आइतबार, जेठ २, २०७८

आँशुमा देखिने प्रतिविम्ब जस्ता तिलक दाई

गुमनाम परदेशी२०७७ माघ १७ गते २:३७

मैले अधिर भएर सुनीरहें- पहिलो पटक सुनेको शब्द त्यहि हो- मुर्दाबाद । पश्चिमबाट आएको बस रोकिएको थियो चोकमा । बसको रोशनीले अँध्यारो चिरिएको छ । छतमा बसेका जोशिला युवा या त जिन्दाबाद या मुर्दाबाद चिच्याइरहेका छन् । मैले पहिलो पटक मुर्दाबाद सुनें । बाका हातमा एउटा अबिरको पोको थियो । हतारमा दुगुर्दै हुनुहुन्थ्यो । कस्तो भने भूकम्पले धर्ती हल्लिए जस्तो । भर्खरैको बाढीले वस्ती डुबाउन लागे जस्तो ।

पुरै गाउँ चोकमा उभिएको थियो । के हुँदैछ धेरैलाई थाहा थिएन । कतीको सास बढेको थियो- निकै पर देखी दुगुर्दै आएका थिए कती । किन आएका थिए त्यसको भने मेसो पत्तो थिएन । मैले धेरै सम्झिन बसको छतमा उफ्रिने मान्छेहरुलाई । म आमाको सारीको टुप्पो समातेर अलग्गै छेउमा थिएँ । मेरो चेत खुलेदेखि पहिलोपटक यस्तो देखिएको थियो गाउँ । “टिकोसम्म लगाइदिन सकें” बाले भने “धन्न तिलक रहेछ र यती मेसो मिलायो” । धेरैले टिको पनि दल्न पाएनन् ।

जिन्दाबाद र मुर्दाबादका नारा मलिन बन्दै गएपछी आधा आधीलाई बल्ल थाहा भयो बसको अगाडि अडिएको कारमा बीपी कोइराला थिए भन्ने कुरा । धार्मिक ग्रन्थमा सुनीने अलौकिक पात्र जस्ता थिए बीपी । उनी आए । एक्कैछिन अडिएर गए । तर मान्छेहरुको विश्वास कतै गएन, झन बढ्यो ।

हाम्रा बारीहरु बाँझै हुन्थे । सिंचाइ चाहिएको छ सानो भए पनि । खाने पानीको एउटा मात्र विकल्प इनार हो, जहाँँ बाह्रैमास भ्यागुता डुबुल्की मार्छन । त्यो पानी पिउन हुन्छ कि हुँदैन कसैले सोधखोज गरेको छैन । हामी त्यही पानी पिउँछौं । बर्षामा जयश्री खोलो माथिसम्म आउँछ र आधा गाउँलाई त्राहिमम बनाउँछ ।

एक पटक हामी रातभरी सुतेका छैनौं । खोलो उर्लेर घर सम्मै आउँछ कि जस्तो भयो । बालाई बीपी प्रती ठूलो आशा छ । कुनै दिन बहुदलिय ब्यवस्था आयो भने बीपीसँग गाउँका सबै आवश्यकता माग्न सजिलो हुने छ । के मेरा बा को खोलो छेक्ने उन्मुक्त चेतना सय वर्ष बाँच्न सक्दैन र ! त्यो बेला मेरो इत्रुको टाउको भित्र कती कुरा अटाउन सक्थे थाहा भएन । तर एउटा कुरा खेल्यो धेरै बेर- उडन तस्तरीको आवेगमा एक्कैछिन हाम्रै गाउँमा अडिएर हिंडेका ति बीपी कोइराला कस्ता होलान ? अथवा ति उडन तस्तरी जस्ता महामानवका नजिकै बस्न पाउने हाम्रा तिलक दाई कती भाग्यमानी होलान ? मेरो सम्मोहन त्यहिँबाट शुरु भयो ।

बहुदल आउने बेलामा अली अली संगत सुरु भयो- तिलक दाईसँग । खासमा मलाई यस्तो लाग्यो, धेरै पर नसोचौं । म भर्खर स्कुल पढ्दै गरेको १४ वर्षको ठिटोले के सोच्न सक्छु ? त्यहि, बिजुलीको तार, पिउने पानीका काला पाइप, जयश्री खोलामा तटवन्ध गर्नका लागि अलिकती जाली । मेरा बाले बीपी कोइरालासँग आशा गरेको कुरो । तिलक दाईको प्रसिद्दी उल्काको थियो गाउँमा । हामीलाई लाग्यो, तिलक दाई अब मन्त्री हुनेछन् । र हाम्रा तिनै पुराना आवश्यकता पुरा हुनेछन ।

२०४८ सालमा चुनाव जित्न सकेनन् तिलक दाइले । गिरिजा प्रशाद कोइरालाले टिकट दिने बेला चलाखी गरे । तिलक दाइलाई अली पर उछिट्ट्याए । उकेरा लगाएको ठाउँ अर्कैको हात पर्‍यो । पटक पटक यस्तै भयो । गिरिजा प्रशाद कोइरालाले यि बुढाको टाउको उधिनेर आफ्नो हतियारमा धार लगाए । चुनाव हारे पनि गाउँ बनाउने उनको अभियान हारेन । तै पनि पावर पावरनै हुन्छ । खासगरेर प्रजातन्त्रमा पावर जरुरी नै हुन्छ । गैंडाकोटलाई हेर्ने हो भने देखिन्छ तिलक सापकोटाको प्रतिबिम्ब । त्यहि त हो एउटा राजनीतिज्ञले गर्ने समाजसेवा ।

