बिहीबार, कार्तिक ११, २०७८

कविता यात्रामा वसन्त लोहनी

गोपी सापकोटा२०७७ माघ २३ गते १९:४६

वसन्त लोहनीको बारेमा लेख्ने बेलामा हुने एउटा समस्या भनेको उनलाई कुन व्यक्तित्वले चिनाएर लेख्ने भन्ने हो । उनी एउटै व्यक्तिमा धेरै व्यक्तित्व भएका अग्रज हुन् । उनी उद्योगपति र प्राध्यापक हुन् । पत्रकार र अर्थ–राजनीतिक विश्लेषक हुन् । लेखक हुन्, कवि हुन् । अङ्ग्रेजी र नेपाली दुबै भाषामा कलम चलाउने उनी हिन्दी भाषाको पनि ज्ञाता हुन् ।

यतिखेर उनको कविता सङ्ग्रह ‘कसैको यहाँ मृत्यु भएको छ’ इ–बुकको रुपमा प्रकाशित भएको छ । यो भन्दा पहिले उनका अङ्ग्रेजी कविताहरुको सङ्ग्रह ‘भ्वाइड’ प्रकाशित थियो । कविताहरुको कुरा गर्ने सन्दर्भमा वसन्त लोहनीको कवि व्यक्तित्व अगाडि आउँछ । उनका जीवनका अरु पाटाहरुलाई छायाँमा पारिदिन्छ ।

कवि वसन्त लोहनीको कविताको यात्रा धेरै पुरानो हो । उनी आफू सानो छँदा नै कविता लेख्ने गर्थे । स्कूल पढ्दा नै आफ्ना साथीहरुको माझमा उनी कवि भनेर चिनिइसकेका थिए । ठूलो भएपछि उनले पत्रकारिता गर्न शुरु गरे । पत्रकारिताको सन्दर्भमा उनको लेखन सन् १९७२ बाट शुरु भएको थियो । उनले त्यतिबेला अङ्ग्रेजी पत्रिकाहरू ‘दि कमनर’ र ‘दि मदरल्याण्ड’मा लेख्न थालेका थिए ।

कवि लोहनीको पुस्तक ‘कसैको यहाँ मृत्यु भएको छ’ मा उनन्पचास वटा कविता छन् । उनका कविता मुलतः समसामयिक समय र विषयबस्तुबाट प्रभावित छन् । त्यसो त धेरै लेखकहरुलाई समसामयिकताले नै लेख्न घचघचाउने गर्छ । समसामयिकता बाहेक कवि लोहनीले आफ्ना कवितामा जीवन, प्रेम र समाजको बारेमा बोलेका छन् । उनी मान्छे र देशप्रति एकदमै संवेदनशील देखिन्छन् ।

कविता सङ्ग्रहको शीर्ष कविता ‘कसैको यहाँ मृत्यु भएको छ’ मा कविले मान्छेको बारेमा लेखेका छन् । मान्छे कुनै समय र परिस्थितिमा यात्रा विहीन हुनसक्छ । मान्छे हराउन सक्छ । आफू हराउँदा हराउँदै मान्छेले बाँच्ने रहर पनि हराउन सक्छ, जुन एउटा डरलाग्दो परिस्थिति हो । कवि लेख्छन् –

के मान्छे यात्रा विहीन हुन सक्छ ?

अवश्य सक्छ

यदि उ भिडमा हराएको छ भने

अभाव भन्ने वित्तिकै हामी भौतिक अभाव मान्छौँ

तर भौतिक छेलोखेलो भित्र प्रशस्त अभाव हुन सक्छ

सबभन्दा ठूलो अभाव हो

बाँच्ने रहरको अभाव ।

कवि वसन्त लोहनी (देब्रेतिर) लेखक गोपी सापकोटासित

त्यस्तै, सो कवितामा कवि लोहनीले देशको नेतृत्व सम्हाल्नेहरुप्रति आफ्नो निराशा पोखेका छन् । नेपाली राजनितिमा जनतालाई फोस्रो आश्वासन र सपना बाँड्ने तर नेताले पाए जति सबै आफैले कुम्ल्याउने गरेको लेखेका छन् । नेतृत्वमा बस्नेहरुको कुटिल मानसिकता र व्यवहारको बारेमा बोलेका छन् । आक्रोश पोखेका छन् । कवि लेख्छन् –

