल सरकारलाई नै सोध्नु पर्दछ । तर के भने राजदूत पदमा जाने मान्छे असाध्यै सक्रिय हुनुपर्दछ । यस्ता कुरामा हामीले आफैं भित्र सुधार ल्याउने हो जसले हाम्रो कूटनितिलाई सवल बनाउँछ ।

कि तपाईंलाई कतै नियुक्त नगरेका कारण अली असन्तुष्टी बढेको हो तपाईंको ?

होइन । मलाई चाहिएको छैन । कतै नियुक्त नभएर असन्तुष्ट हुनुपर्ने कारण पनि छैन । मैले नेपाल सरकारको जागिर खाएर गर्न सक्नेजती काम गरेको छु । मलाई अरु किसिमको लोभ लालचको आवश्यकता छैन ।

तपाईंलाई लोभ नलागे पनि तपाईंको लोभ देशलाई लाग्नुपर्ने थियो कि ? राजनीतिज्ञहरुले ठम्याउन सकेनन शायद !

त्यो मैले बुझिन । यो चाहिँ राजनीतिज्ञहरुलाई नै सोध्नुपर्ने कुरा भयो । म राजनीतिको र पनि नबुझ्ने मान्छेले कसरी जवाफ दिउँ । देश चलाऊने मान्छेले नै सोच्नुपर्ने कुरा हो यो ।

तपाईं जस्तो अनुभवी मान्छेलाई त सरकार तथा राजनीतिज्ञले देशको लागि काम गर्नुस् भन्नुपर्ने होइन र ?

म जस्ता अरु ३ सय ६० जना मान्छे छन् । मैले मात्रै गर्नु पर्छ भन्ने छ ? अरुलाई पनि पालो दिनु परेन ? हुटिट्याउँले जस्तो मैले मात्रै आकाश थाम्छु भनेर कहाँँ हुन्छ ?

ए….यो त पालो पुर्याउने ठाउँँ पो पर्‍यो त्यसोभए ?

सधैंभरी एउटै ब्यक्तिलेनै गर्नु पर्छ भन्ने छ र भन्या ? अरुपनि कस्ता कस्ता योग्यता भएका मान्छे छन नि ! तपाईंले मलाई भन्नु भो । अरु पनि मान्छे छन् कूटनितिमा योग्यता हासिले गरेका । पालो ‘इन द सेन्स’ त्यसरी भनेको ।

तपाइँको प्रतिक्रिया

फेसबुक