शुक्रबार, फागुन १४, २०७७

षडयन्त्रको सिद्धान्त र ओलीको प्रतिगमन

उदयराज गौतम२०७७ माघ २७ गते १३:१६

धेरै मानिसहरू षडयन्त्रको सिद्धान्तमा विश्वास गर्छन् । यसलाई अंग्रेजीमा कन्स्पिरेसी थ्यौरी भनिन्छ । यो सिद्धान्तलाई छुट्टै विधाको रूपमा अध्ययन नगरिए पनि यो आधुनिक युगमा जबरजस्त प्रयोगमा आएको छ। राजनीतिमा षडयन्त्रको सिद्धान्त आम प्रचलन जस्तै भईसक्यो भन्दा फरक पर्दैन । यो सिद्धान्तको मुख्य विशेषता के हो भने मानिसहरूको दिमागमा एकै पटक धेरै चक्मा दिने खालका कुराहरू आइलागे भने थुप्रै कुराहरू बिच भेद छुट्ट्याउने दुख गर्नुको सट्टा त्यस मध्यको सरल र छिट्टो प्रचार हुने सामग्री छनौट गर्दछ ।

प्राचीन तथा मध्ययुगीन समाजमा पनि यो सिद्धान्तको लुप्त प्रयोग भएको पाइन्छ । जस्तै: यदि गाउँघरमा कुनै कमजोर महिलालाई अँधेरा पँधेरा सबैले फलानी बोक्सी छ, भनेको हल्ला चल्नासाथ त्यो कुरो पहिलो पटक सुन्ने व्यक्तिले ‘हो त, त्यो त बोक्सी नै हो’ भन्ने एकोहोरो धारणा बनाउँछ । केहि दिन पछि अकस्मात् उसको त्यहि बोक्सी भनिएकी महिला सँग भेट हुन्छ । मनमा अनेक तर्कना खेलाउँदै औपचारिकता पुरा गर्न उसले केही कुरा गर्छ र बाटो लाग्छ । घरमा पुगेपछि उसलाई कताकता जीउ दुखेको अनुभूति गर्छ र यही बिन्दुबाट षडयन्त्रको सिद्धान्त सुरु हुन्छ । ‘मलाइ बोक्सिनै लागेको हो’भन्ने मनोदशाले उसलाई सताउँछ । अनेक टुनामुना पनि भएको हुन सक्छ भन्ने भ्रमले उसलाई सताउँछ । अदृश्य रूपमा उसको शरीरमा बोक्सी प्रवेश गरेको भयले उसलाई चिढचिढाहट बनाउँछ । गाउँतिर झरेर फलानी सँग भेट भएको र उसैले शरीरमा बोक्सी प्रवेश गराएको प्रचार गर्छ । यति बेलासम्म ती महिलालाई बोक्सी भन्नेको एउटा ठुलै जमात पनि बनीसकेको हुन्छ ।

गाउँका एक जना वडा सदस्य पनि त्यो समाजमा सम्मिलित हुन्छन् । अब एउटा ठुलै बोक्सी विरोधी समूहको निर्माण भईसकेको हुन्छ । अर्को कुनै दिन त्यो समूहको अगुवाइमा बोक्सीलाई दिशा खुवाउने, कपाल खौरिने लगायतका काम सम्पन्न हुन्छन् ।

महिला कमजोर छन् । उनको तर्फबाट बोल्ने वा प्रतिवाद गर्ने कोही छैन । गरिब,विधवा,असहज पहिरन नै बोक्सी हुन चाहिने आधारभूत विशेषता हुनपुग्छ । घर व्यवहार, दाजुभाइ, साथी सङ्गति, लेनदेन आर्थिक कारोबार यी सबै सँगको अन्तरक्रियामा बेला बेला यो सिद्धान्तले प्रवेश गर्छ । श्रीमान् श्रीमतीबिच यहि सिद्धान्त बलियो बन्न जाँदा पारपाचुकेसम्म भएको बाक्लै उदाहरण देखिन्छ ।

कुनै एक जना आतङ्ककारीले लुकेर मानिसहरूको जमघटमा चक्कु प्रहार गर्‍यो भने सयौँ पुलिस बख्तरबन्द गाडी सहित हतियारले सुसज्जित भएर घेरा हाल्छन् । केही समयमा हाम्रो जस्तो अविकसित देशमा हो भने युटुबर पुग्छन् । अनि बल्ल पत्रकार पुग्छन् । समाचारको शीर्षक बन्छ, “दर्जनौँ हतियारधारी द्वारा अन्धाधुन्ध गोली प्रहार ।” सर्वसाधारणमा सनसनी मच्चाउन शीर्षक नै काफी हुन्छ ।

