मंगलबार, मंसिर २१, २०७८

ओली किन यति दम्भी, बदला लिन माहिर ?

ददि सापकोटा२०७७ माघ २७ गते २०:२९

दुई पटक किड्नी फेरेका प्रधानमन्त्री केपी शर्मा ओली स्टेरोईड औषधी नियमित लिन्छन् । मान्छे झुक्याउन उनी जति सिपालु छन् उसैगरि उनले लिएको औषधीपनि उत्तिकै माहिर छ, उनैको शरिरलाई झुक्याउन । यो कस्तो औषधी हो भने अरु मान्छेको मृगौला ‘मेरो होइन, पराईको हो’ भनेर यहि शरिरले चिन्यो भने मृगौलाले काम गर्दैन । आफ्नो शरिरको रोग निरोधक पद्दतीलाई दबाउने काम गर्छ यसले । यदि त्यसरि दबाउन सकिएन भने आफ्नो रोग निरोधक क्षमता (इम्युन) ले नयाँ मृगौलालाई आक्रमण गरिदिन्छ । र मृगौला असफल हुन्छ । त्यसैले मृगौलालाई यो तिम्रै शरिरको अंग हो भनेर झुक्याएर काममा लगाइरहनुपर्छ । त्यो मृगौलालाई झुक्याएर काममा लगाइरहन स्टेरोईड औषधी खानै पर्छ ।

त्यो औषधीले गलत बुझाईदिन्छ । ब्यक्तिमा भएको भन्दा बढि आत्मविश्वास दिलाउँछ । हुन त यो औषधी कोरोना भाईरस हुँदापनि प्रयोग हुन्छ । यो औषधीका धेरै रुप हुन्छन् । दमका रोगीलाईपनि सास फेर्न नसक्ने अवस्थामा यहि औषधी दिनुपर्छ । यो औषधी धेरै खाले रोगसित लड्कालागि प्रयोग गरिनाले ‘लाईभ सेभिङ’ (जिवन रक्षक) भनिन्छ । कुनैपनि बेला अन्य औषधीले काम गरेन भने यसले काम गर्छ । यसलेपनि काम गरेन भने खत्तम हुन्छ जिवन । यो औषधीको स्वभावनै ब्यक्तिमा भएको भन्दा बढि आत्मविश्वास दिलाउनु हो । तर के केपी ओली यहि औषधी लिने गरेकाले यस्ता हठि, भएको भन्दा बढि आत्मविश्वासी भएका हुन् त ? उनलाई नजिकबाट चिन्नेहरु वंशाणुगतरुपमै उनमा यस्तो स्वभाव आएको बताउँछन् ।

उनी यतिबिघ्न दम्भी, प्रतिसोधी हुनुका अन्य कारण छन् । उनी १४ वर्ष त जेलनै बसे । प्रञ्चायती सरकारले चरम याता दियो जेलभित्रै । जेल भित्रै आद्राको टिबी लाग्यो । गतिलो उपचार पाएनन् । फेरि अल्सर रोगले ग्रस्त भए । यो पीडापनि उनले सहे । बल्लतल्ल बाँचे । यतिबिघ्न समस्यासित जुधेका नेता किन ब्यक्तिगत कुण्ठा, पदको स्वार्थ र कुर्सीको मोहमा लागे ? यतिधेरै पीडा र यातनाबाट तड्पिने लाखौं जनता छन् । हो तिनै जनताको हितकालागि काम गर्छु भनेर राजनिति गरेका ओली । जेलको यातना सहेका ओलीमा किन जनता र देशप्रतिको भावना पलाएर नरम, त्यागि र समर्पित बन्न सकेनन् ?

