शुक्रबार, वैशाख १४, २०८१

ओली नारायणहिटी : सभामुख सर्वोच्चतिर

नेपालप्लस संवाददाता / काठमाडौं२०७७ माघ २३ गते २२:१३

फोटो स्रोत- पर्वत गुरुङ

सधै झैं उखान टुक्का र प्रचण्ड माधव नेपालका क्यारिकेचर गरेर कार्यकर्ता हँसाउने ओली धेरैले प्रतिक्षा गरेको माघ २३ को नारायणहिटी जनसभामा नरम भएको देखेर सबै छक्क परे । आफू संघियत गणतन्त्र र देशको विकासको लागि गरेका कामहरुको फेहरिस्त अघि सार्दै जनआन्दोलनबाट प्राप्त उपलब्धि जोगाउन प्रतिबद्ध रहेको बताए ।

नेकपा ओली समूहको बाग्मती प्रदेश कमिटीको आयोजनामा भएको सभामा प्रचण्ड माधव समूहले गर्न खोजेको नरभक्षी आन्दोलन हुन नदिने बताउँदै दुःख गरेर किसानहरुले बेच्न ल्याएको तरकारी फालेर, ट्याक्सी जलाएर कस्तो आन्दोलन गर्न खोजकोे हो ? भन्दै प्रश्न गरे ।

प्रचण्ड माधव समूहले आफूलाई काम गर्न नदिएकोले ताजा जनादेशमा जानु परेको उनको जिकीर थियो । संसद पुनस्र्थापना कि निर्वाचन भन्ने विषयमा अनावश्यक निकालिएको बताएका ओलीले बेलायतको उदाहरण दिंदै प्रधानमन्त्रीले चाहेको बेला संसद विघटन गर्न पाउने दाबी गरे ।

आफू प्रधानमन्त्री भएपछि कालोपत्रे सडक, धमाधम रेलको काम, चाँदनी दोधारा सिंचाइ परियोजना, हुलाकी राजमार्ग, कोभिड विरोधी जस्ता धेरै काम भएको लामै फेहरिस्त बताएका थिए । तर, फ्याक्ट चेकमा ती फेहरिस्तमा धेरैजसो झूट निस्किएका छन् । रेल आएर थन्किएको छ । धमाधम काम भैरहेको छ भनेपछि रेललाई पुलिसले रुँगेर बस्ने बाहेक केही भएको छैन । कतिपय खण्डमा हुलाकी राजमार्गका काम विभिन्न विवादले शुरु नै भएका छैनन् ।

बरु ओलीभन्दा आजको सभामा गृहमन्त्री तथा प्रचण्डका पुराना मित्र राम बहादुर थापा बादल उनै प्रचण्डप्रति बढि आक्रामक देखिए । प्रचण्डप्रति लक्षित गर्दै उनले मांसाहारी आन्दोलन गर्नेलाई चिडियाघरमा लगेर बन्द गर्ने चेतावनी दिए ।

कोभिड नियन्त्रणको निम्ति सामग्री खरिद भ्रष्टाचार काण्डमा संलग्न भएको अभियोग लागेका उपप्रधानमन्त्री इश्वर पोखरेल पनि माधव नेपाल र प्रचण्डप्रति खनिए । सभामा विष्णु पौडेल र सुवासचन्द्र नेम्वाँग थिए । उनीहरु बोलेनन् ।

असाध्यै महँगो भाडा तिरेर संचालन भइरहेको राजधानीको व्यापारिक थलो दरबारमार्गलाई पनि पार्टीका नेताहरुले बिटुलेका छन् । चक्रपथभित्रको सार्वजनिक यातायात बन्द थियो भने जिल्ला जिल्लाबाट सरकारी रकमको दुरुपयोग गरेर निःशुल्क मानिसहरु ओसारिएको थियो । राज्य संयन्त्र पुरै लागेर पंच र्‍र्यालीको शैलीमा कार्यक्रम भएको टिप्पणी प्रधानमन्त्रीको भाषण सुन्न गएका बूढापाकाहरुले नै गरेका थिए । यातायातको अस्तव्यस्तताले राजधानीमा यात्रा गर्नेहरुलाई निकै कठिनाइ भएको थियो ।

हिजो मात्रै नेकपाकै अर्को समूहले नेपाल बन्द गरेर जनतालाई दुःख दिएको थियो भने आज प्रधानमन्त्रीले नै संबोधन गर्ने कार्यक्रमका कारण सर्वसाधारणलाई मर्का परेको थियो ।

नारायणहिटीमा प्रधानमन्त्रीले भाषण गरिरहँदा सभामुख अग्नी सापकोटा भने सर्वोच्च अदालतमा संवैधानिक निकायहरुमा भएका नियुक्ति विरुद्ध रिट दायर गरिरहेका थिए ।

संविधानको मर्म र भावना विपरीत संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएर संवैधानिक निकायहरुमा पदाधिकारी सिफारिश गर्ने, प्रतिनिधि सभा भंग गर्ने र संसदीय सुनुवाइ विना संवैधानिक निकायहरुमा पदाधिकारी नियुक्त गरेर संविधानमा एक पछि अर्को प्रहार भइरहेकोले सर्वोच्च अदालतमा रिट दायर गर्नु परेको उनले बताए ।

तपाइँको प्रतिक्रिया