बिहीबार, वैशाख १३, २०८१

के छन् त अमेरिकाका लागि राजदूत डा. खतिवडाका चुनौति ?

गुणराज लुइटेल / भर्जिनिया, अमेरिका२०७७ माघ २६ गते ८:५९

अमेरिकाका लागि १८ औं नेपाली राजदूतको रुपमा कार्यभार सम्हाल्न डा. युवराज खतिवडा सपरिवार शनिबार अमेरिका आइपुग्नु भएको छ ।

विविध कारणले ६ वर्षे लामो कार्यकाल सम्पन्न गरेर निवर्तमान राजदूत डा. अर्जुन कुमार कार्की यसै हप्ता स्वदेश फर्किसक्नु भएको छ । डा. कार्कीको कार्यकालमा मिश्रित उपलब्धि भएको मान्ने विज्ञहरुले नव आगन्तुक राजदूत डा. खतिवडाको कार्यकालप्रति भने अझै बढी उपलब्धिको अपेक्षा राखेका छन् ।

अमेरिकाका लागि नेपाली राजदूतले नेपाल र अमेरिकाबीचको कूटनीतिलाई बढावा दिएर मात्रै हुने अवस्था छैन । डिसी वरिपरी र अमेरिकाका विभिन्न स्टेटहरुमा धेरै नेपालीहरुको बसोबास रहेकोले नेपाली समुदायले पनि राजदूतलाई आफ्नो रानोको रुपमा हेर्दछ । राजदूत कुनै आग्रह विना प्राथमिकताको साथ नेपाली गतिविधिहरुमा पनि हरदम सामेल हुन, सबै नेपालीसँग अनौपचारिक रुपमै घुलमिल हहो उन् भन्ने अभिलाशा पनि समुदायले राख्ने गर्दछ । यो अभिलाशालाई आशातीत रुपमा वा न्यायोचित रुपमा चरितार्थ गर्न नसक्दा पनि नेपाली राजदूतले मूल्यांकनको कसीमा यदाकदा बढी, ठीक्क वा कम नम्बर पाउने गरेको पनि पाइन्छ ।

सिक्काका दुई पाटा भने झैं अमेरिका बस्ने नेपालीहरु, एनआरएन लगायतका संघसंस्थाहरु र विशेषत: यहाँका बुद्धिजीविहरुले पनि निष्कपट र खुलस्त रुपमा शुरुबाटै नयाँ राजदूतसंगको सहकार्य बढाउँदै नलैजाने हो भने पछि गएर दूतावासको सहभागिता, सहकार्य र यथेष्ट सहयोग भएन भनेर स्वर ध्वनि निकाल्नुको कुनै औचित्य हुनेछैन ।

आफ्ना जीवनका ६४ वर्ष पार गर्दै गर्दा डा. खतिवडाको रोजाइमा परेको यो कूटनीतिक साँचोमा कुनै कतै खिया नलागी सहज रुपमा लागाउन र खोल्न उहाँ सफल हुनुहुने कुरामा विश्वास लिँदै आफ्नो बुद्धीमत्ताले अगाडि आइलाग्ने चट्टानमा पनि सुरुङ छेड्दै पल्लोपट्टि सजिलै प्रकट हुन सक्नुहोस, डा. खतिवडालाई हार्दिक शुभकामना !

को हुन डा. खतिवडा ?

राजदूत डा. खतिवडा (दाहिनेतिर) सित पत्रकार लुइँंटेल

डा. युवराज खतिवडा एक नेपाली राजनीतिज्ञ र अर्थशास्त्री पनि हुनुहुन्छ । उहाँले सेप्टेम्बर २०२० सम्म नेपाल सरकारको अर्थ मन्त्री र सूचना तथा सञ्चार मन्त्री हुनुहुन्थ्यो । राष्ट्रिय सभामा आफ्नो पदावधि समाप्त भएको कारण केपी ओली प्रधानमन्त्रीको प्रभावशाली मन्त्री हुँदाहुँदै पनि उहाँले बाहिर निस्कन बाध्य हुनु परेको थियो ।