सानै उमेरमा आमा बितिन् । टुहुरो बने । गरिबी र संकटले पढ्न पाएनन् राम्रोसित । खान लाउन पाएनन् । उनमा आक्रोश, अभाव र पीडा छाइराख्यो । पारिवारिक अभावका दुखान्त कथाहरु ब्यहोरेका उनले आफू जस्तै जनताको हितकालागि देशलाई अन्धकारतिर होइन उज्यालोतिर लैजान, देशको सम्पत्ती अनाहकमा खर्चेर देश र समाजलाई अझै कंगाल बनाउन हुन्न भनेर सोच्न नसक्नु बिडम्बना हो ।

पछि गृहमन्त्री हुँदा रक्सी बेस्सरि पिउने गरेपछि मृगौला खत्तम भएको भनाई ओलीलाई जेलमा अनेक सहयोग गरेका पुराना नेता राधाकृष्ण मैनालीको छ । उनले यो पटक पटक बताउँदै आएकै छन् । जेहोस, दुबै मृगौलाले काम नगरेपछि उनमा फेरि हतास मानसिकता, केहि गर्न पाइन, नपाउने भएँ भन्ने सोचको विकास हुनेनै भयो । उनले यहि पीडा देशका निमुखा जनतासित किन दाँज्न सकेनन् ?

डेढ दशकभन्दा बढि समय माधव नेपाल पार्टीको महासचिव भएर पार्टी चलाए । माधव नेपालले यिनलाई नजिक पर्न दिएनन् । ओलीले चाहेर पनि गतिलो पदमा उनी पुग्न पाएनन् । नेपालले न्याँकेको न्याक्यै गरे । त्यसलेपनि उनलाई क्रोधी बनायो । बदलाको भाव सन्चित भैरह्यो । तर आफू देशको सर्बोच्च पदमा पुगेपछि यस्ता गलत कुराहरु के उनले त्याग्नुपर्ने होइन र ? तर अरुबाट देखे भोगेकै गलत कुरालाईनै उनले किन सिरोपर गरिरहे ?

जनयुद्द बिसाएर प्रचण्ड आए । प्रचण्डको हिमचिम कांग्रेस नेता गिरिजा प्रसाद कोइरालासित भयो । यो बेलापनि ओली अगाडि ल्याइएनन् । एमालेबाट झलनाथ खनाल, माधव नेपालनै अगाडि देखिए । प्रचन्ड र कोइरालाको सहकार्य हुँदापनि पछि बस्थे ओली । जब माधव नेपालको नेत्रित्व हट्यो फेरि झलनाथ खनाल अगाडि देखिए । यहाँपनि ओली पछाडीनै परे । यसरि पहिलेदेखिनै ओलीलाई खरो बनिरहने वातावरण बन्यो ।

महाकाली सन्धि गर्दा पार्टीको पक्ष लिएका थिए ओलीले । त्यो बेला उनको पार्टी महाकाली सन्धी गर्नुपर्छ भन्ने बहुमतमा थियो । महाकाली सन्धी छिटोभन्दा छिटो गर्नुपर्छ भन्ने पक्षमा थिए उनी । यहि बेला ओलीलाई भारतीय पक्षले आफ्नो खेमाको भनेर राम्रोसित बुझ्यो । वा ओलीले त्यो भक्ति देखाउन सके । अर्थात् भरतीय पक्षसितको सहमतीमै ओली महाकाली सन्धीका पक्षमा कस्सिएर लागेकापनि हुनसक्छन् ।

ओली पछाडि थिए धेरै नेता भन्दा । अगाडि देखिएका झलनाथको बिरोधलाई काट्न, टक्कर दिन ओलीलाई अगाडि ल्याइयो । किनभने झलनाथ खनाल भारत बिरोधी थिए । ओली भारतका समर्थक देखिए । महाकाली सन्धी तत्कालै गर्नुपर्छ भनेर ओलीले भारतीय पक्षसित निकटता र विश्वासिलो बन्ने जालपनि फ्याँकिरहेका थिए ।

जब पार्टीमा अगाडि आए त्यसपछि पहिलेका सबै कुण्ठा, तुस, प्रतिशोध बल्झियो ओलीमा । उनले माओवादीसित पार्टी एकता पार्टी हेरेर, देश र जनताको हित हेरेर गरेकापनि होइनन् । प्रचण्डसित मिल्न सके प्रधानमन्त्री बन्न सकिन्छ भनेर गरेका हुन् । प्रचण्डसितको आन्तरिक संझौता अनुसार दुई वर्ष प्रधानमन्त्री हुने त पककापक्की भैहाल्यो । यताउति पारेर अर्को दुई वर्षपनि प्रधानमन्त्री मै खान्छु भन्ने उनमा लोभ पलाइहाल्यो ।

संकिर्णपनि छन् ओली । इख राखिरहन्छन् । वर्षौं पहिले कसैले केहि नमिठो बोलेको, आरोप लगाएको, उनलाई मन नपर्ने केहि गरेको भए त्यो प्रतिसोध साँचेर त्यस ब्यक्तिलाई अहिले पनि पेलेको पेल्यै गर्छन् ।

एउटा प्रसंग यहाँ स्मरणिय हुनसक्छ । केपी र बिध्या भण्डारीको फोटो जोडेर जनआस्था साप्ताहिकले वर्षौं पहिले न्युज लेखेको थियो । धेरै वर्षपछि एउटा भोजमा जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई भेट्दा त्यो तुस पोखेका थिए ओलीले । त्यो बेला देखिको तुस साँधेर प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्षबाट किशोर श्रेष्ठलाई हटाउने निर्देशन दिएका थिए । पछि श्रेष्ठलाई सर्बोच्च अदालतले पूनर्वहाली गरिदियो । किशोर श्रेष्ठलाइ ओलीले हटाउँदा उनको कार्यकाल सकीनै लागिसकेकोले उनी यसैपनि बाहिरिँदै थिए । तर आफ्नो आलोचना गर्नेलाई एक दिनपनि पदमा देख्न चाहेनन् ओलीले ।

भन्न त ओलीलाई आफ्नै सल्लाहकारले बिगारे भन्नेहरुपनि प्रशस्तै छन् । तर सल्लाहकारले बिगारेका होइनन् उनलाई । उनको निकट रहेर संगत गरेकाहरु त्यसै भन्छन् ।

ओलीको सबैभन्दा ठूलो हतियार भनेकै उनमा छिपछिपे ज्ञान छ हरेक विषयको । गम्भिर ज्ञान भने कुनैपनि विषयमा छैन । टापटिपे, छिपछिपे ज्ञानले हरेक विषयको ब्याख्या गर्ने, विशेषज्ञ बन्न खोज्छन् । उनको सबैभन्दा ठूलो कमजोरीनै त्यहि छिपछिपे ज्ञान नै अन्तिम ज्ञान हो भन्ने भ्रम हो । उनले जे भन्यो त्यसमा ‘सहि, ठिक हो’ भन्नुपर्छ । त्यो ब्यक्तिलाई अति रुचाउँछन् । जसले असहमति जनाउँछ त्यो ब्यक्ति ओलीको नजरमा दुस्मन बनिहाल्छ ।

“केपी ओलीबाट काम लिनु छ भने पेलेर संभव हुन्न । उनलाई हौस्याउनुपर्छ” धेरै पटक भनेका छन् राधाकृष्ण मैनालीले ।

नेपाली राजनितिमा यदि कसैले ओलीलाई राम्रोसित चिनेको छ भने त्यो ब्यक्ति राधाकृष्ण मैनालीनै हुन् । राधाकृष्ण मैनालीले काखमा राखेर दुध पिलाउने गरेका थिए जेलमा बस्दा ओलीलाई । मैनालीले जेल प्रशासनबिरुद्द हड्ताल गरेर मासु खुवाउने, हडताल गरेरै ओलीको उपचारको ब्यवस्था मिलाउने गरेका थिए । वास्तवमा ओलीको जिवन राधाकृष्ण मैनालीलेनै बचाएका थिए भन्नेहरु धेरै छन् । आफू बाँचेपछि जो भेट्न आउँछ ओलीलाई उसले ‘तपाईलाइ के उपहार ल्याइदिउँ’ भनेर सोध्दा ओलीले ‘सबैभन्दा अग्लो र मोटो मान्छेलाई मिल्ने कुर्था सुरुवाल ल्याइदिनु’ भन्ने गरेको धेरैले स्मरण गर्छन् । आफ्नो जिवन बचाइदिएकाले मैनालीप्रति पहिले उनको त्यति धेरै श्रद्दा थियो ।

ओलीलाई तर्साएर काम लिन सकिन्न भन्ने बुझेपछि भारतले पछिल्लो समयमा आफ्नो रणनिति बदल्यो । ओलीको यहि कमजोरी बुझेपछि उसले ओलीलाई उक्साउन थाल्यो । ‘तपाईको संसारले चर्चा गरेको छ । नेपालमा तपाईले गर्दा धेरै विकास भएको छ । तपाईलाइ विश्वले मानेको छ । तपाइ जस्तो उच्च कोटीको नेता एशियामै अर्को छैन । आफ्नै पार्टीकाले नमान्ने ?’ भनेर उक्साइदिएपछि ओली उक्सिए ।

तपाईले चुनाव लड्नुभयो भने तपाईलाई दुई तिहाईले मान्छ । चुनावमा जानुस् दुई तिहाई आउँंछ भनेर भारतीय गुप्तचर ‘र’ का अधिकारीहरुलेपनि उक्साउन थाले । उक्सिएका ओलीले जसले आफ्नो खेदो खनेको थियो उसैले प्रशंसा गर्न थालेपछि भारतीय पत्रकारलाई बोलाईबोलाई प्रधानमन्त्री क्वाटरमै स्वागत गर्ने, अन्तर्वार्ता दिने गर्न थाले ।

ओलीले पछिल्लो पटक दरबारमार्ग अगाडिको आमसभामा उट्पट्याङ कुरा बोलेनन् । त्यो दिन पहिले झैं उट्पट्याङ कुरा नबोल्दा, उखानटुक्का हालेर अरु नेताको खेदो नखन्दा उनको इमेज, सकारात्मकता, आत्मविश्वास घटेको भनेर बिश्लेषण गरियो । किन त ? उखानटुक्का नगरि नहुने रहेछ । दुनियाँलाई हँसाउने, उखानटुक्का हाल्ने, अरुको खेदो खन्ने गर्नुनै उनको छबी बनिसकेको यसबाट बुझ्न सकिन्छ ।

भानुभक्त आचार्य, महेश बस्नेत, पद्मा अर्याल, उर्मिला अर्याल खासै प्रभावशाली, नाम सुनिएका, जनताको नेत्रित्व गर्न सक्ने नेता त थिएनन् । तर तिनैलाई टपक्क टिपेर ल्याए र मन्त्री पद थमाइदिए ओलीले । किन ? यिनले बिगतमा ओलीलाई गाह्रो हुँदा सहयोग दिएका थिए । हो त्यहि पुरानो गुन ओलीले भुलेनन् र क्षमता होइन गुन हेरेर मन्त्री बनाइदिए । जसले आफूलाइ बिगतमा साथ र सहयोग दियो उसलाई सकेको सहयोग र साथ दिन्छन् ओली । देशको चिन्ता भन्दा ब्यक्तिगत प्रशंसा र गुन हेर्ने ओलीको बानी हो ।

ओली प्रशंसाका भोका हुन् । उनलाई ‘तपाई त यस्तो महान, यस्तो दिग्गज नेता’ भनेर उचालिदिनुपर्छ, फुरुंग पर्छन् । ओलीको प्रशंसा गरे जस्तो फाइदापनि लिन सकिन्छ । ‘यो त गलत हो, भनेर उनकै हितकोलागि भनिदिएपनि त्यो मनै पराउँदैनन् । त्यो ब्यक्ति ओलीको सूचीमा वैरी दरिन्छ ।

अख्तियार प्रमुख आफैंले नियुक्ति गरेका छन् । प्रधानन्यायधिश आफैंले नियुक्त गरेका हुन् । भारत आफ्नै पक्षमा छ । चीनलाई कन्भिन्स गरिहाल्छु नी भन्ने पक्षमा ओली पुगेका छन् । गृह, सेना, जनता, पार्टी, छिमेकी भारत सबै आफ्नै पक्षमा छन् । त्यसैले, यो निर्वाचन जित्छु भन्ने भएको छ अहिले ओलीलाई ।

तपाइँको प्रतिक्रिया

फेसबुक