शुक्रबार, फागुन १४, २०७७

आङ साङ सुकीले वाचा तोडिन्, सेनाले सत्ता हत्यायो

लक्ष्मण देवकोटा२०७७ माघ १९ गते २३:५९

                                                            फोटो- संयुक्त राष्ट्र संघ

बेलायती सेना मार्फत् विश्व युद्ध लड्न गएका नेपाली लाहुरेहरुको कथामा वर्णित बर्मा अर्थात् म्यानमार फेरि एकपटक माघ १९ का कारण चर्चामा छ । नेपालमा राजा ज्ञानेन्द्रले सत्ता हत्याएकै मुहूर्तमा बर्मेली सैनिकहरुले जनताबाट चुनिएको सरकारलाई बर्खास्त गरी सत्ता आफ्नो हातमा लिएको घोषणा गरेका छन् । नेपालको जस्तै विक्रम सम्वतको पात्रो चल्ने बर्माको यो माघ १९को बिहान बर्मेली संसद बस्ने तयारीमा थियो । तर एकाबिहानै खबर फैलियो, राष्टपति र नेतृ आङ सान सुकी लगायत प्रदेश प्रमुख, मन्त्री र मुख्य राजनीतिक नेताहरु सैनिक हिरासतमा लगिए । रेडियो, टेलीभिजन बन्द गरियो । इन्टरनेट र फोन सेवा हटाइयो । सैनिक शासनको गाइँगुइँ चलिरहेका देशका मुख्य शहरहरुमा खानेकुरा किन्नेहरुको भीड बढ्यो । मानिसहरु बन्द बैंकको एटीएममा पैसा निकाल्न लाइनमा लागेको दृष्य देखियो ।

बर्मा फेरिएर अहिले म्यानमार भएको छ । रंगून यांगून । मानव सभ्यताको कालखण्डमा भिन्न जातजाति, सम्प्रदायका मानिसहरुको बसोबास रहेको इतिहास बर्मासँग छ । दक्षिणी तिब्बतबाट आएर इरावती नदी किनारमा बसोबास थालेका मान र प्यू सम्प्रदायनै अहिलेको म्यानमारका शासकहरु हुन् । मार्कोपोलोले यात्रावर्णनमा समेत लेखेको सन् १०४४ मा शुरु भएको मियन वंश कुब्ला खाँको हमलाबाट ध्वस्त भएपछि धेरै वर्षसम्म छिन्नभिन्न रजौटाहरुको रुपमा रहिरह्यो । पाँच सय वर्षसम्म छिन्नभिन्न रहेको बर्मा सन् १७५४ मा स्थापित अलोंगपाराले शान र मान सम्राज्यमाथि विजय प्राप्त गरेपछि विधिवत रुपमा बर्मेली बंशको थालनी भएको मानिन्छ ।

सुन्दर बंगालको खाडीमा रहेको प्राकृतिक रुपले सम्पन्न बर्मामा अंग्रेजहरुको आँखा गड्यो । इष्ट इन्डिया कम्पनीको रुपमा भारत छिरेका अंग्रेजहरुले भिन्न भिन्न भूभागमा आफ्नो अधिपत्य कायम गरे । दोश्रो विश्वयुद्धमा जापानको कब्जामा रहेको थियो भने सन् १९४५ मा एन्टीफासिस्ट पिपल्स फ्रिडम लिगका नेता आंग सनको सहयोगमा बेलायतले जापानलाई हराएर स्वतन्त्र बनाउन सफल भयो । तीन वटा चरणमा आफ्नो अधिनमा राख्न सफल थिए अँग्रेजहरु ।

सन् १८२६ मा युद्ध गरेर विजय प्राप्त गरि अंग्रेज शासन कायम गरेका बेलयतीहरुले १९३७ मा फेरि भारतको राज्य घोषित गरेका थिए । पछि फेरि बेलायती शासन अन्तर्गत रहने छुट्टै देशको रुपमा भारतबाट बर्मालाई अलग्याइएको थियो ।

