बिहीबार, वैशाख ६, २०८१

फेरि ब्यूँझन्छ नेपाली चलचित्र- निर्देशक दिपेन्द्र लामा

नेपालप्लस कला डेस्क२०७७ फागुन ५ गते १७:०१

दिपेन्द्र लामा नेपाली चलचित्र क्षेत्रका कुशल निर्देशक हुन् नै, त्यसबाहेक उनी पत्रकारिता फाँटको शीर्ष लहरमा उभिएका पत्रकार पनि हुन् । अमृत साइन्स कलेजमा भौतिक शास्त्रको अध्ययन गरेका लामाले नयाँ सडक दैनिक, नेपाल समाचारपत्र दैनिक, स्पेशटाइम दैनिक, नेपाल पत्रिका, नयाँ पत्रिका, नागरिकका खबरकर्मी, सम्पादनकर्मी हुँदै नयाँ पत्रिका दैनिकको वरिष्ठ उपसम्पादकसम्मको जिम्मेवारी कुशलतापूर्वक पूरा गरेका छन् । लामो पत्रकारिताको अनुभवले खारिएका उनले घामपानी, गोपी, छमाया छपक्कै जस्ता असाध्यै रुचाइएका चलचित्रहरुको निर्देशन गरे । कोरोनाको कारण रोकिएको दुई नम्बरी चलचित्रको फेरि काम शुरु गरिरहेका लामासँग नेपालप्लसले कोरोनाको सेरोफेरो र नेपाली चलचित्र जगतको भविष्यको बारेमा छोटो कुराकानी गरेको थियो ।

सरल स्वाभावका तर विद्रोही चेत भएका, समाजको अग्रगमनको निम्ति कलाको जबरजस्त भूमिका हुन्छ र हुनुपर्छ भन्ने चेत अन्तर्वार्ताको क्रममा उनले अभिव्यक्त गरेका भनाइबाट प्रष्टै झल्कन्थ्यो । कोभिडको कारण चलचित्र क्षेत्रमा परेको असरको बारेमा उनले भने, धेरै तलब लिने नायक नायिका, राम्रै कमाएका निर्माता र पारिश्रमिक ठिकै भएका निर्देशकहरुको हकमा त जीवन राम्रै चल्यो होला कोरोना समयमा । तर, चलचित्र क्षेत्रमा ज्यालादारको रुपमा काम गर्ने श्रमिकहरुको भने विजोगै भयो । विडम्वना नै भनौं,चलचित्रको प्रविधिको क्षेत्रमा काम गर्ने, दैनिक चालकको रुपमा काम गर्ने जस्ता पर्दामा नदेखिएका ज्यालादारहरुको चुल्हो नजल्ने अवस्था भयो ।

चलचित्रमा लगानी गरेकाहरुको पनि डामाडोलै भयो । हलमा जान ठिक्क परेका चलचित्रहरु जान पाएनन् । चलचित्र नचलेपछि कलाकार र प्राविधिकहरुले पारिश्रमिक पनि पाएनन् । सिस्टम नै भद्रगोल भयो । चुल्हो नजल्ने अवस्थाका श्रमिक चलचित्रकर्मीहरुलाई सहयोग नै गर्नुपर्ने अवस्था आयो । सरकारसँग वार्ता गरेर केही रकम छुट्टिएपछि त्यो हात्तीको मुखमा जिरा जस्तो भयो । लामा भन्छन्, हुँदै नहुन भन्दा केही त भयो, केही भयो भन्दा केही लामो समयसम्म टिक्न सहयोग पुग्ने काम हुनै सकेन । यो बडो चिन्ताको विषय हो ।

कोरोनाले थिलोथिलो भएको चलचित्र क्षेत्रलाई वाधा पुग्ने गरी हुन थालेका प्रदर्शन, चक्काजाम, विरोध सभाहरु देख्दा लामालाई नरमाइलो लागेको छ । राजनीति स्थिर भएर समाजमा भद्रगोल नहुँदा त्यसको फाइदा चलचित्र क्षेत्रलाई पनि पुग्छ । तर बन्द हडतालका कारण यसमा अवरोध आउने उनको ठम्याइछ । लामा भन्छन्, जनताले दिएकै थिए पाँच वर्षलाई । आफू भित्रको झगडा मिलाएर समाजमा शान्ति राखे हुने । समाजमा अशान्ति मच्चिदा त्यसको मारमा हामी पनि पर्छौं ।

लामालाई लाग्छ, प्रतिनिधि सभा पुनस्र्थापना भए अझै पनि धेरै कुरा मिल्छ । अदालतले प्रतिनिधि सभा विघटन बदर गरिदिए गरिखानेहरुलाई सजिलो हुने विचार राखेका लामाले भने, “सबैको सहमति नभएर गरिने चुनावले समाजमा झन् विग्रह ल्याउँछ । यो विग्रहको असर गरिखानेहरुमा पर्छ । नेतृत्वले यो सबै कुरा मिलाएर लैजाने क्षमता राख्नुपर्छ ।”

चलचित्र क्षेत्रमा कर व्यवस्थापन निकै ठूलो चुनौति मान्छन् उनी । धेरै कमाउनेहरुले लिए जत्तिनै सरकारलाई देखाएर कर तिर्ने हो भने श्रमिकहरुलाई अप्ठेरो पर्दा सजिलो हुने थियो । पहिलो त के कति श्रमिकहरु छन् यो क्षेत्रमा सबैको लगत राख्नुपर्छ, अनि करको व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्दछ । चलचित्र विकास बोर्ड, प्राविधिक, कलाकारहरुका संस्थाहरुले भविष्यमा निर्माता, कलाकार, प्राविधिक सबै यो पेशामा सुरक्षित हुने योजना बनाइएन भने निराश भएर पलायन हुने स्थिति आउनसक्छ ।

कोरोनाको बेला उनले खुबै पढे । संगीत सुने । संसारभरिका चलचित्रहरु हेरे । काम छुटेको दुई नम्बरी फेरि शुरु भएको छ । दयाहाँग राई, वर्षा राउत, पल शाह लगायतका कलाकारहरु छन् यो चलचित्रमा । उनलाई आशा छ, नेताहरुले जनतालाई सडकमा उतारे । जुलुस गरेका छन् । सबैले कोरोनालाई जितेरै होला । अब हलहरु पनि खुल्छन् । धमाधम चलचित्रहरुको सुटिंग पनि होला । आशावादी लामाको भनाइ थियो, अब फेरि ब्यूँझन्छ चलचित्र । फेरि बन्छन् चलचित्रहरु ।

तपाइँको प्रतिक्रिया