शनिबार, साउन ९, २०७८

सरकार र नेता फेरिए, मुद्दा फेरिएन

युनिका गौतम२०७७ माघ २७ गते ५:०४

युनिका गौतम

वि.सं. २००७ सालमा नेपालमा प्रजातन्त्र आयो । त्यो बेला एउटा ठुलो मुद्दा थियो, “नेपालमा प्रजातन्त्र ठिक कि राजतन्त्र ?” आज २०७७ सालमा आइपुग्दा पनि सोही मुद्दा यथावत छ । मुद्दा त अरु पनि थिए नि ! तर किन सधैं यहि मुद्दामा यति लामो  समयसम्म रुमल्लिनुपरेको ?

हिजो शिक्षा र स्वास्थ्य जस्तो आधारभुत आवश्यकताबाट बन्चित जनता आज पनि तड्पिरहेका छन् । भौतिक संरचना आज पनि लथालिङ्ग छ । अपराध र असुरक्षा बढेको बढ्यै छ । भ्रष्टाचार र प्रदुषणमा त अब हामीलाई कसले जित्ला र ? कृषि क्षेत्र खस्कँदो छ । रोजगार नपाएकै कारण युवा जमात खाडीमा भासिएका छन् । अहिले त दक्षिण अमेरिकी महादेशका कहिल्यै नसुनिएका देशमापनि नेपाली बाक्लै हुन थालिसके । अझ सक्नेहरु युरोप अष्ट्रेलिया, जापानपनि पुगेका छन् । नसक्नेहरुको भारततिर लर्को लागेको छ ।

त्यसो त, परिवर्तनकालागि पञ्चायत कालमा पनि जुलुस निकालिन्थ्यो । राणाहरु पनि नारा लाउँथे । यसरी हेर्दा ७० वर्षको अन्तरालमा धेरै कुराहरु जहाँ को त्यहीँ छन् । हाम्रै छिमेकीले यो ७० वर्षमा विकासको फड्को कति मारिसके । हामी नारा, जुलुस, बन्द, हडतालमै छौं, यति लामो कालखण्डमापनि ।

हामीकहाँ शासन व्यवस्था फेरियो । तर सामाजिक अवस्था फेरिएन । सरकार बारम्बार ढले । फेरि बने । बनाइए । तर अन्याय अत्याचार, ढलेन । कुरुतीहरु उस्तै रहे ।  शासकहरु बदलिए । समाज बदलिएन । नयाँ नयाँ सरकार बनेको बन्यै गरे । तर विकास र संव्रिद्दीले देश फेरेन ।  मन्त्रीहरु फरक फरक अनुहारका आए । तिनको सामाजिक स्तर त उठेहोला । तर दुःखमा लडेका जनता भने फेरि उठ्न सकेनन् । तर देश बदल्ने आधुनिक प्रविधीको अनुहार आउन सकेन । देशमा प्रधानमन्त्री धेरै आए । तर जनताका लागि परिवर्तन कहिल्यै आएन । जनताकालागि सुखका दिन कहिल्यै आएनन् ।

पैसा, पद र प्रतिष्ठामा लिप्त नेता र तिनका झोले कार्यकर्ताले देश निर्माण गर्ने असल राजनीतिलाई ध्वस्त बनाए । एक असल नेतृत्वको अभावले आज देश टुहुरो भयो ।

तपाइँको प्रतिक्रिया

फेसबुक