बिहीबार, चैत १५, २०८०

विविध निर्णयकासाथ पत्रकार महासंघ युरोपको अधिवेशन सम्पन्न

नेपाल प्लस२०७७ फागुन ८ गते २०:३६

बिभिन्न घोषणा पत्र जारी गर्दै नेपाल पत्रकार महासंघ युरोप शाखाले शनिवार चौथौ अधिबेशन सम्पन्न गरेको छ ।

दिल्ली अम्माई नेतृत्वले भर्चुअल माध्यमबाट गरेको यो अधिबेशनमा बरिष्ठ पत्रकार भगिरथ योगी, प्रमुख अतिथिको रुपमा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तारानाथ दाहाल, नेपाल पत्रकार महासंघ केन्द्रिय समितिका वर्तमान उपाध्यक्ष विपुल पोखरेल र लेखक तथा बिश्लेषक नरेन्द्रजँग पिटर बिशिष्ट अतिथिको भुमिकामा सहभागि हुनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै बरिष्ठ पत्रकार भगिरथ योगीले पृष्ठभूमिमा बसेर आफूले पत्रकार महासंघ युरोप शाखालाई एकिकृत रुपमा लैजान प्रयत्न गरेपनि सफल नभएको बताउनु भयो । केन्द्रको निर्देशन अन्तिम अवस्थामा आइपुग्दा समयमै साथिहरुसँग सहमति र संवाद थाल्न नसकिएको भन्दै उहाँले व्यक्तिगत इच्छा आकांक्षा र इगोहरु भन्दा माथि उठेर महासंघलाई आउँदा दिनमा पत्रकारहरुका हकहितकालागि काम गर्ने साझा थलोको रुपमा बिकास गर्नुपर्ने बताउनुभयो ।

यसैगरी नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तारानाथ दाहालले पत्रकार महासंघको यूरोप शाखा बिधान सम्मत रुपले अगाडि बढ्नुको बिकल्प नरहेको बताउँदै पुरानो पुस्ता देखि नयाँ पुस्ताका पत्रकारहरु अम्माईंजीको नेतृत्वमा रहेकोले यसैले मान्यता पाउने बिचार ब्यक्त गर्नुभयो । उहाँले भन्न्भयो ‘२०३६ सालमा पनि महासंघमा मन्डलेकरण भएको थियो । तर त्यसलाई २०४६ को आन्दोलनले सच्चायो । अहिले ठीक यस्तै अवस्था देखिएको छ । तर पनि म तपाइँहरुको अवस्थालाई नजिकबाट नियालिरहेको छु । जो जो साथिहरुले यो संगठनलाई गरिमाय तरिकाले अगाडि बढाउने हिम्मत गर्नुभयो उहाँहरुको हिम्मतलाई सलाम गर्न चाहन्छु ।’

यसैगरी केन्द्रिय उपाध्यक्ष विपुल पोख्रेलले नेपाल पत्रकार महासंघलाई युरोपमा चिनाउन वैदेशिक शाखाहरुको ठूलो योगदान रहेको उल्लेख गर्नुभयो । केन्द्रमा बसेर हेर्दा बिबादका बिषयका गहिराइहरुमा पुग्न अप्ठेरो परेको आफ्नो अनुभव रहेको बताउँदै उहाँले स्थानिय बिवादहरु स्थानिय तवरमै सल्टाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो ‘बिधान सम्मत तरिकाले अगाडि बढ्दा समस्याको समाधान हुन्छ । केन्द्रको समिति पनि कामचाउ बनिसकेको र आगामी चुनाव सम्पन्न गर्न निर्वाचन समिति बनिसकेको चर्चा गर्दै उहाँले युरोप शाखाको निर्वाचन पनि केन्द्रिय निर्वाचन समितिले नै तोक्ने बताउनुभयो ।

बरिष्ठ पत्रकार तथा समिक्षक नरेन्द्र जंग पिटरले आफू यो या उ गुटमा बिभक्त हुन नसक्ने बताउँदै युरोप रहेका पत्रकारहरुले देशका निम्ति उदाहरणिय भूमिका खेल्नुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो ‘देशले तपाइहरुबाट बिकसित तथा उनन्त युरोपियन मुलुकमा भैरहेका राजनतिक अभ्यासहरु त्यहाँको समाजमा घटीरहेका सकारात्मक परिवर्तनहरु र बिज्ञान तथा बिकासको प्रबिधिका कुराहरु सिक्न चाहन्छ । त्यसैले तपाइहरु आपसी बिबादबाट माथि उठ्न जरुरी छ ।’

