शुक्रबार, वैशाख ७, २०८१

मनपर्दीतन्त्र छ नेपाली कांग्रेस भित्र अहिले – डा. शेखर कोइराला

नेपालप्लस संवाददाता२०७७ फागुन ६ गते ०:५५

photo credit-The Himalayan Times

सर्सर्ती भएको भए नेपालको सबैभन्दा ठूलो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसको महाधिवेशन शुरु भएको हुने थियो । तर भनिए अनुसार सभापति देउवाको असक्षमताका कारण यो सम्भव हुन सकेन । तथापी कांग्रेस पार्टी भित्र नेतृत्वमा पुग्ने रस्साकस्सी भने बितेको एक वर्ष देखीनै चलिरहेको छ । हुन त बुधवार भएको कांग्रेसको केन्द्रिय समितिले बैठकको नयाँँ मिती तोकिसकेको छ । नयाँ मिती अनुसार आगामी भदौ ७ गते देखि १० गते सम्म १४ औं महाधिवेशन हुने छ । कांग्रेस पार्टी बिभिन्न गुट उपगुटमा बाँडिएको भए पनि मुख्यत: चुनावी प्रतिस्पर्धा भने शेर बहादुर समुह र रामचन्द्र समुह मै केन्द्रित हुने छ । तर उम्मेद्वारका बारेमा भने दुबै समुह छलफल मै ब्यस्त छन । केन्द्रिय समितिले चुनावको मिती घोषणा गरेको भए पनि कांग्रेस नितिगत रुपमै बाँडिएको छ । कांग्रेसले प्रधानमन्त्री केपी ओलीको कदमलाई गैर संबैधानिक त भनेको छ । तर यो कदमका विरुद्दमा जानका लागि पार्टी सँग स्पष्ट कार्यक्रमहरु छैनन । सभापति शेर बहादुर देउवा चुनावी तयारीमा लागेका छन भने अर्का नेता रामचन्द्र पौडेल ओली कदमका विरुद्धमा अन्तिम संघर्ष गर्ने मुडमा छ्न । नेपालप्लसले यिनै बिषयहरुलाई जम्मा गरेर भावी सभापतिका रुपमा हेरिएका नेता डा. शेखर कोइरालासँग छलफल गरेको थियो । उनले आफु सभापतिको उम्मेद्वार हुने कि नहुने भन्ने बारेमा छलफल भइरहेको बताए । तर उनले भने- ” सभापतिको उम्मेद्वार बन्ने दौडमा म एक नम्बर मै छु ।

नेपाली कांग्रेसले छिट्पुट केही सभा गर्ने बाहेक अरु के गरीरहेको छ ?

नेपाली कांग्रेसको बुधवार बसेको बैठकले महाधिवेशनको नयाँ मिती तोकेको छ । हामीहरुले त्यसका लागि पनि अब तयारी शुरु गर्नुपर्ने छ । आज पनि बैठक बस्दै छ । प्रधानमन्त्रीको कदमका विरुद्धमा संघर्षका नयाँँ कार्यक्रमका वारेमा छलफल हुने छ । हेरौं कसरी अघी बढ्न सकिन्छ ।

किन भदौमा पुर्याएको त ? जेठमा हुन सक्दैनथ्यो र ?

महाधिवेशन जेठमा गरे पनि भदौमा गरे पनि खास फरक पर्दैन र यसमा विवाद गरिरहनु पर्छ जस्तो मलाई लाग्दैन । मुख्य कुरा के हो भने जिल्लाबाट कृयाशिल सदस्यहरुको फर्महरु केन्द्रमा आइपुग्नु पर्‍यो । यसमा जिल्ला सभापतिहरुको जिम्मेवारी अली धेरै छ । उहाँहरु खट्नु पनि भएको छ ।

अहिलेको राजनैतिक बिकासक्रम जुन हिसाबले फेरिएको छ त्यसले तपाईंहरुको अधिवेशनलाई असर गर्दैन ?

हाम्रो महाधिवेशनलाई लिएर अहिलेको राजनीतिक घटनाक्रम सँग साथीहरुले मतलब राखिरहनु भएको छ । मतलव हुन्छ पनि । तर महाधिवेशन भएन भने त पार्टीको अस्तित्व समाप्त हुन्छ । हामीले ४ वर्षमा गर्नुपर्ने महाधिवेशन नेतृत्वको असक्षमताका कारण आजदेखि पाँच वर्ष नाघ्यो, तै पनि महाधिवेशन अन्योल मै छ । अझै पनि उहाँहरु खुशी नै हुनुहुन्छ भने झन गलत भयो । ल मान्नुस् बैशाखमै चुनाव भयो भने पनि भदौमा अधिवेशन गर्न किन सकिन्न त ।

तर शेर बहादुर देउवा त महाधिवेश अल्ली लामो समयसम्म नगर्ने मुडमा हुनुहुन्छ जस्तो छ नि ?

नेपाली कांग्रेसको महाधिवेशन उहाँ मुडमा भएर हुने र मुडमा नभएर नहुने भन्ने कुरा होइन । यो निती, विधान र प्रकृयाको कुरा हो । यत्रो प्रजातान्त्रिक पार्टी कसरी एउटा ब्यक्तिको मुडमा चल्न सक्छ ? महाधिवेश गर्ने समय घर्की सक्यो । हामीले अब भनेको मितिमा अधिवेशन गर्नैपर्छ । नत्र पार्टीको अस्तित्व समाप्त हुन्छ । हामी सबै संसद पुनस्थापनाको पक्षमा छौं । पुरै देश यही सोचमा छ । तर प्रधानमन्त्रीजीले भने अनुसार हाम्रो सभापतिले पनि बैशाखको चुनावको कुरा गरिरहनु भएको छ । बैशाखमा निर्वाचन गर्नुपर्छ भनेर सभापतिजीको जुन ‘स्ट्याण्ड’ छ यदी निर्वाचन हुन सकेन भने नेपाली कांग्रेसको अस्तित्व कहाँँ पुग्छ ? यस्तो स्ट्याण्ड लिनु भनेको त सरासर देशलाई द्वन्द्वमा लैजानु होइन र ? त्यसो त नेपाली कांग्रेसले द्वन्द्वैमा पनि ज्ञानेन्द्र कालमा अधिवेशन गराएको हो । हरेक अप्ठ्याराका बिचमा पनि अधिवेशन गराउन सकिन्छ । इच्छा शक्ती हुनुपर्‍यो । सभापतिजीमा इच्छा शक्ती छैन ।

सबैले प्रधानमन्त्रिको कदमलाई गैरसंबैधानिक भनी रहेका छन । तपाईंको सभापतिले चुनावको कुरा गर्नु हुन्छ । तपाईंहरुले संघर्ष भन्नुभएको छ । यस्तो बेला पनि किन तपाईंहरु एक भएर जनतामा जान नसकेको ?

एउटा कुरा के बुझ्नुस् भने पुस ५ गतेको कदम असंबैधानिक, अलोकतान्त्रिक, गैरराजनितिक र बद्नियतपूर्ण तरिकाले आएको हो भनेर हाम्रो पार्टीको केन्द्रिय समिति बैठकले निर्णय गरिसकेको छ । कांग्रेसको मुख्य मुद्दा यहि हो नि ।

तर तपाईंको सभापतिले त यो कुरा भनिरहनु भएको छैन !

उहाँले के भनिरहनु भएको छ भन्ने कुरा तर्फ म जान चाहन्न । पुस ५ को कदमका बारेमा पार्टीले जे भनेको छ हामी सबै त्यसैमा छौं । पार्टीले प्रधानमन्त्रीजीको कदम गलत छ जुन सच्चिनु पर्छ भनेको छ । त्यो भनेको संसद पुन्स्थापना हुनुपर्छ भनेको हो ।

पुनर्स्थापना भएन भने के हुन्छ त ?

पुनर्स्थापना भएन भने देश लामो द्वन्द्वमा जान्छ । तथापी म के कुरामा विश्वस्त छु भने संसद पुनस्थापना हुन्छ । मेरो न्यायधिसज्युहरु प्रती न त कुनै आग्रह छ न उहाँहरुलाई संसद पुनस्थापना गर्नुस् भनेर दवाव दिन नै चाहन्छु । तर उहाँहरु विद्वान हुनुहुन्छ । यस विषयमा निर्णय गर्दा संविधानलाई राम्रोसँग केलाएर अगाडि बढ्नुहुन्छ भन्ने मैले विश्वास लिएको छु । यो संबिधानमा कही पनि संसद बिघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई छैन ।

तर तपाईंको सभापतिले त चुनाव नै गरेर प्रधानमन्त्री बन्ने मनशाय राखे जस्तो छ । देश जाय भाँडमा होइन त ?

त्यसरी नहेर्नुस् न । पुनर्स्थापना भए पनि शेर बहादुरजी प्रधानमन्त्री बन्ने चान्सेस छ नि त । नेपाली कांग्रेसको तर्फ बाट प्रधानमन्त्री बन्नुपर्‍यो भने उहाँ नै हो नि । त्यो अवशर पनि छ । तर अधिवेशन गर्न किन डराउने । म त चाहन्छु उहाँ प्रधानमन्त्री भएकै बेलामा अधिवेशन गराउनुस । म डराउने मान्छे होइन । बरु खुशी हुन्छु । अब हामी चुप लागेर बस्दैनौं । धेरै सह्यौं । सभापतिले जे मन लाग्यो त्यही गर्ने । जे मन लाग्यो त्यही बोल्ने । अब चुप लाग्दैनौ हामी ।

सभापतिले गलत काम गर्नु भो भन्ने अहिले लागेको हो तपाईंहरुलाई ?

