मंगलबार, फागुन १८, २०७७

टोले गुण्डाको हैशियत मै छन सभापति देउवा

थानेश्वर सापकोटा२०७७ माघ २४ गते ११:४६

धेरैलाई थाहा नहुन सक्छ, नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा डाक्टर पनि हुन । डा. शेर बहादुर देउवा । सन् २०१६ मा भारतको जवाहरलाल नेहरू विश्वविद्यालयले देउवालाई विद्यावारिधिको मानार्थ उपाधी दिएको थियो । त्यस यता यि नेता डाक्टर हुन । हुनत नेपालमा आधा दर्जन राजनीतिज्ञहरुले डा. को उपाधी भिरेका छन । कतिले देखाउँछन कतिले देखाउँदैनन । देउवाले पनि देखाउँदैनन् । लाज लाग्दो हो ।

डाक्टर बन्न वर्षौंको खोज, गतिलो सोच र दिर्घकालिन बिचार चाहिन्छ । देउवाले ठम्याएका छन, त्यसैले आफ्नो डाक्टर उपाधी दुनियाँले नदेखोस् । सतही आँकलन गर्न त नमिल्ला । तर चाहेको भए र राम्ररी पढेको भए यिनी सजिलै पीएचडी होल्डर हुन सक्ने थिए ।

लण्डनको पढाईका बारेमा एकछिनमा कुरा गरौंला । त्यस अघि, देउवा बीपी कोइरालाका प्रिय थिए । नेपाली कांग्रेसलाई सुदुर पश्चिममा आफ्नो संगठन विस्तार गर्नु थियो । शेर बहादुरलाई अग्लो ठाँउमा उभिएर आफ्नो महत्वकांक्षालाई छुनु थियो । यिनको रथ त्यहींबाट शुरु भयो । बीपीले काँधमा धाप मारे । यिनको ब्यक्तित्व उचालियो । २०३६ सालमा बीपी कोइरालासँग गैंडाकोट आउँदा शेर बहादुर देउवाले ट्यार्लिङको धर्के सर्ट, पोलिस्टरको बेली पाइन्ट र खुट्टामा बाटाका चप्पल लगाएका थिए । बीपी र यिनको ब्यक्तित्व जवहारलाल नेहरु र डेनी डोङ्जोम्पाको जस्तो देखिएको थियो । जे भए पनि देउबाको ठाँट कम्ता लोभ लाग्दो थिएन त्यो बेला पनि । बीपीको पछाडि उभिएरै सही यिनको जीवनस्तर हर्लक्क बढेको थियो ।

बिक्रम सम्बत २०३९ साउन ६ गते बीपी कोइरालाको मृत्‍यु भएपछी नेपाली कांग्रेस र नेपालको प्रजातान्त्रिक आन्दोलनलाई कस्तो असर पर्‍यो ईतिहासमा लेखिएकै छ । तर ईतिहासमा नलिखिएको कुरा के हो भने शेर बहादुर देउवाको जीवनमा कस्तो असर पर्‍यो ? यस बारेमा अहिलेसम्म कसैले भनेकै छैनन । यदी आत्मकथा लेखे भने देउवा आँफैले भन्लान कुनै दिन । यिनको छट्पटाहट कृष्ण प्रसाद भट्टराईले देखेका थिए । देउवालाई लागेको थियो, बीपी कोइरालाको अवशान पछी जिन्दगीमा पूर्णविराम लाग्यो । बिस्तारै निर्माण हुन लागेको सपनाको महल एकैचोटी गर्ल्याम गुर्लुम ढल्यो ।

देउवाका दौतरीहरु अहिलेपनि भन्ने गर्दछन्, यिनका खुट्टा दरवार पस्नका लागि २०४० साल देखि नै उचालिएका थिए । सुचना आदान प्रदान भइरहेको थियो । २०४२ को सत्याग्रह धन्नै काटे देउवाले । नेपाली कांग्रेसका कार्यवाह्क अध्यक्ष कृष्ण प्रसाद भट्टराईलाई यो कुराको छनक पहिल्यै थियो । देउवालाई गुमाउँदा सुदुर पश्चिममा नेपाली कांग्रेसको संगठनमा नकारात्मक प्रभाव पर्ने खतरा ठ्याक्कै अगाडि आउँथ्यो । त्यसैले कृष्ण प्रसाद भट्टराइले सहजता पुर्वक चलाखी गरे । त्यतिबेला सोशलिस्ट इन्टरनेसनल विली ब्रान्डको नेतृत्वमा थियो जो नेपाली कांग्रेस सँग निकटभाव राख्दथे । कृष्ण प्रशाद भट्टराईले यिनैलाई माध्यम बनाएर देवालाई बेलायत पठाए । भट्टराईले आँफै भनेका छन- “उनलाई सम्भावित पंचायत प्रवेशबाट जोगाउन जरुरी थियो” । देउवा ब्रिटिश काउन्सिलको सहयोगमा बेलायत उडे, तुलसी गिरी हुनबाट जोगिए ।

