बिहीबार, कार्तिक ११, २०७८

कोरोना खोप : शक्तिशाली देशकालागि एक मुख्य कूटनीतिक हतियार

ददि सापकोटा२०७७ माघ १६ गते १६:०७

भारत र नेपालबिचमा प्रविधि आदानप्रदान, भूकम्पपछिको पुनर्निर्माण, डुबान र बाढी नियन्त्रण, चुच्चे नक्शा, द्धैपक्षीय व्यापार, रेल संजाल र उर्जा जस्ता विविध बिषयमा छलफल हुने बताएर परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली दुई साता अघि भारत भ्रमणमा गए । भारतले ति सबै मुद्दा पन्छाएर वार्ताको अन्तिम हतिआयर ‘कोरोना खोप’ मा लगेर टुंग्यायो । यसैबाट बुझिन्छ, कोरोना खोप बितरक र उत्पादक सबै देशकालागि कूटनिति खेल्न कति महत्वपूर्ण हतियार सिद्द भैरहेको छ ।

तत्कालकालागि आफ्नो कूटनितिक दायरा बढाउन र भएको सिमा अझ कसिलो पार्नपनि कोरोना भाईरसको खोप महत्वपूर्ण माध्यम बनिरहेको छ । धनी देशहरु खोपको भकारी देखाउँदै गरिब देशतिर डुलिरहेका छन् । गरिब देशहरु खोपको सिदा माग्न धनी देश र विश्व स्वास्थ्य संगठनको दया र माया कुरेर बसेका छन् । खोपका डिलर र बितरकहरु कुन दुलोबाट गरिब देशका अँगेनामा छिर्न सकिएला र खोपको आगो झोस्न सकिन्छ भनेर भित्र पस्ने ढोका नियालीरहेका छन् । बिगतको बदनाम छबीले निकट हुन नचाहने देशलाईपनि कोरोना खोपले मुस्कुराइँदै निकट बन्ने मौका दिएको छ । यहि खोप देखाएर धेरैको छबी पखाल्नुपनि छ । त्यसैले, खोप विश्वभरि एक कूटनितिक हतियार बनिरहेको छ ।

तर यथार्थ के हो भने धनी देशहरूले खोपका करोडौं डोजहरू आफ्ना लागि भने सुरक्षित गरिसकेका छन् । उता चीन र रसियालेपनि विकासशील र मध्यम आय भएका देशहरूलाई लक्षित गरेका छन् ।

साओ पाउलोका गभर्नर जोओ डोरिया अधीरताका साथ खोप ढुवानीको लागि पर्खिरहेका थिए । बिहीबार, नोभेम्बर २६ बिहान साँढे सात बजे टर्कीको कार्गो विमान ब्राजिलको सबैभन्दा ठूलो सहरको अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो । त्यो कार्गो एक लाख २० हजार कोरोना खोपको डोजले भरिएको फ्रिजसहितको कन्टेनरले भरिएको थियो । त्यो एक चिनियाँ कम्पनीले उत्पादन गरेको खोप थियो ।

पछिल्लो हप्तादेखि, बहुमूल्य कार्गो एयरपोर्टबाट सिधै एक गोप्य स्थानमा लगियो जहाँ त्यो प्रयोगको पर्खाइमा थियो । भर्खरका महिनाहरूमा, राज्यपाल (गभर्नर)ले सिनोभाक बायोटेकले विकास गरेको चिनियाँ खोप तुरुन्तै पहुँच गर्न सबै उपाय गरेको छ त्यहाँ । यी एक लाख २० हजार युनिट डोज लैजान लागिएका ६० लाख खोप मध्येको पहिलो लट हो ।

जोआओ डोरियाले महामारीको सुरूवातदेखि नै चिनियाँ फार्मास्युटिकल कम्पनीसित शर्त राखेका थिए । चनाखो चीनले दक्षिण अमेरिकामा आफ्नो प्रभुत्व जमाउन र खोपको आर्थिक लाभ लिन ब्राजिलमार्फत छिरेको थियो । सिनोभाकले धेरै महिनादेखि डोरियाको राज्यमा यो खोप परीक्षण गर्दै आएकोपनि थियो ।

