शुक्रबार, वैशाख ७, २०८१

महाप्रबन्धकले आफूखुशी वायुसेवाका जीएसए तोक्न पाइन्छ ?

नेपालप्लस संवाददाता / काठमाडौं२०७७ माघ ३० गते २०:४२

जे हुन्छ, नेपाल वायुसेवा निगममैं हुन्छ । अब त नियम, बिधी र आफैंले बनाएको कानून समेत पन्छाएर विदेशमा रहेका वायुसेवाका लागि टिकट बिक्री गर्ने कम्पनी-एजेन्ट, जनरल सेल्स एजेन्ट (जीएसए) को कार्यअवधी समेत एकजना महाप्रबन्धक आफैंले थपघट गर्न थालेका छन् ।

नेपाल वायुसेवाले तोकेका युएइको दुबइ र चीनको गोन्जाओस्थित जीएसएको ५ वर्षे कार्यकाल सकिएको अवस्थामा निगमको बोर्डमा लगेर म्याद थप वा नयाँ एजेन्सी नियुक्त गर्नुपर्नेमा निगमका महाप्रबन्धक डीमप्रसाद पौडेलले आफूखुशी यी दुई जीएसएको म्याद ६ महिनाका लागि थपिदिएका छन् । दुबइमा एन्टा एजेन्सीले नेपाल वायुसेवाको जीएसए पाएको छ भने गोन्जाओमा पनि स्थानीय एक एजेन्सीले पाएको छ ।

जीएसएले नियमानुसार ३ देखि १० प्रतिशतसम्म टिकट काटेबापतको कमिशन शुल्क पाउँछ । यो भनेको वार्षिक हिसाबमा करोडौं रुपैंया आम्दानी हुने स्रोत हो । नेपाल वायुसेवा निगमको दिल्ली, दुबइ र दोहामा जीएसए रहेकोमा अब मलेशिया र जापान(नारिता)मा जीएसए थप्न महाप्रबन्धक डीमप्रसाद पौडेल(प्रकाश) दिलोज्यान दिएर लागेका छन् ।

महाप्रबन्धक पौडेलले पर्यटन मन्त्रालयमा सहसचिव बुद्धिसागर लामिछानेसँगको मिलेमतोमा निगम बोर्डको सहमतीबिनै दुबइ र गोन्जाओस्थित जीएसएको ६ महिने म्याद थप गरिदिएका हुन् । ‘यसमा ठूलै आर्थिक चलखेलको संकेत देखिएको छ- निगम श्रोतले भन्यो ।

तर व्यवहार र निर्णयमा हक्की स्वभावका मानिंदै आएका पर्यटन सचिव यादव कोइरालाले पनि मनखुशी थप गरिएको जीएसएको पदावधीबारे केही प्रतिक्रिया दिएका छैनन् जुन आफैंमा अनौठो देखिएको निगममा महाप्रबन्धक सचिवालयका एक अधिकारीले बताए ।

यसरी आफूसँग हुँदै नभएको अख्तिायर प्रयोग गरेर महाप्रबन्धक डीमप्रसादले जीएसएको कार्यअवधी बढाएपछि बोर्डकै सदस्य समेत चर्को असहमती र बिरोधमा उत्रिएका छन् । बोर्ड सदस्य अच्युतराज पहाडीले निगमको ऐन नियमले नमिल्ने अख्तियार उपयोग गरेकोमा महाप्रबन्धक पौडेलको कदममा बिरोध जनाउँदै ‘नोट अफ डिसेन्ट’ लेखेका छन् ।

महाप्रबन्धक पौडेल भने यो मामलालाई सामसुम गराउन भरमग्दुर लागीपरेका छन् । वायुसेवाको बिनयमावलीअनुसार यसरी जीएसएको कार्यअवधी सकिनुभन्दा ६ महिना अघि नयाँ सम्झौताको निर्णय वा नयाँ पदस्थापनबारे निधो गरिसक्नुपर्ने व्यवस्था छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक