बुधबार, फागुन १९, २०७७

आन्दोलनको धम्की दिने र आफ्नै कार्यकर्ताको धज्जी उडाउने कस्तो प्रधानमन्त्री

लक्ष्मण देवकोटा२०७७ फागुन ८ गते २३:२९

राजनीतिक इतिहासको लामो कालखण्डमा कम्युनिष्ट पार्टीको बहुमत प्राप्त म्यान्डेट लिइ सरकारमा छिरेर यदुवंशीको रुप धराण गरेका खड्ग प्रसाद ओलीको छटपटाहट हेर्न लायकको छ । संसद पुनर्स्थापना पश्चात् दण्डित हुने भयमा कहालिएका ओलीले अदालतलाई धम्क्याएर संसद पुनर्स्थापना भएमा आन्दोलनमा जाने धम्की समेत दिन भ्याए ।

फागुन ७ गतेको परम्परागत प्रजातन्त्र दिवस सकिएकै भोलिपल्ट विराटनगरमा नग्न अवस्थामा ओर्लिएर भयग्रस्त ओलीले अदालतलाई धम्की दिंदै आन्दोलन गर्ने बताइरहँदा जनता लाजले कुरिकुरि मात्र भए । सर्वाङ्ग ओलीको निर्वस्त्र अनुहार हेर्न सकिने खालको थिएन । उनका धम्कीका भाषा यत्तिमै रोकिएनन् । सरकारी खर्चमा जम्मा गरिएको पन्च र्याली हेर्न र आफ्ना पक्षमा फैसला गर्न न्यायपालिकालाई प्रधानमन्त्रीले लल्कारिरहेको दुर्लभ र फोहोरी दृष्य जनताले सरकारी टेलिभिजनमा हेर्न अभिषप्त भए । उफ, यो कस्तो प्रधानमन्त्री हो जो देशको उच्च पदमा बसेर आन्दोलनको धम्की दिन्छ । कसका विरुद्दमा आन्दोलन गर्ने प्रधानमन्त्रीले ?

प्रधानमन्त्रीले न्यायालयको मात्रा हुर्मत काढेनन् । हिजो जुन कार्यकर्ताले गरेको आन्दोलनका बलमा देशमा गणतन्त्र आयो, आफ्नै पार्टीको महिला युवा नेतृ रामकुमारी झाँक्रीको समेत निन्दा गर्न भ्याए । असहमत विचारको सम्मान गर्ने संस्कार त प्रधानमन्त्रीमा कतै देखिएन । प्रधानमन्त्रिको ‘रेडिमेड’ भाषणमा मोहर लगाउन आएका महिला संघका कार्यकर्ताहरुले हिजो पुलिस त के सेनासँग आमनेसामने भएर लडेकी झाँक्रीको बद्ख्वाइँ भइरहँदा ताली पिटेर नारी आन्दोलनलाई भष्म गर्ने काम गरे ।

पूर्णत भष्मको दिशामा अघि बढिरहेका ओली र उनका सेनामेनाको यो उद्दण्डताले जगत हँसाउने, समाजलाई विभक्त गर्ने र मत्थर भैसकेको सामाजिक विग्रहलाई फेरि ब्यूँझाएर देशलाई रणसंग्राम बनाउने दिशातिर लैजाने बाहेक केही गरेको छैन ।

गणतन्त्र मान्छु भनेर नथाक्ने, भ्रष्टाचारीलाई सहन गर्न सक्दिन भनेर भाषण दिने खड्ग प्रसादले विधि विधान र सिंगो संविधानमा आगो लगाएर देश दौडाहाको ताण्डव नृत्यमा आफूलाई सामेल गराएका छन् । सत्ताको रापतापमा ओलीको जयगानका निम्ति राज्यको चरम दोहन भैरहेको छ । ढुकुटी रित्याएर पनि ओलीको अहम् पूरा गर्नैपर्ने महान् समाजवादी यात्रामा लागिरहेको ओलीभक्तहरुको जुलुस ।

कस्तो तमासा ? कस्तो नांगो नाच । प्रदीप ज्ञवालीहरु झ्याम्टा पिटिरहेकाछन् । सुवास नेम्वांगहरु सत्यको वध गरेर आफ्नै शीर चढाइदिएका छन् ओली माहाराजलाई । आलिसान बंगलामा पसेर दलालहरुसँग हिसाब किताब गरिरहेका विष्णु पौडेलहरु सुकुम्वासी वस्तीमा लालपूर्जा बाँड्न निस्किएका छन् । जग्गा दलालदेखि सबै खालका दलालहरुको एउटै स्वर छ, केपी ओली जिन्दावाद । शंकर पोखरेलहरु जो मदन भण्डारीको जनताको बहुदलीय जनवादको व्याख्या गर्ने गर्दछन्, ओलीको एकल टाँगा पछाडि ताली बजाएर कुँदिरहेकाछन् । देशमा के भैरहेको छ ? के यही हो मदन भण्डारीले देखेको सपना ? के यसैगरी हुन्छ क्रान्तिको अभिभाराको पूर्ति ?

लोकतन्त्रमा सडक प्रतिपक्षको हुन्छ भनिन्छ । टनकपुर सन्धीमा गिरिजा प्रसाद कोइरालाले गुपचुप गर्न खोज्दा मदन भण्डारीहरुले संसदमा किन महिनौं आन्दोलन गरेका थिए ? प्रेमसिं धामीको ज्वारमा मदन भण्डारीको आदर्श मिसिंदा कसरी जुरुक्कै उठेको थियो प्रतिपक्ष ? कसरी एकीकृत भएका थिए मदन भण्डारीको देशभक्ति आन्दोलनमा जनताहरु ?

त्यही मदन भण्डारीको अनूयायी र भक्त बताउने खड्ग प्रसाद ओलीहरु प्रधानमन्त्रीको सुविधामा राज्यको हेलिकोप्टर चढेर विराटनगरमा अदालत धम्क्याउँदै भन्छन्, ‘सेटिंग भएर संसद ब्यूँतियो भने आन्दोलन गर्छु । के सिंगो देश खड्ग प्रसादको विर्ता हो ? के प्रधानमन्त्री जस्तो गरिमामय पदमा आसिन मानिसले अदालतलाई आदर गर्नुपर्दैन ? संवैधानिक निकायका सबै अंगहरुलाई पँगु बनाइसकेपछि बँचेखुचेको अदालतको आस्थालाई पनि यसरी ध्वस्त पार्ने खड्ग प्रसाद कुन अर्थमा लोकतान्त्रिक हो भनेर मान्ने ?

पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म दासहरुको मलामी देखिरहेको छु म । संविधानमा प्रष्टै लेखिएको संसद विघटन हुनै नमिल्ने प्रावधान जो अस्ति भर्खर लेखिएको थियो, वेष्टमिनिष्टर मोडेल अनुसार सहजै विघटन गर्न मिल्छ भनेर ओलीको कारिन्दा बनेका सुवास नेम्वाङहरुको भाषण सुनेर ताली बजाउँछ । कलेजको प्रोफेसर नियुक्तिको आशमा ओलीले जे गरे गजब गरे भन्छ । पार्टीका हनुमानहरुको कुरा छोडौं, आफूलाई सकल दर्जाको वाम बुद्धिजीवी ठान्ने साहित्यकार एकेडेमीको नियुक्तिको लोभमा ओलीले संविधानत गरेकै हुन् भनेर लेख छाप्छ । कविलाई तक्मा चाहिएको छ । गायकलाई रेडियो नेपालमा जागिर चाहिएको छ । शिक्षकलाई बढुवा र घरपाइ चाहिएको छ । दलाललाई सुरक्षित दलाली गर्ने वातावरण चाहिएको छ । रक्सीका ठेकावालहरुलाई राज्यको सुरक्षा चाहिएको छ । सब रातारात ओलीभक्त बनेर सडकमा तथानाम गाली गर्दै हिंडिरहेका छन् ।

लडाकु महिला क्रान्तिकारीलाई पार्टीको अध्यक्ष भएको मानिसले तल्लो दर्जामा उत्रिएर लल्कारेपछि अरिंगालहरु भौतिक आक्रमणमै उत्रिनु पनि केही अचम्म भएन । सत्ताधारीहरुबाटै जनता असुरक्षित हुनु र अदालत आफ्नो इशारामा नचले सडकमा तबाह गर्न प्रधानमन्त्री तयार हुनु भनेको कुनै लोकतान्त्रिक काम होइन । यो सरासरी जनताको मत माथिको अपमान हो । सिंगो जनतामाथिको अपमान हो ।

आफ्नो सभामा आएका मानिसहरुको जुलुस हेर भनेर लल्कार्ने खड्गप्रसादले तिनै जनताले चुनेर पठाएको प्रतिनिधिहरुको थलो प्रतिनिधि सभा किन विघटन गरे ? जसले यो कालखण्डमा औंलो ठड्याएर प्रश्न गरिरहेको छ, त्यो नै सच्चा लोकतन्त्र र गणतन्त्रवादी हो । आफ्नो नाकुमनि अरबौंको भ्रष्टाचार हुँदा संरक्षण दिने, भ्रष्टाचारको छानविन गर्ने थलोमा भ्रष्टहरुलाई लगेर दूधको साक्षी बिरालो बनाउने, संविधानका हरेक मर्महरुलाई लात मार्दै नांगो नाच नाचिरहेका ओलीको यो नग्न दृष्यको अन्त्य धेरै टाढा छैन । सम्भवतः प्रतिनिधि सभा पुनर्स्थापनाको भयले उनी अत्तालिएका छन् । प्रतिष्ठित कानूनकर्मी, विवेकशील प्राध्यापक, नागरिक समाज कहिं कतैबाट साथ नपाएको ओलीको यो प्रतिगमनको अन्त्य चाँडै हुनुपर्दछ ।

प्रधानमन्त्रीको कुर्चीमा बसेर दुई तिहाई निकटको सर्वेसर्वा हुँ भनेर दावी पनि गर्ने, आफू अनुकूल भएन भने आन्दोलन गर्छु भनेर धम्की दिने तानाशाह नेपाली जनतालाई चाहिएको छैन । छिटै अदालतको पुनर्स्थापना पछि दण्डित गरिएन भने सतीले सरापेको मुलुकमा कहिल्यै शान्ति हुनेछैन । लोकतन्त्रका विरोधीहरुलाई दण्डित गर्नु प्रतिगमन विसर्जनपछिको पहिलो काम हुनुपर्दछ ।

तपाइँको प्रतिक्रिया