उहाँले गलत गरिरहनु भएको कुरा पहिल्यै देखि लागेको हो । हामी चुप लागेका मात्रै हौं । निर्वाचनमा पराजित भइसकेपछी बिधान परिवर्तन गरेर अधिवेशनमा जाउँ भनेर हामीले त्यतिबेलै भनेको हो । यत्रो समय उहाँले महाधिवेशनलाई टार्दै आउनु भयो । उहाँले अधिवेशन गराउनै चाहनु हुन्थेन । किनभने उहाँ कमजोर हुनुहुन्छ । उहाँले यो पुरै पाँच वर्ष आँफैलाई कमजोर बनाउनु भयो । जसका कारण पार्टी यो अवस्थामा आइपुग्यो । खोइ त सभापतिजीले बुझेको !

photo credit-The Himalayan Times

अबको महाधिवेशनमा तपाईं सभापतिको उम्मेद्वार हो ?

हामीहरु कसैले पनि घोषणा गरेका छैनौं । साथीहरु बिचमा छलफल चलिरहेको छ । तर म पनि सभापतिको ‘क्यान्डिडेट’ हो । राम्रो सँग छलफल गर्नु पर्‍यो अनी बल्ल एउटा निर्णयमा पुगिन्छ ।

शशांकजी ले त घोषणा गरीसक्नुभयो होइन र ?

होइन त्यसरी घोषणा नै गरिसके जस्तो मलाई लाग्दैन । हामी सल्लाह गरेर नै उम्मेद्बारी दिन्छौं । त्यसमा ढुक्क हुनुस् ।

दाजुभाइको दुइवटा उम्मेद्बारी हुँदैन ?

हामी कहिल्यै पनि दुइटा छैनौं । हामी सधैंं एउटै हौं । कोइरालाहरु एक नै हुन्छौं । अब को उम्मेद्वार हुने भन्ने कुरा रामचन्द्रजी हुनुहुन्छ । सिटौलाजी, प्रकाशमानजी हुनुहुन्छ । र, म पनि अहिले ‘रेस’ मा छु । यसो भनौ सभापतिको दौडमा म पनि छु ।

यो दौडको कुन नम्बरमा पर्नु हुन्छ तपाईं ?

दौडिने मान्छे सधैं एक नम्बरमै पर्न खोज्छ ।

एक नम्बरमै हुनुहुन्छ त्यसोभए तपाईं ?

मलाई त म एक नम्बर मै छु जस्तो लाग्छ । दौडीरहेकै छु ।

भने पछी भदौ पछी नेपाली कांग्रेसले नयाँ सभापति पाउँछ ?

चौधौं महाधिवेशन पछी पार्टी नयाँँ नेतृत्वको जिम्मामा जान्छ । त्यसपछी अहिलेको जुन लथालिङ्ङ स्थिती छ त्यो चिरिन्छ । बिधानमा केही संशोधन गर्न छ भने गर्ने बरु । अनी बल्ल पार्टी चुस्त हुन्छ । अहिले कस्तो भएको छ भने यता ओलीजीले संबिधान मै नभएको कुरा गर्नु भो, हाम्रो सभापतिजिले पनि बिधान मै नभएको कुरा गरिरहनु भएको छ- मनपर्दीतन्त्र छ नेपाली कांग्रेस भित्र अहिले । यस्ता कुराहरुलाई हामीले रोक्छौं । बिधान, निती, नियमहरुको दोहन गर्ने काम हुँदैन ।

भदौ सम्म त अझै बिग्रीसक्ला नि त ?

उहाँले सबै भाताभुंङ्ग पारिसक्नु भएको छ । यहाँँ भन्दा कती बिग्रिने । अब बिग्रिने ठाउँ पनि हुनु पर्‍यो नि । अब बाँकी के छ । संसदिय निर्वाचनमा हार जीत हुन्छ । मैले अन्यथा लिन्न । तर केही गलत कुरा हुँदा त्यसको जिम्मेवारी लिने परिपाटी त हुनु पर्‍यो नि । निर्वाचनमा हार भइसकेपछी हामीले महाधिवेशनमा जाउँ भन्यौं । सबै पदाधिकारीले कानमा तेल हालेर बसे । यस्तो अवस्थाले त पार्टी कमजोर हुन्छ, भएकै छ । नेपाली कांग्रेस कमजोर हुनु भनेको लोकतन्त्र कमजोर हुनु हो । पुस ५ को कदम नेपाली कांग्रेस कमजोर हुनुको परिणाम हो । पुनर्स्थापना भएन भने देश लामो द्वन्द्वमा जान्छ । संविधान धुजा धुजा हुन्छ । पुनर्स्थापना भए बाँचिन्छ । यहि कुरा हामीले नेतृत्वलाई बुझाउन सकिरहेका छैनौं । नेपाली कांग्रेस कडा रुपमा संघर्षमा जानु पर्दछ । प्रधानन्याधिस लागायत बेन्चमा बस्नुभएका सबै न्यायधिसहरुले यो कुरा पक्कै पनि बुझ्नु भएको होला । देशलाई द्वन्द्वमा फसाउनु भएन । निर्वाचन हुने सम्भावना छैन । त्यसकारण पुनर्स्थापना बाहेक अर्को विकल्प हुनै सक्दैन ।

तपाइँको प्रतिक्रिया

फेसबुक