सोमबार, जेठ ३, २०७८

जनसंपर्क समितिका अगुवाहरु पार्टी, सिद्धान्त र आदर्श छोडेर नेताको भक्तिगानमा

नेपालप्लस संवाददाता२०७७ फागुन ६ गते २३:१५

भारतमा रहेका नेपाली कांग्रेस समर्थक तथा कार्यकर्ताहरुलाई मुल पार्टीमा जोड्ने उद्देश्यले सन् १९७६ मा बीपी कोइराला स्वयंले नेपाली जनसंपर्क समितिको स्थापना गरेका थिए । त्यसैलाई पहिलो जनसंपर्क समिती मानिन्छ । यसले नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपुर्ण भूमिका पनि खेल्यो ।

मुल पार्टीलाई अर्थ संकलन, पत्र पत्रीका प्रकाशन लगायत नेपालबाट प्रवासमा पुगेका नेताहरुलाई सुरक्षित वास र बिभिन्न सुचना आदान प्रदान गर्ने काम जनसंपर्क समितिले नै गर्‍यो । पंचायत विरुद्दको आन्दोलनमा जनसंपर्क समितीले पुर्याएको योगदान अझै पनि पुराना कांग्रेसहरुको विषय बन्ने गर्दछ । २०४६ सालको सफल जनआन्दोल पछी ५ वर्ष लगभग शुन्य गतिविधिमा रहेको त्यहाँको जनसंपर्क समिती पुन: २०५३ पछी सकृया भयो । नेपालमा माओवादी द्वन्द्व शुरु भए पछि आश्रय खोज्दै पारी पुग्ने कांग्रेस कार्यकर्ताहरुको लर्को नै देखियो । त्यहि मेसोमा कतिले युरोप अमेरिकालाई आफ्नो गन्तब्य बनाए ।

२०४६ देखि २०५७ को बिचमा नेपाली कांग्रेसका अधिकांश केन्द्रिय नेताहरुको बिदेश भ्रमण भारतसम्म मात्र सिमित थियो । भारतको कुनै शहरमा जनसंपर्क समितिको कार्यक्रमको आयोजना गर्नु र त्यस वरपरका शहरमा पुग्नुमा मात्रै बाँधिएको थियो बिदेश यात्रा । २०५७ सालमा पहिलो पटक बेल्जियममा ध्रुव पौडेलको अध्यक्षतामा जनसंपर्क समिती बेल्जियम गठन भयो । त्यसपछी नेपाली कांग्रेसका दोस्रो दर्जाका केन्द्रिय नेताहरुले कांग्रेसको संगठन बलियो बनाउने भन्दै जनसंपर्क समितिलाई कार्यक्र्म गर्न लगाएर बिदेश घुम्ने मौका पाए । बिदेश यात्राको अवशर, लोभलाग्दा उपहार र गतिलो आतिथ्यताका कारण नै जनसंपर्क समिती विस्तार हुँदै गयो । अहिले बेलायत, अमेरिका हुँदै करिव तीन दर्जन देशमा नेपाली जनसंपर्क समिती कृयाशिल छ ।

कोरोना नभएको भए लगभग एक दर्जन केन्द्रिय नेताहरु जनसंपर्क समितिका कार्यक्रमहरुमा बिभिन्न देशको फन्को मारिरहेका हुन्थे यो बेला । कोरोनाका कारण जनसंपर्क समितीका सम्पूर्ण कार्यक्रमहरु ‘जुम’ मा खुन्चिएका छन् । केन्द्रिय नेताहरु आ-आफ्ना गुटका शुभचिन्तकहरुलाई सम्बोधन गर्न कम्प्युटर स्क्रीनमा झुल्किएका देखिन्छन् ।

सन् १९७६ मा भारतमा स्थापना भएको जनसंपर्क समिती र सन् २००० पछी अन्य देशमा स्थापना भएका समितिहरुको उद्देश्य सर्सर्ती हेर्दा उस्तै देखिन्छ- बिभिन्न मुलुकमा छरिएर रहेका नेपाली कांग्रेसका समर्थक-कार्यकर्ताहरुलाई मुल पार्टीसँग जोड्ने । तर जनसंपर्क समितीहरु पार्टीको मुल आदर्शबाट छुट्टिइसकेका छन् । कुनै एउटा ब्यक्तिले चलाएको सामान्य क्लवका रुपमा परिणत हुँदैछन् । जहाँँ कुनै एउटा केन्द्रिय नेताहरुलाई पच्छ्याउनेको नेतृत्वमा समिती बन्यो भने अर्को पक्षसँगको व्यवहार बिरोधि पार्टीसँगको भन्दापनि तल्लो स्तरको हुने गर्दछ । पहुँचकै आधारमा अर्को गुटका समर्थकहरुलाई नसिहत दिने मौकाको पर्खाइमानै रहेका हुन्छन जनसंपर्कका अभियन्ताहरु ।