त्यसपछि उहाँलाई अक्टोबर २०२० मा केपी शर्मा ओलीको मन्त्रिपरिषद्ले संयुक्त राज्य अमेरिकाको लागि राजदूतको रूपमा सिफारिस गरेको हो।

डा. खतिवडाले अमेरिका र यसका टेरिटोरीहरु, र दक्षिण अमेरिकी देशहरु पनामा, कोस्टारिका, मेक्सिको, एल साल्भाडोर, होन्डुरस, र ग्वाटेमालामा पनि गैर-आवासीय राजदूतको रुपमा काम गर्नुहुनेछ।

यसका साथै अमेरिकामा नेपालको आवासीय राजदूतका रूपमा उहाँ विश्व बैंक, आईएमएफ र विश्व बैंक समूह (आईबीआरडी, आईडीए, आईएफसी, एमआईजीए र आईसीएसआईडी) सम्बन्धी मामिलाहरू पनि हेर्ने उच्च कूटनीतिक अधिकारी पनि बन्नु भएको छ ।

संघीय मन्त्रिपरिषदको अर्थमन्त्रीबाट बाहिर भएपछि उहाँलाई मन्त्रीस्तरीय अधिकारका साथ प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारका रुपमा पनि मनोनित गरिएको थियो।

अर्थमन्त्री हुनुअघि खतिवडा प्रशासनिक सेवाकै क्रममा नेपाल राष्ट्र बैंकको गभर्नर बन्नु भएको थियो भने उहाँले त्यसपछि देशको योजना आयोग जस्तो महत्वपूर्ण निकायको उपाध्यक्षको रुपमा कार्यभार सम्हाल्नु भएको थियो ।

अर्थबेत्ताको रुपमा मानिएका डा. खतिवडाका दुई पुस्तकहरु निकै चर्चित रहेका छन । सम आस्पेक्ट अफ मनिटरी पोलिसी इन नेपाल (१९९४) र स्ट्रक्चरल अडजस्टमेन्ट पोलिसिज एण्ड पोभर्टी इराडिकेसन (२००३) नेपालको अर्थ नीतिमा महत्व राख्ने उहाँका पुस्तकहरु हुन ।

अर्थमन्त्री हुँदा वा त्यस पहिलेका विविध गहकिला जिम्मेवारीको क्रममा नेपाल सरकारलाई प्रतिनिधित्व गरेर पानीपधेंरो झैं अमेरिका र पश्चिमा संसारमा आउने जाने र विश्व अर्थनीति सम्बन्धी उच्च निकायहरुसँग नजिकबाट काम गर्नु भएका खतिवडालाई राजदूतको भूमिका निर्वाह गर्न त्यति गाह्रो भने देखिंदैन ।

नयाँ विद्यार्थीको रुपमा नभै पाको प्रोफेसरको रुपमा भएको उहाँको कूटनीतिक प्रवेशले धेरै सफलता हात पार्नसक्ने हुँदाहुँदै पनि कतिपय चुनौतिहरु पनि सामुन्नेमा खडा नभएका हैनन् ।

नेपाली अस्थीर राजनीति, मिलेनियम कर्पोरेसनको नेपाल प्रोजेक्ट कार्यान्वयन, कोभिड-१९ रिलिज प्याकेज, एनआरएन नेपालीहरुका जल्दाबल्दा समस्या लगायत नेपाली राजदूतावासको प्रतिष्ठालाई उचाइमा पुर्याउने कार्य भने राजदूत खतिवडालाई तत्कालका लागि चुनौति र अवसरका रुपमा रहेका छन् ।

उहाँले सकेसम्म आउने हप्तानै अमेरिकी राष्ट्रपति जो बाइडेन समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुहुनेछ । डा. खतिवडाले अमेरिकी सरकारबाट कोभिड-१९ का खोपहरु अनुदानमा नेपाललाई पनि उपलब्ध गराउन ठोस प्रयास गर्नु हुने अनुमान गरिएको ।
(लेखक ईन्जाका अध्यक्ष पनि हुनुहुन्छ- सं।)

तपाइँको प्रतिक्रिया