लामो संघर्ष मार्फत् अंग्रेजलाई धपाउन सफल आङ सानलाई अहिले पनि म्यानमारको स्वतन्त्रता संग्रामको नायक मानिन्छ । देशलाई स्वतन्त्र बनाउन होमिएका उनको देश स्वतन्त्र हुनुभन्दा एक वर्ष अघि गोली हानी हत्या गरिएको थियो । ३१ वर्षको उमेरमा मारिएका आङ सान म्यानमारको स्वतन्त्रता संग्राममा लागे बापत नोबेल पुरस्कारबाट सम्मानित आङ सान सुकीका पिता हुन् ।

अंग्रेजबाट स्वतन्त्र भइसकेपछि लामो समयसम्म बर्मामा प्रजातान्त्रिक अभ्यासबाट सरकार बन्ने र फेरिने क्रम चलिरह्यो । खनिज, तेल, ग्याँसको धनी बर्मामा सन् १९६२ मा सैनिक शासन लागू भएपछि देशमा अधोगति शुरु भयो । अंग्रेज धपाउने आन्दोलनको अगुवाइ गरेका आङ सानले मुलुकका सबै जाति, जनजाति, भाषा भाषीका मानिसहरुलाई आन्दोलनमा समाहित गराएका थिए । देशमा लोकतान्त्रिक वातावरण विकसित हुँदै गाउँ गाउँसम्म विकासको अभियान चल्दै थियो । सेनाले सत्ता कब्जा गरेपछि सबैकुरा बिग्रियो । सेनाका जर्नेलहरुको ध्यान ग्रामीण बर्मेली जनताको उत्थान, खनिज र ग्याँसहरुको थप उत्खनन भन्दा पनि आफू मात्रै कसरी सम्पन्न हुने भन्नेतिरै रह्यो ।

चर्को दमनले जनता आजित भए । भित्रभित्रै गुम्सिएर विष्फोट भएको सन् १९८८ को विद्यार्थी विद्रोहलाई निर्ममतापूर्वक कुल्चिएपछि विश्व समुदाय बोल्न थाल्यो ।

विद्यार्थी आन्दोलनलाई दमन गरिसकेपछि गाउँ गाउँबाट सशस्त्र क्रान्तिको आव्हान गर्दै सैन्य शासनको विरुद्धमा लडाकुहरुले मोर्चाबन्दी गर्न थाले । यसै बिचमा बर्मेली राजनीतिमा आङ सान सुकीको उदय भयो । भारतमा राजदूत आफ्नी आमासँगै बसेर प्रारम्भिक शिक्षा हासिल गरेकी, वेलायतको अक्सफोर्डमा पढेकी र अमेरिकास्थित संयुक्त राष्टसंघको कार्यालयमा काम गरेकी आङ सान सुकी बिरामी आमाको रेखदेख गर्न बर्मा फर्किइन् ।

जनक्रान्तिको दौरानमा शहादत भएका बाबुको सपना पूरा गर्ने अठोटका साथ उनी राजनीतिमा सक्रिय भइन् । सैनिक शासनको डटेर मुकाबिला गरेकी आङ सान सुकीलाई धेरै वर्षसम्म घरमै नजरबन्दमा राख्यो सेनाले । यसबीचमा सन् १९९१ को नोबेल शान्ति पुरस्कार पाएपछि उनलाई संसारले चिन्यो ।

बर्मामा प्रजातन्त्र बहालीको निम्ति संसारकै दबाब बढेपछि सेनाले केहि सुधारका काम अगाडि ल्यायो । लामो प्रकृयापछि सन् २०११ मा बल्ल बर्मा सैन्य शासनबाट मुक्त भयो । सन् २०१५मा निर्वाचन गरेपछि प्रजातान्त्रिक प्रकृया मार्फत् सरकार चयन भयो । स्टेट काउन्सिलरको रुपमा आङ सान सुकीले काम गरिन् । उनको दल निकै लोकप्रिय रह्यो । गएको नोभेम्बरमा त झण्डै ८० प्रतिशत जनमत उनको दलले पायो । सानो संख्यामा सेना समर्थित दलले जितेपनि गृह, परराष्ट्र, रक्षा जस्ता महत्वपूर्ण मन्त्रालय भने सेनाकै पकडमा थियो ।