एनआरएनए यूरोप लगायत स्थानिय बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुले भाग लिएको उक्त सम्मेलनको अध्यक्षता संस्थाका कार्यवाहक अध्यक्ष दिल्ली अम्माईंले गर्नुभएको थियो । युरोपमा रहेका बिभिन्न बिधामा कलम चलाइरहनुभएका अधिकांश पत्रकारहरुको उपस्थिति रहेको उक्त अधिबेशनमा नेपाल पत्रकार महासंघ युरोप शाखाका महासचिव योगेन्द्रमिलन छन्त्यालले कार्यकय्रम सन्चालन तथा शाखाको पग्रति विवरण पेश गर्नुभएको थियो ।

कारवाहीमा परेका पूर्व अध्यक्ष केजिन राईले सम्पूर्ण हिसाब किताब आफैमा निहित गरेको कोषाध्यक्षले आय व्यवको बिवरण कहिल्यै पनि हेर्न नपाएकोले आर्थिक विवरण भने अधिबेशनमा प्रस्तुत हुन नसकेको कुरा बन्द शत्रमा जानकारी गराइएको थियो ।

यो अधिबेशनले भविष्यमा शशक्त र प्रभावकारी युरोप शाखा गठन गर्न र सवल तथा सक्षम नेतृत्व चयन गर्नका निम्ति भनि घोषणा पत्र पनि जारी गरेको छ ।

घोषणापत्रको पहिलो बुँदा अनुसार दुइ चिरामा बिभक्त शाखालाई एकिकृत बनाएर लग्ने उदेश्यले पाँच सदस्यित नयाँ कार्यसिमति निर्माण तथा सहजीकरण समिति गठन गरेको छ । युरोप शाखाका पूर्व अध्यक्ष महेश थापाको नेतृत्वमा रहेको यस समितिमा बेलायतबाट पत्रकार थानेश्वर सापकोटा, स्विजरल्यान्डबाट पत्रकार लक्ष्मण देवकोटा, बेल्जियमबाट पत्रकार ओम शर्मा र पोर्चुगलबाट पत्रकार योगेन्द्र मिलन छन्त्याल रहनुभएको छ । यो समितिलाई आगामी नेतृत्व चयनका लागि केन्द्रिय निर्वाचन समित र निर्वाचन प्रतिनिधिसँग समन्वय गर्न पूर्ण अधिकार अधिशेनले दिएको घोषणा पत्रमा उल्लेख छ ।

यसैगरी अधिवेशनले कार्यवहाक अध्यक्ष दिल्ली अम्माईँले केहि समय पहिला पठाउनुभएका युरोप शाखाका सदस्यहरुको नविकरण र नयाँ सदस्यता उपलब्ध गराइदिन पनि अनुरोध गरेको छ । केजिन राइको नेतृत्वमा रहेको शाखाले प्रतिशोध साँधेर कतिपय साथिहरुको सदस्यता जानाजान नविकरण नगरिदिएको नविकरण गरेर पनि नविकरण शुल्क भन्दा बढी शुल्क मागेर सदस्यता सम्बन्धित व्यक्तिकै हातमा नदिएको र कतिपय अवस्थामा बितरणमा आर्थिक चलखेल गरेको पाइएको उल्लेख गरेका छन् । त्यस्तै, नयाँ सदस्यता लिनका लागि आव्हानै नगरेको कुरा पनि केन्द्र तथा केन्द्रिय निर्वाचन समितिसित ध्यान आकर्षण गराएको छ । पठाइएको नामावली सदर नभएमा अब आउने नेतृत्व एक पक्षिय रहने र विवाद यथावत रहने पनि जनाइएको छ ।

यसैगरी अर्को बुँदामा केन्द्रको नियमसँग बाझिएका बैदेशिक शाखा सन्चालन नियमावलीहरु खारेज गर्नुपर्ने र वैदेशिक शाखाका हकमा सम्बन्धित देशहरुमा दर्ता हुँदा महासंघको मूल बिधानसँग बाझिन नहुने स्पष्ट निर्देशन दिनुहुन माग गरिएको छ । जसमा बैदेशिक शाखाहरुमा जोडिन आइपुगेका पत्रकारहरुले कुनैपनि राजनीतिका पार्टीका भातृसंगठनको सदस्य बन्न नपाइने नियमलाई कडाइकासाथ लागु गर्नपनि माग गरिएको छ ।

