बुधबार, वैशाख १२, २०८१

“संघियता र धर्म निरपेक्षता झुक्याएर ल्याए” पूर्व सभामुख तारानाथ रानाभाट

नेपालप्लस संवाददाता२०७७ माघ २२ गते १२:१३

कुनै बेला नेपाली कांग्रेस भित्र तारानाथ रानाभाटको छुट्टै दवदवा थियो । यिनका पछी कार्यकर्ताको लर्को हुने गर्दथ्यो । भनिन्छ, गिरिजा प्रशाद कोइरालालाई समेत चुप लगाउन सक्ने क्षमता थियो यिनमा । रानाभाट सभामुख छँदा यिनको प्रस्तुतिले धेरैलाई लोभ्याएको थियो । त्यसैबेला हो भावी प्रधानमन्त्रिको रुपमा यिनको चर्चा शुरु भएको । तर कथाको माग अर्कै थियो, दरवार हत्याकाण्डको प्रतिवेदन सार्वजनिक कार्यक्रममा यिनको प्रस्तुतिले सबैलाई जिब्रो टोक्ने बनायो । भटटटटटट् का लागि यिनले स्पष्टिकरण समेत दिए, भएन । देशको ब्यवस्था फेरियो । तिनै गिरिजा प्रशाद कोइरालाले यिनको बाटो संकुचित गराए । रानाभाट पोखरा फर्के । यिनको राजनीतिक जीवन छायाँमा पर्‍यो । १२ बर्ष पछी खोलो फर्किन्छ भन्छन, यिनको खोलो फर्केन । तथापी कांग्रेसका यि ‘भेट्रान’ सन्तुष्ट नै छन । असन्तुष्टी त यिनको हिजो पनि थियो गिरिजा प्रशाद कोइराला सँग गणतन्त्रका बिषयमा । आज पनि गणतन्त्रलाई नै लिएर असन्तुष्टी छ । तर गिरिजा प्रशाद कोइराला छैनन । कांग्रेस त छ नि ? नेपालप्लस सँगको कुराकानीमा यि ‘भेट्रान’ ले भने- कांग्रेस त छ । तर बाटो बिराए जस्तो छ । छिटो भन्दा छिटो धर्म र गणतन्त्रका बारेमा कांग्रेस स्पष्ठ हुनु पर्दछ ।

आजभोली के गर्दै हुनुहुन्छ ?

राजनीति गर्ने मान्छेले के गर्छ ? देशको चिन्ता गर्छु । राजनीतिलाई कसरी सही बाटोमा ल्याउन सकिन्छ भनेर साथीभाईहरु सँग छलफल गर्छु ।

खै त तपाईं कतै देखिनु हुन्न ?

तपाईं बेलायत म यहाँ, कसरी देख्नुहुन्छ त नि !

भनेको नि, सार्वजनिक रुपमा त्यति देखिनु भएको छैन । वर्तमान पारीवेशलाई कसरी हेरिरहनु भएको छ ?

नेपालको राजनीति डरलाग्दो भएको छ फेरी । जनता कुनै न कुनै रुपले त्रसित छन । सत्तासिन पार्टीहरु सडकमा छन् । नेपाली कांग्रेस सडकमा छ । नागरिक समाज सडकमा छ । राजा चाहिन्छ भन्नेहरु पनि सडकमै छन । संघियता चाहिन्न भन्नेहरु सडकमै छन । हिन्दू धर्म भनेर पनि मान्छे सडकमै आएका छन । सबै सडकमै छन । देश अस्तब्यस्त छ । सडकका मान्छेहरुलाई घरसम्म पुर्याउन गतिलो नितीको खाँचो छ ।

यो सप्पै कुरा कसरी समाधान होला त ?

कसरी समाधान होला त, एउटा संबैधानिक प्रश्न सर्वोच्च अदालतमा बिचराधिन छ । प्रधानमन्त्रीले चाहे जस्तो अथवा राष्ट्रपतिले स्विकार गरेजस्तो बैशाखमै चुनाव गर्ने भनेर अदालतले फैसला गर्‍यो भने पनि निश्पक्ष र शान्तिपूर्ण चुनाव हुन सक्ने स्थिती छँदै छैन । संसदनै पुनस्थापित हुन्छ भनेर सर्बोच्चले भन्यो भने पनि अहिलेको सडकको झगडा सदन भित्र जान्छ । यो आपसमा फुटेको पार्टी त्यहिँ दंगा फसादमा उत्रिन्छ अनी बिभिन्न खेलहरु शुरु हुन्छन । नयाँँ प्रधानमन्त्री बनाउने, ढलाउने अनेक तिक्डम हुन्छन् । यस्तै चलिरहन्छ धेरै समय । अनी अन्त्यमा एउटा संसद सदस्यले म सबैको बहुमत लिनसक्छु भनेर प्रधानमन्त्री हुन्छ । पार्टीहरुले लिन नसकेको विश्वासको मत एक्लो मान्छेले लिनसक्ने कुरै हुँदैन । तर के हुन्छ भने अर्को प्रधानमन्त्री हुने विकल्प सकिएको हुन्छ र त्यहि प्रधानमन्त्रिले चुनाव गराउँछ । त्यस्तो चुनाव कम से कम एक डेढ वर्ष यता सम्भव छैन । यो बिचमा देश अनिश्चयमै घुमीरहन्छ ।

त्यही त म सोध्दै छु यसको दिर्घकालिन समाधान के त ?

अब देश फेरि यस्तो द्वन्द्वमा फस्दै छ कसैले कल्पनै गरेको छैन । सुरक्षा निकायले समेत नियन्त्रण गर्न नसक्ने गरेर देश द्वन्द्वमा जाँदैछ । त्यसैले दिर्घकालिन समाधानको एउटै उपाय भनेको पार्टीहरु एक ठाँउमा बसेर अगाडि बढ्नु मात्र हो । ल हेर्नुस् अहिले सडकमा कति थरि ‘इन्ट्रेष्ट’ भएका समुहहरु उत्रेका छन । सकिएला यि सबैका ‘इन्ट्रेष्ट’ सम्बोधन गर्न ?

भनेपछी संघियता भन्ने नै फापेन जस्तो छ नेपालमा ?

यो त हो नि ! संघियता देशले धान्नै सक्दैन । अस्ती हामीले एउटा राजाको खर्च बढी भयो भनेर, यिनैले खाएर देश उभो लाग्न सकेन भनेर राजा फाल्ने निर्णय गरेको यिनै पार्टीले होइन ? ल हेर्नुहोस् अहिले एक हजार राजा छन् । त्यहि जस्तो शान शौकत मोज मस्ती वडा देखि केन्द्र सम्म छ । यिनिहरुको सुखसयलका लागि सधैं निचोरिने भनेको नेपाली जनता नै हुन् । देशमा जतिपनि कर उठ्छ त्यसको १० प्रतिशत पनि जनताका लागि खर्च हुँदैन । तिनै नव राजाहरुको स्वार्थ र शान शौकतका लागि ९० प्रतिशत बजेट खर्च भइरहेको छ । यो भन्दा ठुलो बिडम्बना अर्को के हुन सक्ला ? देशले धान्न नसक्ने गणतन्त्र भएर के गर्ने ? गणतन्त्र भन्दा गाउँ र नगरलाई जिम्मेवारी दिएको भए यो देश स्वर्ग भैसकेको हुन्थ्यो । तर गर्दैनन । किन भने सबैलाई राजा हुन परेको छ । देशको दोहन गर्न परेको छ । परिणाम अहिले देखिएको छ ।

यति कुरा पनि किन आँकलन गरेन नेपाली कांग्रेसले त्यो बेला ?

