बुधबार, वैशाख १२, २०८१

भारतमा हिमनदी बिस्फोट हुँदा सातको मृत्यु, झण्डै दुई सय बेपत्ता

नेपाल प्लस२०७७ माघ २६ गते २३:२५

(Agence France Presse/Indo-Tibetan Border Police) via The jakarta post

उत्तरी भारतमा एउटा हिमनदी विस्फोट हुँदा कम्तिमा सात जनाको मृत्यु भएको छ भने झण्डै दुई सय ब्यक्ति हराइरहेका छन् । आइतवार हिमनदी फुट्दा त्यसको एउटा टुक्रा नदीमा खसेपछि त्यसले ल्याएको बाढीले गर्दा सात व्यक्तिको मृत्यु भएको भनिएको छ । त्यहाँ कम्तिमा १७७ जना बेपत्ता भैरहेको अधिकारीहरूले बताएका छन् ।

उत्तराखण्डको तपोवन क्षेत्रमा आइतबार बिहान नन्ददेवी हिमनदीको एक भाग खसेपछि त्यसले ठूलो बाढी ल्याएको थियो । धौलीगंगा नदी घाटीमा बाढीको पानी बढ्दै गयो । त्यो बाढीले अलकनन्दा नदीमा रहेको ऋषिगंगा जलविद्युत आयोजनाका साथै त्यस वरपरका क्षेत्रका घरहरू ध्वस्त पारेको थियो ।

हिमालयन पहाडहरूबाट बग्दै, अलकानन्दा र धौलीगंगा नदीहरू गंगा नदीमा मिसिनु अघि भेट हुन्छन् । उत्तराखण्डका मुख्यमन्त्री त्रिवेंद्र सिंह रावतले राज्यको राजधानी देहरादुनमा पत्रकारहरूलाई भने, “घटनास्थलबाट सातवटा लाशहरू बरामद गरिएको छ र उद्धारकार्य भइरहेको छ ।”

उनले हाल १२५ जना हराइरहेको र त्यो संख्या अझै बढ्नसक्ने बताएका छन् । तर यो समाचार लेख्दासम्म हराउनेको संख्या १७७ पुगिसकेको छ । बेपत्ताको संख्या दुई सयभन्दा बढि भएको अनुमान अधिकारीहरुको छ ।

जमिनमा पुरिएका ब्यक्तिको खोजीमा उद्दार टोली । फोटो- अल्बानी हेराल्ड

हराइरहेकाहरू मध्ये अधिकांश दुईवटा पावर प्लान्टका कामदारहरू थिए । अर्ध सैनिक इण्डो-तिब्बती सीमा प्रहरीका प्रवक्ता विवेक पाण्डेले धौलीगंगा परियोजनाको सुरुङ भित्र १२ जना कामदारलाई उद्धार गरी प्राथमिक उपचार प्रदान गरिएको बताएका छन् । ती दुबै प्लान्टका अझै १४० कामदार बेपत्ता छन् ।

“यो एकदम छिटो आएको थियो । कसैलाई सतर्क गर्ने समय थिएन” रेनी गाउँको माथिल्लो भागमा बस्ने संजय सिंह राणाले रोयटर्सलाई फोनमा भने “मलाई लाग्यो कि हामीलाईपनि बगाएर लैजाने छ ।”

मुख्य सडकनै सोहोरिएर बगेपछि सुरुङ जस्तो भएको थियो । त्यहाँ ढुंगैढुंगा देखिएको थियो । बिजुली आयोजनाको प्रवेश द्वारमा पुग्नको लागि उद्धारकर्ताहरू डोरीमा झुण्डिँदै एउटा पहाडमाथि चढेर जान बाध्य भएका थिए । किनभने त्यहाँ सडकै पुरै बगेको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तराखण्डको दुर्भाग्यपूर्ण परिस्थितिलाई निरन्तर अनुगमन गरिरहेको उल्लेख गर्दै आफ्नो ट्विटरमा उल्लेख गरेका छन् “भारत उत्तराखण्डको साथमा छ । राष्ट्रले त्यहाँ सबैको सुरक्षाको लागि प्रार्थना गर्दछ । वरिष्ठ अधिकारीसँग निरन्तर कुरा गरिरहेको छु । सुरक्षा तैनाती, उद्धार र राहत कार्यहरूको बारेमा अद्यावधिक गर्दै आएको छु ।”

सैन्य हेलिकप्टर र अन्य विमानका साथै सयौं सेना र अर्ध सैनिक त्यस क्षेत्रमा पठाइएको छ । स्थानीय मिडिया रिपोर्ट अनुसार हिमनदी अध्ययन र अनुसन्धान गर्ने विशेषज्ञको टोलीहरू पनि यस प्रकोपको कारण अध्ययन गर्न आजै सोमबार त्यस इलाकामा पुगेका छन्।

बाढी भारतका धार्मिक क्षेत्र ऋशीकेष र हरिद्वारमा नपुगोस भनेर अधिकारीहरुले दुई वटा बाँध खाली गरिदिएका छन् । मानिसहरुलाई गंगामा जान रोक लगाइएको छ ।

भारतको सबैभन्दा धेरै जनसंख्या भएको उत्तर प्रदेश राज्यलेपनि नदी छेउछाउका क्षेत्रहरुलाई उच्च सतर्कतामा राखेको छ । स्थानिय मानिसहरुले सामाजिक सन्जालमा साझेदारि गरेका तस्विर र भिडियोमा सडकहरु बगाएको, बाँध भत्किएको देखिएको छ ।

हिमालय क्षेत्रमा पर्ने उत्तराखण्ड बाढी र पहिरोको प्रकोपजन्य क्षेत्र हो । जून २०१३ मा भएको अत्यधिक वर्षाले विनाशकारी बाढी ल्याउँदा करीव ६,००० मानिसको ज्यान लिएको थियो ।

हिमाली क्षेत्रबाट बग्ने पानीको बहावको कारण मिडियाले यो विपत्तिलाई “हिमालयन सुनामी” भन्ने नाम दिएका थिए ।

भारतका पूर्व जलस्रोत मन्त्री र मोदीको पार्टीका वरिष्ठ नेता उमा भारतीले उक्त क्षेत्रमा विद्युत परियोजना निर्माणको आलोचना गरेकि छन् ।

“म मन्त्री हुँदा मैले हिमाली क्षेत्र अति संवेदनशील स्थान हो भनेर अनुरोध गरेको थिएँ । त्यसैले गंगा र यसको मुख्य सहायक नदीहरूमा बिजुलीका परियोजनाहरू निर्माण गर्नु हुँदैन भनेकि थिएँ” उनले ट्विटरमा पहाडबाट बग्ने मुख्य नदीलाई औंल्याएर त्यस्ता नदीमा बिजुली उत्पादन परियोजना बनाउन नहुने बताएकि हुन् ।

(नेपालप्लसको साथमा फँस २४, एएफपी र रोयटर्स)

तपाइँको प्रतिक्रिया