शुक्रबार, वैशाख १४, २०८१

राष्ट्रपति विरुद्ध कस्तो कदम चाल्ने भन्ने विषयमा हामी छलफल गर्ने छौं : नेता रावल

नेपालप्लस संवाददाता / काठमाडौं२०७७ फागुन ११ गते १९:२५

सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने निर्णय गरेसँगै प्राय: सबै राजनीति दल तथा तिनका नेताहरुले प्रधानमन्त्री केपी ओलीको राजिनामा माग गरिरहेका छन् । तर प्रधानमन्त्रीको असंबैधानिक कदमको मतियारको रुपमा चित्रण गरिएकी राष्ट्रपति विद्यादेवी भण्डारीको बारेमा आन्दोलनरत पार्टीहरुले कस्तो निर्णय गर्लान भन्ने कौतुहलता ब्यापक भएको छ । कतिले राष्ट्रपती भण्डारीले पनि प्रधानमन्त्रीसँगै राजिनामा दिनुपर्ने आवाज उठाइरहेका छन् भने कतीले महाअभियोग लगाउने सम्मको अवस्थामा जान सकिने बताएका छन् ।

नेकपाका नेता तथा ओली सरकारका तिब्र आलोचक भिम रावलले राष्ट्रपतिका बारेमा भर्खरै केहि भन्न सकिने अवस्था नभएको बताए । ‘राष्ट्रपतिको विषयमा कस्तो निर्णय लिने भन्ने कुरा ससंदमा रहेका पार्टीहरुबिचको छलफल पछीमात्र भन्न सकिने छ’ उनले भने । रावलले राष्ट्रपतिको बारेमा भर्खरै केहि बोल्नु हतार भएको बताउँदै भने ‘हामीले यो विषयमा पक्कै पनि हरेक कोणबाट छलफल गर्ने छौं । देशलाई द्वन्द्वमा पुर्याउन लागिएको यत्रो षडयन्त्रका बिभिन्न पाटा केलाउने छौं ।

गल्ति गर्ने सबै सजायँका भागीदार बनुन भन्ने हाम्रो मान्यता हो । रावलले सर्वोच्च अदालतको ऐतिहासिक निर्णयले लोकतन्त्र र संविधानको गरिमा बचाएको उल्लेख गर्दै रावलले भने ‘अब जुनसुकै प्रधानमन्त्रीले अधिनायकबादी निर्णयमा पुग्नुभन्दा पहिले एक पटक पक्कैपनि सोच्ने छ ।’ नेता रावलले प्रधानमन्त्रीले रजिनामा नदिए अविश्वास प्रस्ताव ल्याइने पनि जानकारी दिए । उनले अहिलेसम्म राजिनामा नदिएको देख्दा म अचम्ममा परेको छु’ उनले थपे ।

तपाइँको प्रतिक्रिया