बेलायतमा यिनले के गरे यसको छुट्टै चर्चा होला । तर यिनी जहाँ पठाइएको भए पनि पढ्न चाहेको भए मजाले पढ्न सक्ने थिए । अहिले जवाहरलाल नेहरु विश्वविद्यालयले दिएको डा. उपाधीलाई नामका अगाडि झुन्ड्याउन लाज मान्नु पर्ने थिएन ।

शेर बहादुर देउवा ४ पटक देशको प्रधानमन्त्री बनिसकेका छन् । ४ वर्ष देखी नै नेपाली कांग्रेसका सभापति छन् । अझै प्रधानमन्त्री बन्ने दौडमा बेला बेला दौडिने जाँगर चलाईरहेका हुन्छन् । कांग्रेसको सभापति त छोड्दै नछोड्ने भएका छन् । यस्तो लाग्छ, २०२५ साल देखि उम्रिएका यिनका आकंक्षाले अझै मुकाम पाएका छैनन् ।

चार पटक प्रधानमन्त्री हुँदा यिनले गर्न नपाएको के कुरो होला ? अथवा ४ वर्ष नेपाली कांग्रेसको सभापति भएर के कुरा गर्न पाएनन् ? यदि देउवाले साँचिकै देश, जनता र पार्टीका लागि केही गर्न चाहेको भए यिनले जती समय अरु कसले पाएको थियो ? देश, जनता र पार्टी कहिल्यै पनि देउवाको प्राथमिकतामा परेनन । नत्र देउवाले भनुन्, मैले आफ्नो द्रिष्टिकोणलाई कार्यन्वयन गर्न समय नै पाइन । बल्ल हामीले अझै गतिलो जवाफ दिउँला ।

खासमा देउवा जती जती बेला शक्तिमा पुगे, गद्दामा बसेर देश र जनता प्रती भद्दा मजाक गरेरै समय बिताए । २०५१ साल पछीका हरेक घोटालामा यिनको नाम जोडिएको छ । सबै खाले काण्डमा यिनी मुछिएका छन् । जुनसुकै पार्टीको सरकार भएपनि यिनको हविगत टोले गुण्डाको भन्दा माथि छैन । यिनलाई हरेक ठाँउमा भाग चाहिन्छ चाहिन्छ । एउटा के कुरामा ताज्जुब लाग्छ भने चार पटक प्रधानमन्त्री भइसकेको ब्यक्ति हप्ता उठाउने टोले गुण्डाको हैशियतबाट किन माथि उठ्न नसकेको होला !

अहिले देशको अवस्था अर्कै छ । सरकार, नागरिक समाज, हिन्दूबादी, राजाबादी र सरकारकै अर्को खेमा सडकमा छ । विषयवस्तुको मिहिनतालाई हेर्दा देशको प्रमुख प्रतिपक्षी पार्टी नेपाली कांग्रेस सडकमा हुनुपर्ने हो । तर नेपाली कांग्रेस कहाँँ छ कसैले भेउ पाएको छैन । नागरिक समाजका अगुवाले पुलिसका लट्ठी टाउकोमा थापेका छन् । मजदुरी गरेर जीवन निर्वाह गर्नेहरुका ट्याक्सी जलाइएका छन् । प्रचन्डका बेवारीसे कार्यकर्ताले दिनभरिको मेहनत पछी चुल्हो बल्नेहरुका मजदुरी बाटोमा पोखिदिएका छन् । नेपाली कांग्रेस कहाँँ छ खोइ ?

पार्टी सभापति सरकारी पार्टीका दुबै खेमासँग बार्गेनिङमा छन् । यिनी बोल्दैनन् । यिनको एउटा खुट्टो पेरिस डाँडामा छ । अर्को खुट्टो बालुवाटारमा छ । यिनले बिज्ञप्ती नै जारी गरेर नेपाली जनतालाई भन्नु पर्ने हो- प्रधानमन्त्रीको कदम ठीक थियो या गलत ? नेपाली कांग्रेस आन्दोलनमा हुनुपर्ने हो वा निर्वाचनको तयारीमा ? जनताको पार्टी भनिने नेपाली कांग्रेसले यती जाबो कुरो जनतालाई नै भन्न नसक्नु बिडम्बना हो ।

गगन थापा एक्लोले कोण सभा गरेर मात्र अब कांग्रेसको छवि जोगिनेवाला छैन । ईतिहासमै सबैभन्दा ठुलो घनचक्कर परेको कांग्रेसलाई सहि बाटोमा ल्याउन देउवालाई छिटो भन्दा छिटो बिश्राम दिन जरुरी छ । यदि अब पनि कसैले देउवाको आवश्यकता महसुस गर्छ भने त्यो नेपाली कांग्रेसको सबैभन्दा ठूलो दुश्मन हो ।

तपाइँको प्रतिक्रिया

फेसबुक