दोस्रो अधिबेशन देखिनै सदस्यता वितरणमा अपार्दशर्तिता र विवाद रहँदै आएको कुरालाई मध्यनजर राख्दै केन्द्रले स्पष्ट सँग सदस्यता छानविन गर्न हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्ने आवस्यकता पनि घोषणा पत्रमा उल्लेख गरिएको छ ।

कार्यक्रममा एनआरएनका युरोप संयोजक नारायण आचार्यले पत्रकार महासंघ युरोप शाखा विभक्त हुँदा आफूलाई नराम्रो अनुभूति भैरहेको बताउँदै एकताका लागि पहल गर्नुपर्ने भए आफूले मध्यस्थाताको भूमिका निर्वाह गर्नसक्ने बताउनुभयो ।

नेपाल पत्रकार महासघ बेल्जियम शाखाका संयोजक ओम शर्माले आफूहरु केजिन राइको नेतृत्वमा रहँदा बिधि बिधानको ठाडै उल्लंघन भैरहेको यथार्थता केन्द्रलाई बारबार जानकारी गराउँदा पनि केन्द्रले कुनै हस्तक्षेप नगरेको बरु गलत प्रबर्त्तिहरुलाई नै प्रोत्साहन दिएकोले बाध्य भएर आफूहरुले लेखनमा सक्रिय साथिहरुको साथमा बिकल्प खोजेको बताउनुभयो । उहाँले भन्नुभयो ‘हामी कुनै पदका लागि लडिरहेका छैनौं । हामी बिधि बिधानको पालना हुन पर्यो र युरोपको शाख बच्न पर्यो भनेर लडिरहेका हौँ ।’

कार्यक्रमको शुरुमै स्वागत मन्तब्य राख्दै स्विजरल्यान्डबाट पत्रकार लक्ष्मण देवकोटाले पत्रकारहरुको हक हितको रक्षा गर्न पत्रकारहरुको दक्षता, अभिबृत्ती गर्न र समाजमा सुचना प्रबाह गर्ने उद्देश्यले स्थापना भएको पत्रकार महासंघ युरोप शाखाको अचेल बिधि र बिधान बाहिर चल्न थालेको महशुस गरेर यसलाई सुधार्न अगादि बढेकोले सुद्दिकरणमा आफू अम्माइँले नेतृत्व गरिरहेको शाखामा जोडिन आइपुगेको बताउँदै भन्नुभयो ‘सँस्थामा आर्थिक पारदर्शिता भएन, केन्द्रलाई पैसा दिने नाउँमा समाजमा मानव तस्कर भनेर चिनिएकाहरुबाट चन्दा उठाउने काम भैरहेको छ । सँस्थाको हैसियत गुमाउँदै शाखा अहिले व्यक्तिको कुन्ठा पोख्ने माध्यम बनेको छ ।’

कार्यक्रममा किराँत समाज बेल्जियम, नेपाली समाज बेल्जियम, गैह्र आवासिय नेपाली संघ बेल्जियम, प्रेस युनियन बेलायत तथा युरोप शाखा, नेपाली जनप्रगतिशिल मन्च युरोप तथा बेल्जियम, नेपाली जनसम्पर्क समिति बेल्जियम लगायत बिभिन्न संस्थाका प्रतिनिधिहरुले शुभकामना व्यक्त गर्दै दुराग्रहहरु त्यागेर युरोप शाखा एकिकृत भएर अगाडि बढेको हेर्ने चाहना रहेको कुरा व्यक्त गर्नुभयो ।

त्यसैगरि, केजिन राई नेत्रित्वको नेपाल पत्रकार महासंघ युरोप शाखालेपनि आजै अधिवेशन गरेको छ । आजै निर्वाचन गरेर आफूलाईनै बिधान बिपरित तेस्रो कार्यकालको अध्यक्ष घोषणा गर्ने निर्णय सार्वजनिक गरेका राईलाई केन्द्रले निर्वाचन अधिवेशन नगर्न निर्देशन दिएपछि उनी खुम्चिएर साधारण अधिवेशन गर्न मात्रै बाध्य भएका थिए । उनले बिभिन्न पार्टीका कार्यकर्ता र स्वतन्त्र केहि ब्यक्तिलाईपनि पत्रकारका रुपमा सदस्यता बाँडेर तिन मध्ये केहिलाई महासंघ युरोपमा बिभिन्न पद दिने र तिनले आफूलाई अध्यक्षमा समर्थन गर्नुपर्ने प्रलोभन बाँड्दै आएका थिए ।

तपाइँको प्रतिक्रिया

फेसबुक