आफ्ना पिता, नेपाली कांग्रेस सभापती तथा पूर्व प्रधानमन्त्री सुसिल कोइरालासित देब्रेबाट पहिलोमा तिलक दाई

तीन वर्ष तिलक दाई सँगसँगै नेपाली कांग्रेसको संगठनमा हिंडेपछी कस्तो लाग्यो भने यो मेरो बाटो हुँदै होइन । म तिलक दाइले जसरी आफ्नो जीवन अरुको सेवामा कसरी बिताउन सकुला र ? यसको मतलव अविछिन्न रुपमा केलाउलान् अरुले । माटोको सुगन्धले मात्र बाँच्ने आडभरोसा दिँदो रहेनछ । म हिंडे ! तिलक दाइको चेतना गाउँमै रह्यो ।

पटक पटक चुनाव भए । यि बुढाले भक्ती गान गाउन जानेनन्, बाहिर परे । एक दिन तिलक दाईको निस्पृह आवाज सुनियो- “तँ गैंडाकोट आइजा त काम पर्‍यो” । म हावाको बेगमा गैंडाकोट पुगे ! भोलीपल्ट दलदलेबाट बिस मिनेट सरासर उत्तर हिँड्यौं । माथिको त्यो बडेमानको पहाड छिचोलेपछि बुलिङटार पुगिन्छ । घनघोर जंगलले ढाकिएको त्यो पहाड छिचोलेर बुलिङ्टार पुग्न आठ घण्टा लाग्छ । अहिले मोटर मै जान मिल्छ रे । उतिबेला ठाडो उकालो चढ्नुपर्थ्यो नेटामा पुग्दासम्म । त्यसपछी बल्ल तेर्सो र ओरालो थियो ।

बाह्र बजेको टन्टलापुर घाममा मोटर साइकललाई कुन्नी कसको आँगनमा राखेर हामी उकालीयौं । बुढ्यौलीले पनि होला, तिलक दाईलाई पाँच मिनेटमै बिसाउनुपर्ने । रातीको १२ बजे पनि पुगिन्न कि क्या हो । त्यसरि नै हिँड्यौं हामी धेरै माथि सम्म । तल दलदलेका टिनका छानाको चमक मधुरो हुँदै गयो । सुईईईईई~~~~ तिलक दाई फेरी थ्याच्च बसे । “तिर्खा लाग्यो पानी खाउँ त” । तिलक दाईको अनुहार पसिनाले पुरिएको देखियो । कांग्रेसको राजनीति गर्न कहाँ सजिलो छ र ? “किन यसरी ज्यान फाल्नुहुन्छ राजनीतिमा ? तपाईंका दौतरीहरु कहाँ पुगी सके”- मैले सोधे । दाई बोलेनन् ।

हामी माथि पुगिसकेका थियौं । रात बिस्तारै छिप्पिँदै थियो । आज बुलिङ्टार पुग्न कठिन छ । एउटा घरको पिंढिमा हामीले झोला बिसायौं । घरबेटी अनुग्रहित बने । तिलक सापकोटालाई आफ्नै पिंढिमा पाउदा तिनको खुशी रोकिएन । ओहो, त्यो क्षण कतै भिडियोमा समेट्न पाएको भए । तिलक दाइले त्यहि बेला भने- “तैले दिउँसो सोधेको प्रश्नको उत्तर यहि हो । मैले बेइमानी गर्न सिकेको छैन” ।

के हुन्छ र एक जना इमान्दार भएर ? अथवा मलाई मान्छेहरु इमान्दार हुन्छन भन्ने लाग्दै लाग्दैन भन्ने होइन । केहि मान्छे भेटेको छु जो इमान्दार थिए । ति पनि तिलक दाई जस्तै थिए । हराए । यि कोही पनि हराउनु हुँदैन थियो । कम से कम पुल तरेर जाँदा हरेक खोलापारिको गाउँमा एकजना तिलक सापकोटाको प्रतिविम्व देखिनुपर्ने थियो ।

समाज अधैर्य छ । उपभोगको लालच हुन्छ । लालच भएन भने समाज अघि बढ्न सक्दैन । ईतिहास हेर्नुपर्छ अलिकती । नाम लेखाउनु पर्छ कुनै पातोमा । मैले त्यहि भनिरहेको हुन्छु ।

तिलक दाई भन्नुहुन्छ- “कर्म गर्नुपर्छ फलको आशा त्यस्तै हो ।” यो त गीताले पनि भन्छ । म अहिले दुर देशबाट तिलक दाई सम्झीरहेको छु । बुलिङ्टार मुन्तिर शान्त बगिरहेको काली नदी देखेको छु । जहाँँ म काली नदिमा हाम्फालेको थिएँ र तपाईं माथिल्लो ढिकमा बसेर टाउको समात्नु भएको थियो । मैले तिलक दाईका आँशु बगेको देखेको छु । प्रतिबिम्ब त आँशुमा पनि देखिन्छ नि । ‘ह्याप्पी बर्थ डे तिलक दाई ।’

तपाइँको प्रतिक्रिया

फेसबुक