अनि नेताहरू

दौरा सुरुवाल र कोटले

डरलाग्दो मुटुलाई छोपेर

सुरसाको जस्तो ठूलो हुँदै गएको मुखले

बिपना जति भ्याएसम्म निलेर

सपना बाँड्दाको तालीको गडगडाहटमा

विकासको एकोहोरो शङ्ख फुकेको सुन्दा

अनि त्यो शङ्खध्वनी भित्रको डरलाग्दो सन्नाटा

एउटा उकुस–मुकुस भएर फैलिदै गएको देख्दा

लाग्छ, यहाँ कसैको मृत्यु भएको छ ।

उनको अर्को कविता सुन्दर बिहानीको प्रतिक्षामा हो । यो कवितामा कवि लोहनीले मानिसले दुःख र चोट पाउने स्थितिले हद नाघिसकेको कुरा गरेका छन् । जस्तो सुकै दुःखले पनि मानिसलाई नछुने भएपछि दुःख दिन खोज्नेहरु नै विचलित हुने बेला आएको संकेत गरेका छन् । त्यो एउटा दुःखको अन्तिम विन्दु हो, र त्यसपछि सुखको यात्रा शुरु हुनु पर्छ । आशाको यात्रा शुरु हुनु पर्छ भन्ने विचार राख्छन् कवि लोहनी । उनी लेख्छन् –

बन्दुकको निसाना लाग्दा लाग्दा

रक्ताम्मे भएको मन

अब नदुख्ने भइसकेको छ

त्यसैले चारैतिरबाट निसाना दागिरहेका

तिनका हातहरु थरथर काम्न थालेका छन्

कवि लोहनीले आफ्ना पितालाई एकदमै माया र सम्मान गर्छन् । उनका पिता बेदप्रसाद लोहनी हुन् । पिता लोहनी पेशाले इन्जीनियर हुन् । उनी नेपालमा भवन बनाउँदा पहिलो पटक आर।सि।सि। प्रविधि प्रयोग गर्ने इन्जीनियर हुन् । अहिले सबै भवनहरु आर।सि।सि।बाट नै बनेको बेलामा त्यस माथि कसैले विश्वास नगर्ने भन्ने कुरा हुँदैन । तर पहिलो पटक सो प्रविधि प्रयोग गर्दा धेरै मानिसहरुले विश्वास गर्न सकेका थिएनन् । उनीहरुलाई लाग्थ्यो, छत खस्छ । त्यो समयमा तत्कालिन राणा शासकहरुलाई विश्वास दिलाएर उनले आर।सि।सि। प्रविधिबाट भवनहरु बनाउन सुरु गरेका थिए । कवि लोहनीले आफ्ना पितालाई सम्झँदै पिताप्रति कविता लेखेका छन् –

त्यो नेपालीलाई पिता भन्न पाउँदा

मलाई गर्व लाग्छ

जसले यस मुलुकलाई प्रशस्त माया गरेको छ

त्यसैले त्यो नेपालीलाई सम्झदा

मेरो छाती ठूलो हुन्छ

आफ्ना पिताले नेपालको भवन निर्माण प्रविधिमा लिएको चुनौती, उनको सफलता र योगदानलाई सम्झँदै कवि लोहनी लेख्छन् –

एउटा साधारण मान्छे उनी

समयको गुरुत्वाकर्षणबाट

उठ्न खोज्ने जमर्को गर्नु

स्वयंमा एउटा चुनौती थियो

एउटा अदम्य साहस थियो

त्यो धरातलबाट उठेर

राष्ट निर्माणको ढोका खोल्नु

एउटा ठूलो युद्ध थियो

अनि एउटा ठूलो विजय पनि ।

त्यस्तै उनको कविता स्वाँठ भइदिएको भए हुन्थ्यो मा उनी आफू धेरै संवेदनशील भएको कुरा गरेका छन् । सानो कुराले पनि धेरै दुख्ने र मनलाई लामो समयसम्म दुखाउने भएकाले गाह्रो भएको बताएका छन् । बरु आफू स्वाँठ भइदिएको भए त्यस्तो खाले गाह्रो भोग्नु पर्ने थिएन भन्ने उनलाई लाग्छ । उनी भन्छन् –

कस्तो मान्छे

कति कमजोर चित्त भएको मान्छे

छुस्स केहीले छोयो कि

दुखी हाल्छ

सम्वेदनशीलता नभइदिएको भए

बरु स्वाँठ भइदिएको भए

सायद दुख्दैनथ्यो कि ?

समग्रमा हेर्दा कवि वसन्त लोहनीका कविताहरुले केही निराशा र आशाहरु बोलेका छन्् । उनको भावना र विचारहरु बोलेका छन् । नेपाली माटो बोलेका छन् । जीवन र समय बोलेका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक