बुधबार, वैशाख १२, २०८१

भारतीय किसान आन्दोलनको समर्थनमा विश्व चर्चित गायिका रिहाना

नेपालप्लस न्युज डेस्क२०७७ माघ २२ गते ०:१४

कृषि सुधारको नाममा मोदी सरकारले ल्याएको योजनाको विरोधमा भारतमा चलिरहेको किसान आन्दोलनको समर्थनमा विश्वकै चर्चित गायिका रिहानाले ट्वीट गरेपछि संसारैभरीबाट मोदी सरकारको आलोचना र किसान आन्दोलनको समर्थन भइरहेको छ ।

किसान आन्दोलनमा भएको दमनको विरोध स्वरुप समाचारको लिंक राखेर ट्वीट गर्दै रिहानाले सोधकी छिन् ‘यसको बारेमा किन कोही केही बोल्दैन ?’

गएको नोभेम्बरमा मोदी सरकारले ल्याएको कृषि सुधार सम्बन्धी बिलले किसानहरु मर्कामा पर्ने भन्दै भारतको दिल्लीमै किसानहरु ट्याक्टर लिएर आन्दोलन गरिरहेका छन् । जनवरी २६ को गणतन्त्र दिवसको दिन लालकिल्लामा समारोह भैरहँदा लालकिल्लाकै अर्को पट्टी ट्याक्टर लिएका किसान र प्रहरिबिच हिंसात्मक झडप भएको थियो । किसानहरुको आन्दोलन तितरवितर गर्न बल प्रयोग गर्दा दुवैतिर धेरै जना घाइते भएका थिए ।

जति चर्को स्वरमा विरोध भएपनि मोदी सरकारले सुनेको छैन । रिहानाको ट्विट आएपछि अमेरिकी उपराष्टपति कमला ह्यारिसकी वकिल भान्जीले पनि किसानहरुको आन्दोलनमा समर्थन गर्दै ट्विट लेखिन् । स्विडेनकी वातावरण अभियन्ता ग्रेटा थन्वर्गले पनि सरकारको दमनको बारेमा बोलिन् । क्यानडा, अमेरिका र युरोपेली मुलुकहरुमा भारतीय दूतावास अगाडि किसान समर्थकहरुको प्रदर्शन भइरहेको छ ।

रिहानाको ट्विट आइसकेपछि अक्षय कुमार, लता मंगेशकर, विराट कोहली जस्ता चर्चित व्यक्तिहरुले पनि किसानहरुको मागलाई छिटो सम्बोधन गर्न मोदी सरकार समक्ष अनुरोध गरेका छन् ।

भारतका तरकारी बजारहरुमा अहिले बजार संचालन कमिटी बनाएर सरकारले तोकेको निश्चित भाउ नघटाइ तरकारी खरिद गर्ने व्यवस्था छ । मोदी सरकारले अब बजार खुल्ला गरेर किसानहरुलाई आफ्नो हिसाबले भाउ तोक्न दिने नियम बनाउन ल्याएको छ । तर यसो गर्दा साना किसानहरुलाई मर्कापर्ने भन्दै किसानहरु आन्दोलित भएका छन् । खासगरी पंजाब, हरियाणा र उत्तर प्रदेशका किसानहरुलाई यसले असर गर्ने उनीहरुको भनाइ छ ।

लाखौँ फलोवर भएकी रिहाना र ग्रेटाले किसानहरुको समर्थन गरेपछि मोदी सरकारलाई निकै फसाद परेको छ। सरकारले पनि सबै भारतीयहरु एकजुट हुन भनेको छ ।

किसानहरुलाई दिल्ली प्रवेश गर्न नदिन दिल्ली प्रवेशका नाकाहरुमा अवरोध खड़ा गरिएको छ भने धरिला फलामहरू पिच रोडमा गाडिएको छ ।

तपाइँको प्रतिक्रिया