यस बारेमा नेपाली कांग्रेसले नै सोच्नुपर्ने थियो । जनताले सबभन्दा बढी पत्याएको पार्टी नेपाली कांग्रेस नै थियो । अझै पनि जनताले आशालाग्दो तरिकाले कांग्रेसलाई नै हेर्छ । सम्हाल्न सक्ने शक्ति यहि हो भनेर । नेपाली कांग्रेसलाई आफ्नो स्वार्थका लागि बिभिन्न शक्तिकेन्द्रहरुले खेलाएको परिणाम हो यो । कहिले धर्मका नाममा कसैले खेलाएको छ । कहिले मित्र भनेर खेलाएको छ । राष्ट्रिय एकता हुनै नदिने । नेपाली काग्रेससँग अर्को पार्टी मिल्न नदिने । राजा र कांग्रेस मिल्न नदिने । धर्मसँग धर्म भजाउने, भाषा सँग भाषा भजाउने गरियो । पार्टीले यो परिस्थिती आँकलन गर्न सकेन । त्यसको फल अहिले भोगिरहेको छ नेपाली कांग्रेसले । कतिसम्म भने चीन जस्तो मुलुक हाम्रो आर्थिक बिकासको त्यात्रो सहयोगिले नेपाली कांग्रेस भारतको एजेन्ट हो भनेर भन्ने स्थिती आयो हेर्नुस् त कती दु:खद । नेपाली कांग्रेस नेतृत्व बिहिन अवस्थामा गयो ।

गणतन्त्रलाई नेपाली कांग्रेसले आफ्नो एजेण्डाभित्र पार्दा गिरिजा प्रशाद कोइरालाको नेतृत्व थियो । उहाँले यो अवस्थाको आँकलन गर्न सक्नु भएन अथवा विदेशीको दवावमा गणतन्त्र मान्नु पर्ने स्थिती आएको थियो, यहि भन्न खोज्नु भएको हो ?

गिरिजाबाबुलाई सबभन्दा ठुलो ग्लानी दुइवटा कुरामा थियो । गणतन्त्र आएकोमा पनि उहाँ सन्तुष्ठ हुनुहुन्नथ्यो र देशलाई धर्म निरपेक्ष बनाएकोमा पनि असन्तुष्ठ हुनुहुन्थ्यो । गल्ती भयो । मलाई त देश धर्म निरपेक्ष हुन्छ भन्ने थाहा नै भएन भनेर गिरिजा प्रसादले साथी भाइका बिचमा भनेका कुरा त सार्वजनिक नै भएका हुन नि । मुलुक बुझेको, अन्तरराष्ट्रिय अवस्था बुझेको त्यत्रो नेतालाई कसरी झुक्याए । आफ्नो पार्टी तथा अन्य पार्टीहरुको अवस्था मसिनो गरी बुझेको मान्छे म कसरी झुक्किएँ । ठूलो गल्ती भयो । मलाई थाहै भएन । मैले यस्तो उपद्रो गरेँ भन्ने स्थितिमा पुग्नु भो उहाँ । केही न केही त भएको थियो होला नि भित्र ।

नेपाली कांग्रेसले के गर्ने त अब ? गणतन्त्र त झुक्किएर आएको रहेछ !

एउटा गतिलो नेतृत्व निर्माण गरेर परिवर्तनका लागि शान्तिपूर्ण रुपमा संगठित भएर २००७, २०८६ र २०६२-६३ साल जस्तै जनतामा जानसक्यो भने कोर्स परिवर्तन सम्भव होला । नत्र यत्तिकै सामान्य रुपमा सडकमा निस्किँदैमा गणतन्त्र हटाउन गाह्रै पर्ने छ । मनको पिरलोले नेपाली जनता सडकमा आएका छन् । राजतन्त्र फर्किए हुन्थ्यो भनेका छन् । यो भन्दा बरु पहिलेकै ठीक । संबैधानिक राजातन्त्र भए राम्रो हुने थियो भनेर धेरैले भनेका छन । ति संगठित छैनन् । तर यिनिहरुलाई संगठित गरेर र शक्तिमा रुपान्तरित गर्ने हो भने राजातन्त्र फिर्ता नआउला भन्ने कुरा होइन । तथापी यसतर्फ कसैले प्रयत्न गरेको छैन ।

यदि नेपाली कांग्रेसले पहिले गल्ती गरेको भए पनि अहिले त्यो गल्ती सच्याउने गतिलो मौका छ नि होइन र ?

मालिक भनेका जनता हुन नि । जनतालाई नै निर्णय गर भनेर अहिले जनमत संग्रहमा जाने हो भने गणतन्त्रका बारेमा, धर्मका बारेमा अनी तपाईंले नै भने अनुसार राजतन्त्रका बारेमा पनि जनताले एउटा अभिमत त दिन्छ नि । हो त्यहि निर्णयलाई मानेर अघि बढ्छौं भन्दै मुल प्रवाहका पार्टीहरुले भन्ने र सरकारले त्यहि कदम चाल्ने हो भने निस्कर्षमा पुग्न त्यती अप्ठ्यारो छैन नि । शुरु मात्रै गर्न पर्‍यो ।

नेपाली कांग्रेसले नै संघियता र धर्म निरपेक्षताको कुरामा हामीले गल्ती गर्यौ भनेर किन भन्न नसकेको त ?

बीपी, गणेशमान र कृष्ण प्रसाद जस्ता नेताले अंगिकार गरेको राष्ट्रिय एकता र मेलामिलापको निती हो नि । यो राष्ट्रिय एकता र मेलमिलापका पक्षहरु को को हुन त ? बीपी कोइरालाले नै भन्नु भएको छ यि पक्ष भनेका राजशक्ती र जनशक्ती हुन् । अहिले देशमा एउटा शक्तिको अभाव भयो । हामी सँग जनशक्ती मात्रै छ । त्यहि जनशक्तिलाई पनि नेपाली कांग्रेसले समेट्न सकेको छैन । गुट उपगुटमा बाँडिएको छ । अहिले पार्टी तीन तिर छ । कस्तो दुर्भाग्य ! यस्तो संकटका बेलामा नेपाली कांग्रेसले पुराना गल्ती सच्याएर सबैलाई एउटै मियोमा ल्याउन सक्नुपर्दथ्यो । राष्ट्रिय भावनाले ओतप्रोत भएर, जनतालाई सर्वशक्तिमान मानेर, देशको सार्वभौमता र स्वतन्त्रताका निम्ति चिन्ता गरेर काम शुरु गर्नका लागि अगुवा हुनुपर्ने पार्टी नेपाली कांग्रेस हो । दुर्भाग्यवस यस्तो हुन सकेन ।

अब नेपाली कांग्रेसले संघियता र धर्म निरपेक्षताको बिरुद्दमा लाग्नु पर्‍यो होइन ?

नेपाली कांग्रेस जनताको पार्टी हो । जनताले त सडक मै आएर आफ्नो बिचार भनिसक्यो त । जनताको बिचारबाट बनेको पार्टीले सडकमा उठेको आवाज सुन्ने कि नसुन्ने । यदी उल्टो बाटो हिड्यो भने फेरी जनताले कसरी पत्याउला ?

नेपाली कांग्रेस स्पस्ट रुपमा धर्म निरपेक्षता र संघियताको खिलाफमा उभिनु पर्‍यो होइन त ?

संघियताको बिरोधमा जानै पर्‍यो । यदि संघियता र धर्म निरपेक्षताको बिरोधमा जान सकेन भने नेपाली कांग्रेसको अस्तित्वमा संकट आइपुग्ने छ । मैले भनिसकें नि, नेपाली कांग्रेस जनताको पार्टी हो । जनताले भनीसक्यो संघियता र धर्म निरपेक्षता चाहिदैन भनेर । नेपाली कांग्रेसले सुन्नु पर्छ यो ।

तपाइँको प्रतिक्रिया