शुक्रबार, चैत १६, २०८०

झाँक्रीको गिरफ्तारी : प्रतिशोध र राज्य आतंकको अभ्यास

नेपालप्लस प्रतिनिधि / काठमाडौं२०७७ माघ २९ गते १४:२६

केपी ओली सरकारले रामकुमारी झाँक्रीलाई गिरफ्तार गरेर फेरि एकपटक प्रतिशोधपूर्ण राजनीतिक चरित्र र अभिव्यक्ति स्वतन्त्रता विरुद्धको तानाशाही अभ्यास देखाएको छ । नेपाल कम्युनिष्ट पार्टी भित्रको विवाद र झगडा चरम चुलीमा पुगेको अवस्थामा स्थितिलाई अझ धमिल्याएर गूटगत स्वार्थ पूरा गर्ने नियत पनि ओली सरकारको देखिन्छ । प्रधानमन्त्री केपी शर्मा ओली र उनको गलत काममा हतार हतार सही थापेर राष्ट्रपति जस्तो सर्वोच्च संस्थालाई विवादको भूमरीमा धकेल्ने वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई हाकाहाकी प्रश्न गर्ने रामकुमारीहरुलाई आतंकित बनाएर राज्यले विरोधीको मुख थुन्ने प्रयास गरेको हो ।

पार्टी भित्रको झगडालाई मिलाउन नसकेपछि केपी ओलीले संविधानको बर्खिलापमा प्रतिनिधि सभाको विघटन गरे । प्रतिनिधि सभा विघटन हुनुअघि पनि हठात् संसदको अन्त्य गरिदिएर अध्यादेश मार्फत् काम गर्ने उनको शैली विवादास्पद बनेको थियो । राष्ट्रपतिको धाप पाएका ओलीले प्रतिनिधि सभा विघटनपछि धमाधम संवैधानिक निकायका नियुक्तिदेखि लिएर आफूलाई गर्न मन लागेका सबै काम निर्वाध रुपमा गरिरहेका छन् । अनौठो त के भने संसद विघटित छ । उनी भने आफूलाई निर्वाचनसम्मको कामचलाउ प्रधानमन्त्री मान्दैनन् । उनलाई अझै दुई तिहाई निकटको प्रधानमन्त्री हुँ भन्ने भ्रम छ । त्यसैले रामकुमारी झाँक्री जस्ता उनको काममाथि प्रश्न गर्ने र सडकबाट विरोध गर्ने कसैलाई पनि उनी देखि सहन्नन् । ओलीले यो निर्वाचन गराउने नाटक मात्रै गरेका हुन् भन्नेहरुलाई उनकै कामले बल पुर्याएको छ । घटनाक्रमले पुष्टि गरेका छन्, ओली क्रमश : तानाशाह बन्ने अभ्यासमा छन् ।

रामकुमारी झाँक्रीलाई जुन पत्र थमाएर गिरफ्तार गरिएकोछ, त्यो आफैमा गलत छ । धारा ५८ मा लेखिएकोछ ‘कसैले नेपालको राष्ट्रपति वा संसदलाई संविधान तथा कानून बमोजिम गर्नुपर्ने कार्य सम्पादन गर्नबाट रोक लगाउन वा वन्चित गर्न वा कुनै खास तरिकाबाट कार्य सम्पादन गर्न वाध्य गराउन कुनै किसिमको बल प्रयोग गरी वा नगरी कुनै किसिमको धम्की दिन, डर वा त्रास देखाउन वा अन्य कुनै किसिमले दबाब दिन हुँदैन । २ को उपदफा १ बमोजिम कसूर गर्ने वा गराउने व्यक्तिलाई सात वर्षसम्म कैद वा सत्तरी हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।

अब हेरौं, रामकुमारी झाँक्रीको विवादास्पद भनिएको गोर्खाको भाषणमा राष्ट्रपतिलाई कार्यसम्पादन गर्न नदिने खालको भाषण कस्तो थियो ? झाक्रीले भनेकी थिइन्, ‘राष्ट्रपतिका कुरा त के गर्नु र ? बडामहारानीले चुनाव हुन्छ भन्नुभएछ। बडामहारानीलाई गोरखाबाटै सन्देश दिन्छु। शितल निवास छाडेर कोटेश्वर फर्किए हुन्छ। चाबहिल हो कि बानेश्वर कता घर छ र रु त्यता पनि नभए बालकोट नै गए पनि हुन्छ। नेपालको कुन जिल्लाबाट चुनाव लड्ने हो लड्नु, तर बडामहारानीका लागि  म पनि भारी हुन सकौंला। बडामहारानीविरुद्ध यहीँ कि रेखा लोप्चनलाई चुनाव लडाउँला। जनताको अधिकारमाथि गिद्धे दृष्टि लगाएर शितल निवासमा बडामहारानीको बास भएको छ। हामीले असंवैधानिक कदम किमार्थ स्वीकार नहोस् भनेका थियौँ । नेकपा एमालेले २०५० सालमा गरेको निर्णय गम्भीर भूल थियो । मदन भण्डारीको हत्यापछि सेतो साडी लगाएर चुनावमा उठाउने नेकपा एमालेले जुन संस्कृति सुरू गरेको थियो, जे गरेको थियो, त्यसको प्रतिउत्पादक हो विद्या भण्डारी । विचार सिद्धिएपछि कपाल, नाक, लुगा, देखाएर राजनीति गर्दा कुरो बिग्रिन्छ । विद्यालाई दोस्रो पटक राष्ट्रपति नबनाऊँ भनेर हामीले नेताहरूको दैलो चाहर्यौं । तर हाम्रा कुरा कसैले पनि सुनेनन् । आजको दुर्भाग्य त्यहीकारण हामीले भोग्नु परेको छ।’

विद्यार्थी आन्दोलनदेखि लोकतन्त्र प्राप्तिको युद्धमा अग्रज मोर्चामा सहभागी रामकुमारी झाँक्री मात्र हैन हरेक नेपाली नागरिकलाई यति प्रश्न गर्ने अधिकार छ ।

मदन भण्डारीको निधनपछि कृष्ण प्रसाद भट्टराईलाई हराउन ‘विद्या भण्डारीको सेतो सारीमा अबिर छर्किएको हुँ’ भन्ने काठमाडौं महानगरका मेयर केशव स्थापित अहिले केपी ओलीकै समूहमा सामेल प्रदेश सांसद छन् ।

प्रधानमन्त्रीको कदम संविधानको मर्मको खिलाफ भएको जनताले देखे बुझेकाछन्, यद्यपी यसको फैसला अदालतले कसरी गर्ने हो ? हेर्न बाँकी नै छ । राजनीतिक एजेण्डाहरुको समाप्तिपछि केपी ओलीको आरती उतार्न अरिंगालहरुको कुँदाकुँद त जगतले देखेकै छ ।

निर्मला पन्त र भगिरथी भट्टको हत्यारा पत्ता लगाउन यौटा वक्तव्य समेत जारी गर्न नसक्ने ओली मातहतको अखिल नेपाल महिला संघका नेतृहरु सत्तालाई रिझाउनकै निम्ति रामकुमारी झाँक्रीको गिरफ्तारीको आव्हान गर्दै गृहमन्त्रालय धाइरहेका छन् । देश पूर्णत अराजक मोडमा उभिएको छ । त्यो अराजकताको भूमरीमा हाल्ने काम स्वयम् प्रधानमन्त्री केपी शर्मा ओलीले गरिरहेका छन् । उनी स्वयम् कानूनको मर्यादामा बस्दैनन् । नैतिकताको मर्यादामा नबसी मानमर्दनका विष गोला प्रहार गरिरहेका छन् । तर आफूप्रति असहमत विचार राख्नेहरुलाई मर्जीको धारा, मर्जीको ऐनमा फसाउन उद्यत छन् । उनकै ठाडो आदेशमा यस्ता कृत्यहरु भैरहेबाट मानिसहरुले पंचायती कालखण्डको सम्झना गरिरहेकाछन् ।

राजा वीरेन्द्रलाई चुनौति दिएर मदन भण्डारीले ‘आँखा नझिम्क्याइबक्स्योस् महाराज’ भन्दै हिम्मत भएर चुनावमा उत्रेर जित्न लल्कार्दा संवैधानिक राजतन्त्र भएका बेला मर्यादा उल्लंघन भएको मानिएन । अहिले उनै मदनको शहादतको कारण राष्ट्रपति हुन पुगेकी उनकै पत्नी विद्यादेवी भण्डारीले पतिका हत्यारा खोज्नु त कता हो कता उल्टै शीतलनिवासमा बसेर देखिने गरी गूटको राजनीति गरेर मर्यादाको उल्लंघन गरिन् ।

मानिसहरुले त प्रश्न गर्न पनि पाउँछन् गणतन्त्रमा, मदन भण्डारीकी श्रीमती हुनु बाहेक विद्या भण्डारी खास योगदान के हो ? अष्टलक्ष्मी शाक्य जस्ता जनजाति महिलाहरु जो जीवनभर भण्डारी रहेकै पार्टीमा लडिरहे, किन उनीहरुको हुर्मत लिइरहेको छ ओली भण्डारी समूहले ? मानिसहरु त्यहाँसम्म प्रश्न गरिसकेका छैनन् । जुनदिन यो प्रश्नको बौछार हुनेछ, त्यसदिन गणतन्त्रको धुरी पनि हल्लिनेछ । सिंगो राष्ट्रपति जस्तो संस्था बदनाम भएको दिन देश पनि संकटमा पर्न सक्दछ । विडम्वना, न त ओलीले यो बारेमा सोंचेका छन्, न राष्ट्रपति भण्डारीले । बलात्कार पश्चात हत्या गरिएकी भगिरथी भट्टका हत्यारा खोज्न छोडेर राम बहादुर थापाहरु झाँक्रीलाई गिरफ्तार गर्न गएका छन् ।

आज संवैधानिक निकायहरुमा आफ्ना हनुमानहरु भर्ती गरेर ओलीले आफ्नो राजनीतिक अभिष्ट पूरा गर्ने प्रयास गरेका छन् । यो आफैंमा गैर संवैधानिक काम हो र संवैधानिक मर्मको विपरीत पनि । राष्ट्रपति पनि ओलीका हरेक कदममा डटेर साथ दिएको देखिन्छ । अख्तियार भन्नुस् या निर्वाचन आयोग, सर्वत्र ओलीको नांगो हस्तक्षेप चलिरहेको छ । निर्वाचन आयोगमा मुद्दा हेरिरहेका मुख्य कर्मचारीलाई गलहत्याएर आफ्नो आज्ञाकारी व्यक्तिलाई लगेर फैसला गर्न लगाइएको छ । जताततै खड्ग प्रसाद ओलीकै मनपरी चल्ने हो भने गणतन्त्र ल्याएकै के अर्थ भयो र ? र रामकुमारी झाँक्रीहरुले यो मनपरीतन्त्रको विरोध गर्न नपाउने ? यसो गर्दा उनलाई जेलमा हालेर फसाउने षडयन्त्र गर्ने ?

यो सोझै तानाशाही कदम हो । इतिहासमा जनबलको अगाडि कसैको दमनले जितेको इतिहास छैन । सिंगो राजतन्त्रलाई उखेलेर फाल्ने जनताले खड्ग प्रसादलाई के बाँकी राख्लान् र ?

झाँक्रीको गिरफ्तारीको संकेत के हो भने भोलि उनी माधव नेपाल, प्रचण्ड लगायत अरु कसैलाई पनि बाँकी नराख्ने हिसाबले अघि बढिरहेका छन् । अझै केहि समय ओलीको दादागिरी चल्नेछ । तर त्यो उनको अन्तिम कदम हुनेछ । समयले ओली प्रवृत्तिलाई इतिहासमा थन्क्याउने नै छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक