बुधबार, फागुन १९, २०७७

अनन्त उज्यालोतिर पस्ने दैलाका सामू

डा. गोबिन्द राज भट्टराई२०७७ फागुन ८ गते २१:१०

सूर्यास्त नजिक थियो । दिनभरिको उडानले थकित पक्षीहरू परको बाँसझ्याङमा पस्न थाले । रुवा डल्ला जस्ता बकुल्ला पसे, रुप्पी, भँगेरा अधैर्य भए । अरु अनेक प्रजाति यता आँप, कदम, सिमल यस्तै खोजेर हरित पछ्यौरीभित्र पस्न लागे । घर वरिपरिका वृक्षलता ससाना नभचरले ढाक्तै ल्याए । सफा गगनतल छुँदै भाग्ने सितल बतास, वृक्षवरिपरि हल्लिन थाल्यो— त्यो शान्त समीरले श्पर्श गर्दा बैसाख निगल्दो समयमा म प्रशन्न जस्तो भएँ ।

तर प्रशन्न ‘जस्तो’ मात्रै । तत्कालै अब आमा हुनुहुन्न भन्ने भाव यो हृदयमा भरियो । आँखामा पनि भरियो । सन्ध्याको यस्तो बेला घरको पिँढीमा आफू बसेको समयमा सामुन्नेको सानो खाटमा बसेकी आमालाई म सोध्ने थिएँ— यसरी घाँटीभित्रबाट कुनै बाजाको जस्तो स्वर निकाल्ने कुन चरो हो आमा ।

आमा भन्नुहुन्थ्यो— त्यो सीम कुखुरो ।

अनि मेरो सम्झनामा पनि सीम कुखुरो आउँथ्यो होला । ट्वाक ट्वाक ट्वाक टर्र । जस्तो स्वरमा बोल्ने सीम कुखुरो पर्तिर गैरी खेतको सीमभरि नाचिरहेको बथान लिएर हाम्रै मकैबारीमा लुक्न माउहरू आइरहन्थे अथवा धानबारीमा चारो टिप्न साना खालेहरू । मैले देखेको चिनेको छु । सीमसारका यी बासिन्दासँग परिचित छु । तर आमासँगै बोल्न पाउँदा अर्को सुखानुभूति मिल्छ । त्यसैले कति कुरा नजाने जस्तो गर्छु— यो बाच्छी कति महीनाको भयो आमा ? अब कैले लघारिन्छ होला, अथवा यो पहेँलो फूलको विरुवा कहाँदेखि ल्याएको आमा । अथवा घरमा चिउरा छ छैन आमा ।

सबैको उत्तर थाहा छ । तर आमाको मुखबाट सुन्ने रहरले धेरै दिनपछि भेट भएकी आमालाई पनि कति कति कुरा मसित गरौँ लागेको होला भन्ने कल्पनाले आफू पनि यति दिनका काठमाडौँदेखिका कुरा बोकेर लगेको आमालाई सुनाउँला भन्ने रहरले म नजिक बस्थेँ । तर आज आमा नभएको घरीको सन्ध्या अतीव उदास लाग्दैछ ।

आमालाई अलिकति घुर्क्याएर उहाँको माया पाउन कति आनन्द आउँछ ? अलिकति फकाएर, अलिकति रिसाएर आमासामु प्रस्तुत हुँदा कसरी एउटा अति कोमल संसारको दैलो उघ्रिएको लाग्छ ? आमा त्यसरी पघ्रेको क्षणले कत्रो आनन्द ल्याउँछ । आज आमा भएकी भए यी बाँसझ्याङतिरका पक्षीे गाएको सुन्दै म भन्थेँ— दिनभरि आज क्यै खाने अनुकूल परेन आमा, बजार गएँ मात्रै ।

आमाको मनलाई द्रवित गराउन त्यत्तिले पुग्छ ।

आज पनि सबै छन् घरमा । तर आमा हुनुहुन्न । कसरी आमा र मेरो मन संवाद गरिरहन्थे । अरुसँग बोल्न ता कि आवाज गर्नुपर्छ कि मेसेन्जरमा लेख्नुपर्छ । शब्द कुदाकुद गर्छन् । तर हृदयको बाणी संकेतका भरमा प्रकट हुँदैन । आमासँग नबोल्दा पनि संवाद भइरहेको हुन्थ्योस । म कल्पिन्थेँ, ईश्वरसितको सामिप्य यस्तै हुँदो हो ।

म कुर्सीमा बसेर गम्दै थिएँ । आमाको सम्झनाले यो सिकुवा भिजेको छ । यो आँगन, त्यो चुलो, अँगेनो, ती भाँडाकुँडा, त्यो फूलबारीको माटो र त्यहाँ हाँस्ने बाटिका सबै मुस्कुराउँथे । पर्तिर करेसामा झार उखेल्दै भन्नुहुन्थ्यो— यो तिमीहरूका बाले हुर्काएको तरुलको बेलो । फलोस् नफलोस् यो ढिस्कनामा मलाई अर्थोक रोप्न मन लाग्दैन । यसमा तिमेर्का बालाई देख्छु ।

बीस वर्षसम्म कसरी एउटा तरुलको बेलो भएर हाम्रा बा त्यहाँ आइरहनुहुन्छ होला ? तर सोध्न सकिन । किनभने आमाको गला अवरुद्ध हुँदै गएको थियो ।

तर आज आमा हुनुहुन्न । यस्तो सन्ध्यामा केही मित्रहरू आए । दमकबजारका वरिष्ठ विशिष्टहरू । हाम्रो ‘गोविन्दसर आउनु भो अरे भन्ने सुनेर भेट गर्न आएका’ भन्दै आफ्नो लक्ष बताए । पाँचैजना सेवा निवृत्तहरू । यो सन्ध्या जत्तिका गाढा बासै बस्ने बेला भएका ता होइनन् । बरु अझै निकै हिँड्न सकिएला भन्ने आत्मबल बोकेकाहरू । एकजना गन्यमान्य त्यत्रो नगरले मानेका, हक्की स्वभावका अग्रणी, अर्का हाइस्कूलका तीनदशक प्रअ । अर्का कलेज अध्यापक, अर्का समाजसेवी अभियन्ता, यस्तै । तर पाँचै पुरुष, जीवन वृक्षमा पहेँला पात देख्न थालेका जीवन सन्ध्याको आगमनले अलिक भ्रान्त ।

एकजनाले भने— यो ठाउँमा आइएको ६० वर्ष पुगेछन् । अब ता फर्केर आफ्नो उद्गम भूमि पहाड जान पनि सकिन्न । यता झरेको यति वर्ष बिते । ती दिनमा यो दमक सानो गाउँ थियो । हेर्दाहेर्दै यो आज विशाल शहरमा परिणत भयो । प्रत्येक दिन बाटा थपिएका छन् । घर बनिएका छन् । दोकान बढेका छन् । स्कूल कलेज, मन्दिर गुम्बा, नाटक, कला, संगीत सर्वत्र अनेक आयामले यी घरहरूको जंगलभित्र जस्तोमा पुग्यौँ ।

आज एउटा नयाँ व्यक्ति आएर छिमेकीको घर किन्छ । भोलि अर्काले बाटापारिको पसल किन्छ । अर्काले स्कूल किन्छ, फ्याक्ट्री चलाउँछ । गर्दागर्दै परिचितहरू आफन्तहरू कोही स्वर्गबासी भए । कोही विमारले थला परे । कोही बसाइँ सरे । धेरै ता नातिनातिनीका धराला बनेर अष्ट्रेलिया अमेरिका पुगे । त्यसकारणले म अलिक विरानो बन्दै गएको पो हुँ कि, यो ठाउँ नै बिरानिदै गएको हो । अन्यत्र जाने ठाउँ छैन । काठमाडौँ गएर पनि म बस्न सक्तिन । त्यो झन् अपरिचितहरुको जंगल लाग्दछ । यसै ठाउँलाई मेरो भनेर माया गरेर बसियोस आज एक्लिइँदै छ ।

अर्का सज्जनले आफ्नो व्यथा पोखे— यो सेवा निवृत्त जीवनमा तीनवटा नयाँ अनुभव कमाइने रहेछन्— परिवारले उपेक्षा गर्न थाले जस्तो लाग्छ । समाजले नचिने जस्तो गर्न थाल्दो रहेछ । अनि शरीरले पनि मनको दृढतालाई नटेर्दोरहेछ । हिजोको शक्ति, सम्मान, प्रतिष्ठा, सामथ्र्य सबै मसँगै छन् कि छैनन् होला ? ती मसँगै छन् भन्नेमा मलाई सन्देह छ । जति कर्म गरेँ तिनले जहाँसम्म पुर्यायो आज म त्यहाँ छैन । त्यता हेर्छु, त्यो उचाइमा पुग्न असमर्थ छु भन्ने लाग्छ । जगतले पनि बुझ्दो रहेछ र जगत मदेखि परपर सर्दैैछ । समयले निर्माण गरेका पुस्तान्तर खाडलमा पसेको छु । अब के गर्न सकिन्छ ?

मेरा समकालीन मित्रहरू । चारपाँच दशकदेखि सँगसँगै चले–हिँडेका । हाम्रा मनमा दुई कुरा बास बसेका हुन्थे— म नित्य यस्तै सक्रिय रहुँला । म अजरअमर झँ रहुँला । मैले चिताएको जति पूूरा गरौँला, गरिरहुँला………. इत्यादि ।

आज जीवनको सीमा थाहा हुँदैछ । यसको अनित्यता र क्रमिक रुपले हामीलाई छोप्ने असमर्थता नजिक आउँदैछन् । कुनै साथीलाई क्यानडाबाट सुसेलेका छन् । कति अष्ट्रेलियामा हुरुक्क भएर नातिनातिना डोर्‍याउँदै छन् । सबै भिन्न र छिन्नभिन्न छ गाउँ समाज, शहर, बजार । सबै स्थान भयप्रद लाग्दैछन् । तथापि अर्का मित्रले निर्णय सुनाए— म काठमाडौँ जाँदै जान्नँ । छोराछोरी उतै बसून, म एक्लै यहीँ रहन्छु ।

साथीहरूसमक्ष मैले भनेँ— म चाहिँ काठमाडौँ छोडेर अब आफ्नो पुरानो गाउँ दमकै फर्किन्छु । पितामाताले टेकेको यही भूमिमा आफूलाई अर्पित गर्छु । बाँकी जीवन पूर्वस्मृतिहरू फुकाएर केलाएर तिनैमा रमाएर बसौँला । म पनि तपाईंहरुसँगै रहौँला ।

मित्रहरुको साझा प्रस्ताव यस्तो थियो “तपाईं दमक फर्केपछि साता दश दिनमा भेट हुने समय मिलाऔं । बोल्ने बात गर्ने चिया खाने केही सामयिक कुरा गर्ने गरौँ । सकिएछ भने समाजहिताय केही कुनै कर्म पनि गरौँ । यो शहर प्रवेश गर्ने नयाँहरूले अति सम्पन्नहरूले हामीलाई चिन्ने छैनन् । सडकको छेउछाउबाट जोगिएर हिँडौँला । उत्ताउलिएर उफ्रिने गाडीहरू बढेका छन् । तर आफूलाई व्यस्त राख्ने कुनै उपाय सोच्न सकिएला हो ।”

त्यतिबेला मनमनै सोचेँ— मलाई त्यस्तो दिन आएको छैन । आउला भन्ने पनि लाग्दैन । मलाई दिनको कुरा होइन, दिनको एक घण्टा पनि समय उभार्न मुस्किल छ । म समयभित्र बाँधिएको छु र सारा समय जीवनकाल नै साहित्यलाई सुम्पेको छु । यहाँ आएर यिनै साथीहरूको निराशा लेखौँला, एकांकीपन लेखौँला । मनैमा परिवार बसेको, मनैमा समाज बसेको, मनैमा देशकाल बसेको म छु । मलाई कहीँ जानुपर्दैन, कसैलाई भेट्नुपर्दैन । साहित्यकर्मभित्रै रमिरहेको छु । म निश्चिन्त छु । सधैँ चिन्तारहित । दुःख बिमार भए डाक्टरले हेर्लान् । शरीर असमर्थ भए महाकालले जिम्मा लेला । उसैले हेरचाह गर्ला । यसमा म निश्चिन्त छु । त्रिविलाई जीवनको मुख्य भाग चढाएको थिएँ । त्यसको प्रतिफलले मलाई खान बस्न पुग्छ । वाइफाइ भर्न, यात्रा गर्न पुग्छ । मेरो मन यस्तो स्वार्थी सोचले भरियो ।

मलाई अरु के चाहिन्छ र ? म जगतको व्याख्या लेख्तै बस्छु । यो जगतको व्याख्या भन्नु मेरै दृष्टिकोण रहेछ । सिर्जना भनेको पनि आफ्नै मात्र दृष्टिकोण रहेछ । यसरी आफ्नो विचारले, चिन्तनले, कल्पनाले स्वतन्त्र भएर अभिव्यक्त हुन पाउने अन्यत्र कहाँ छ र ? धन्य कलामा लागिएछ । धन्य साहित्यमा लागिएछ । धन्य सिर्जना र प्रकाशनले यो अपरिमित प्रकाश पुञ्जको एक छेउ देख्ने भइएछ । यस्तो सम्झेर म मनमनै हाँसेँ खुशीले । कुनै दुःख पीर चिन्तारहित मार्गमा हिँडाउने अरु कुन मार्ग हुन्थ्यो होला यो (साहित्य) बाहेक ?

साथीहरूको पीर कम गराउन म सक्तिनँ । सँगसँगैको मर्निङ वाकले हुन्छ कि दैनिक आदानप्रदानले हुन्छ, चियापानमा भेला भएर अतीतको गफ गर्नाले त्यो मन शान्त हुन्छ कि, अनागत काल सम्झिएर अथवा वर्तमान समाज उड्न थालेको हेरेर, त्यस गतिले उत्पन्न गराउने भयको कुरा गरेर हुन्छ कि ? तर मलाई लाग्छ, यो रोगको कुनै औषधी छैन । कम्प्युटरको की-बोर्ड हान्न नजान्नेलाई ज्ञानको जगतमा दुःख भएजस्तै हो । समयले प्रत्येक पल्ट नयाँ की-बोर्ड थप्तै लान्छ । त्यसलाई चलाउन नजानेर-नसिकेर उमेरले लट्याएकाहरू पछारिँदै जान्छन् । समयसँगको समायोजन नमिलेर होला जीवन स्वयम् मृत्यु खोज्दै त्यता दौडिन्छ ।

एउटा सर्वकालिक मन्त्र छ— कला । त्यो सिक्नु पर्नेरहेछ— मृत्यु नआइन्जेल हाँसेर मग्न भई त्यसैमा खेल्न पाइने कुरा यो मोहक पब्जी रहेछ । म यत्रो आनन्द बोकेर दौडिरहेको छु । साथीहरू ठान्छन्, अब विश्राम गर्ने समय आएको छ । म ठान्दछु, अब झन् कस्सिने समय आएको छ । जीवनभरि लागिरहे पनि कुनै बिसाउने ठाउँमा पुगिएको छैन । अझ केही राम्रो गहिरो, केही उज्यालो नजिक पुग्न पाए हुन्थ्यो ।

महान् स्रष्टा हर्मन हेस्सेले कत्रो रहस्योद्घाटन अनुभव गरे । ट्यागोरले कत्रोस फेरि जेन अष्टिन पढ्छु । काफ्कामा गहिरिन्छु । कामुमा पुग्छु । यसपालि चाल्स डिकेन्सको घरे पुगेर आएँ । चेखव सँगै छन् । उनीहरू पनि दुःखका भुङ्ग्रामा थिए । तर हृदयबाट सधैँ आनन्दको उज्यालो उत्पन्न गर्न सके । त्यसैले पाठकहरू बारम्बार त्यतै फर्किन्छन् । हजारपल्ट लाखपल्ट भेटेपनि कालीदास सधैँ नयाँ, शेक्सपियर सधैँ नयाँ, दोस्तोएभ्स्की र देवकोटा नित्य नयाँ, सिल्भिया प्लाथ अथवा अरुन्धति राय सधैँ नयाँ । दुःख देखि नथाक्ने, चिन्ताले नपग्लने, मृत्युदेखि नडराउनेहरू ती थिए । किनभने तिनीहरु साहित्यको अन्तरगर्भमा पुगेका थिए ।

तर मेरा साथीहरू आज डगडग काम्न थालेका छन् । विच्छिन्नताका भयले, प्रवाहहीन र निस्तेज हुनेदिन आउने रहेछ भन्ने भय र चिन्ताले भन्दैछन् ‘सातदिनमा एकपल्ट भेला भएर चियामा बसौँ । अआफ्ना चिन्ता फुकाएर एकअर्कालाई हेरौँ ।’

सबै व्यर्थ छ । साहित्यमा बस्नेहरू दुःखलाई लात्तीले हान्दै तिनै दुःख र चिन्ता दन्किरहेका डढेलामाथि हिँड्ने बानी परेका हुन्छन् । ठमठमी हिँड्छन् सित्तल भूमिमा टेक्तै झैँ । तर समयले सबैलाई बराबरी पोल्छ, डढाउँछ, खुइल्याउँछ । फरक के छ कला ओढेर हिँड्नेहरू नपोले झैँ गरी हिँड्न सक्छन् । तर यो जगति वा भौतिक प्राप्तिको तपस्यामा लागेकाहरू त्यहीँ मुर्छा पर्छन् ।

जे आरआर टोल्केनले भनेका छन्— हामीलाई उपलब्ध भएको समयलाई कसरी उपयोग गर्दैछौँ, त्यसको निर्णय गर्न सक्नु एक मात्र मानव कर्तव्य हो ।

निर्णय गर्न नसक्नेहरु, जीवन पाएर त्यहाँ समय पाएर छाडा छोडिएका गाईबस्तु झैँ कुध्न, उफ्रिन, आनन्दले चर्न, अरुको बाली चोर्न लाग्छन् । तर लेखनको सजाँय पाएकाहरू सिर्जना– आकाङ्क्षाको दाम्लामा बाँधिएर रहनुपर्ने भएकाले निहुरेर आफ्नै भाग्यको घाँस चर्न थाल्छन्, त्यसैलाई स्वतन्त्रता ठान्न थाल्छन् । यद्यपि अन्त्यमा त त्यहीँ पुगिन्छ महान् स्रष्टा विलियम शेक्सपियरले देखेको ठाउँमा

हामी सपना जस्तै तत्व रहेछौँ
अनि हाम्रो ससानो जीवन
एक निद्रा भित्र पसेर
गुटुमुटु हुन्छ ।

गाउँमा पुगेका बेला मेरा मित्रहरू मित्रविहीन स्थितिको अनुभव गर्दै यो सन्ध्यामा मलाई भेट्न आए । आफ्नै चिन्ता र पीरले विगलित उनीहरूको सामू मसँग कुनै चिन्ता थिएन, दुःख थिएन, कुरा गर्ने विषय थिएन । धेरैबेर बसेर चियापान गरिसकेपछि सन्ध्याका चराहरू बास बसेपछि, सडक बत्ती सल्केपछि, आकाशमा तारा उदाएपछि मेरा मनमा एउटा चिन्ता उदाउन थाल्यो— यिनीहरू अझै बस्छन् कि क्या हो । मेरो एकघण्टा समय बितिसक्यो अझै बिताउँछन् कि क्या हो !

तर म कुन आनन्दको पोखरीमा तैरिरहेको छु भन्ने कुरा उनीहरू कल्पना गर्न सक्तैनन् । मलाई सिर्जनाको यत्रो आनन्दमा डुबाउने कलमका धनी उमाप्रसाद मुखोपाध्यायबारे पनि यति कुरा साभार गर्दछु !

उमाप्रसाद मुखोपाध्यायः किम्वदन्ती बनिसकेका पुरुष आशुतोष मुखोपाध्यायका साइँला सुपुत्र उमाप्रसाद मुखोपाध्याय ९१९०२–१९९७० को जन्म कलकत्तामा भएको थियो । सन् १९५० देखि पूर्णरुपले एक जना पर्यटक र नियात्राकारका रुपमा उनले चिह्नारी पाइसकेका थिए । उनका प्रकाशित तेत्तीसवटा पुस्तकहरुमध्ये तीसवटा नै अनौठा अनुभवले भरिएका विचित्र नियात्रा पुस्तकका रुपमा पाइन्छन् । मणिमहेशबाहेक कैलाश र मानस सरोवर, पञ्चकेदार, पालामौरको जङ्गल आदि उनका अति नै ख्याति पाएका महत्वपूर्ण नियात्रा पुस्तकहरु हुन् ।

यस्तो अति महत्वपूर्ण कृति मणिमहेशलाई अनुवाद गर्ने नेपाली स्रष्टा श्री मुक्तिप्रसाद उपाध्याय बरालका बारेमा मैले परिचय दिइरहनुपर्दैन ।

तर यस्ता अमर गाथाको बारेमा कुनै ज्ञान नभएका यस्ता कृतिबाट रसास्वादन गरेर जीवनमा आनन्द र सफलता आर्जन गर्न नजान्ने कतिपय मेरा मित्रजनहरूलाई हेरेर धेरै अघि हेनरी मिलरले भनेका थिए— उनीहरूले कदापि त्यो दैलो खोलेनन् जसबाट प्रवेश गरेर आत्मासम्म पुगिन्छ ।

आत्मासम्म पुर्‍याउने दैलो भनेको साहित्य हो— कि पुस्तक पढौँ कि लेखौँ । सुखको आत्मा त्यहीँ छ । भित्र पुगेपछि जीवनको नश्वरता र यसमा एकैछिनलाई बलेको बत्ती देखिनेछ ।

तपाइँको प्रतिक्रिया

फेसबुक