बिहीबार, वैशाख १३, २०८१

उपन्यास विश्रामपुर सार्वजनिक

नेपाल प्लस२०७७ फागुन ७ गते २३:०६

गजलकार, लेखक तथा पत्रकार पदम गौतमद्वारा लिखित उपन्यास विश्रामपुर बजारमा आएको छ । राजनीति हुँदै साहित्य र पत्रकारितामा लागेका गौतमको पहिलो उपन्यास हो विश्रामपुर । यसअघि उनका फूलको लासमाथि र रगतको शयनकक्षमा कविता संग्रह तथा एकलासको फूल र घाम झुल्कनुअघि गजल संग्रह प्रकाशित छन् ।

राजनीतिले लगातार चुसेको एक देहाती गाउँको कथा हो – विश्रामपुर । उपन्यासका अधिकांश घटना कतै न कतै हरेक दुर्गम गाउँका कथासँग मिल्छन । आन्चालिक शब्द र स्वाद मिसाएर लेखिएको यो उपन्यासमा जनमत संग्रहदेखि यता झन्डै चार दशकको राजनीतिक, सामाजिक र आर्थिक चित्रण छ । राजनीतिले देखाएको सपना र सत्ताले गर्ने सपनाको हत्यापछि पिँधमा रहेका नागरिकले भोग्नुपर्ने भुक्तमानको दस्तावेजीकरण हो – विश्रामपुर ।

उपन्यास लेखिनुको पृष्टभूमिका बारेमा लेखक भन्छन्, ‘यो उपन्यासको भावभूमि र मुख्य विषय तीन–चार दशकअघिका त्यहाँका मान्छेका सपनाको हत्या हो । मैले समाजका सपना र मेरा कल्पनालाई एकै ठाउँमा जोड्ने प्रयास गरें धेरै पटक । पात्र र गाउँ काल्पनिक भएपनि सपना उही हुन्, मान्छेका कथा उही हुन् ।’

सांग्रीला बुक्सले प्रकाशन गरेको विश्रामपुर उपन्यास २७२ पृष्ठको छ । यसको मूल्य ४८४ रुपैयाँ रहेको छ ।

तपाइँको प्रतिक्रिया