यदि नियोजित खोप अभियान सफल हुन सकेमा राष्ट्रपति बोल्सोनारोको प्रतिद्वन्द्वी कट्टरपन्थी यि राजनीतिज्ञले दुई वर्षमा राष्ट्रपति पदको लागि उम्मेदवार भएर आफ्नो छवि बढाउन यसको प्रयोग गर्ने अर्को स्वार्थपनि थियो । कोविड १९ ले लगभग एक लाख ७५ हजार व्यक्तिको ज्यान लिइसकेको थियो । बोल्सोनारो एंग्लो-स्विडेनी समूह एस्ट्राजेनेका र युनिभर्सिटी अफ अक्सफोर्डले बनाएको खोपमा पर्खिरहेका छन् जुन खोप मार्च २०२१ भन्दा अगाडि सहज रूपमा उपलब्ध हुने छैन ।

ब्राजिल, भारत, युरोप, अमेरिका वा जहाँ कहिँपनि एउटा चुनौतीमाथि अर्को चुनौती थपिएको छ : विश्वभरिका अरबौं मानिसहरूलाई खोपहरू उत्पादन, वितरण र प्रदान गर्न जतिसक्दो चाँडो गर्ने । यी खोप उम्मेदवारहरू उत्पादन गर्ने कम्पनीहरू वा संस्थाहरू चीन, अमेरिका, रसिया, भारत, क्यानडा र धेरै युरोपेली देशहरूबाट आएका छन् । प्राथमिकतामा खोप लिन पाउने देशहरू आफैंले लकडाउन खोल्ने, स्कूल र विश्वविद्यालय खोल्ने, आफ्नो अर्थव्यवस्था पुनः सुरु गर्ने पहिलो हुनेछ । जसले उत्तम खोपहरूमा पहुँच नियन्त्रण गर्दछ त्यसले प्रभाव हात पार्छ । गतिलो खोप उत्पादन गर्न नसक्ने देशहरूलाई प्राप्त गर्न गाह्रो हुन्छ ।

फ्रान्सेली राष्ट्रपति इमानुएल माख्रोंदेखि चिनियाँ राष्ट्रपति सी जिनपिङ, रूसी राष्ट्रपति भ्लादिमीर पुटिन र संयुक्त राष्ट्र संघ-महासचिव एन्टोनियो गुटेरेसले लामो समयदेखि पर्खाइमा रहेको यो खोप “विश्वव्यापी सार्वजनिक हित” मा हुनुपर्ने दोहोर्याए । ठूला फार्मास्यूटिकल समूहहरूले पनि यही गरिरहेका छन् । घोषित कुरा मिठा छन् । यो मिठो मिश्रित अभिप्रायको पछाडि प्रतिस्पर्धा सर्वव्यापी छ । पेटन्ट संरक्षणको लागि पनि हो । केहि विकसित देशहरूमा औषधी कम्पनीहरूलाई दिने राष्ट्रिय आर्थिक सहयोग वा विकासोन्मुख देशहरूको खोपमा पहुँच ।

प्रभाव र लाभका लागि भैरहेको यो लडाई विकासशील र मध्यम आय भएका देशहरूमा ठ्याक्कै खेलिने छ । त्यो खेल भैरहेकै छ । चीन, रुस र भारत जस्ता देशहरूले तिनको पहुँचमा रहेका देशहरुको बजारमा राम्रो पहुँच बनाउन, अन्य फाईदा लिन सहुलियतमा खोप प्रस्ताव गर्न थालेका छन् । अर्जेन्टिना, मेक्सिको, बेलारुस, उज्बेकिस्तान र हंगेरी लगायत केहि देशहरू रूसी स्पुतनिक भि खोपमा भर परेका छन् । यि देशमा रसियाले आफ्नो बजार र प्रभाव जमाउन, आफ्नो प्रभाव यथावत राख्न खोजिरहेको छ । रसियाली खोपलाई युरोपेली युनियनले स्विक्रित नगर्दै हंगेरी मार्फत रसियाले युरोपेली युनियनमा आफ्नो प्रभाव छिराईसकेको छ । युरोपेली युनियनलाई रसियाले चुनौतिको बत्ती बालेर देखाइदिएको छ । रसियाका प्रभुत्वमा रहेका देशमा गएर राजनितिक प्रभाव बनाउन खोजिरहेका युरोपेली देशलाई रसियाले तिनको नाकैमा हिर्काएझैं भएको छ, हंगेरीरीसित आफ्नो खोप सहमति गरेर ।