राजनीतिमा षडयन्त्रको सिद्धान्तको सूत्रपात गराउने काम यात प्राय: गुटहरूबाट हुन्छ अथवा ट्रम्प,बोल्सेनारो,मोदी पुटिन जस्ता अन्ध राष्ट्रवादीहरुबाट हुन्छ । नेपाल पनि यो सिद्धान्तबाट अलग छैन । गुटहरूको मुख्य काम भनेको त्यो सिद्धान्तको सानो सूत्र पत्ता लगाउने र आफ्ना हित प्रतिकुल बिचार राख्नेहरूलाई मर्ममा प्रहार गर्नको निम्ति सर्वप्रथम शब्दहरुको बलात्कार हुन्छ । बलात्कृत नयाँनयाँ शब्दहरुले सुसज्जित भएर लय नमिल्नेहरुको मुटुमा प्रयोग गरिन्छ । गुटमा आबद्ध मानिसहरूको निहित स्वार्थ थाहा नहुने धेरै तटस्थ मानिसहरूलाई यसले प्रभाव पार्दछ । मनोवैज्ञानिक रूपमा धेरै मानिसहरूले एकै पटकमा धेरै गडबड गर्ने जानकारीहरू सम्हाल्न सक्दैनन् । यसैले, सुरुमा केवल षड्यन्त्रको सानो हिस्सा मात्र प्रस्तुत गर्न सकियो भने यसले निर्बाध रूपमा पाठक वा श्रवणकर्ताको ध्यान आकर्षण गर्न सघाउँछ ।

विश्वसनीय र प्रमाणित जानकारीको गुणस्तर नाप जाँच गर्ने क्षमता धेरै कम मानिसहरूले राख्दछन् । मिल्ने साथीले भनेको, आफ्नै दाइ अथवा भाइले वा प्रेमिकाले भनेको नपत्याउने को होला र ? यो सिद्धान्तको विकासमा यस्ता उडन्ते कुराहरूले अधिकतम सफलता प्राप्त गर्दछन् । काल परिस्थिति अनुसार कुनै झुटो कुरालाई पनि धेरै पटक भनीरह्यो भने मानिसहरू पत्याउन बाध्य हुन्छन् भन्ने अर्को सिद्धान्त छ । यसलाई गोयवल्स शैली पनि भनिन्छ । संबैधानिक प्रतिगमन बिरुद्ध माघ २२ मा आयोजना गरिएको नेपाल बन्दमा आयोजकले किसानका उत्पादन सडकमा मिल्काई दिएका अप्रमाणित तस्विरहरु संजालमा युद्धस्तरमा पोस्ट्याउने काम सम्पन्न भएपछी नारायणहिटीको ढोकामा आयोजित सरकारी आमसभामा प्र म ओलीले स्वयम् तिनै तरकारी फ्याँकिएको प्रसंगलाई जोडतोडको साथ् चर्चा गरे । माघ महिनामा काठमाडौंमा ओखति खान पनि नपाइने घिरौंला भारतीय किसान आन्दोलनका बासी फोटाहरु थिए भन्ने प्रमाणित भयो । षडयन्त्रको सिद्धान्तको यो एउटा ज्वलन्त उदाहरण हो ।

कमजोर सूचना र आधारहीन तथ्यहरूलाई श्रोत मानेर राजनीतिक गुटहरूले घनघोर प्रचार गर्छन् र आफ्ना प्रतिद्वन्दिलाइ खसाल्ने प्रयास गर्दछन् । यस्तो परम्परा वामपन्थी वा प्रजातान्त्रिक भनिने लगभग सबैजसो राजनीतिक पार्टीहरूमा लागु हुन्छ । फरक यो हुन्छ कि कमजोर राजनीतिक प्रणाली र अचेत वा अर्धसचेत मतदाता तथा कार्यकर्ता भएको एसिया तथा अफ्रिकामा षडयन्त्रको सिद्धान्त बढी फलिफाप भएको देखिन्छ।

सेटिङ थ्योरी अहिले नेपाली राजनीतिमा बढी प्रचलित छ । यो पनि षडयन्त्रको सिद्धान्तबाटै निर्देशित छ । सेटिङ’मान्न प्रत्यक्ष रुपमा कोहि तयार नभएपनि यो गाउँका चिया पसलदेखि शहरका गोष्ठी र आम सभाहरुमा तातो बहसको बिषय भएको छ।

सबैलाई ‘कन्सपिरेसी थ्योरी’मा विश्वास नहुन सक्छ । षड्यन्त्र सुँघ्नेमा सबैको घ्राण शक्ति एकै नाशको नहुन सक्छ । यसपाली जसरी घटनाक्रम विकास भएका छन्, तिनको विश्लेषण गर्दा पनि सेटिङ थ्योरी जबर्जस्ति स्थापित छ । त्यसैले पनि यसको बढी चर्चा हुन्छ ।

संविधानले संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई कहीँ कतै दिएको छैन । तरपनि प्रधानमन्त्री ओलीले संसद विघटन गरे । असंवैधानिक विघटन सर्वोच्च अदालतले उल्टाउन सक्छ भन्ने प्रधानमन्त्रीलाई थाहा नहुने कुरै भएन । तर पनि के ठानेर विघटन गरे ? केको हिम्मतले गरे ? त्यसै त पक्कै गरेनन् होला । मिलाउने ठाउँमा मिलाएरै विघटन गरे होलान् ! कहिं न कहिं सेटिङ्ग नभै यस्तो कसरि हुन सक्छ भन्नेहरुको ठूलो संख्या छ । यस्तै तर्क-वितर्कबीच मानिसहरूले सेटिङ थ्योरी पत्याएका हुन् । कन्सपिरेसी थ्योरीलाई बल पुर्याउने एउटा महत्वपुर्ण घटना सामन्त कुमार गोयलको बालुवाटार यात्रा पनि हो ।

तपाइँको प्रतिक्रिया

फेसबुक