खास गरेर जनसंपर्क समितिहरु गुट उत्पादन गर्ने मेसिनको रुपमा प्रयोग भइरहेका छन् । केही समय अघी मात्रै बेल्जियम जनसंपर्क समितिका अध्यक्ष सिता सापकोटालाई निधी गुटले केन्द्रबाटै स्पष्टिकरण मागेर पत्र काट्न लगायो । जब कि केन्द्रिय समितीबाटै पत्र काट्नुपर्ने कुनै गल्ती आफूले नगरेको सापकोटा बताउँछिन् । तथापी अनुशासन समितिलाई उनले स्पष्टिकरण पठाइन । आरोप तामेलीमा गयो । यसले के देखिन्छ भने जनसंपर्क समितिका अगुवाहरु पार्टीको हित र बिदेशमा रहेका नेपालीहरुका बिचमा सहयोग आदान प्रदान भन्दा नेताहरुको ‘मुजुरा’ बन्न रुचाइरहेका छन् । तर सिंगो पार्टी, सिद्धान्त र आदर्श छोडेर एक जना नेताको भक्तिगानमा किन लागिरहेको छु भन्ने कुरा गुटका प्रवर्तकहरुले सम्भवत: बुझेका छैनन् ।

नेपाली कांग्रेस भित्र शायद त्यती गुट नहोलान् जति जनसंपर्क समिती भित्र उम्रिएका छन् । कतिसम्म भने यिनै समितीहरुले आरजु देउवाको पनि एउटा गुट हुर्काइरहेका छन् । त्यसैले पनि बैचारिक रुपमा नेपाली कांग्रेससँग जोडीएका ध्रुव पौडेल, महेश दाहाल, ईन्द्र छेत्री जस्ता ब्यक्तिहरु निकै पर पुगेका छन् । न यिनिहरुलाई पार्टीले खोज्छ न यि कुनै नेताको निगाहमा पर्छन् । अझ बेल्जियममा समिती गठन गरेर तेस्रो विश्वको पहिलो जनसंपर्क समिती अध्यक्ष बनेका ध्रुव पौडेल गुटबन्दिकै कारण गुमनाम भएका छन्। जनसंपर्कका कार्यक्रममा उनी कतै देखिँदैनन् ।

किन यतिधेरै गुट उपगुट बनेका छन् जनसंपर्क समितिहरुमा ? ईन्द्र क्षेत्री भन्छन्- ” कार्यकर्तालाई संरक्षण चाहिन्छ । नेतालाइ समूह चाहिन्छ । त्यहि भएर होला । नेपाली कांग्रेसमा कुनै बैचारिक समूह नभएको हुनाले त्यस्तो देखिएको हो । बिचारको विसर्जन भएपछि गूटहरूको जन्म हुने हो । संसदीय प्रणालीमा ‘अर्ली इलेक्सन’ को जोडदार माग गर्नुपर्ने प्रमूख प्रतिपक्षले विशुद्ध राजनैतिक विषयलाइ संविधानका धारामा टाँसो लगाएर लाजमर्दो ढंगले सत्तारूढ दलका दुइटा गुटका पछाडि लागेको छ । यो बिचारविहिनता नभएर के हो त ? रामचन्द्र पौडेल र गगन थापा खाँट्टी कानूनी वकिलको रूपमा प्रस्तूत भएका छन् । हेर्नुस कस्तो विरोधाभास- उनले थपे – त्यसैले जहाँँ कहिँ गुटहरु जन्मिन्छन् । यता जनसंपर्क समितिहरु अस्तब्यस्त छन् । आन्तरिक किचलो ज्युका त्युँ छ । कती समितिको वर्षौंसम्म अधिवेशन समेत हुन सकेको छैन । केन्द्रले अथवा नेताहरुले यतातर्फ सोचेकै छैनन् ।

अर्कोतर्फ केहि समय अघिदेखि विश्व संजालका नामले एउटा समुह युरोप अमेरिकामा देखिएको छ । जुन रामचन्द्र पौडेलद्वारा संरक्षित छ । यो विश्व संजालका मुखिया अमेरिकामा बस्ने बिष्णु सुबेदी हुन् जो सन् २०१४ मा जनसंपर्क समिती अमेरिकाको अध्यक्ष पदका लागि उम्मेद्वार थिए । तर पराजित भए । जनसंपर्क समितिमा पराजित भए पछी यिनैले विश्व संजाल सुरु गरेका हुन् । यसले अफ्रिका र युरोपमा आफ्नो शाखा समेत विस्तार गरिसकेको छ । जब कि युरोपमा जनसंपर्क समिती युरोप नामले अर्को एउटा समुह पहिले देखिनै अस्तित्वमा छ । तर सकृय भने छैन ।

प्रवासमा नेपाली कांग्रेसका लागि काम गर्ने यती धेरै संस्था हुँदाहुँदै फेरी अर्को संस्था किन आवश्यक पर्‍यो ? विश्व संजालका महामन्त्री चिन्तामणी सापकोटा भन्छन्- ” जनसंपर्क समितिमा काम गरिसकेका र जनसम्पर्कको दायरा भन्दा फरक रुपमा सकृय सबै डेमेक्रेटहरुलाई एकै ठाउँमा जोडेर, पार्टी र देशको लागि केही गरौं भनेर विश्व संजाल गठन भएको हो । विश्व संजाल बिदेशमा राजनीति गर्न होइन । नेपालमा राजनिती सुधार्न हो ।” तथापी यो विश्व संजाल भित्र देउवा समुहको कुनै पनि अनुहार देखिँदैन ।

तपाइँको प्रतिक्रिया

फेसबुक