बिहीबार, चैत १५, २०८०

‘डा. बाबुरामको रोग निकै गम्भिर छ, व्यङ्गय नगरौं’

नेपालप्लस संवाददाता / काठमाडौं२०७७ फागुन १० गते २०:२३

Credit-The kathmandu post

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई यतिखेर स्वास्थ्य परीक्षण क्रममा भारतमा छन् । एकाएक नयाँ दिल्लीस्थित इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेसमा स्वास्थ्य परीक्षण क्रममा पुगेका भट्टराई मंगलबारबाट इन्स्टिच्युटमा भर्ना भएर सघन परीक्षण तथा उपचार क्रममा रहने छन् । काठमाडौंको निदान अस्पतालमा उपचार गराउँदै आएका भट्टराईलाई ‘न्युरोएन्डोक्राइन ट्युमर’को आशंका गरिएको छ ।

२०१८ को जुन महिनामा आफ्नो जीवन गुमाएका प्रखर न्यूरोसर्जन डा. उपेन्द्र देवकोटा पित्तथैलीको क्यान्सरबाट ग्रसित भएको झण्डै ६ महिनाअघि मात्रै थाहा भएको थियो । बेलायतमा गएर उपचारमा संग्लन रहेपनि जीवन पाउने उपाय नदेखिएपछि देवकोटालाई आफैंले स्थापना गरेको काठमाडौं, बाँसबारीस्थित न्यूरो अस्पतालमा फिर्ता ल्याइएको थियो । ‘यो तहको गम्भीर र असहज अवस्था नभएपनि कलेजो वा पित्तथैलीसम्बन्धी ट्युमरको गम्भीरता उत्तिकै हुन्छ,’न्यूरो अस्पतालका एक चिकित्सकले भने—‘यसलाई त्यति सामान्य र हलुका रुपमा लिन मिल्दैन ।’

भारत, दिल्लीस्थित इन्स्टिच्युट अफ लिभर एन्ड बिलियरी साइन्सेजको अस्पताल

डा. बाबुराम आकस्मिक रुपमा उपचारकै लागि दिल्ली जाने भएपछि धेरैले नबुझीकन ‘राजनीतिक उपचार’मा उनी दिल्ली जान लागेको भन्ने संकेतमा सन्देशहरु प्रवाह गर्न चाहेको देखियो । नेपालको असहज राजनीतिक स्थिती र यस्तो बेलामा सधैं रहने भारतीय भूमिकाका आधारमा बाबुराम दिल्ली जानुलाई यही रुपमा अर्थ खोजेर बुझाउन खोज्नु स्वभाविक पनि हो । स्वभावत दिल्लीको जवाहरलाल नेहरु युनिभर्सिटीबाट बिद्यावारिधी गरेका र माओवादी शशस्त्र द्धन्द्धकालमा भारतमैं रहेर जनसम्पर्क सूत्रधारका रुपमा काम गरेका बाबुराम भट्टराईलाई भारतीय ‘नेक्सस’ र ‘नेटवर्क’बारे धेरै जानकारी छ । त्यसमाथि एकपटक नेपालको प्रधानमन्त्री (२०११ अगष्ट– २०१३ मार्च) भैसकेका बाबुरामका बारे शंका–संसय रहनु स्वभाविक हो ।

तर, बिगतमा नेपाली कांग्रेसका निकटवर्ती र पूर्व स्वास्थ्य मन्त्री गगन थापाका अघोषित सल्लाहकार समेत रहेका मुटु चिकित्सक डा. रमेश कोइराला समेतले डा. बाबुरामको स्वास्थ्य र उपचारका बारेमा गरेको ‘लबिइङ’ले पनि स्थितीको संवेदनशिलतालाई दर्शाउँछ ।

गंगालाल अस्पतालसम्बद्ध र कुख्यात बिकिनी–किलर चाल्र्स शोभराजको बायोग्राफी लेखक डा. रमेश कोइरालाले सार्वजनिक संजालमार्फत भनेका छन्—‘डा.बाबुराममा जुन प्रकारको ट्युमरको शंका गरिएको छ, त्यस्तै केही तपाई हाम्रा नातेदारलाई पनि शंका गरिएमा खुरुक्क भारत जानु बुद्धिमानी काम हुन्छ । नेपालको स्वास्थ्य क्षेत्र कुन–कुन बिधामा कति पानीमा छ, हामीलाई पनि थाहा छ ।’

डा. कोइरालाले डा. बाबुराम भट्टराईलाई आशंका गरिएको ‘न्यूरोन्डोक्राइन ट्युमरका लागि आवश्यक पर्ने एफडीजी पेट–स्क्यान र सोमाटोस्टेइन–रिसेप्टर बेस्ड स्क्यान’ नेपालमैं नभएको भन्दै ‘नभएको सुविधा छ नभनौं, शंका गरिसकेपछि दिल्ली गएकै बेस’ भनेर स्पष्ट शब्दमा सुझाव समेत दिएका छन् ।

अरुभन्दा पनि बढीमा ५० लाख रुपैंया पर्ने पेट–स्क्यान मेसिन समेत राख्न नसक्ने र यसकै लागि डाइग्नोसिस क्रममा दिल्ली धाउनैपर्ने अवस्थामा न अहिलेको न पहिलेकै सरकार लागीपरेको देखिन्छ ।

गोरखा, खोप्लाङमा जन्मेका ६६ वर्षिय डा. बाबुराम भट्टराई र उनकै सहपाठी गोर्खाकै अर्का प्रतिभा डा. उपेन्द्र देबकोटाको नाम जोडिनासाथ मात्रै स्वास्थ्य–संवेदनशिलता जनाइने यो अवस्था साँच्चिकै कति दुखदायी छ ? यी ठूलै नामहरुलाई आइपरेको स्वास्थ्य संकटका सामु गाउँठाउँ र दूरदराजका सामान्य मान्छेको रोग अथवा उपचार नपाएरै भैरहेको मृत्युमा को कति संवेदनशिल होला ? यो असहज अवस्थामा सोध्न त मिल्दैन । तर, के एकपटक प्रधानमन्त्री भैसकेका बाबुराम भट्टराई स्वयम मुलुकभित्रै उपचार गर्न नपाइने र स्वास्थ्य सेवा–सुविधा नरहेको यो स्थितीमा संवेदनशिल हुनुहुन्छ होला ?

अहिलेलाई भने डा. बाबुराम भट्टराईको सहज स्वास्थ्य उपचार तथा सहज जीवन प्राप्तीको हार्दिक कामना छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक