शनिबार, वैशाख ८, २०८१

विनोदी सर र ती दिनहरु

गोपी सापकोटा२०७७ फागुन ४ गते २२:३९


कवि तथा साहित्यकार गोविन्दराज विनोदी सरलाई मैले पहिलो पटक म कालिका नि. मा. वि. मा पढ्दा जनक मा. वि. मा पढाउने शिक्षकको रुपमा चिनेको हुँ । म त्यस्तै ६, ७ कक्षामा पढ्थें होला । २०४१–४२ साल तिरको कुरा हो । आफूलाई नपढाउने सरलाई नमस्कार गर्नु पर्छ कि पर्दैन भन्ने थाहा थिएन । त्यो सोध्न मिल्ने प्रश्न हो कि होइन र कसलाई सोध्ने भन्ने पनि थाहा थिएन । कहिलेकाहीं कालिका स्कुल वरीपरी देखिंदा सबैजनाले उहाँलाई नमस्कार गर्ने गर्थें । मैले नमस्कार गर्न हुने हो कि होइन भन्ने दोधारमा पर्थें । तर पनि एकछिनपछि मौका मिलाएर जे पर्ला पर्ला भनेर नमस्कार गर्थें । उहाँले नमस्कार फर्काउँदै मुस्काउँदै सोध्नु हुन्थ्यो, ‘ठीक छ ?’

मैले टाउको हल्लाउँथें । उहाँ अरु मानिसहरुसँग कुरा गर्न थाल्नु हुन्थ्यो । म आफ्नो स्कुले झोला बोकेर स्कुलको चौरतिर दौडिन्थें ।

त्यतिखेर लक्ष्मी आचार्य कालिका स्कुलको हेडसर हुनु हुन्थ्यो । सरहरु आपसमा कुरा गर्दा उहाँले विनोदीसर विद्वान र कवि भएको कुरा गर्नु भएको थियो । त्यसपछि मात्रै मैले विनोदीसरले कविता लेख्नु हुन्छ भन्ने थाहा पाएको थिएँ ।
त्यतिबेला विनोदी सरको एउटा सानो साइकल थियो । त्यही साइकल चढेर उहाँ एक ठाउँबाट अर्को ठाउँमा जाने गर्नु हुन्थ्यो । त्यतिबेला मलाई साइकल चलाउन आउँदैनथ्यो । तर पनि मनमनै सोच्थें, उहाँको जस्तो सानो साइकल भए त म चलाउन सक्थें । म मनमनै सपना बुन्थें, अलि ठूलो भएपछि आमालाई भनेर गुवाहटीबाट बुवासंग पैसा मगाएर विनोदीसरको जस्तै साइकल किन्छु ।

बि. सं. २०४२ सालतिरको कुरा हो । एकदिन कलाकार भीमप्रसाद शर्मा सरको घरमा पूजा थियो । हामी त्यहाँ गएका थियौं । हामीलाई संस्कृत पढाउने नारायण नेपाल सर र गोविन्दराज विनोदी सर पनि त्यहाँ आउनु भएको थियो । एकछिनमा त्यहाँ उपस्थित सबैजनाले उहाँहरुलाई कविता सुनाउन आग्रह गर्नु भयो । सबैजनाको अनुरोधलाई सम्मान गर्दै उहाँहरुले त्यहाँ कविता सुनाउन भयो । उहाँहरुले छन्दमा कविता लेख्नु भएको थियो । सुन्दा एकदमै राम्रो लाग्यो । बिषयबस्तु र कुन छन्द थियो भन्ने कुरा अहिले बिर्सें । हामीले स्कुलमा पढ्नु पर्ने नेपाली पाठ्यपुस्तकमा भएका कविताहरु जस्तै थिए उहाँहरुका कविताहरु ।

त्यतिबेला म पनि कविता लेख्थें । कविताको कापी घरमा थियो । मनमनै सोचें, खुर्र दौडिदै घर गएर कविताको कापी ल्याएर म पनि कविता सुनाउँछु भनौं कि । तर त्यतिधेरै मानिसहरु जम्मा भएको ठाउँमा मैले पनि कविता सुनाउँछु भन्न सकिन । त्यतिबेला मैले कविता लेख्ने गरेको कुरा गैंडाकोटमा कसैलाई थाहा थिएन । मैले बाग्लुङबाट गैंडाकोट झर्दा नै धेरै कविताहरु लेखिसकेको थिएँ । एउटा पुरै कापी भरिएको थियो कविताले । तर मैले त्यहाँ त्यो कुरा भन्न सकिनँ ।

विनोदीसरको कविताको सबैजनाले प्रशंसा गरे । मैले पनि त्यही हुलमा मिसिएर धेरै राम्रो कविता भनें ।

जनक मा. बि. मा पढ्न गएपछि बिनोदी सरसँग पहिले भन्दा अलि धेरै भेट हुन थाल्यो । तर कविताको बारेमा उहाँसँग कुरा भएन । उहाँ सायद कक्षा नौ र दशलाई पढाउनु हुन्थ्यो । म आठ कक्षामा पढ्थें ।

त्यस्तैमा एकदिन जनक मा. बि.मा एउटा कविता गोष्ठीको आयोजना गरिएको थियो । मैले सम्झेसम्म विनोदीसरले गोष्ठीमा उद्घोषण गर्नु भएको थियो । मैले पनि एउटा कविता सुनाएको थिएँ । गोष्ठी सकिएपछि विनोदीसरले भन्नु भएको थियो, ‘राम्रो कविता लेख्दो रहेछौ । लेख, धेरै लेख ।’
मेरो विचारमा मैले निरन्तर कविता लेखिरहन्छु भन्ने कुरा विनोदी सरसंग त्यही दिन गरेको थिएँ । सरले प्रोत्साहित गर्नु भएको थियो । सरको प्रोत्साहनले एकदमै खुशी भएको थिएँ म त्यो दिन ।

जनक मा. बि. मा पढ्दा पुष्पराज कोइराला सर प्रधानाध्यापक हुनु हुन्थ्यो । उहाँले पनि झ्याउरे शैलीमा राम्रा राम्रा कविताहरु लेखेर सुनाउनु हुन्थ्यो । बीचमा विनोदी सर स्कूलमा देखिनु भएन करिब दुई बर्षजति । सायद उहाँ अध्ययन बिदामा हुनु हुन्थ्यो । उहाँ अध्ययन बिदामा गएपछि मैले चाहेको जस्तो मेरो र बिनोदी सर बीच कविता र साहित्यको बिषयमा राम्रोसँग कुरा हुन पाएन ।

म कविताहरु लेखिरहन्थें । २०४५ सालमा यस. एल. सी. दिएपछि मेरो कविता लेख्ने गति बढ्यो । विनोदी सरसंग खासै सम्पर्क थिएन । उहाँ आफ्नै काममा व्यस्त हुनु हुन्थ्यो । म आफू केटाकेटी नै छु भन्ने लाग्थ्यो ।

दाजु कृष्णचन्द्र चालिसेले खुब पत्र–पत्रिका पढ्नु हुन्थ्यो । उहाँसंगबाट नै साहित्यिक पत्रिका मधुपर्कको बारेमा थाहा भयो । २०४६ सालमा कृष्णदादाहरुले छाप्ने ‘शहिद’ नामक पत्रिकामा मेरो पहिलो कविता ‘मैले गुप्तचरहरुबाट पाएको सन्देश’ छापियो । सायद विनोदी सर त्यो पत्रिकाको सल्लाहकार हुनु हुन्थ्यो । प्रजातन्त्र आइसकेपछि लेख्न र कवि गोष्ठीहरु गर्न धेरै सहज भयो । प्रजातन्त्र आउनु भन्दा पहिले चाहीं लेखेको कारणले जेल पर्न सकिने कुरा सुन्नमा आउँथ्यो ।

बि.सं २०४७ मा विनोदी सरको ‘मेरो वर्तमानता’ कविता संग्रह छापियो । २०४७ सालमा मेरो ‘आकाश’ शीर्षकको कविता मधुपर्कमा छापियो । त्यतिबेला मधुपर्कमा कविता छापिनु एकदमै ठूलो कुरा मानिन्थ्यो । देशमा खासै धेरै साहित्यिक पत्रिकाहरु थिएनन् । भएका साहित्यिक पत्रिकाहरु पनि काठमाडौंबाट चितवनका पुस्तक पसलहरुसम्म आइपुग्दैनथे ।

२०४७ सालको असार महिनाको कुरा हो । एकदिन म बीरेन्द्र क्याम्पसबाट साइकलमा घर फर्कदैं थिएँ । भृकुटी कागज कारखाना नेर पुगेपछि उताबाट विनोदी सर साइकलमा आउँदै गरेको देखें । मैले उहाँलाई नमस्कार गरें । उहाँले नमस्कार फर्काउनु भयो र भन्नु भयो, ‘बाबु, पख त ।’
मैले साइकल रोकें । उहाँले भन्नु भयो, ‘ल, तिमीलाई बधाई छ । तिम्रो कविता मैले मधुपर्कमा पढें । शहिदमा पनि पढेको थिएँ । राम्रा छन् कविता । लेख, धेरै लेख । पढ, कविताका पुस्तकहरु पढ । लेख्दै गएपछि र पढ्दै गएपछि लेखन बिस्तारै परिस्कृत हुँदै जान्छ ।’
‘हुन्छ सर ।’ मैले भने । मनमनै खुशी भएँ ।

‘खुशी लाग्यो, धन्यवाद सर ।’ भन्न चाहीं मलाई त्यतिखेर आएन । वास्तवमा त्यो दिन भएको विनोदी सरसंगको साहित्य सम्बन्धी कुराकानी हाम्रो दोस्रो पटकको कुराकानी थियो । त्यो भन्दा पहिले उहाँले एउटा कवि गोष्ठीमा कविता सुनाइसकेपछि प्रोत्साहित गर्नु भएको थियो । विनोदी सरलाई चिनेको करिब पाँच वर्षपछि मात्र उहाँसँग अलिकति लामो कुराकानी भएको थियो ।

‘नारायणी कला मन्दिरले मारुनी निकाल्छ बर्षमा एकपटक । त्यो कला मन्दिरको स्मारिका हो । यो बर्षका लागि रचनाहरु संकलन गर्ने काम भइरहेको छ । तिमीले त्यसको लागि एउटा नाटक लेख न ।’ सरले भन्नु भयो ।

म फेरि खुशी भएँ । मेरो अर्को रचना पनि छापिने भयो भन्ने लाग्यो । मैले भने, ‘हुन्छ सर । मैले लेखेर सरलाई दिन्छु ।’
त्यसपछि घर आएर ‘मान्छे’ शीर्षकको एकांकी लेखें । लेखिसकेपछि भोलिपल्ट नै एकांकी लिएर विनोदीसरको घर गएँ । सरलाई देखाएँ । सरले हेरेर ‘ठीक छ’ भन्नु भयो । खुशी भएँ । त्यो नाटक मारुनीमा छापियो ।

त्यसपछि विनोदी सरसंगको मेरो संगत बिस्तारै बढ्न थाल्यो । कविता लेखिसकेपछि साइकल कुदाउँदै विनोदी सरको घरमा जान थालें । मेरा धेरै कविताहरुको पहिलो पाठक र श्रोता विनोदी सर हुनुहुन्छ । उहाँले हेरेर सुझाव दिनु हुन्थ्यो । मैले त्यही अनुसार सच्याउँथे ।

त्यसपछि मेरो मनमा जुनकुनै प्रश्न भए पनि ती सोध्न विनोदी सर कहाँ जान थालें । विनोदीसरले एकदमै माया गर्नु भयो । असल बाटोमा डोराउनु भयो । मेरा हरेक प्रश्न र जिज्ञासालाई सुनिदिनु भयो । प्रश्नहरुको उत्तर दिनु भयो । जीवनमा आफ्ना प्रश्नहरु लिएर कहाँ जाने भन्ने कुरा एकदमै महत्वपुर्ण हो । प्रश्नहरुको सही जवाफ मिलेन भने हामीले हिड्ने बाटो बदलिन सक्छ । विनोदीसरका उत्तरहरुले मलाई सुमार्गमा हिड्न सिकाए ।

तपाइँको प्रतिक्रिया