विकासोन्मुख देशहरूमा खोपको आपूर्ति वास्तविक भूराजनीतिक मुद्दा हो । चीनले यहि बेला गतिलो मौका छोप्न खोजिरहेको छ । प्रविधीमापनि ऊ पस्चिमी देशभन्दा अब्बल छ । पहुँचमापनि उच्च छ । र सहयोग र सेवामापनि माथि छ । चीनले देखाउन चाहेको छ, ऊ केवल व्यापार र पूर्वाधार निर्माणमा मात्रै साझेदार बन्न होइन एक प्राविधिक शक्ति पनि हो र आफू पश्चिमी देशहरूको विकल्प हुन सक्षम छ ।

भारत एक प्रमुख खेलाडी

भारत सबैभन्दा पहिले आफ्ना छिमेकमा कोहि नघुसोस भन्ने चाहन्छ । पहिले आफ्ना छिमीकीबिच आफ्नै खोपको कूटनिति, राजनिति र आर्थिक लाभ सुनिस्चित गर्न भारत लगभग सफलपनि भैसकेको छ । बंगालादेश, श्रीलंकासहितका मुलुकले कोरोना खोप लैजाने भनेर भारतसँग समझदारी (एमओयु) गरिसकेका छन् । पछिल्लो चरणमा भारतले नेपाललाईपनि खोपमा आफ्नो प्रभावमा पारिसकेको छ ।

त्यसो त, खोपको लडाई अनुसन्धान र विकासको क्षेत्रमा पहिले नै शुरु भैसकेको हो । कतिपय देशमा खेलाइदै छ यो खेल । तर यो खोपभित्र वितरण, रेफ्रिजरेसन, यातायात, भण्डारण र प्रशासनको पनि अलग्गै खेल छ । यो एकदमै लामो दूरीको दौड प्रतियोगिता हो । आर्थिक, सामरिक, समाजिक, प्रविधी र प्रभावसित जोडिएको लामो दौड । यो दौडमा, पर्याप्त स्रोत र उनीहरूको आफ्नै उत्पादन क्षमतालाई प्रयोग गर्ने स्वार्थपनि छ । त्यस्ता देशहरूको लागि स्पष्ट लाभको खेल ।

डब्ल्यु एच ओ क्यान्डिडेट ओभरभ्यु, नोभेम्बर २७ को रिपोर्ट अनुसार भारतको द्रुत उदयले सामान्य अवस्थामै विश्वको ६० प्रतिशत भन्दा बढी खोपहरू उत्पादन गर्दछ । यो धेरैकालागि संकेतपूर्ण छ नै, खोपबाट फाईदा हेरेका पस्चिमी मुलुककालागि चुनौतिपूर्णपनि । एशियाली मुलुककालागि शिक्षाप्रद पनि छ ।

भारत बायोटेकले हालै विकसित गरेको होममेड भ्याक्सिनको बजार गरिरहेको छ भारतले भने अर्कोतर्फ भारतीय कम्पनी पूनावाला जस्ता विदेशी कम्पनीहरूले पनि एस्ट्राजेनेकालाई खोपको १०० करोड डोज बनाउने योजना बनाएको छ । वर्षको अन्त्य सम्ममा प्रति खुराक (डोज) ३ डलर मूल्यमा बेच्न खोजिरहेछ । धेरै जसो उत्पादन भारत सरकारमा निहित हुने र बाँकी एसिया, अफ्रिका, ल्याटिन अमेरिकामा वितरण गर्न सकिन्छ भन्ने दाउमा भारत रहेको डब्ल्यु एच ओ क्यान्डिडेट ओभरभ्युमा उल्लेख छ ।

ड्यूक ग्लोबल हेल्थ इनोवेशन सेन्टरले गरेको एक अध्ययन अनुसार औद्योगिक र उदीयमान अर्थतन्त्र भएका देशले सम्भवतः करिब ६ अर्ब डोज सम्भावित खोपहरू सुरक्षित गरिसकेका छन् । यी कुनै पनि खोपलाई अख्तियारीप्राप्त निकायले स्वीकृत गर्ने नगर्ने निस्चित नहुँदै सुरक्षित गरेका हुन् । अमेरिका र यूरोपियन युनियन प्रत्येकले १ अर्ब भन्दा बढी डोज सुरक्षित राखेका छन् । आफ्नै खोप उत्पादन गर्ने चीनले डिसेम्बरको अन्त्यसम्ममा ६१ करोड डोज पुर्‍याएको निस्चित जस्तै छ । यसको विपरित, केहि विकासशील देशहरूले २०२४ सम्म खोपको लागि कुर्नुपर्ने हुन सक्छ ।