जर्जर सैनिक शासनबाट जननिर्वाचित सरकार शुरु भइसकेपछि मुलुकमा रोहिंग्याहरुमाथि दमन हुन थालेका खबरहरु बाहिर आउन थाले । सन् १४०० को आसपासमा तत्कालीन महाराजाका नोकरचाकरको रुपमा बर्मा भित्रिएका भनेर विश्वास गरिने रोहिंग्याहरु बर्माका अल्पसंख्यक जातिहरु हुन् । रोहिंग्याहरु धेरैजसो मुस्लिम छन् । कोही हिन्दू पनि छन् । सेना र सेना समर्थित मानिसहरुले रोहिंग्याहरुको गाउँ नै जलाइदिने, उनीहरुको हत्या गर्ने र महिलाहरुको बलात्कार गर्ने जस्ता पाशविक काम भइरहँदा उनीहरु आफ्नै देशमा बिरानो बन्न पुगे । झण्डै आठ लाखको संख्यामा रहेका यी अल्पसंख्यकहरुलाई सैनिक शासनले पहिल्यै नागरिकता नदिने निर्णय गरेको थियो ।

बस्ने थातथलो नै आगो लगाएर नष्ट पारिएपछि बर्मेलीहरु बंगलादेश, थाइल्याण्ड, भारतमा शरण लिन पुगे । मोदी सरकारले मुस्लिम भएकै कारण अनिच्छापूर्वक केही शरणार्थीहरुलाई राख्यो । सेनाले झण्डै २४ हजार रोहिंग्याको कत्लेआम गर्यो । लगभग ६ सयको संख्यामा उनीहरु नेपालमा पनि आइपुगेका छन् ।

आङ सान सुकीका पिताले अंग्रेज लखेट्न बनाएको लडाकु फौजमा रोहिंग्याहरुको ठूलो योगदान थियो । प्रजातान्त्रिक अभ्यास शुरु भइसकेपछि शिक्षा, सरकारी सेवा र अन्य अवसरहरुमा रोहिंग्याहरुलाई सामेल गराउन पनि थालिएको थियो । सैनिक शासनले कानून नै बनाएर उनीहरु म्यानमारका नभएर बंगलादेशका आतंककारी भएको भनी नागरिकता नै नदिने कानून पास गरेपछि उनीहरु पुस्तौंदेखि बसिरहेको भूमी छोड्न बाध्य भए । विश्वभरबाट विरोध हुँदा पनि सुकीले रोहिंग्याको हक अधिकारको निम्ति केहि बोलिनन् । उल्टै बर्मामा कुनै जातिय नरसंहार नभएको भनी प्रतिकृया दिइन् । अक्सफोर्डमा पढेर मानवअधिकार र विश्व शान्तिको लागि भूमिका खेल्ने व्यक्तिहरुलाई दिइने अक्सफोर्ड सिटी काउन्सिलको सम्मान सुकीलाई दिइएको थियो । तर, उनको यो मानवअधिकार विरोधी भनाइका कारण काउन्सिलको सभाले सो सम्मान फिर्ता लिने निर्णय गरेको थियो । अन्तर्राष्टिय स्तरमा सूकीलाई दिइएको नोबेल शान्ति पुरस्कार फिर्ता गर्न आवाज उठिरहेको थियो । रोहिंग्याहरुलाई लक्षित गरेर संयुक्त राष्ट संघले जातीय नरसंहार विरोधी मानवीय सहायता कार्यक्रम संचालन गरिरहेको छ ।

चुनावमा आङ सान सुकीले सबै जनजातिको हक अधिकारको लागि राज्यको तर्फबाट काम गर्ने वाचा गरेर सत्तामा पुगेकी थिइन् । सत्तामा पुगेपछि भने उनै सेनाका जर्नेलहरुको इशारामा काम गर्न थालेको उनका गतिविधिहरुले बताइरहेका थिए ।

अन्ततः कानून विषयमा उच्च शिक्षा हासिल गरेर लामो समयदेखि सेनाको नेतृत्वमा रहेका जर्नेलले सूकीलाई जेलमा कोचे । संसद विघटन भयो र देश कालो अँध्यारो युगतिर प्रवेश गर्यो । नेतृत्वले जनताप्रति गद्दारी गरेपछि त्यसको मोल जनताले चुकाइरहनुपर्नेरहेछ ।

तपाइँको प्रतिक्रिया

फेसबुक