शुक्रबार, वैशाख १४, २०८१

पत्रकारत्रय सिंह, गौतम र थापालाई सामुदायिक पत्रकारिता पुरस्कार

नेपाल प्लस२०७७ फागुन ४ गते ९:४५

नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जा) द्वारा स्थापित एक लाख रुपियाँ राशीको सामुदायिक पत्रकारिता पुरस्कार (२०२०) कान्तिपुर दैनिकका वझाङ सम्वाददाता वसन्तप्रताप सिंह, राष्ट्रिय समाचार समितिकी रुपन्देही समाचारदाता नीरा गौतम र नेपाल टेलिभिजनकी दोलखा सम्वाददाता मन्दिरा थापालाई प्रदान गरिने भएको छ ।

इन्जाको आह्वान अनुरुप प्राप्त निवेदनहरुमध्येबाट निर्णायक मण्डलले पत्रकारत्रय सिंह, गौतम र थापालाई पुरस्कृत गर्ने निर्णय गरेको हो । अमेरिकाको भर्जिनिया निवासी पूर्वसञ्चारकर्मी तथा सामाजिक अभियन्ता सुनिता खत्रीले इञ्जा सामुदायिक पत्रकारिता पुरस्कारको प्रायोजन गर्दै आएकी छिन् ।

वसन्तलाई कान्तिपुर दैनिकमा प्रकाशित साइपालका एकै गाऊँका ३०० दृष्टिविहीनहरुको रिपोर्टिङ ‘साइपालको अध्यारो संसार’ र सो समाचार प्रकाशित भएपछि समाचार प्रभावकै कारण आ$$खाको शल्यक्रिया भइ आँखा देख्नसक्ने भएको फलोअप रिपोर्टिङ ‘फर्कियो साइपालमा खुसी’ का लागि सो पुरस्कार प्रदान गरिएको हो ।

रेडियोवाट पत्रकारिता क्षेत्रमा प्रवेश गरेका सिंहले विभिन्न सञ्चारमाध्यममा आवद्द रहेर १५ वर्ष देखी वातावरण, पर्यटन, विकास, सुशासन र दुर्गमका स्थानीयको जनजिविकाबारे कलम चलाउदै आएका छन । ‘डुलुवा पत्रकार’ को परिचय बनाएका सिंहले वझाङको विकट समुदायको भ्रमण गरेर थुप्रै खोजमुलक समाचार सामाग्री तयार गरिसकेका छन ।

रुपन्देहीकी नीरा गौतमले सेतोपाटीमा प्रकाशित ‘गर्भमा नै मारिन्छन् छोरी’ शीर्षक समाचारका लागि सो पुरस्कार प्राप्त गरेकी हुन् । तराइमा दाइजो प्रथाको कारण छोरी जन्माउन नचाहने अभिभावकहरुको संख्यामा बढोत्तरी हुँदै जाँदा अहिले कसरी तराइमा महिला र पुरुषको जनसंख्या असमान बन्दै गएको छ र यसले कस्ता दुरगामी असरहरु निम्त्याउँदै छ भन्ने देखाइएको छ ।

रुपन्देहीलाई कार्यक्षेत्र वनाएकी नीरा स्थानीय एफएम रेडियोवाट पत्रकारिता प्रारम्भ गरेर स्थानीय टेलिभिजनहरुमा समेत अनुभव प्राप्त गरेपछि हाल राष्ट्रिय समाचार समितिमा कार्यरत रहेकी छिन् । वुद्धिजममा स्नातकोत्तर तहमा अध्ययनरत नीरा नेपाल पत्रकार महासंघ, सञ्चारिका समुह लगायत थुप्रै स्थानीय संघ संस्थामा समेत आवद्ध छिन् ।

दोलखाकी मन्दिरा थापालाई नेपाल टेलिभिजनमा प्रसारित ‘लकडाउनका समयमा समेत दोलखामा ८ जना महिला तथा वालवालिकामाथि वलात्कार भएको’ रिपोर्टका लागि सो पुरस्कार प्रदान गरिएको हो । लकडाउनका कारण रोजगारीका सिलसिलामा जिल्ला बाहिर गएका मानिसहरु गाऊँमा फर्किएपछि वलात्कारका घटनामा पनि वृद्धि भएको रिपोर्टले देखाउँछ ।

२०६२ देखि पत्रकारिता सुरु गरेकी मन्दिरा एफएम रेडियो, साप्ताहिक र दैनिक पत्रपत्रिका हुँदै विगत १० वर्षदेखि नेपाल टेलिभिजनसंग आवद्ध भएर सञ्चारकर्ममा क्रियाशिल छिन् । ग्रामिण विकासमा स्नाकोत्तर मन्दिराले यसअघि पत्रकारितामा क्रियाशिल भएवापत विभिन्न राष्ट्रियस्तरको पुरस्कार समेत प्राप्त गरिसकेकी छिन् ।

इञ्जाले यसअघि नै खोजी पत्रकारिता पुरस्कार नागरिक दैनिकका संवाददाता टपेन्द्र कार्की र लोकान्तर डटकमका समाचार सम्पादक सुशिल पन्तलाई प्रदान गर्ने सार्वजनिक गरिसकेको छ भने यो वर्षको उत्कृष्ट साहित्यिक कृति पुरस्कार पत्रकार तथा साहित्कार राजेन्द्र पराजुलीद्वारा लिखित संस्मरणात्मक कृति ‘कोटेश्वरको केटो’ लाई प्रदान गर्ने प्रदान गर्ने घोषणा यसअघि नै सार्वजनिक भइसकेको छ ।

इञ्जाले यी तिनै विधाका पुरस्कारहरु आगामी मार्च १ मा काठमाडौंमा आयोजना हुने विशेष समारोहमा प्रदान गर्ने भएको छ ।

अमेरिकाको भर्जिनियामा मुख्यालय रहेको इञ्जा संसारभर छरिएर रहेका नेपाली पत्रकारहरुको साझा नेटवर्क हो । दुइ वर्ष अगाडि गठन भएको यो सञ्जालको एशिया, युरोप र अमेरिकामा आफ्नो महादेशीय कमिटी गठन भइसकेको छ भने अष्ट्रेलिया र अफ्रिकामा पनि महादेशीय कमिटी विस्तार हुने क्रममा रहेको छ । संसारका धेरै मुलुकहरुमा राष्ट्रिय कमिटी विस्तार भइसकेको इञ्जाले संसारभर छरिएर रहेका नेपाली पत्रकारहरुलाई एउटै सञ्जालमा जोड्ने, उनीहरुको व्यवसायिक क्षमतामा अभिवृद्धि गर्ने र संकटमा परेका वेला पत्रकारहरुलाई सहयोग पुर्याउने उदेश्य लिएको छ ।

स्थापनाको छोटो समयमा नै इञ्जाले व्लड क्यान्सरवाट पीडित पत्रकार कमल पौडेलको उपचारमा सहयोग पुर्याउन उल्लेखनीय भूमिका निर्वाह गरेको थियो । कोरोना महामारीका समयमा आर्थिक समस्या भोगिरहेका नेपालका ८० जना पत्रकारहरुलाई इञ्जाले गत दशैं अगाडि फेलिसिप प्रदान गरेको थियो जसले समस्यामा परेका पत्रकारको आर्थिक संकट केही हदसम्म टार्न सहयोग पुगेको थियो ।

तपाइँको प्रतिक्रिया