न्यायसंगत पहुँच

यस ग्रीष्म ऋतुलाई डब्ल्यूएचओ द्वारा गाभि(खोप गठबन्धन) को सहकार्यमा कोभाक्स (कोभिड १९ भ्याक्सिन ग्लोबल एक्सेस) विश्वका नागरिकलाई खोपमा किफायती र न्यायसंगत पहुँच दिने भनेर शुरु गर्‍यो । अक्टोबरमा चीनसमेत सम्मिलित यस अन्तर्राष्ट्रिय मञ्चले १६७ देशहरू भेला गराएको थियो जसमध्ये कम र मध्यम आय हुने सबैको लागि भविष्यका खोपहरूको सस्तो र उचित पहुँच सुनिश्चित गर्ने उद्देश्य थियो । स्रोतहरूको खोजि, मूल्य घटाउने र प्रि-अर्डरहरू राखेर यो पुरा गर्ने लक्ष्य लिएको हो । सन् २०२१ को अन्त्यसम्म दुई अर्व डोज सुरक्षित गर्ने लक्ष्य राखेको छ ।

यो पहल चाँडै कार्यान्वयन गर्न सकिन्छ कि भनेर हेर्न बाँकी छ । कुनै समय निर्धारित गरिएको छैन । कोभ्याक्सले कुन देशहरूलाई सहयोग गर्ने, केका आधारमा, वा उनीहरूले खोपको कति मात्रा लिने र कहिले कहिले पाउने भन्ने कुरा अझै स्पष्ट छैन । “खोप उत्पादकहरूले संयुक्त राष्ट्र संघले गरीब देशहरूसँग व्यवहार गर्न सुरु गर्नु भन्दा पहिले ठूला ग्राहकहरूको अर्डर प्रक्रिया गर्ने सम्भावना छ” एनजीओकर्मी भन्छन् ।

अन्ततः यहि कोरोना भाईरस र यसैको मौका छोपेर आर्थिक र अन्य लाभ लिने होडले गर्दा विश्व धेरै खण्डहरूमा विभाजित हुने जोखिममा छ । अल्ट्रा-इनोभेन्टिभ “मेसेन्जर आरएनए” प्रविधिको प्रयोग गरेर नयाँ खोपले धनी र औद्योगिक देशहरूलाई फाइदा पुर्‍याउँछ । किनभने यसलाई अल्ट्रा चिसो भण्डारणको आवश्यकता छ । मूल्य प्रति डोज लगभग १५ यूरो पर्छ । धेरै देशहरूको लागि यो तिर्नै नसक्ने मूल्य हो । धनी देश यति महँगोमा खोप बेचेर विकासको बाटोमा लम्किँदै गरेका देशलाई झनै दोहन गर्ने दाउमा छन् । थोरै संख्याका कारखानालेपनि तिनीहरूलाई उत्पादन गर्न सक्षम छन् । धनी देशहरुकालागि । किनकि विश्वको आधा भन्दा बढि जनसंख्या विकासोन्मुख देशमै छन् । अझ त्यसमापनि एशियामा । अझ कतिपय धनी देशले त क्षेत्रिय रुपमा उत्पादन गर्ने र उतै बेच्ने दाउ हेरिरहेकापनि छन् ।

सिनोभाक, सिनोफर्म र क्यानसिनो जीवविज्ञान, तीन प्रमुख चिनियाँ खोप उत्पादकहरूले, एक दर्जन भन्दा बढी देशहरूसँग परीक्षण र उत्पादन सम्झौतामा हस्ताक्षर गरेका छन् । चीनले कच्चा पदार्थको प्रमुख आपूर्तिकर्ता ब्राजिल, साउदी अरेबिया, पेरूका साथै सर्बिया र पाकिस्तान जस्ता मित्रवत देशहरूको पक्ष लिन्छ । मास्क कूटनीतिमा धेरै सफल हुन नसकेपछि बेइजिङ खोप कूटनीतिमा सफल हुन चाहन्छ ।

कोविड १९ को बिरूद्ध, २१३ खोप उम्मेद्वारहरू खोप बनाउने बजारमा छन् । ती मध्ये ४९ को लागि क्लिनिकल परीक्षणहरू विभिन्न चरणहरूमा शुरू भइसकेको छ । चरण तेस्रोमा पुग्नु भनेको बजार प्रवेश गर्नु ठिक अगाडिको चरण हो । यहि चरणमा पुग्न र पुगेपछि बजारसम पहुँच बनाउन अहिले खोप कूटनितिको प्रतिस्पर्धा चलिरहेको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक