शुक्रबार, वैशाख १४, २०८१

वाहीयात भ्यालेन्टाइन डे

सन्जय घिमिरे / अमेरिका२०७७ फागुन १ गते १३:४४

समय ‘भ्यालेन्टाइन डे’ को छ ।
यो ‘डे’ के हो र किन हो, त्यतातीर मलाइ त्यती जानु छैन ।
यो लेख्न बस्दा म, एउटा नेपाली लोकगीत सुनीरहेको छु –
भिरमा सेती गाई,
तिम्लाइ पाए पो ‘मयाँ’ गाँसौला ,
नत्र जिन्दगी जान्छ यत्तीकै ।

सबैले ‘तिम्लाइ’ पाए कि पाएनन ? मलाइ थाह छैन ।
नपाएर कतीको जिन्दगी यत्तीकै गयो, यो पनि मलाइ थाह छैन ।
वा यो केवल भनीने कुरा मात्र हो, म कसरी भनुँ ?

‘तिम्लाइ’ नपाएर ‘मयाँ’ गाँस्नै नपाएकाहरु कती छन यो दुनीयाँमा, मसँग हिसाब किताब छैन ।
फेरि, ‘तिम्लाइ’ पाएरै पनि कसको के नै पो उधुम भएको छ र ? यो पनि कुरा छ ।
‘तिमी’ पनि सधैं कहाँ ‘तिमी’ जस्ती रहीरहन्छौं र ?

समयक्रममा, न ‘तिमी’ ‘तिमी’ जस्तो, न ‘म’ ‘म’ जस्तो रहीरहन्छौं ।
समयको कुनै क्षणमा, केही समयका लागी तिमी र म मात्र हुन्छौं । तर बिस्तारै अरु, धेरै कुराहरु मिसिदैं आउँछन ।
अनी, हामी भित्र तिमीलाइ ‘तिमी’ जस्तै र मलाइ ‘म’ जस्तै खोज्न र भेट्न पनि मुश्किल पर्छ । हामी भित्र ‘मयाँ’ हराउँछ । र, हामी ‘मयाँ’ खोजेको खोज्यै हुन्छौं ।

अरुहरु चीज मूर्त हुँदै आउँछन, ‘मयाँ’ अमूर्त हुँदै जान्छ ।
अमूर्त हुनुको मतलब, नहुनु होइन । हुन्छ, हुनत । तर देख्ने बित्तीकै वा हेर्ने बित्तीकै ठयाक्कै खुटटीदैन ।
हो कि हो कि जस्तो चाँही भैरहन्छ । एक अर्काका दुखमा मन चसक्क र सुखमा हरक्क भएर पनि आउँछ । तर पनि भनेको र खोजेको बेलामा ठयाक्क भेटिदैंन ।

यसरी नै ‘मयाँ’ बडो दूर्लभ हुँदै जान्छ, हुँदै गैरहेको छ ।
किन यसो भैरहैको छ ?

रजनीश भन्छन – “किनकी आफुसँग जुन चीज छैन र थिएन, त्यही चीज हामी अर्कोलाइ दिन खोजीरहेका छौं” ।
भारतीय दार्शनीक रजनीशको बिचारमा, प्रेममा स्वार्थी हुनु जरुरी छ । स्वार्थी हुनुको मतलब, पहिले आँफै भित्र प्रेमको भण्डार थुपार्नु ।
हो त नी, अनी पो अरुलाइ दिन सकिन्छ त ?

जो चीज आफु सँग छैन, त्यही चीज तपाँइ–हामी अरुलाइ दिन खोजीरहेका छौं । ‘तिमी’ वा ‘उनलाइ’ दिन खोजीरहेका छौं ।
हामी रित्ता घैंटाहरु, एक अर्कालाइ खन्याउन खोजीरहेका छौं ।
हामी मगन्तेहरु, अर्का मगन्तेहरुसँग मागीरहेका छौ ।
माग्दा माग्दै हाम्रो जिन्दगी सकिएको छ ।
न दिनेसँग छ, न लिनेसँग छ ।
हामी गरीब छौं ।

प्रेमका गरीब । ‘मयाँका’ गरीब ।
पैसा गुलाफमा खर्च गछौं ।
व्यापार अर्कोले गर्छ । पैसा अर्कोले कमाउँछ । तपाँइ हामी टक–टकिन्छौं ।
प्रेम हेरेको हेरेकै हुन्छ । गुलाफ व्यापारीले पैसा कमाउँछ ।
अमेरिकामा मात्र भ्यालेन्टाइन डे का बेला २२ बीलीयन डलरको व्यापार हुन्छ, जसमध्ये करीब दुइ बीलीयन डलर त गुलाफको मात्र व्यापार हुन्छ ।

के त्यत्तीको प्रेम छ ?
के को हुनु ?
गुलाफ ओइलाउन समय लाग्ला बरु, प्रेम ओइलाउन समय लाग्दैन ।
अनी के को भ्यालेन्टाइन डे ?

यो त, गरीबहरुको गरीबीको ‘सेलेब्रेशन्’ जस्तो हो ।
जो प्रेममा गरीब छ, उही भ्यालेन्टाइन डे मनाउँछ ।
मान्छले मान्छेलाइ प्रेम गर्न पनि कहीं गुलाफ चाहीन्छ ?
गुलाफको आफनै, अरु नै प्राकृतीक महत्व छ । गुलाफ देखेर म पनि हुरुक्क हुन्छु । तर मान्छेले मान्छेलाइ प्रेम गर्न गुलाफको सहारा लीएको मलाइ मन पर्दैन ।

के गुलाफले प्रेमलाइ बचाउँछ ?
अहँ, के को बचाउनु ?
गुलाफ आँफै मर्छ क्षणभरमा, हाम्रो प्रेमलाइ त्यसले के बचाओस जुनीभर ?
तथ्यांकहरु भन्छन– भ्यालेन्टाइन डे मा महिलाले भन्दा दोब्बर बढी खर्च पुरुषहरुले गर्छन उपहार किन्न वा आफना मनपर्दाहरुलाइ खुशी बनाउन ।

म त सोच्थे- महिलाहरु बढी प्रेमका भोका र गरीब छन । होइन रहेछ । प्रेममा पुरुष बढी गरीब रहेछन ।
हुनत, पुरुष वा महिलाको कुरा होइन, खासमा अहिलेका मान्छेमा अरु भौतीक सम्पतीको गरीबी होइन, प्रेमको गरीबी छ ।
एउटा गुलाफ, एउटालाइ दिएर पनि के को दंग हुनु ?
एउटाले हजारलाइ हजार गुलाफ दिओस र एउटालाइ हजारबाट हजार गुलाफ मिलोस निस्वार्थ ( मायाको स्वार्थ बाहेक), तब पो भ्यालेन्टाइन डे ।
एउटा मान्छे, एउटा गुलाफमा तडपीएको छ । अडकिएको छ ।
एउटा गुलाफमा तडपिने जाबो मान्छेलाइ म कसरी धनी भनुँ ?
एउटा मान्छेले सय गुलाफ भेटे र चुमेपनि, सय मान्छेले उसलाइ चुमेको दिन मात्र म त्यो मान्छेलाइ सलाम गर्नेछु ।
६ अर्ब मान्छेमा आफुलाइ चुम्ने सय जना मान्छे नभेटने, प्रेममा एउटा गरीब मान्छेले के को भ्यालेन्टाइन डे मनाउनु ?
वाहियात भ्यालेन्टाइन डे ।

तपाइँको प्रतिक्रिया